अभिभावक वेब पोर्टल
बालबालिका हुर्काउने अत्यन्त महत्त्वपूर्ण काममा अभिभावकका लागि उपयोगी श्रोत-सामग्री

प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि आठ वर्षसम्म) मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो । यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्दछ । यही अवस्थामा बालबालिकाले जस्तो अनुभव पाउँछन्, भावी जीवन उस्तै हुन्छ । शिशु गर्भमा रहँदा वा शिशुको जन्मपछि बालबालिकाको उचित स्याहार र विकासको अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकहरूको हुन्छ ।
अभिभावक भन्नाले आमाबुबा, हजुरआमा, हजुरबुबा, दाइदिदी र अन्य स्याहारकर्ताहरू हुन् । बालबालिकाको पहिलो माया, सहारा, गुरु, संरक्षक, साथी, आमाबुबा वा अभिभावक नै हुन् ।
बालबालिकालाई पालनपोषण, स्याहारसुसार, स्वास्थ्य, सरसफाइ, सुरक्षा, उत्प्रेरणा, खेल, कुराकानी र स्नेहपूर्ण व्यवहारले विकासमा प्रत्यक्ष सहयोग पुर्याउने तथा कानुनी हक अधिकार दिलाउने जिम्मेवारी अभिभावकत्व हो । अभिभावक बिना शिशुको लालनपालन असम्भव हुन्छ ।
अभिभावकको विशेषगरी, बालबालिकाको भावना, संवेदनशीलता, आचरण, व्यवहार, स्वभाव, आत्मविश्वास, आत्मसम्मान, सिक्ने क्षमता, सामाजिक सम्बन्ध कायम गर्ने सिप विकासमा महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले बालबालिकाको पहिलो विद्यालय उनीहरूको घर र अभिभावक पहिलो शिक्षक हुन् ।

के हेर्न चाहनुहुन्छ?
उचित स्याहारको ढाँचा (Nurturing care framework)
विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ तथा विश्व बैङ्कको संयुक्त पहल तथा विभिन्न अनुसन्धानका आधारमा बालबालिकाको सर्वाङ्गीण विकास हासिल गर्न आवश्यक वैज्ञानिक उचित स्याहारको ढाँचा तयार गरी सदस्य राष्ट्रहरूलाई लागु गर्न आह्वान गरेको छ । यसै ढाँचाभित्र रहेर यस अभिभावक शिक्षाको विकास भएको छ । जुन यसप्रकार छ:
राम्रो स्वास्थ्य
गर्भधारणको तयारीदेखि गर्भावस्था, जन्म, शिशु अवस्था, बाल्यावस्थाका जुनै पनि बेलामा गर्भवती महिला, गर्भमा रहेका शिशु र बालबालिकालाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरू हुन सक्छ । अभिभावक शिक्षाले, आमाबुबा वा अभिभावकहरूमा उक्त समस्याहरूको पहिचान गरी समाधान गर्ने सिप सिकाउँछ । यसैगरी सर्ने रोगहरू लाग्न नदिन र लागेका बालबालिकालाई सावधानी अपनाएर स्वास्थ्य चौकी वा अस्पताल लैजान, नसर्ने रोगहरूको बारेमा जानकारी र बचावट गर्ने सिप अभिभावक शिक्षाले दिन्छ । स्वास्थ्य चौकीबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरूसँग समन्वय गर्ने, बालबालिकाको सर्वाङ्गीण विकासको लागि जन्मान्तरको साधनहरू, बालघातक रोगहरूबाट बचावट गर्न खोप तथा विशेष अवस्थामा सरकारले पुर्याउने स्वास्थ्य सेवाको बारेमा सल्लाहसुझाव पनि अभिभावक शिक्षाले दिन्छ ।
पर्याप्त पोषण
हाम्रो शरीरका लागि अत्यावश्यक सम्पूर्ण त¬वहरू खानाबाटै प्राप्त हुन्छ । खानाबाट प्राप्त हुने सार तत्त्व नै पोषण हो । बालबालिकाको शरीर बन्न पनि पोषण नै महत्त्वपूर्ण हुन्छ । आमाको गर्भमा आउनु अगाडिदेखि नै बुबा र आमाको शरीरमा आवश्यक पोषक तत्त्वहरू पूरा हुनुपर्छ । जसले गर्दा बालबालिका र आमा दुवै स्वस्थ हुन्छन् । प्रकृतिमा पाइने विभिन्न खाद्यवस्तुहरूलाई बालबालिकाको उमेरअनुसार योजनावद्ध तरिकाले मिलाएर खुवाउने, खानाको मात्रा मिलाउने तरिका शरीरमा पोषणको मात्रा पुगे नपुगेको थाहा पाउने सिप अभिभावक शिक्षाले सिकाउँछ । कुपोषणको कारण मानसिक तथा शारीरिक क्षति र यसबाट बचावटको लागि उपचारात्मक विधि पनि यस शिक्षाले सिकाउँछ ।
संवेदनशील स्याहार
विशेषतः शिशुले आफ्नो आवश्यकताहरू सुरुमा शारीरिक प्रतिक्रिया व्यक्त गर्छन् । यसमा स्याहारकर्ताको संवेदनशील तथा उत्तरदायीपूर्ण सहयोग नभएपछि उनीहरूको व्यवहारमा समस्या आउन सक्छ । ३ वर्षमुनिका बोल्न जान्ने बालबालिका पनि आफ्नो आवश्यकता बताउन सही शब्द छनौट गर्ने सक्दैनन् । अभिभावक तथा स्याहारकर्ताले बालबालिकाकोे यी आवश्यकताहरू नबु्झ्दा उनीहरूले अभिभावकमा विश्वास नगर्न सक्छन् । जसको कारण नकारात्मक संवेगहरू बढ्दै जाने, जस्तै रिसाउने, चिच्याउने, रुने, डराउने जस्ता समस्यामूलक व्यवहार बढ्दै जाने सम्भावना हुन्छ । अभिभावक शिक्षाले बालबालिकाको मनोभावना बुझेर बाल अनुकूल व्यवहार गर्न अभिभावकलाई सक्षम बनाउँछ । यसले मनोसामाजिक समस्या आउन नदिन अभिभावकको भूमिका र यस्ता समस्या आइहालेपनि घरपरिवारमै अभिभावकबाट सम्भव हुने उपचारात्मक विधिहरू पनि सिकाउँछ ।
सुरक्षा र संरक्षण
बालबालिका जहाँ छन्, त्यहीँ सुरक्षित र संरक्षित रहनु जन्मसिद्ध अधिकार हो । बालबालिका गर्भमा आएदेखि उमेर वा विकासात्मक चरण अनुरुप सुरक्षित वातावरण तयार गनुपर्ने हुन्छ । बाल दुव्र्यवहार, चोरी, बेचविखन, बालश्रम, दुर्घटना, आपत्कालीन अवस्था, रोगव्याधि आदिबाट बालबालिकालाई बचाउने तरिका र यस्ता दुर्घटनाहरू भइहालेका अवस्थामा पनि पुनःस्थापना र सरकारी नीतिका आधारमा कानुनी उपचारको बारेमा अभिभावकहरू स्पष्ट भएर समयानुकूल व्यवहार गर्न अभिभावक शिक्षाले सिकाउँछ ।
उत्प्रेरणा र सिकाइ
बालबालिकाको सिकाइ गर्भदेखि नै सुरु हुन्छ । बालबालिकाको सिकाइका ढोकाहरू अर्थात पाँच इन्द्रियहरू (आँखा, कान, नाक, जिब्रो, र छाला) पाएका अनुभव नै उत्प्रेरणा हुन् । उमेरअनुसार र जति यी इन्द्रियहरूले उत्प्रेरणा पाउँछन् त्यति नै सक्रिय हुंदै जान्छन् । आँखाले नयाँ कुरा हेर्न, जिब्रोले नयाँ वस्तु चाख्न, कानले सुन्न र हातले वस्तुहरू चलाउन छुन कहिल्यै थाक्दैनन् । यस्तो क्रियाकलापले उनीहरूको बौद्धिक क्षमता बढाउँछ । प्रत्येक क्रियाकलाप वा उत्प्रेरणाबाट शिशुले नयाँ सिप सिकिरहेका हुन्छन् । यसमा पनि उनीहरूको भावना बुझेर सो अनुरुप अभिभावकले सहभागी भएर सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । अभिभावक शिक्षाले यी उत्प्रेरणा र सिकाइमा गर्भदेखि, शिशु, बाल्यावस्था (प्रारम्भिक बालविकास तथा शिक्षा तथा आधारभूत कक्षा) आदि उमेरक्रम अनुरुप सिकाइमा अभिभावकले गर्नुपर्ने सहयोगबारे ज्ञान र सिप सिकाउँछ ।