हाम्रो बारे

नेपालका सम्पूर्ण बालबालिका - विशेष गरि पिछडिएका र अत्यावश्यक सुविधाबाट बन्चित बालबालिकाको अधिकार पैरवी गर्न युनिसेफ कटिबद्ध छ ।

Happy child
UN Nepal/2017/LNGAKHUSI

नेपालमा युनिसेफ: पाँच दशकको साझेदारी

नयाँ दिल्लीस्थित कार्यालयमार्फत सन् १९६४ देखि नेपालमा काम गर्न शुरू गरेको युनिसेफले सन् १९६८ मा काठमाडौंमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो।

विगतका वर्षहरुमा
विगतका पाँच दशकको साझेदारीमा देशले लिएका कैयौं विकासका कदमहरुमा युनिसेफले सहयोग गरेको छ। देशका बालबालिका, किशोरकिशोरी र महिलाका परिवर्तन हुँदै गएका आवश्यकताहरू अनुसार नेपालमा युनिसेफका कार्यक्रमहरुमा निरन्तर परिवर्तन भएका छन्। 

सन् १९६० र ७० को दशक: 

सवारी साधनहरु र निर्माण कार्यमा सहयोग; पुस्तकहरूको प्रकाशन र वितरण; खोप, आयोडिन, भिटामिन ए र आइरन चक्कीहरूको वितरणमा सहयोग, तथा स्तनपान र पुनर्जलीय उपचारको प्रवर्धनजस्ता भौतिक सहयोगका कार्यक्रमहरूमा केन्द्रित।

सन् १९८० को दशक:

प्रारम्भिक बाल हेरचाह र विकास, बालिकाहरूलाई शिक्षामा समान पहुँच, बाल सुरक्षा, बाल र मातृ स्वास्थ्य, सामुदायिक खानेपानी र सरसफाईका साथै दुर्गम क्षेत्रका बालबालिकालाई विद्यालयबाहिरको शिक्षाजस्ता कार्यक्रमहरूमा सहयोग।

सन १९९० को दशक:

विशेषगरी महिला केन्द्रित कार्यक्रम र समुदायको सशक्तिकरण, र आनीबानी (व्यवहार) परिवर्तनको प्रवर्धनका लागि मीना कार्यक्रम।

सन् २००० को दशक: 

द्वन्द्वको समयमा सुरक्षा, अनौपचारिक कानुनी समितिहरू, एचआईभी तथा जीवनोपयोगी सीपहरू सम्बन्धी कार्यक्रमहरू।

सन् २०१३ – सन् २०१७:

नीतिगत तथा कानुनी सुधार, बालबालिकासम्बन्धी संयन्त्र र प्रकृयाहरूको सुदृढिकरण, सामाजिक विकृतिहरूसंग सम्बन्धित चलन र व्यवहारहरूको सम्बोधन, किशोर-किशोरीहरूको विकास र सहभागिता, जलवायु परिवर्तन तथा दैविप्रकोप जोखिमहरूको न्युनिकरण। सन् २०१५ पछिका भुकम्पहरू पश्चात आपतकालिन सहयोग र पुनर्स्थापना।

सन् २०१८ – २०२२:

नेपालको युवा जनसंख्याको क्षमता अभिवृद्धि गर्नका केन्द्रीय, संघीय, र स्थानीय गरी सबै तहमा बालबालिकामा लगानी गर्नुपर्ने अत्यन्तै महत्वपूर्ण आवश्यकताको लागि युनिसेफले निरन्तर वकालत गर्नेछ । यसका साथै दिगो विकासका लक्ष्यहरू (SDGs) हासिल गर्नका लागि नेपालले गरेको प्रतिवद्धतालाई युनिसेफले सघाउँनेछ। युनिसेफका सन् २०१८ देखि २०२२ का कार्यक्रमहरु स्वास्थ्य, पोषण, बाल सुरक्षा, शिक्षा, खानेपानी, सरसफाई, र सामाजिक सुरक्षाजस्ता क्षेत्रहरुमा केन्द्रित रहनेछ। यसका अतिरिक्त, प्रारम्भिक बालविकास, किशोरकिशोरी, अपांगता, लिंग तथा विपद् जोखिम न्युनीकरण र जलवायु परिवर्तन आदि मुद्दाहरू पनि समेटिनेछ।

A boy in early childhood development class
UNICEF Nepal/2012/CSKarki

युनिसेफ नेपालका बारेमा केहि तथ्यहरू:

  • एक संयुक्त राष्ट्रसंघीय नियोग हो जसले आफ्ना पञ्चवर्षीय कार्यक्रमहरूका लागि सरकारसँग सहमति गर्दछ।
  • अन्तर्राष्ट्रिय गैरसरकारी संस्था होईन।
  • सरकारी र गैरसरकारी साझेदार संस्थाहरु मार्फत काम गर्दछ तर आफैले भने कार्यक्रमहरूको कार्यान्वयन गर्दैन।
  • मुख्यतया पैरवी, नीतिगत छलफल तथा तालिमहरू मार्फत सरकारका विद्यमान संयन्त्रको सुदृढिकरणमा सहयोग गर्छ।