अभिभावक शिक्षा
सहजकर्ताको लागि सन्दर्भ सामग्री
हाइलाईटहरू
गर्भावस्थादेखि आठ वर्षसम्मको उमेर बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, सामाजिक, संवेगात्मकर साँस्कृतिक पक्षको विकास गरी अन्तर निहित प्रतिभा प्रस्फुटन गराउने दृष्टिले अत्यन्तै महत्त्वपूर्ण अवस्था हो । प्रारम्भिक उमेरमा सिकेका र अनुभव गरेका आधारभूत ज्ञान,
सिप, व्यवहार र बानीहरू नै भावी जीवनको आधार शिलाका रूपमा स्थापित हुने गर्दछन् ।
यसमा अभिभावकको भूमिका नै मुख्य र हने तथा हरेक बालबालिकाको सुन्दर भविष्य अभिभावकको अन्तिम लक्ष्य समेत भएकोले यस उमेर समूहका बालबालिकाको विकासात्मक पक्षहरू र यसमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाबारे उनीहरूको क्षमता विकास तथा सचतेना अभिवृद्धि आवश्यक हुन्छ ।
यसका लागि विभिन्न समयमा अभिभावकको सचेतना अभिवृद्धि सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । यसै क्रममा २०७३ सालमा तत्कालीन शिक्षा विभागले युनिसेफ नेपाल तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको सहयोगमा पहिलेको अभिभावक शिक्षा ६ मोडेलमा आधारित भएर अभिभावक शिक्षा सहजकर्ताका लागि सन्दर्भ सामग्री तयार गरेको थियो । उक्त सामग्री प्रयोगका क्रममा प्राप्त अनुभव र पृष्ठपोषण, यस क्षेत्रका विज्ञको सल्लाहसमेतलाई समावेश गरी परिमार्जित संस्करण तयार गरिएको हो ।