अनिश्चितता र अशान्तिको समयमा आफ्ना बालबालिकालाई सहयोग गर्ने तरिका

अभिभावक र हेरचाहकर्ताका लागि

युनिसेफ
a person holding another person's hands supportively
UNICEF Nepal
12 सेप्टेम्बर 2025
Reading time: 2 minutes

यस्तो समयमा आफ्ना भावना बुझौं

अनिश्चितता र अशान्ति हुँदा हिंसा, डर, आक्रोश र निराशा फैलिन्छ। यस्तो बेला अभिभावक आफैंलाई थाकेको र अलमलिएको महसुस हुन्छ । यस्तो अवस्थामा बालबालिकालाई कसरी सहयोग गर्ने भन्नेमा अनिश्चित हुनु सामान्य हो।

आफ्ना भावनासँग जुध्दै बालबालिकालाई सान्त्वना दिने काम सजिलो हुँदैन। सामान्य अवस्थामा पनि अभिभावकत्व चुनौतीपूर्ण छ, अनिश्चितता र अशान्तिको समयमा त झन् गाह्रो हुन्छ।

तपाईंलाई यस्तो महसुस हुनु स्वाभाविक हो। तपाईं एक्लो हुनुहुन्न। तपाईंलाई आवश्यक परेको खण्डमा सहयोग उपलब्ध छ।

person with child
Open source

सहयोग खोजौ

यदि तपाईंलाई वा तपाईंका बालबालिकालाई लगातार चिन्ता, पीडा वा असहज भावना आइरहेको छ भने कसैसँग कुरा गर्नुहोस्।

तपाईंले तल दिइएका नम्बरहरूमा कल गर्न सक्नुहुन्छ ।

📞१६६०-०१०-२००५ – टीपीओ मानसिक-समाजिक सहायता हेल्पलाइन (बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म), एनटिसी नेटवर्कका लागि निःशुल्क
📞१०९८ – बाल सहायता हेल्पलाइन (बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म)
📞९८५१३५२१४२ – ड्युटीमा रहेका चिकित्सक, कान्ती बाल अस्पताल (बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म)
📞९७६५३५५४०० – कान्ती बाल अस्पताल रिसेप्शन (बिहान १० बजे देखि दिउँसो २ बजे सम्म)

यसबाट अभिभावक वा हेरचाहकर्ताले आफ्ना बालबालिकालाई कसरी सहयोग गर्ने भनेर सल्लाह र समर्थन पाउन सक्नुहुन्छ।

आपतकालीन अवस्थामा पहिले आफ्नो ख्याल राखौं

तपाईं स्वस्थ र बलियो रहनुभयो भने मात्र आफ्ना बालबालिकालाई सहयोग गर्न सजिलो हुन्छ।

तपाईंलाई कस्तो अनुभव हुन सक्छ?

- सामान्यभन्दा बढी रिस उठ्ने वा मनस्थिति छिट्टै बदलिने

- चिन्ता, तनाव वा असहाय महसुस हुने

- उदासी, निराशा वा दैनिकीमा चासो हराउने

- विगतका घटनाहरू बारम्बार सम्झिँदा मुटु छिटो धड्किने वा पसिना आउने

- ध्यान केन्द्रित गर्न गाह्रो हुने, निर्णय लिन नसक्ने

- निन्द्रा र खानपान बिग्रिने

 

यी सबै कुरा सामान्य हुन्। 

तपाईं एक्लो हुनुहुन्न भनेर सम्झिनुहोस्।

 

आफूलाई मद्दत गर्ने उपाय:

- आफूसँग धैर्य गर्नुहोस् —तपाईं सबैकुरामा पूर्ण बन्नु पर्दैन। बालबालिकाको आधारभूत आवश्यकतालाई पुरा गर्नुहोस् र आफूलाई पनि माया गर्नुहोस् ।

- चुनौती स्वीकार्नुहोस्, तर आफ्नो बलियो पक्ष सम्झनुहोस्।

- भएको क्षति वा घाटामा दुःख मान्नु सामान्य हो भनेर सम्झिनुहोस्। तपाईंले शोक मनाउन सक्नुहुन्छ भनेर सम्झनुहोस् ।

- साथी, आफन्त वा सहयोगीबाट सहयोग लिनुहोस्।

- आफन्तहरूसँग सम्पर्कमा रहनुहोस्।

- आशावादी रहनुहोस्।

- सकेसम्म आराम गर्नुहोस्।

- अन्य भरपर्दा वयस्कसँग जिम्मेवारी बाँड्नुहोस्। विशेषगरी बालबालिकाको स्याहारको जिम्मेवारी तपाईं एक्लैको मात्र हैन । कहिलेकाँही आफ्नोलागि समय लिएर आराम पनि गर्नुहोस् ।

- नियमित समयतालिका (भोजन, सुत्ने समय) कायम गर्नुहोस्।

- धार्मिक, सांस्कृतिक, आध्यात्मिक आफूलाई सहज हुने, शान्ति मिल्ने कामहरू गर्न नछोड्नुहोस्।

- अत्यधिक मदिरा वा हानिकारक बानीहरूबाट टाढा रहनुहोस्।

a family
Open source

अशान्तिको समयमा आफ्ना बालबालिकालाई सुरक्षित राखौ

शारीरिक सुरक्षा:

- बालबालिकासँगै रहनुहोस्, लामो समय छोडेर नगइदिनुहोस्।

- बाहिर नजानुहोस्, सकेसम्म घरभित्रै रहनुहोस्।

- बालबालिकालाई वयस्कको निगरानी बिना नछोड्नुहोस्।

- बालबालिकालाई आफ्नो नाम, बस्ने स्थान र छुट्टिएमा सहयोग कसरी माग्ने भन्ने सिकाउनुहोस्।

- अलग हुनुपरेमा सुरक्षित भेट्ने ठाउँ तय गर्नुहोस्।

- हालको परिस्थिति र योजनाको महत्त्वबारे बालबालिकालाई बताउन र बुझाउन नबिर्सनुहोस्।

सुरक्षित वातावरणको निर्माण:

- बालबालिका बाहिर खेल्न जानु पर्दा, कहाँ र कहिले फर्किन्छ भन्ने बताउन लगाउनुहोस्। सकेसम्म एक्लै नपठाउनुहोस् ।

- घरलाई बालबालिकामैत्री बनाउन प्रयास गर्नुहोस्। बालबालिकालाई चोटपटक लाग्ने वा दुर्घटनामा पर्ने वस्तुहरुको उचित व्यवस्थापन गर्नुहोस् ।

- बालबालिकाले दिएको गुनासो वा डरलाई गम्भीरताका साथ लिनुहोस्। यदि उनीहरूलाई कसैले हानी पुर्याइरहेको कुरा उनीहरूले तपाईंलाई बताएमा उनीहरूको विश्वास गर्नुहोस् र उनीहरूको समस्या बुझ्ने प्रयास गर्नुहोस् ।

भावनात्मक र मानसिक सुरक्षा:

- बालबालिकालाई बारम्बार उनीहरू सुरक्षित भएको र तपाईंले त्यसको लागि निरन्तर प्रयास गरिरहने सन्देश दिनुहोस्।

- नियमित दिनचर्या कायम गर्नुहोस्। यसले बालबालिकालाई सुरक्षित महसुस गराउँछ ।

- सकारात्मक अन्तरक्रिया गर्नुहोस्, मायालु व्यवहार देखाउनुहोस् — हाँस्नुहोस्, अंगालो मार्नुहोस्, माया देखाउनुहोस्।

- बालबालिकाले गरेको सानो प्रयास वा राम्रो व्यवहारको प्रशंसा गर्नुहोस्।

अनिश्चित समयमा बालबालिकासँग कुरा गर्ने तरिका

१. संवादको सुरुवात आफैँ गर्नुहोस्: आफ्ना बालबालिका कहाँ गएर गाह्रो विषयहरूमा कुराकानी सुरु गर्नुहोस्। डरलाग्दो  समाचार वा अफवाह, साथी वा मिडियाबाट भन्दा तपाईंबाट सत्य कुरा सुन्नु राम्रो हुन्छ।

उदाहरण:

- "तिमीले केही डर लाग्दा कुरा सुनेको हुन सक्छौ, हामी यसबारे कुरा गरौं।"

- "अहिले केही यस्ता कुराहरू भइरहेका छन् जसका बारेमा हामीले छलफल गर्नुपर्छ ताकि तिमीले बुझ्न सक र सुरक्षित महसुस गर्न सक।"

- "तिमीलाई सुरक्षित महसुस गराउन, अहिले भइरहेको कुरालाई म बुझाउन चाहन्छु। तिम्रो कुनै प्रश्न छन् भने त्यसको जवाफ दिन चाहन्छु।"

उनीहरूलाई आश्वस्त पार्नुहोस्: कुरा गर्दा आँखामा आँखा जुधाउनुहोस्, उनीहरूको स्तरमा झुक्नुहोस् र उनीहरूको काँधमा सान्त्वना दिने गरी हात राख्नुहोस्।

स्पष्ट निर्देशन दिनुहोस्: उनीहरूले के गरून् भन्ने चाहनुहुन्छ, त्यसका लागि सकारात्मक शब्दहरू प्रयोग गरेर स्पष्ट र विशेष निर्देशनहरू दिनुहोस्।

सबै कुराको जवाफ थाहा नभएको स्वीकार गर्नुहोस्: "मलाई थाहा छैन, तर म यसको बारेमा खोजी गरेर थप जानकारी पत्ता लगाउने प्रयास गर्नेछु" भन्नु ठीक हो।

mother and child
Open source

२. विकासात्मक चरणअनुसार उपयुक्त प्रतिक्रिया दिनुहोस्

•            इमानदार र सरल जवाफ दिनुहोस्: प्रश्नहरूको जवाफ इमानदार र सरल तरिकाले दिनुहोस्।

•            साना बालबालिकाका लागि (१० वर्ष मुनिका): व्याख्यालाई छोटो र सरल राख्नुहोस्। स्पष्ट र शान्त भाषा प्रयोग गर्नुहोस्। उदाहरणका लागि, "बाहिर केही मानिसहरू दुःखी छन् र उनीहरूले हल्ला गरिरहेका छन्। हामी यहाँ घरमा सुरक्षित छौँ।"

•            ठूला बालबालिका र किशोरकिशोरीका लागि: थप विस्तृत जानकारी दिनुहोस् र उनीहरूका प्रश्नहरूको जवाफ अझ राम्ररी दिनुहोस्। उदाहरणका लागि, "केही मानिसहरू केही कुराहरूलाई लिएर दुःखी भएकाले विरोध प्रदर्शन भइरहेको छ। सुरक्षित रहनु र हाम्रो वरिपरि के भइरहेको छ भन्ने कुरा थाहा पाउनु महत्त्वपूर्ण छ।"

•            अत्यधिक भावनात्मक भाषा प्रयोग नगर्नुहोस्: तथ्यमा अडिग रहनुहोस् र अत्यधिक भावनात्मक भाषा प्रयोग नगर्नुहोस्।

•            आफ्नो बालबालिकाको प्रतिक्रियाप्रति सचेत रहनुहोस्: तपाईंको बालबालिकाले कसरी प्रतिक्रिया दिइरहेको छ भन्ने कुरामा ध्यान दिनुहोस् र त्यसैअनुसार आफ्नो जवाफलाई मिलाउनुहोस्।

a family
Open source

बालबालिकाको मानसिक र भावनात्मक स्वास्थ्यको ख्याल गर्ने तरिका

१. हेरचाह, प्रशंसा, र कदर

•            स्नेह देखाउनुहोस्: आफ्ना बालबालिकालाई स्नेह, मुस्कान, र अँगालोमार्फत तपाईंले उनीहरूको कत्तिको ख्याल गर्नुहुन्छ भनेर देखाउनुहोस्।

•            प्रशंसा गर्नुहोस्: घरछिमेकको कामहरूमा जतिसुकै सानो भए पनि उनीहरूको सहयोगको लागि प्रशंसा गर्नुहोस् ।

२. आफ्ना बालबालिकाको कुरा सुन्नुहोस्

•            प्रश्न सोध्नका लागि सुरक्षित ठाउँ दिनुहोस्: उनीहरूलाई प्रश्न सोध्न ठीक छ र तपाईं कुरा गर्नका लागि एक सुरक्षित व्यक्ति हुनुहुन्छ भन्ने कुरा थाहा दिनुहोस्।

•            भावना व्यक्त गर्न प्रोत्साहन दिनुहोस्: आफ्ना विचार, प्रश्न, र भावनाहरू व्यक्त गर्न उनीहरूलाई प्रोत्साहित गर्नुहोस्। रुनु र असहज महसुस गर्नु सामान्य हो भनेर बताउनुहोस्।

•            भावनाहरूलाई नाम दिन मद्दत गर्नुहोस्: उनीहरूलाई आफ्ना भावनाहरूलाई नाम दिन मद्दत गर्नुहोस्। उदाहरणका लागि, "मैले सुनेँ कि तिमीलाई रिस उठेको/डर लागेको/हताश महसुस भइरहेको छ। यस्तो महसुस हुनु एकदमै सामान्य हो। मलाई पनि कहिलेकाहीँ रिस उठ्छ/डर लाग्छ/हताश महसुस हुन्छ।"

•            आफ्नै व्यवहारको उदाहरण दिनुहोस्: तपाईंले देख्न चाहेको व्यवहारहरू, जस्तै दयालु भई बोल्ने र शान्त भई व्यवहार गर्ने, आफैँले देखाउनुहोस्।

३. आफ्ना बालबालिकालाई उनीहरू सुरक्षित छन् भनेर आश्वस्त पार्नुहोस्

•            सुरक्षाको सुनिश्चितता: आफ्ना बालबालिकालाई उनीहरू सुरक्षित छन् र उनीहरूको परिवार/साथीहरू पनि सुरक्षित छन् भनेर आश्वस्त पार्नुहोस्।

४. नियमितता र संरचना कायम राख्नुहोस्

•            नियमित तालिका बनाउनुहोस्: सुत्ने समय, खाना खाने समय, र अन्य दैनिक गतिविधिहरू जस्ता दैनिक तालिकालाई कायम राख्ने प्रयास गर्नुहोस्।

•            अनुमान गर्न सकिने गतिविधिहरू: सँगै बस्नुहोस्, कथा भन्नुहोस्, चित्र बनाउनुहोस्, वा हरेक दिन एउटै समयमा गीत गाउनुहोस् ताकि एक अनुमानित तालिका स्थापित होस्। के अपेक्षा गर्ने भन्ने कुरा थाहा पाउँदा बालबालिकालाई अझ सुरक्षित र ढुक्क महसुस गर्न मद्दत गर्न सक्छ।

५. खेल्न र व्यायाम गर्न प्रोत्साहन दिनुहोस्

•            खेल्नलाई प्रोत्साहन गर्नुहोस्: आफ्ना बालबालिकालाई तपाईंसँग, आफ्ना दाजुभाइ दिदीबहिनीसँग, वा अन्य बालबालिकासँग खेल्न प्रोत्साहन दिनुहोस्। खेल्नु बालबालिकालाई सिक्न, एकाग्र हुन, र तनाव व्यवस्थापन गर्न मद्दत गर्ने महत्त्वपूर्ण माध्यम हो।

•            व्यायामलाई समावेश गर्नुहोस्: मानसिक र शारीरिक स्वस्थता कायम गर्न सँगै शारीरिक गतिविधिहरूमा संलग्न हुनुहोस्। साना ठाउँहरूमा उफ्रने, डोरी खेल्ने जस्ता क्रियकलाप पनि गर्न सकिन्छ।

६. भावनात्मक पुष्टि र अभिव्यक्ति

•            उनीहरूका भावनाहरूलाई स्वीकार गर्नुहोस्: उनीहरूलाई कस्तो महसुस भइरहेको छ भनेर सोध्नुहोस् र उनीहरूका अनुभवहरूलाई स्वीकार गर्नुहोस्। उदाहरणका लागि, "म देख्न सक्छु कि यो तिम्रो लागि साँच्चै गाह्रो छ," वा " तिमी चिन्तित महसुस गरिरहेका छौ कि जस्तो लाग्छ।"

•            भावनाहरूलाई सामान्यीकरण गर्नुहोस्: उनीहरूलाई दुःखी, रिसाहा, वा रुनु सामान्य हो भन्ने कुरा बुझ्न मद्दत गर्नुहोस्। कहिलेकाहीँ तपाईंलाई पनि यस्तै भावनाहरू आउँछन् भनी उनीहरूलाई थाहा दिनुहोस् र तपाईंले ती भावनाहरूलाई कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने देखाउनुहोस्।

७. गुणस्तरीय समय र सम्बन्ध

•            ध्यान दिनुहोस्: प्रत्येक बालबालिकालाई केही क्षणका लागि आफ्नो पूरा ध्यान दिनुहोस्, आँखामा आँखा जुधाउनुहोस्, र उनीहरूले भनेको कुरालाई सक्रिय रूपमा सुन्नुहोस्।

•            विभिन्न विषयहरूमा कुरा गर्नुहोस्: पीडादायी घटनाहरूमा मात्र नभई विभिन्न विषयहरूमा पनि कुराकानीमा संलग्न हुनुहोस्। सान्त्वना र आशा प्रदान गर्न सकारात्मक अनुभव र कथाहरू साझा गर्नुहोस्।

८. अरूलाई मद्दत गर्न प्रोत्साहन दिनुहोस्

•            मद्दत गर्ने गतिविधिहरूलाई प्रोत्साहन गर्नुहोस्: आफ्ना बालबालिकालाई अरूलाई मद्दत गर्न सहयोग गर्नुहोस्, जसले उनीहरूलाई शक्ति र आत्म-मूल्यको भावना दिन सक्छ। यो घरको काममा मद्दत गर्ने वा सामुदायिक गतिविधिहरूमा भाग लिने जस्ता साना कार्यहरू मार्फत हुन सक्छ।

९. मिडियामा पहुँचको निगरानी र नियन्त्रण

•            मिडियामा पहुँच नियन्त्रण गर्नुहोस्: तपाईंका बालबालिकाले के हेरिरहेका छन् र के पढिरहेका छन् भन्ने कुरामा ध्यान दिनुहोस्, र पीडादायी समाचार र सामाजिक सञ्जाल सामग्रीमा उनीहरूको पहुँचलाई सीमित गर्नुहोस्।

•            मिडियासँग सँगै संलग्न हुनुहोस्: यदि तपाईंका बालबालिका जिज्ञासु छन् भने, सँगै समाचार हेर्नुहोस् वा पढ्नुहोस् र जानकारी बुझ्न र प्रक्रिया गर्न उनीहरूलाई मद्दत गर्न यसको बारेमा छलफल गर्नुहोस्।

अतिरिक्त सहयोग कहिले खोज्ने?

यदि बालबालिकामा तलका लक्षण लामो समय देखिन्छ भने नजिकैको स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क राख्नुहोस्:

•            एक महिनाभन्दा बढी समयसम्म धेरै दुःखी, उदास, डराएको, वा चिन्तित छ।

•            निराशा, अपराधबोध महसुस गर्छ, सुत्न गाह्रो हुन्छ, वा धेरै सुत्छ।

•            धेरै पीडामा भएकोले आफ्नो सामान्य दैनिक गतिविधिहरू गर्न सक्दैन।

•            आफैँलाई हानि पुर्‍याइरहेको छ वा आत्म-हानिको कुरा गरिरहेको छ।

•            अरूलाई चोट पुर्‍याउन चाहने कुरा गरिरहेको छ।

•            साथीभाइ र परिवारसँग राम्रोसँग घुलमिल हुन गाह्रो भइरहेको छ।

•            नराम्रो सपना, फ्ल्याशब्याक, वा अचानक डरलाग्दो सम्झनाहरू आइरहेका छन्।

•            भएका कुराहरूको सम्झना गराउने ठाउँ, मानिस, वा गतिविधिहरूबाट टाढा भागिरहेको छ।

•            ठीक हुनुको सट्टा अझ खराब भइरहेको जस्तो देखिन्छ।

•            गाह्रो घटनाहरूको बारेमा सोच्दा मुटुको धड्कन बढ्ने, धेरै पसिना आउने, वा बेहोस हुने जस्ता शारीरिक लक्षणहरू देखिन्छन्।