ईन्दिराको विद्यालयमा भविष्यको नृत्य कक्षा
२०७२ सालको भुकम्पले निकै ठुलो क्षति गरेतापनि “भुकम्पपछिको नेपालमा शिक्षाको पुनर्स्थापना” कार्यक्रमले बालबालिकालाई शिक्षामा निरन्तरता दिन सघाएको छ।
- English
- नेपाली
सिन्धुली, नेपाल – २०७२ साल वैशाख १२को भुकम्प जांदा ईन्दिरा श्रेष्ठ आफ्नी फुपू र भाईसंग आफ्नै घरमा थिइन्। उनीहरु सुतिरहेका थिए – ईन्दिरा खाटमा थिईन् भने उनको भाई र फुपू भुईँमा। ईन्दिराले आँखामात्र के चिम्लेकी थिईन्, सबथोक हल्लिन थाल्यो। उनले भाइ र फुपूलाई उठाउन खोजिन् तर वरपरका सामानहरु खस्न थालेपछि मात्र उनीहरु ब्युँझिए। ईन्दिरा आत्तिईन् र झ्यालबाट हामफालेर घर पछाडीको बारीमा पुगिन्। उनको ज्यान जोगियो, तर खुट्टामा लागेको गहिरो चोट राम्ररी निको हुन भने एक महिना लाग्यो। उनकी फुपू र भाइ भर्याङ्गबाट बाहिर निस्केका रहेछन्।
उनको घरमा पनि केहि क्षति भएको थियो तर सामान्य मर्मतपछि यसमा फेरि बस्न मिल्ने भयो। उनको विद्यालयले भने ठुलै क्षति बेहोर्यो।
सिन्धुली हुँदै ओखलढुंगा जिल्ला जाने राजमार्गभन्दा केहि माथी खांग सांगको सुनकोशी उच्च माध्यमिक विद्यालय छ। चार वटा कक्षाकोठा भएका विद्यालयका दुई भवनहरुमा भुकम्पका कारण ठूलो क्षति पुगेको थियो। यि भवनहरु ठूला ढुंगा र माटोको जोडाई गरी बनाईएका थिए। यी क्षतिग्रस्त भवनहरुको छेउबाट हिड्सा ईन्दिरालाई निकै नराम्रो लाग्छ।
“हामीलाई यहिँनेर पढाईन्थ्यो”, भित्तामा टाँसिएको कालोपाटी हेर्दै उनले भनिन्।
एउटा कुनामा निकै ठूला प्वालहरु थिए जसबाट परका अग्ला डाँडाहरु देख्न सकिन्थ्यो। क्षतिका कारण यस विद्यालय करिब दुई महिनाकालागि बन्द गर्नुपरेको थियो।
ईन्दिरा नजिकै बस्छिन त्यसैले उनले पढाई शुरुहुने बित्तिकै विद्यालय जान पाईन्। उनका धेरै साथीहरु टाढा बस्थे, त्यसैले उनीहरु घण्टौं हिडेर आउन सकेनन्। उनीहरुले आफ्नो घरको काममा सघाउनुपर्ने पनि थियो।
उपलब्ध स्थानमा सबै विद्यार्थीहरु नअटाउने भएकाले दुई पीपलको रुख मुनि पढाई शुरु गरियो जहाँ पहिले अतिरिक्त क्रियाकलापहरु गराईन्थ्यो। त्यसो हुँदा खराब मौसम भएको अवस्थामापनि पढाई रोक्नु पर्दथ्यो। “भुकम्प पछिको नेपालमा शिक्षाको पुनर्स्थापना” नामक कार्यक्रम अन्तर्गत अहिले सुनकोशी उच्चमाध्यमिक विद्यालयमा दुईवटा अस्थायी सिकाई केन्द्रहरु छन्। युरोपेली संघ र युनिसेफको सहकार्यमा सञ्चालित यस कार्यक्रमले भुकम्प प्रभावित ९ जिल्लाहरुमा ६५० वटा यस्ता केन्द्रहरुको निर्माण गरेको छ।
ईन्दिराले फराकिलो ठाउं र पर्याप्त उज्यालो भएको यस केन्द्रको प्रशंसा गर्छिन्। उनी भन्छिन - पहिलेको भवनमा अंध्यारो हुन्थ्यो। उनलाई विद्यालयको सबभन्दा मनपर्ने पक्ष भने नृत्य प्रतियोगिता जस्ता सांस्कृतिक कार्यक्रमहरु हुन्। सानै हुँदा देखि त्यस प्रकारका कार्यक्रमहरुमा उनी सहभागी हुन्थिन्। ग्रामीण नेपालका अधिकांश विद्यालयहरुमा जस्तै यहाँपनि यस्ता कार्यक्रमहरुका लागि हल छैन, किनभने पाठ्यक्रमभन्दा बाहिरका सिकाई सम्बन्धी गतिविधि गर्नका लागि विद्यालयसंग श्रोत उपलब्ध छैन।
यस प्रकारका सिकाई केन्द्रहरुको एउटा फाईदा भनेको विद्यालयमा स्थायी संरचना बनिसकेपश्चात यिनलाई पुस्तकालय, सभाहल, बैठक कक्ष वा अन्य प्रयोजनका लागि उपयोग गर्न सकिन्छ।
जब ईन्दिराले यो सुनिन्, उनले मिश्रित भाव व्यक्त गरिन् किनभने अहिले उनी ११ कक्षामा छिन् र अर्को वर्ष उनको विद्यालय शिक्षा समाप्त भएपछि उनले यो भवनलाई हलको रुपमा प्रयोग गर्ने पाउने छैनन्।
“तर म यहाँ कार्यक्रमहरु हेर्न भने आउनेछु”, उनले भनिन्।