जुनकुनै समय, खेल्ने समय !
सिकाइ एवम् मस्तिष्क विकासका लागि दैनिक क्रियाकलापलाई रमाइला खेलहरूमा बदल्नुहोस् ।
तपाईँको बालबालिकाको मस्तिष्क अन्य कुनै समयमा भन्दा उनको जीवनका सुरुवाती १००० दिनमा (गर्भधारणदेखि २ वर्षसम्ममा) सबैभन्दा द्रुत गतिमा विकास हुन्छ । यो भन्दा पनि आश्चर्यजनक कुरा त के छ भने बालबालिकाले बोल्न थाल्नुभन्दा अगाडिदेखि नै तपाईँले उनको मस्तिष्कको विकासमा सहयोग गर्न सक्नुहुन्छ ।
कसरी? अर्थपूर्ण दोहोरो अन्तरक्रिया मार्फत !
अङ्ग्रेजीमा सामान्यतः ‘सर्भ एण्ड रिटर्न’ भनिएको यो प्रक्रियालाई हामीले नेपालीमा ‘अर्थपूर्ण दोहोरो अन्तरक्रिया’ भनेर अथ्र्याउन खोजेका छौँ । त्यसो भए, के हो त ‘अर्थपूर्ण दोहोरो अन्तरक्रिया’ भनेको?
यो बालबालिका र उनीहरूका आमाबुबा वा प्राथमिक हेरचाहकर्ताबीचको दोहोरो अन्तरक्रियाको श्रृंखला हो जहाँ शिशुले निकाल्ने आवाजहरू र प्रदर्शन गर्ने संकेतहरूमा वयस्कले मायालु एवम् उचित तरिकाले प्रतिक्रिया जनाउँछन् । सोच्नुहोस् कि यो टेबलटेनिसको खेल हो जहाँ सर्भ गरेर बललाई अर्को खेलाडि तिर पठाइन्छ, उसले बल तपाईँ तिर फर्काउँछ अनि तपाईँले ऊतिर । यो पनि टेबलटेनिसमा तपाईँले गर्ने रमाइलो जस्तै रमाइलो गरी बालबालिकासँग अन्तरक्रिया गर्ने प्रक्रिया हो !
यसमा सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ तपाईँले उनको ख्याल गर्नुहुन्छ भनी आफ्नो बालबालिकालाई देखाउनु हो । यसका साथै उनका आवश्यकता, भावना र उनलाई रोमाञ्चित गर्ने कुराहरूमा यस्तो तरिकाले प्रतिक्रिया दिनु हो कि तपाईँले उनीलाई ध्यान दिइरहनुभएको छ भन्ने प्रष्ट होस् ।
मैँले आफ्नो बालबालिकासँग कसरी अर्थपूर्ण दोहोरो अन्तरक्रियाको अभ्यास गर्न सक्छु?
तपाईँको शिशुको मस्तिष्क विकास गर्ने कामकुरा जटिल हुन आवश्यक छैन । अझ राम्रो त के हो भने दैनिक कार्यहरू वा आफ्नो दैनिकीभित्रका विभिन्न क्षणहरूमा मस्तिष्क विकासका लागि काम गर्न सकिन्छ । आफ्नो बालबालिकासँगको जुनकुनै क्षण पनि सिकाइका लागि रमाइलो खेल अवसर बन्न सक्छ !
यहाँ तपाईँले आफ्नो बालबालिकासँगका दैनिक अन्तरक्रियाका क्षणहरूमा कसरी अर्थपूर्ण दोहोरो अन्तरक्रियाको प्रक्रियालाई समाहित गर्न सक्नुहुन्छ भनी केहि सजिला उपायहरू दिइएको छ ।
नाम भन्ने खेल
तपाईँको विहानको दैनिकीमा केहि रमाइलो थप्नुहोस् ! आफ्ना बालबालिकालाई लुगा लगाइदिने काम उनीहरूलाई भाषासँग जोड्ने महत्वपूर्ण कुरामा सहयोग पुर्याउने राम्रो अवसर बन्छ । तपाईँले लगाइदिने प्रत्येक लुगामा उनको रुचीलाई ध्यान दिँदै तिनको नाम भन्दै जानुहोस् । उदाहरणका लागि, सर्ट लगाइदिन लाग्दा सर्ट उचाल्नुहोस् र भन्नुहोस्, “यो तिम्रो सर्ट हो !” तपाईँले उक्त कपडाका बारेमा थप जानकारीहरू सिकाउन यो खेललाई एक कदम अगाडि बढाउन सक्नुहुन्छ । जस्तो कि, तपाई सोध्न र भन्न सक्नुहुन्छ, “यो सर्ट कस्तो रङको छ? यो सर्ट निलो रङको छ !”
खाना समयको रमाइलो !
आफ्नो बालबालिकासँगै भान्सामा अवलोकन र अन्वेषण गर्नुहोस् । तपाईँको बालबालिकाका लागि अवलोकन र अन्वेषण गर्न त्यहाँ रमाइला दृष्य, रङ, आकारप्रकार र वास्नाहरू भरिपूर्ण हुन्छन् । तपाईँको बालबालिकाले के हेरिरहेको छ, के मा रुची देखाइरहेको वा प्रतिक्रिया जनाइरहेको छन् भन्ने कुरामा सुक्ष्म तरिकाले ध्यान दिई उनको जिज्ञासालाई सघाउ पुर्याउनुहोस् । उदाहरणका लागि, यदि तपाईले बालबालिकाले केराको कोसामा ध्यान दिइरहेको थाह पाउनुभयो भने त्यसलाई उठाउनुहोस्, उनको नजिक लगिदिनुहोस् र त्यो के हो, कस्तो हुन्छ, कस्तो रङ छ, छुँदा कस्तो हुन्छ पनि सिकाउनुहोस् ।
बालबालिकाको रुचीलाई स्वीकार गर्ने कार्यले, आफुलाई बुझिदिएको साथै ध्यान दिइएको महशुस गर्न उनीहरूलाई सघाउँछ ।
नुहाउँदाको खेल
नुहाउँदा बोक्न मिल्ने खेलौनाहरू वा एउटा बल समात्नुहोस् र खेल्नका लागि तयार हुनुहोस् ! आफ्नो बालबालिकालाई उनको रुची अनुसारको खेलौना छान्न दिनुहोस् । त्यो खेलौना लिएर बालबालिकासँग खेल्नुहोस् । खेलौनालाई अघि सार्ने पछाडि तान्ने गर्नुहोस् । साथै बालबालिका अर्को खेलौनातिर लाग्न खोज्दा “अब सकियो !” भन्नुहोस् र पहिलो खेलौनाका लागि समय सकिएको स्वीकार गर्नुहोस् । साना शिशुहरू भन्दा अलिक ठूला बालबालिकाले रमाइलो खेलका क्षणहरूका लागि अघि सर्न सक्छन् र वयस्कले पछ्याउन सकिन्छ । खेलको सुरुवात र अन्त्यलाई जोड्ने, उनीहरूको ध्यान विचार गर्ने साथै उनीहरूलाई खेलको नेतृत्व गर्न दिने कुराले बालबालिकालाई उनीहरूको सिकाइ र अन्वेषणमा सहयोग गरिएको महशुस गर्न सहयोग पुर्याउँछ ।
औँल्याउने र सिक्ने
चाहे गाडीमा हुँदा होस् वा छिमेक वरीपरी हुँदा होस्, बाहिर घुम्दा देखिने कुराहरू धेरै नै हुन्छन् । बालबालिका संकेत, हेराइ वा आवाज मार्फत जे कुरामा रुचीकर देखिएका छन् त्यसमा ध्यान दिनुहोस् र त्यो के हो भनेर त्यसका बारेमा बताउँदा त्यो कुरालाई औँल्याउनुहोस् । “अहो तिमीले चरा देख्यौ? त्यो निकै राम्रो चरा छ !”
यसले तपाईँको बालबालिकालाई तपाईँले उनको रुची बारे चासो दिएको देखाउँछ । साथै यसले आफ्नो वरीपरीको संसारको अन्वेषण गर्न प्रोत्साहित गर्दछ ।
पालैपालो खाना
आफ्नो बालबालिकालाई केहि खाजा खुवाइरहँदा कसले खुवाउने भन्ने पालो लगाउनुहोस् । एक टुक्रा आफुले बालबालिकालाई खुवाउनुहोस् र अर्को टुक्रा आफैँ टिप्न लगाउनुहोस् । केहि बढी समय लागे पनि बालबालिकालाई प्रतिक्रिया जनाउनका लागि पर्खनुहोस् । पालोपालो गर्नुले उनीहरूको आत्मविश्वास र सामाजिक सीपको विकास गर्दछ । यो ६ महिना र त्यसभन्दा बढी उमेरका बालबालिकाका लागि निकै राम्रो खेल हुनसक्छ ।
दिनहुँ यस्तो अर्थपूर्ण अन्तरक्रिया सृजनाका लागि समय निकालेर तपाईँले आफ्नो बालबालिकालाई तयार पार्न, जीवनभरका लागि सिकाइ र समस्या समाधानका लागि जग बसाउन मदत गरिरहनुभएको हुन्छ । मस्तिष्क विकास यति धेरै रमाइलो हुनसक्छ भनेर के तपाईँलाई थाह थियो ?!