खेल समयबाट लैङ्गिक रुढीवादी धारणाहरू कसरी हटाउने

सबै बालबालिकाका लागि समावेशी खेल ।

युनिसेफ नेपाल
An illustration of girl playing a role of doctor and a boy playing a role of cook
UNICEF Nepal/2024/PShrestha
11 जुन 2024

प्रत्येक बालबालिकाको सिकाइ र विकासमा खेल आधारभूत कुरा हो । आमाबुबाका रुपमा यी सबैमा तपाईँको मुख्य भूमिका हुन्छ । तपाई आफ्नो बालबालिकासँग खेल्न कति समय दिनुहुन्छ र तपाईँ कस्तो खेलौना, खेल र क्रियाकलाप छान्नुहुन्छ भन्ने दुवै कुरामा तपाईँको भूमिका महत्वपूर्ण हुन्छ ।

तपाईँले यसो गर्दा आफुले सायद अन्जानवस नै सहि, लिङ्ग, अपाङ्गता, जाति, सम्प्रदाय वा संस्कृतिबारेका रुढीवादी धारणाहरू कायम राख्न योगदान त दिइरहनुभएको छैन भनी विचार गर्नुभएको छ?

तपाईँ घरमा बालबालिकाको कसरी पालन पोषण गर्नुहुन्छ भन्ने कुराले उनीहरूको सामाजिकीकरणमा योगदान गर्दछ । खेल यस्तो एउटा क्षेत्र हो जहाँ उनीहरूको सामाजिकीकरण हुन्छ ।

उदाहरणका लागि, लैङ्गिक रुढीवादकाबारे विचार गर्दा छोरीहरूलाई घर भित्र पुतलीहरूसँग खेल्न प्रोत्साहित गरिएको हुनसक्छ जबकि छोराहरूलाई बाहिर खेल्न प्रोत्साहित गरिएको हुनसक्छ । यसले छोरीहरूलाई सानो उमेरदेखि नै हेरचाहकर्ता बन्न त सिकाउँछ नै यसले अन्य प्रकारका संज्ञानात्मक, शारिरिक र सामाजिक सीपहरू विकास गर्ने उनीहरूको क्षमतामा बाधा  पुर्‍याउन समेत सक्दछ । छोराहरूलाई खेल्न प्राय बन्दुक जस्ता खेलौनाहरू दिइन्छ साथै उनीहरूलाई अन्य केटाहरूसँग वा पुरुष अभिभावकहरूसँग शारिरिक साथै अधिकतर आक्रामक गतिविधिहरूमा सहभागी हुन प्रोत्साहित गरिएको हुनसक्छ, जसले उनीहरूमा पुरुषवादी अस्वस्थ अभिव्यक्तिहरूलाई बढावा दिन सक्छ ।

An illustration of little girl playing with both sari as well as man's cloth
UNICEF Nepal/2024/PShrestha

तपाईँका बालबालिकाले खेल्ने खेलौना वा पढ्ने पुस्तकहरूमा अपाङ्गता भएका बालबालिका साथै सिमान्तीकृत समुहका बालबालिकाको प्रतिनिधित्व पटक्कै नभएको हुनसक्छ वा बालबालिकालाई हानीकारक प्रभाव पार्ने गरी उनीहरूलाई रुढीवादी तरिकाबाट देखाइएको हुन सक्दछ ।

आमाबुबाका रुपमा आफ्ना बालबालिकामा तपाईँको प्रत्यक्ष प्रभाव हुन्छ । उनीहरूसँग क्रियाकलापयुक्त सिकाइमा सहभागी भइरहँदा त्यस्ता पूर्वाग्रही कुराहरूलाई रोकथाम गर्ने क्षमता तपाईँसँग रहन्छ । यहाँ तपाईँले घरमा लैङ्गिक समतामुलक एवम् समावेशी खेल समयलाई प्रोत्साहित गर्न सक्ने केहि उपायहरू छन् ।

💙जुनसुकै लिङ्ग भएपनि विद्यालयको उपस्थितीलाई प्रोत्साहित गर्नुहोस् साथै छोरा र छोरी दुवैलाई खेल्न र घरेलु कामकाजमा सहभागी हुन समान र पर्याप्त समय दिनुहोस् ।

🩷तपाईँका बालबालिकाले समग्र सामाजिक एवम् संज्ञानात्मक सीपहरू विकास गर्न सक्ने खेलौना र खेलहरू खेलेको सुनिश्चित गर्नुहोस् । उदाहरणका लागि साक्षरता, अङ्क ज्ञान, वस्तु र स्थानको सम्बन्ध, संज्ञान र सामाजिक सीपहरू विकास गराउने खेलहरूमा ध्यान दिनुहोस् वा त्यस्ता खेलौनामा ध्यान दिनुहोस् जसले सृजनशीलता र समस्या समाधानका लागि प्रोत्साहित गर्दछ ।

💙आफ्ना बालबालिकालाई त्यस्ता पुस्तक पढ्न र त्यस्ता सञ्चारमाध्यम हेर्न मदत गर्नुहोस्, जसले उनीहरूको विविधता सहित बालबालिकाका समावेशी र सकारात्मक कथा भन्छन् । विभिन्न संस्कृतिहरूलाई ससम्मान दर्शाउने, अपाङ्गता भएका बालबालिका समावेश गर्छन् साथै लैङ्गिक भूमिकाको सकारात्मक चित्रण उपलब्ध गराउँदछन् ।

🩷आफ्ना बालबालिकालाई परम्परागत रुपमा विपरित लिङ्गसँग सम्बन्धित खेलौना र खेलहरू खेल्न दिनुहोस् । छोरा र छोरी दुबैले पुतली र भाँडाकुटीसँग खेल्न सक्छन् साथै उनीहरू दुबै शारिरिक रुपमा सक्रिय हुनुपर्ने खेल वा प्रतिस्पर्धामा सहभागी हुनसक्छन् । खेलौना र खेलहरू अन्ततः यस्ता औजार हुनुपर्छ जसले बालबालिकालाई फुर्तिलो र अनुकुलित सिकारु बन्न सक्षम बनाउने साथै उनीहरूलाई सृजनशीलता, सञ्चार र समस्या समाधान जस्ता सीपहरू सिकाउने हुनुपर्दछ ।

💙छोरीका लागि गुलाबी प्याकेज गरिएका, युनिकर्न, इन्द्रेणी र हर्टमार्क भएका वा ठिक विपरित छोराहरूका लागि निलो प्याकेज गरिएका, रोबोट, स्पेससीप र निर्माण औजारहरू जस्ता जानाजान लैङ्गिक रुढीवादी धारणा प्रस्तुत गर्ने खेलौना र खेलहरूबाट पर रहनुहोस् । बालबालिकालाई दिइएका खेलौना र खेलहरू प्रतिनिधित्वका हिसाबले समावेशी र विविधतायुक्त छन् भन्ने सुनिश्चित गर्नुहोस् ।

🩷बजारिकरण र विज्ञापनले हानिकारक लैङ्गिक साथै बालबालिकामा असमावेशी धारणालाई बल दिनसक्छन् भन्नेमा सचेत रहनुहोस् । तपाईँका बालबालिकालाई सकारात्मक सन्देशहरू दिने खेलौना, किताब र खेलहरू छान्नुहोस् ।

💙बालबालिकालाई बन्दुक साथै अन्य हिंस्रक खेलौना खेल्नबाट रोक्नुहोस्, जसमा अत्यन्त हिंस्रक वा यौनजन्य भिडियो गेमहरू समेत पर्दछन् । भिडियो गेम उद्योग निकै द्रुत गतिमा बढिरहेको क्षेत्र हो जो गहिरोसँग आफ्ना अधिकांश सामाग्रीमा लैङ्गिक पूर्वाग्रह, यौन र हिंसाको प्रयोगबाट ग्रसित छन् । प्रायः बालबालिकाद्वारा खेलिने र किशोरकिशोरी लक्षित यस्ता प्रकारका खेलहरूमा लैङ्गिक पूर्वाग्रहहरू बढाउने र भविष्यका पुस्ताहरूमा अस्वस्थकर तथा हानिकारक व्यवहार र मनोवृत्तिलाई बढावा दिने किसिमका हुन्छन् ।

🩷भिडियो गेमहरूलाई प्रतिस्पर्धात्मक खेल र मैदानमा खेलिने खेल जस्ता रचनात्मक शारिरिक क्रियाकलापहरूले प्रतिस्थापन गर्नुहोस् वा त्यस्ता क्रियाकलापहरू थप गर्नुहोस् । बालबालिकाको लिङ्ग जुनसुकै भए पनि शारिरिक क्रियाकलापहरू उनीहरू सबैको स्वस्थ विकासका लागि अनिवार्य छन् साथै बालबालिकालाई खेलकुदमा भाग लिने, मैदानमा जाने वा साथीहरूसँग खेल खेल्ने आदि माध्यमबाट जीवनमा जति सक्दो कलिलो उमेरमा शारिरिक खेलमा सहभागी हुन प्रोत्साहित गरिनु पर्छ । अभिभावकका रुपमा आफ्ना बालबालिकाका लागि संज्ञानात्मक रचनात्मक सीपका पुरा श्रृंखलाहरूमा सहयोग  पुर्‍याउने कोशिस गर्नुहोस् साथै छोरा र छोरी दुबैले घरभित्र र बाहिर समान खेल समय पाएका छन् भन्ने सुनिश्चित गर्नुहोस् ।

💙आफ्ना बालबालिकालाई आक्रामकता वा अरु माथिको थिचोमिचोको सट्टा क्रोध र हताशलाई समस्या समाधान, सकारात्मक सञ्चार र रचनात्मक शारिरिक क्रियाकलापमा बदल्न प्रोत्साहित गर्नुहोस् ।

अन्तमा, खेलले आमाबुबा र बालबालिकाबीच सम्बन्धको विकास गर्दछ र आत्मियता बृद्धि गर्दछ भनेर नबिर्सनुहोस् । त्यसैले बालबालिकासँग बिताएका प्रत्येक क्षणको आनन्द लिने कुरा सुनिश्चित गर्नुहोस् ।