पोषण
नेपालका सम्पूर्ण बालबालिका स्वस्थ र पोषणयुक्त सन्तुलित खाना खाई स्वस्थ भई हुर्केको सुनिश्चित गर्न हामी काम गर्दछौं
- उपलब्ध:
- English
- नेपाली
चुनौती
विशेष गरि बालबालिकाको शुरूवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरू, उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिन्छ।
बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो। राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्छन्, समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ हुन्छन्। तर कुपोषणबाट पिडित लाखौं बालबालिकाको लागि वास्तविकता निकै तितो छ। थप लाखौं बालबालिका चरम कुपोषणका कारण पुड्का हुन जान्छन् जसको उपचार सम्भव छैन । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई वास्तविक रुपमै छोट्याउने गर्दछ।
हामीले यो अवस्थालाई परिवर्तन गर्न सक्छौं र यो नै यस सन्दर्भमा खुसिको समाचार हो किनभने नेपालले हालैका दुई दशकमा केहि ठूला परिवर्तनहरू ल्याउन सफल भएको छ।
- विगतको दुई दशकमा बालबालिकामा न्युन पोषणको दर उल्लेखनीय रुपमा घटेको छ। सन् १९९६ मा ५७% रहेको पुड्कोपन (उमेर अनुसारको उचाई नहुनु) को संख्या सन् २०१६ मा घटेर ३६% पुगेको छ। सोहि समयावधिमा न्युन वजन (उमेर अनुसारको वजन नहुनु) ४२% बाट घटेर २७% पुगेको छ र ख्याउटेपन (उचाई अनुसारको वजन नहुनु) १५% बाट घटेर १०% पुगेको छ।
- ९५% घरधुरीका बालबालिकाहरुले आयोडिन युक्त नुनको प्रयोग गर्छन्।
- ६ देखि ५९ महिना बीचका बालबालिकामा भिटामिन ए निरोधकको पहुँच ८६% छ।
- सफलतापुर्वक पोषण कार्यक्रम सम्पन्न गरे बापत स्केलिङ अप न्युट्रिसन (सन) अन्तर्गत नेपाललाई शुरुवाती उदयकर्ता (“अर्ली राइजर”) को उपाधी दिइएको थियो।
तर पनि हामीले निम्नानुसारको प्रगति हासिल गर्न बाँकी छ:
- विद्यमान पुड्कोपनको दर अझै स्विकार्न नसकिने गरी उच्च छ।
- पाँच वर्ष मुनिका १०% बालबालिका अझै ख्याउटे (उचाईं अनुसारको वजन नहुनु) छन्।
- ० देखि ५ महिना सम्मका ६६% बालबालिकाले पूर्ण स्तनपान गर्छन्।
- ६ देखि २३ महिना उमेरका ४७% बालबालिकाले मात्रै सन्तुलित भोजन पाएका छन् र ति मध्ये ३६% ले न्युनतम स्विकार्य पोषण पाएका छन्।
पाँच वर्ष मुनिका ५३% बालबालिका र ६-२३ महिनाका ६९% बालबालिका रक्त अल्पताबाट पिडित छन्। त्यसै गरि, ४४% किशोरीहरू, ४६% गर्भवतीहरु र प्रजनन उमेरका ४१% महिला रक्त अल्पताबाट पिडित छन्।

समाधान
न्युन पोषणको रोकथाम गर्न तथा यसका परिणामहरूबाट जोगिनका लागि गर्भावस्थाको शुरुवात देखि शिशुको दोस्रो जन्मदिन सम्मको शुरुवाती १००० दिनहरुले अपूर्व अवसर प्रदान गर्दछ। स्तनपानलाई सघाउने, ६ महिना भन्दा कम उमेरका शिशुहरूलाई अतिरिक्त खाना उपलब्ध गराउने, अन्य समस्याहरुको समाधानका लागि महिला तथा बालबालिकालाई सुक्ष्म पोषण उपलब्ध गराउने जस्ता सर्वस्विकार्य तथा तथ्यमा आधारित विधिहरुद्वारा हामीले हाम्रा कार्यक्रमहरूलाई यस संवेदनशील समायवधिमा केन्द्रित गर्नुपर्दछ। जीवनको शुरुवाती वर्षहरूमा पोषणको लागि गरिने यस लगानीले बालबालिका, तिनका परिवार र समुदायहरूलाई जीवन पर्यन्त प्रतिफल दिने गर्दछ।
युनिसेफको विद्यमान (२०१८-२०२२) राष्ट्रिय कार्यक्रम बहुक्षेत्रीय पोषण योजना – २ (२०१८-२०२२) द्वारा निर्देशित हुनेछ जुन सन् २०१७ डिसेम्बरमा जारी गरिएको थियो। किशोरकिशोरी, गर्भवती महिला तथा स्तनपान गराईरहेका आमाहरू, शिशु तथा साना बालबालिकाहरूको खाना खाने विधीमा सुधार ल्याउन कोशिस गरिनेछ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत वृहत पोषण कार्यक्रमको कार्यान्वयन गर्न नेपाल सरकारलाई युनिसेफले सघाउनेछ। यस अन्तर्गत निम्न गतिविधीहरु रहनेछन:
- किशोरकिशोरी, गर्भवती महिला तथा स्तनपान गराईरहेका आमाहरू, शिशु तथा साना बालबालिकाका लागि स्वस्थ, पोषणयुक्त र विविध खानाको प्रवर्धन गर्ने।
- ६-२३ महिनाका साना बालबालिकाको खानालाई विविध सुक्ष्म पोषक तत्वहरुद्वारा सुधार गर्ने।
- आयोडिनयुक्त नुनको प्रवर्धन गर्ने।
- ६-५९ महिनाका बालबालिकाका लागि भिटामिन ए को व्यवस्था गर्ने।
- १३-५९ महिनाका बालबालिकाको जुका निर्मुल गर्ने।
- किशोरी, गर्भवती महिला तथा स्तनपान गराइरहेका आमाहरुको लागि आइरन चक्कीको व्यवस्था गर्ने।
- पोषण सम्बन्धी शिक्षा र परामर्श सेवा।
बालबालिकामा व्याप्त चरम कुपोषणको उपचारका साथै आपतकालीन पोषण सम्बन्धी सेवा र उद्धारका लागि पनि युनिसेफले सरकारलाई सहयोग गर्नेछ।
बहुक्षेत्रीय पोषण योजना -२ अन्तर्गत रही शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका, र कृषि क्षेत्रसँग समन्वय गर्दै पोषणसँग सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयन गर्न युनिसेफले स्थानीय सरकारका निकायहरूलाई सहयोग गर्दछ। पोषणका कार्यक्रम अन्तर्गत लैंगिक समानता, सामाजिक समावेशिता र विपद् जोखिम व्यवस्थापनलाई कार्यक्रमको मुल धारमा ल्याईएको छ। समग्र नेतृत्व, क्षमता विकास र समन्वय गरी बहुक्षेत्रीय पोषण योजना -२ को कार्यान्वयन गर्न तथा उपयुक्त वातावरणको निर्माण गर्नका लागि युनिसेफले राष्ट्रिय योजना आयोगका साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंगपनि नजिकबाट सहकार्य गर्दछ।
