एउटा उदाहरणीय कुखुरा फार्म
२० जना आमाहरुको समुहद्वारा सञ्चालित सामुदायिक कुखुरा फार्म शिक्षित महिलाहरुले अरु महिलाका लागि के सम्म गर्न सक्छन् भन्ने कुराको उदाहरण हो।
- English
- नेपाली
डोटी नेपाल – मंसिरको चीसो बिहानीमा नीलो जस्ताले बारेर बनाईएको टहराबाट आईरहेको आवाज निकै परसम्म सुन्न सकिने गरि चर्को छ। तर हात मिच्दै आधा भरिएको बोराबाट दाना झिकेर एउटा हरियो बाल्टीमा हाल्दै गर्दा शारदा खड्का यो हल्लाबाट बेखबर थिईन्।
२०० कुखुरा राखिएको टहराको ढोका खोल्दै गर्दा यो हल्ला झनै चर्को हुंदै जान्छ माथि झुन्डाईएका थुन्सेजस्तो बाल्टीमा दाना खन्याउँदा कुखुराहरु उनको खुट्टा वरीपरी झुम्मिन्छन्। र त्यसपछि उनीहरको भोज शुरु हुन्छ। कुखुराहरुले दाना खाँदै गर्दा शारदा वरिपरि जान्छिन् र १० वटा जति अण्डा बटुल्छिन अनि ढोका बन्द गरेर बाहिर निस्किन्छिन्।
कठोर भुबनोट भएको डोटीको बाघककनीमा अवस्थित यो फार्म कुनै औसत कुखुरा फार्म होईन। दुई बच्चाकी आमा शारदाले अध्यक्षको हैसियतले नेतृत्व दिएको यो एक सामुदायिक कुखुरापालन व्यवसाय हो। वास्तवमा यस समुहका सम्पूर्ण सदस्यहरु १००० दिन भन्दा कम उमेरका बालबालिकाहरुका आमा हुन्।
आमाहरुलाई पोषण सम्बन्धी क्रियाकलापमा संलग्न गराउने मेलमिलाप सामुदायिक संस्थाको प्रयासले यस जिल्लामा उदाहरणीय परियोजनाको स्थापना भएको छ। दह्रो अठोट र उपयुक्त साथ पाएको खण्डमा, विशेषगरि यस्तो ग्रामीण परिप्रेक्ष्यमा, एक शिक्षित महिलाले अन्य महिलाको लागि के गर्न सक्छिन् भन्ने कुराको प्रमाण शारदा हुन्।
बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत जिल्ला कृषि कार्यालयबाट प्राप्त रू १००,००० (करिब ८०० युरो) को आर्थिक सहयोगबाट यो फार्मको स्थापना गरिएको थियो। यहि शुरुवाती रकमबाट यस टहराको निर्माण गरेपछि जिल्ला कृषि कार्यालयले प्रत्येक सदस्यलाई १५ र समग्रमा २०थप गरी कुल ३२० चल्लाहरु उपलब्ध गरायो। युनिसेफले युरोपेली संघबाट आर्थिक सहयोग र युनिसेफले प्राविधिक सहयोग प्रदान गरेको थियो।
पाँच महिना अघि पहिलो समुहको चल्ला ल्याए देखि यस समुहले रु ६०,००० मुल्य बराबरको कुखुरा उत्पादन गरेको छ जुन रकम दाना किनेर पुनर्लगानी गरिएको छ। कुखुराहरुले अण्डा उत्पादन गर्न थालेपछि समुहका महिलाहरुले समुदायमा त्यसको बिक्री गर्ने गरेका छन्।
“अब फार्म राम्रो संग चल्न थालेको छ, त्यसैले हामी १००० दिन भित्रका शिशु भएका आमाहरुले आफुले उपभोग गर्नाका लागि कुखुरा र अण्डा किनुन् भन्ने चाहन्छौं”, शारदाले भनिन्। फार्मको उत्पादकत्व कसरी बढाउने भनेर उनी समुहसंग भेटेर छलफल गर्छिन् र पोषणको महत्वका बारेमापनि सिकाउंछिन्।
३ महिने बालिकाकी आमा २२ वर्षीय सुमित्रा जोशी यसै समुहकी एक सदस्य हुन्। गर्भावस्थामा हरेक दिन तरकारी, अण्डा र दुधजन्य खाद्यपदार्थहरु सहितको सन्तुलित भोजन गरेको र सुत्केरी भएपश्चातपनि त्यसलाई निरन्तरता दिएको उनले बताईन्।
“समुहको सदस्य भएका कारण आमा र बच्चाको स्वास्थ्यका लागि सन्तुलित भोजन अत्यावश्यक छ भनेर बुझ्न सघाउ पुगेको छ”, उनले भनिन, “र अहिले मैले फार्म चलाउन सहयोग गर्ने मात्र नभई यसको ग्राहक पनि भएको छु”।
अझ धेरै आमाहरुलाई स्वस्थ खाना खान प्रोत्साहन गर्नका लागि समुहका सदस्यहरुलाई सहुलियत दरमा फार्मका उत्पादनहरु दिने बारे सल्लाह गर्नका उनी MSNP को टोलीसंग सल्लाह गर्ने योजना बनाउंदै छिन्। “उनीहरुका लागि यो निकै ठुलो राहत हुनेछ र स्वस्थ पोषण सम्बन्धी उपयुक्त निर्णयहरु लिनपनि सहयोग गर्नेछ”, उनले भनिन्।