नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उल्लेखनीय उपलब्धीहरू ‘हाल कायम रहेको असमानता र कोभिड-१९ महामारीका कारण’ जोखिममा - युनिसेफ

विगत तीन दशकमा महिला तथा बालबालिकाको क्षेत्रमा भएको प्रगतिमा केन्द्रित भएर युनिसेफले ‘मातृ तथा बाल पोषण’को विशेषांक सार्वजनिक गरेको छ ।

20 जनवरी 2022
This image shows a mother feeding her son
UNICEF/2016/GPirozzi

काठमाडौँ, २०७८ माघ ६ – आज जारी गरिएको ‘मातृ तथा बाल पोषण जर्नल’को विशेषांक अनुसार देशको राजनीतिक तथा आर्थिक अस्थिरताका बावजूद नेपालले सहश्राब्दी विकास लक्ष्यको अवधि (सन् २००२ देखि २०१६ सम्म) मा बालबालिकामा हुने पुड्कोपनमा कमी ल्याउन र पोषण सेवाहरूको वृद्धि गर्नमा उल्लेख्य प्रगति गरेको थियो ।  तथापी, नेपालले अझै पनि पोषणको क्षेत्रमा थुप्रै चुनौतिहरूको सामना गरिरहेको छ । दिगो विकासका लक्ष्यहरूले बालबालिकाको पुड्कोपन र ख्याउटेपनको न्युनिकरणका लागि निर्दिष्ट गरेको गति, परिमाण र समानताका सूचकहरू अनुसार ‘आवश्यक गतिमा’अघि नबढिरहेको र कोभिड-१९ महामारीले गर्दा यो अवस्था अझ बिग्रन सक्ने सम्भावना रहेको छ ।

युनिसेफको “नेपालमा पोषणः तीन दशकमा महिला तथा बालबालिकाका लागि प्रगति” जर्नल मा नौ वटा लेखहरू समेटिएका छन्, जसमा सफलताका बाहकहरूको पहिचान गर्नुका साथै दिगो विकासका लक्ष्यहरू भित्रको पोषण सम्बन्धी परिमाणात्मक लक्ष्यहरू प्राप्त गर्नका लागि कुन क्षेत्रमा अझै व्यापक नीति र कार्यक्रमगत प्रयासहरूको आवश्यकता छ भन्ने कुराको छलफल गरिएको छ ।

मातृ तथा बाल पोषणको क्षेत्रमा नेपालले हासिल गरेका सफलताका केही उदाहरणहरूः

  • स्वास्थ्य तथा पोषण सेवाको विस्तार, घरपरिवारको आम्दानीमा वृद्धि र अभिभावक शिक्षा तथा सरसफाईमा आएका सुधारहरूका कारण २ वर्ष मुनिका बालबालिकामा पुड्कोपन २४ प्रतिशतले घटेको (सन् १९९६ मा ५७ प्रतिशतबाट सन् २०१६ मा ३३ प्रतिशतमा झरेको) थियो
  • सन् १९९६ र २०१६ को अन्तरालमा प्रारम्भिक स्तनपानको दर १८ प्रतिशतबाट ५६ प्रतिशत पुगेको थियो भने शिशुलाई पुरक खाना खुवाउने दर ५४ प्रतिशतबाट ७७ प्रतिशत पुगेको थियो
  • महिलाहरूले गर्भावस्थामा पर्याप्त मात्रामा आइरन र फोलिक एसिड चक्कीको सेवन गर्ने दर सन् २००१ मा ६ प्रतिशतबाट सन् २०१६ मा ७१ प्रतिशत पुगेको थियो
  • ५०,००० भन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरूको संलग्नता र सक्रियताका कारण समुदायहरूमा आइरन चक्की तथा फोलिक एसिडको पहुँच र मागमा वृद्धी अएको थियो । यसका साथै बढ्दो संख्यामा महिलाहरूले छिटो र नियमित रूपमा गर्भ परीक्षण गरेको पनि देखिएको थियो
  • ६ महिना देखि ५९ महिना उमेर समूहका ८० प्रतिशत बालबालिकालाई निरन्तर रूपमा भिटामिन ए क्याप्सुल दिइएको थियो, जसले गर्दा सन् २००२ देखि सन् २०१५को अन्तरालमा ४५,००० बालबालिकाको ज्यान बचेको अनुमान गरिएको छ
  • पर्याप्त मात्रामा आयोडिनयुक्त नूनको सेवन गर्ने घरपरिवारको संख्या सन् १९९८ देखि सन् २०१६ को बीचमा दोब्बर अर्थात् ३५ प्रतिशतबाट ७७ प्रतिशत पुगेको थियो

“उपयुक्त मातृ तथा बाल पोषण उत्थानशिल समाज निर्माणको आधार हो । मातृ तथा बाल पोषण जर्नलमा उल्लेख गरिएको कुपोषित बालबालिकाको संख्यामा आएको कमी, स्वास्थ्य सुविधा तथा सेवाहरूमा भएको सुधार, र विगत तीन दशकयता नेपालमा अपनाइएको बहुक्षेत्रीय पद्धति – यी सबैले कुपोषणलाई अन्त्य गर्न नेपाल सरकारको दृढ प्रतिबद्धतालाई झल्काउँछन् ,” नेपालका लागि यूरोपियन युनियनका राजदूत नोना डिप्रेजले भन्नुभयो । “महिला तथा बालबालिकाको पोषणमा सुधार ल्याउन नेपाल सरकारको तर्फबाट जारी प्रयत्नमा सहयोग गर्न पाउँदा युरोपियन युनियन गौरवान्वित छौँ ।“

मातृ तथा बाल पोषण जर्नलको विशेषांकको अनुसार, नेपालमा सरकारको प्रगतिशिल क्रियाकलापहरूले गर्दा नै पोषणको क्षेत्रमा यस्ता महत्त्वपूर्ण सफलताहरू प्राप्त भएका हुन् । पोषण सम्बन्धी चुनौतिहरू – उदाहरणका लागि भिटामिन ए को पहुँचमा विस्तार - सँग जुध्न नेपाल सरकारले विभिन्न प्रकारका अग्रगामी अनुसन्धानहरूको सहायता लिएको पाईन्छ । बालबालिकाको पोषणलाई सुदृढ गर्न सरकारले नूनमा आयोडिन मिश्रण गर्ने व्यवस्थालाई अनिवार्य बनाएको छ । 

देशभरीका स्वास्थ्य चौकी र अस्थायी स्वास्थ्य केन्द्रहरूमा, र खासगरी महिला स्वयंसेविकाहरूको परिचालनमा गरिएको लगानीले उल्लेखनीय संख्यामा बालबालिकासम्म भिटामिन ए कार्यक्रम र गर्भवती महिलाहरूसम्म आइरन चक्की र फोलिक एसिड पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । साथै, सहश्राब्दी विकास लक्ष्यको अवधिमा बालबालिकाको शिक्षा तथा सरसफाईको क्षेत्रमा गरिएको लगानीले पनि बालबालिकाको सर्वाङ्गीण विकासमा बल पुर्‍याएको छ । यसको अतिरिक्त, मानिसको जीवन चक्रको अवधिभर पोषणलाई सुदृढ बनाउन बहुक्षेत्रीय पोषण योजनाले बहुक्षेत्रीय र बहुसरोकारवाला कार्यहरूलाई निर्देशित गरेको छ, जसले पोषणमा हासिल भएको प्रगतिमा योगदान पुर्‍याएको छ ।

सहश्राब्दी विकास लक्ष्यको शुरुवाति समयको तुलनामा नेपालसँग आज धेरै फरक खालका नीति तथा कार्यक्रमहरू छन् र पोषण सम्बन्धी राष्ट्रिय र विश्वस्तरका परिमाणात्मक लक्ष्य हासिल गर्ने प्रयासको क्रममा नयाँ अवसर तथा चुनौतिहरू पनि अएका छन् । हालसालै, कोभिड-१९ महामारी एउटा मानवीय र अर्थ-सामाजिक संकट बनेको छ जसले विगतका पोषण सम्बन्धी उपलब्धीहरूलाई जोखिममा पारेको छ ।

“मातृ तथा बाल पोषण जर्नलको विशेषांकमा समावेश गरिएका विगत २५ वर्षको सिकाईहरू अमूल्य छन् र यिनले पोषण सम्बन्धी जानकारी दिनुका साथै भविष्यमा पोषण कार्यक्रमहरूमा सुधार ल्याउन पनि योगदान पुर्‍याउने छन्,” नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले भन्नुभयो । “विशेषांकमा उपलब्ध गराइएका तथ्यांकहरू पोषण विशेष र पोषण संवेदनशील हस्तक्षेपहरू वृद्धि गरी आमाहरू, किशोर-किशोरी तथा बालबालिकाहरूको पोषणको प्रवर्धन गर्न उपयोगी हुनेछन् । तथापी, यस महामारीले महिला तथा बालबालिकाको पोषणमा पारेको असरलाई ध्यानमा राख्दै हामीले तत्काल नै कदम चाल्नुपर्नेछ ।“

नेपालका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन युनिसेफले सरकार र साझेदारहरूलाई निम्न कुराहरू गर्न आह्वान गर्दछ:

  • बालबालिका, किशोर-किशोरीहरू र आमाहरूका लागि पोषणयुक्त, सुरक्षित, सुलभ र दिगो आहारको पहुँचमा सुधार । पोषणयुक्त आहार सुनिश्चित गर्नमा विभिन्न आर्थिक, सामाजिक र भौतिक बाधाहरू हुने भएकाले खाना, स्वास्थ्य, पानी तथा सरसफाई, शिक्षा र सामाजिक संरक्षण सबै समेट्ने बहुप्रणालीहरूको आवश्यकता छ
  • सुविधामा आधारित स्वास्थ्यकर्मीहरूको मौजुदा प्लाट्फर्महरू – जस्तै परिवार नियोजन, गर्भवती परीक्षण, प्रसूति सेवा र प्रसूति पश्चात आमा र शिशुको हेरचाह – मा अत्यावश्यक पोषण सेवाहरु एकीकृत गर्ने र अझै धेरै महिला तथा बालबालिकासम्म पुग्न महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत समुदायमा आधारित पोषण सेवाहरूको सुदृढतालाई निरन्तरता दिने
  • शिशु तथा साना बालबालिकालाई खाना खुवाउने र ठूला बालबालिका, किशोर-किशोरीहरू र महिलाहरूको आहारमा सुधार ल्याउन उनिहरुको हेरचाहकर्ताहरूसम्म यथार्थ जानकारी, सल्लाह र परामर्श सेवा पुर्‍याउन बहुसञ्चार माध्यमहरूको प्रयोग गर्ने
  • पोषण कार्यक्रमहरू र सेवाहरू सम्बन्धी योजना बनाउन आवश्यक बजेटको व्यवस्था गर्ने, र सोहीको कार्यान्वयन र अनुगमन गर्न स्थानीय सरकारको नेतृत्व र व्यवस्थापन क्षमताको विकास गर्ने । साथै प्रगतिको मापनका लागि तथ्यांक, सूचना र प्रमाण सिर्जना गर्ने कार्यहरूप्रति नेपालको प्रतिबद्धतालाई कायम राख्ने

मिडिया सम्पर्कहरू

तानिया धाख्वा
प्रमुख, सञ्चार शाखा
युनिसेफ नेपाल
सम्पर्क: 977-9801244524
इमेल: tdhakhwa@unicef.org

युनिसेफको बारेमा

युनिसेफले विश्वकै सबैभन्दा सीमान्तकृत बालबालिकासम्म पुग्नका लागि विश्वकै चुनौतीपूर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भु–भागहरूमा हामीले हरेक मानिसका लागि समुन्नत संसार बनाउन हरेक बालबालिकाका लागि हरेक ठाउँमा काम गर्छौं । बालबालिकाका लागि युनिसेफले गर्ने कार्यका बारेमा थप जानकारीका लागि www.unicef.org मा जानुहोस् । युनिसेफ लाई TwitterFacebookInstagramYouTube  मा पनि फलो गर्नुहोस् ।