नेपालले नियमित खोप कार्यक्रममा टाइफाइड खोप समावेश गरेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गाभी खोप सञ्जाल, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदारहरूको हातेमालोमा १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइडबाट बचाउन देशभर टाइफाइड खोप लगाइंदैछ ।

- उपलब्ध:
- English
- नेपाली
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गाभी खोप सञ्जाल, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदारहरूको हातेमालोमा १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइडबाट बचाउन देशभर टाइफाइड खोप लगाइंदैछ ।
- यस अभियान मार्फत लक्षित ७५ लाख बालबालिका मध्ये कम्तिमा ९५ प्रतिशत सम्ममा टाइफाइड खोप पुर्याउने लक्ष्य लिइएको छ । साथसाथै यस अभियानले अहिले सम्म कुनै पनि खोप नलगाएका र अन्य खोप लगाउन छुटेका बालबालिकाको पहिचान पनि गर्नेछ ।
- “नेपाल सरकारलाई यस कोषेढुङ्गा कदमका लागि बधाई छ; टिसिभि खोपको शुरुवातले बर्षौं सम्म देशभरिका हजारौं बालबालिकाको जीवन रक्षा सुनिश्चित गर्नेछ,” गाभीका उपप्रमुख अनुराधा गुप्ताले बताउनुभयो ।
जेनेभा, ७ अप्रिल २०२२ – नेपाल सरकारले आजदेखि गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा राष्ट्रिय नियमित खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपको शुरुवात गरेको छ ।
चैत्र २५, २०७८ देखि वैशाख १८, २०७९ सम्म आयोजना हुने यस राष्ट्रिय टाइफाइड खोप अभियानले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्य लिएको छ । साथसाथै यस अभियानले बृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ। देशभरिका ग्रामिण र शहरी क्षेत्रहरूमा ५०,००० भन्दा बढि विद्यालय केन्द्रित खोप केन्द्रहरूमा यो खोप लगाइनेछ । अभियान लगत्तै टाइफाइड खोप नियमित खोप कार्यक्रममा सामेल गरिनेछ जसले गर्दा १५ महिनाका बालबालिकाले नियमित यो खोप प्राप्त गर्नेछन्।
“नेपाल सरकारलाई यस कोषेढुङ्गा कदमका लागि बधाई छ; टाइफाइड खोपको शुरुवातले बर्षौं सम्म देशभरिका हजारौं बालबालिकाको जीवन रक्षा सुनिश्चित गर्नेछ र बृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ। साथसाथै यस अभियानले जीवन बचाउने खोप र अरु स्वास्थ्य सेवाबाट बन्चित बालबालिकाको पहिचान पनि गर्नेछ ,” गाभी खोप सञ्जालका उपप्रमुख अनुराधा गुप्ताले बताउनुभयो ।
टाइफाइडबाट अधिक प्रभावित मुलुकहरुको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउँछ । टाइफाइड खोपको देशब्यापी शुरुवातले गर्दा १५ वर्षमुनिका बालबालिकाले निःशुल्क रुपमा यो खोप प्राप्त गर्नेछन् ।
“बालबालिकाको स्वस्थ्य जीवनको शुरुवातको लागि खोप एक राम्रो लगानी हो। राष्ट्रब्यापी नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि सामेल गर्नाले हजारौं बालबालिकाको ज्यान बच्नेछ। कोभिड-१९ महामारीले स्वास्थ्य सेवामा ब्यापक रुपमा असर गरेको सन्दर्भमा टाइफाइड खोपको शुरुवात र नियमित खोप कार्यक्रमको सशक्तिकरण निकै समय सान्दर्भिक छ,” युनिसेफ नेपालका प्रतिनिधि एल्के विशले भन्नुभयो।
यस टाइफाइड खोप अभियानले १५ देखि २३ महिनाका बालबालिकाले अन्य खोप पनि पाए नपाएको निर्क्यौल गर्नेछ र सबै बालबालिका सबै प्रकारको खोप पाई सुरक्षित रहुन् भनि सुनिश्चित गर्न पनि मद्दत पुर्याउनेछ । सन् २०२० मा सफलतापूर्वक सञ्चालन गरिएको दादुरा रुबेला खोप अभियान झैँ यस अभियानले एउटा पनि खोप (जस्तै भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार विरुद्धको डिपीटी खोप) नपाएका बालबालिकाको पहिचान गर्नमा मद्दत गर्नेछ । कुनै पनि खोप नपाएका बालबालिकाले विविध किसिमको अभावहरू झेल्नु पर्ने हुन्छन् भने यस्तो अवस्था आउनु आफैमा समाजमा जकडिएर रहेको असमानताको सूचक हो ।
शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय नजाने बालबालिकाको पहिचान गरिनेछ भने स्थानीय प्रशासन र सामुदायिक स्वास्थ्यकर्मीहरूको सहयोगमा उनीहरूको हेरचाह गर्ने व्यक्तिहरूलाई यस खोपको महत्वका बारेमा सचेत गराई खोप केन्द्रहरूको बारेमा जानकारी समेत दिइनेछ । टाइफाइड रोग बाट बच्नका लागि सरसफाइको महत्वको बारेमा पनि यस अभियान मार्फत सचेतनाका कार्यक्रमहरु सञ्चानल गरिनेछ ।
“टाइफाइड कन्जुगेट खोप निकै प्रभावकारी छ र नेपालमा बालबालिकामा टाइफाइडले पार्ने नकारात्मक प्रभाव कम गर्न यस खोपले धेरै मद्दत पुर्याउने छ । साथै यस खोपले बढ्दै गइरहेको औषधी प्रतिरोधी टाइफाइड जीवाणुको विश्वब्यापी स्वास्थ्य समस्याको न्यूनिकरणमा सहयोग गर्नेछ । खोप कार्यक्रमहरूको साथै नेपालले एन्टिमाइक्रोबियल प्रतिरोधको निगरानीलाई सशक्त बनाउने र सरसफाई, स्वच्छ तथा सफा पिउने पानीको पहुँचमा सुधार गर्नुपर्छ,” विश्व स्वास्थ्य सङ्गठन नेपाल स्थित कार्यालयका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले भन्नुभयो।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्न सफल नेपाल चौथो मुलुक हो । यस अघि पाकिस्तान, लाइबेरिया र जिम्बावेले गाभी र यसका साझेदार संस्थाहरूको सहयोग प्राप्त गरिसकेका छन् ।
टाइफाइड खोप कार्यक्रमका साथसाथै स्वास्थ्य शिक्षा, पानी र सरसफाईमा सुधार र स्वास्थ्यकर्मीहरूका लागि रोगको पहिचान र उपचार सम्बन्धी प्रशिक्षणमा पनि ध्यान दिन जरुरी छ।
ग्लोबल बर्डन अफ डिसिजेज अनालिसिस (Global Burden of Disease Analysis) २०१९ का अनुसार नेपालमा कम्तिमा ८२ हजार ४ सय ४९ टाइफाइडका बिरामीहरु रहेको अनुमान गरेको छ, जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिका रहेका छन् । सोही अध्ययनमा ९१९ जनाको मृत्यु भएको आँकलन गरिएको छ ।
###
सम्पादकका लागि जानकारी
खोप कार्यक्रम सञ्जाल (गाभी) संसारभरका बालबालिकाहरूमध्ये आधा जनसंख्यालाई विश्वकै प्राणघातक रोगहरू विरुद्ध खोप उपलब्ध गराउने सार्वजनिक र नीजि क्षेत्रको सहकार्य हो । सन् २००० मा यसको स्थापना भएसँगै यसले विश्वभरका एउटा ठूलो संख्यामा रहेको पुस्तालाई विभिन्न रोगहरूबाट बचाउन ठूलो भूमिका निर्वाह गरिरहेको छ । हालसम्म ८८ करोड ८० लाख बालबालिकाहरूमा यो कार्यक्रम पुगिसकेको छ भने यसले १ करोड ५० लाख सम्भावित मृत्युलाई जोगाएको छ र ७३ वटा कम आय भएका मुलुकहरूको बाल मृत्युदरलाई आधा घटाउनमा मद्दत पुrयाएको छ । गाभीले इबोला, हैजा, मेनिन्जाइटिस र जण्डिस आदिको खोप उपलब्ध गराउन र यस्ता रोगहरू विरुद्ध लड्न विश्वको स्वास्थ्य प्रणालीको सुधारका लागि पनि विभिन्न प्रकारले सहयोग गरिरहेको छ । दुई दशक लामो अनुभवपश्चात वर्तमान समयमा गाभीले आफ्ना कार्यक्रमहरू आउँदा पुस्ता अर्थात् बालबालिका केन्द्रित गरिरहेको छ । कुनै पनि प्रकारको खोप नपाएका बालबालिकाहरूमा खोपको पहुँच पु¥याउनका निम्ति गाभीले ड्रोन देखि बायोमेट्रिक क्षेत्रसम्मका नविनतम प्रविधिको विकासका लागि आर्थिक सहयोग गरिरहेको छ । गाभीको लक्ष्य भन्नु नै नविनतम र पहुँचयोग्य प्रविधिको प्रयोगले कुनै पनि रोगहरू मुलुकभरमा महामारीको रुपमा फैलनु अघि नै खोपका कार्यक्रम र स्वास्थ्य प्रणलीमा सुधार गरी देशलाई यस विरुद्ध लड्न आत्मनिर्भर बनाउनु हो । थप जानकारीका लागि तपाईले गाभीको वेभसाइट (www.gavi.org) वा यसका सामाजिक सञ्जालहरू फेसबुक र ट्वीटरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।
गाभी, विश्व स्वास्थ्य सङ्गठन र कोलेसन फर एपिडेमिक प्रिपेडनेस इनोभेसन्सको सहकार्यमा रहेको कोभ्याक्स फसिलिटीको उप–संयोजक पनि रहेको छ । यहाँ गाभीले मुलत कोभ्याक्सको खरिद तथा वितरणको कामलाई हेर्दै आइरहेको छ । गाभीले कोभ्याक्सको लागि युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन, विभिन्न देशका सरकारहरूसँग उनीहरू आपूर्ति र वितरणका निम्ति तयार भए नभएको र वितरणका लागि समन्वय र सहकार्यको काम गर्दछ । जसअन्तर्गत समन्वयका लागि योजना निर्माण, कार्यान्वयन र कोभ्याक्सको अनुगमन र जाँच जस्ता कार्यहरू पर्दछन् ।
यस खोप कार्यक्रम सञ्जालले खोपमाथि सबैको पहुँच होस् भन्नका खातिर विकसित मुलुकहरू, दातृ राष्ट्र, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ, विश्व बैंक, खोप उत्पादन गर्ने उद्योग, प्राविधीक निकाय, नागरिक समाज, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन र अन्य नीजि क्षेत्रका साझेदारहरू सबैलाई एकै मञ्चमा ल्याउने काम गर्दछ । गाभीको कार्यमा सहयोग उपलब्ध गराउने सम्पूर्ण दातृ राष्ट्र र अन्य संस्थाहरूको बारेमा यहाँ उपलब्ध जानकारी हेर्न सक्नु हुन्छ ।
युनिसेफको बारेमा
युनिसेफले विश्वकै सबैभन्दा सीमान्तकृत बालबालिकासम्म पुग्नका लागि विश्वकै चुनौतीपूर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भु–भागहरूमा हामीले हरेक मानिसका लागि समुन्नत संसार बनाउन हरेक बालबालिकाका लागि हरेक ठाउँमा काम गर्छौं । बालबालिकाका लागि युनिसेफले गर्ने कार्यका बारेमा थप जानकारीका लागि www.unicef.org मा जानुहोस् । युनिसेफ लाई Twitter, Facebook, Instagram र YouTube मा पनि फलो गर्नुहोस् ।
विश्व स्वास्थ्य संगठनको बारेमा
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा संयुक्त राष्ट्र संघ भित्र जनस्वास्थ्य क्षेत्रको नेतृत्व गर्दछ । सन् १९४८ मा स्थापित विश्व स्वास्थ्य संगठनले स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा रहेकाहरुको सेवा गर्न १९४ सदस्य राष्ट्रहरूसँग, ६ क्षेत्रहरूमा र १५० भन्दा बढी कार्यालयहरूबाट काम गरिरहेको छ । २०१९–२०२३ का लागि हाम्रो लक्ष्य भनेको एक अर्ब बढी मानिसहरूमा स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्नु, एक अर्ब बढी मानिसहरूलाई स्वास्थ्य आपतकालीन अवस्थाहरुबाट जोगाउनु र एक अर्ब बढी मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो ।