परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा नेपालको पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ को स्थापना

समयअघि नै जन्मेका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई अरू आमाको दूध उपलब्ध गराइने

19 अगस्ट 2022
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले काठमाडौं स्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ को उद्घाटन
UNICEF Nepal/2022/ADhakal

काठमाडौँ, भदौ ३, २०७९ - सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज काठमाडौं स्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ को उद्घाटन गर्नुभएको छ ।

बालबालिका मैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका निम्ति यो एक महत्वपूर्ण कदम हो र यसले समय नपुगि जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई सबैभन्दा बढी आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउँछ ।

हरेक वर्ष, विश्वभर करिब १ करोड ५० लाख शिशुहरू समय नपुगि नै जन्मिन्छन् । नेपाल जस्ता निम्न–मध्यम आय भएका देशहरूमा करिब ८१,००० शिशु समय नपुग्दै जन्मिन्छन् । शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगि जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुन्छन् । सन् २०१९ को नेपाल बहुसुचक सर्वेक्षण अनुसार नेपालमा नवजात मृत्यु दर (जीवनको पहिलो २८ दिनमा प्रति १००० जीवित जन्ममा मृत्यु हुनेको संख्या) १६ छ । त्यस्तै, शिशु मृत्यु दर (प्रति १००० जीवित जन्ममा १ वर्षभन्दा कम उमेरको मृत्यु हुनेको संख्या) २५ र ५ वर्ष मुनिको मृत्यु दर प्रति १००० जीवित जन्ममा २८ छ ।

‍“आमाको दूध पोषणको उत्तम स्रोत हो र यसले शिशुको जीवन सुनिश्चित गर्नका साथै स्वस्थ विकासमा मद्धत पुर्याउँछ । आमाको दूधले शिशुको मस्तिष्कको विकासलाई बलियो बनाउँछ र बालबालिका र आमालाई जीवनभर फाइदा गर्छ,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताउनुभयो। “आमाको दूधमा अन्य कुनै स्रोतहरूमा नपाइने एन्टिबडीहरू हुन्छन् । त्यसैले जन्मेको पहिलो घण्टामा हुने स्तनपानको प्रारम्भिक शुरुवात, जन्मदेखि ६ महिना उमेरसम्मको पूर्ण स्तनपान र २ वर्षसम्मको स्तनपान र त्यसपछिको पूरक आहारले शिशुलाई विभिन्न खालका संक्रमण र कुपोषणबाट जोगाउँछ भने शिशुाको मृत्यु हुन सक्ने जोखिमलाई समेत घटाउँछ ।”

पूर्ण स्तनपानले विश्वभर हरेक वर्ष ५ वर्ष उमेरमुनिको सम्भावित मृत्युलाई १३ प्रतिशतले कम गर्न सक्ने क्षमता राख्छ । यस्तै, जन्मेको पहिलो घण्टा भित्र गराइने स्तनपानसँगै पूर्ण स्तनपानले विश्वभरिका सबै नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउन सक्छ ।

नेपाल बहुसूचक सर्वेक्षण, २०१९ का अनुसार नेपालमा २ वर्ष मुनिका शिशुहरू मध्ये ४२ प्रतिशतलाई मात्र जन्मेको एक घण्टा भित्र स्तनपान गराइन्छ भने ६ महिना मुनिका ६२ प्रतिशत शिशुहरूलाईमात्र पूर्ण स्तनपान गराइन्छ ।

“समय नपुगि जन्मेका र कम तौल भएका जीवीत रहिरहन सक्ने तथा उनीहरूको पर्याप्त शारीरिक तथा मानसिक विकास हुननसक्ने बढी जोखिम हुन्छ । यसका साथै उनीहरूको कमजोर स्वास्थ्य अवस्थाका कारण उनीहरूलाई दूध खुवाउन पनि गाह्रो हुन्छ । प्रायजसो यस्ता शिशुहरूको सन्दर्भमा प्रत्यक्ष स्तनपान सम्भव हुँदैन । यस्तो अवस्थामा उनीहरूका लागि उत्तम विकल्प भनेको आमाको दुध निकालेर खुवाउनु हो, सम्भव भए सम्म आफ्नै आमाको,” परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक प्रा. डा. अमिर बाबु श्रेष्ठले बताउनुभयो ।

जब आमाको दूध पर्याप्त हुँदैन वा उपलब्ध हुँदैन, नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ । तर बट्टाको दूध खुवाउँदा त्यस्ता शिशुहरूमा संक्रमण (सेप्सिस्) र ‘नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस्’ (आन्द्रासम्बन्धी एक प्रकारको रोग) को जोखिम उच्च हुन्छ । बट्टाको दूध खुवाइएका शिशुहरूमा यो समस्या उनीहरू २ हप्ता पुग्दादेखि नै देखिन थाल्छ । यस्तोमा, उनीहरूलाई बट्टाको दूधको साटो दान गरिएको अरु आमाको दूध खुवाउन सकिए बट्टाको दूधका नकरात्मक असरहरूबाट जोगाउन सकिन्छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा रहेको ह्युमन मिल्क बैंक, ‘अमृत कोष’ मा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दुध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने सुविधा छ । यो ‘अमृत कोष’ नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो ।

“बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न यूरोपियन युनियन, लामो समयदेखि युनिसेफसँगै नेपाल सरकारको साझेदार संस्थाका रूपमा काम गर्दै आएको छ । यसै अन्तर्गत स्तनपान प्रवर्धन पनि एक प्रमुख क्षेत्र रहँदै आएको छ,” नेपालका लागि यूरोपियन युनियनका राजदूत नोना डिप्रेजले भन्नुभयो। “आज, यो त्रिपक्षीय साझेदारीमार्फत नेपालमा पहिलो ह्यमन मिल्क बैंक ‘अमृत कोष’ स्थापना भएकोमा हामी गौरवान्वित भएका छौँ । यसबाट आफ्नो आमाको दूध प्राप्त गर्न नसकेका धेरैभन्दा धेरै नवजात शिशुहरूले दूध प्राप्त गर्नेछन् र यसले उनीहरूको स्वास्थ्यको रक्षा गर्नका साथै समग्र विकासमा लाभ पुग्नेछ भन्ने हाम्रो आशा छ ।”

बहुक्षेत्रीय पोषण योजनाले किशोरी, गर्भवती महिला, स्तनपान गराउने आमा, शिशु तथा साना बालबालिकाका लागि स्वस्थ, पौष्टिक र विविध आहारको प्रवर्द्धन गरी नेपालभर मातृ, किशोरी र बाल पोषण सुधार गर्न खोजेको छ ।

सन् २०१३ देखि युनिसेफले यूरोपियन युनियनको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

“नेपालमा पहिलो ह्युमन मिल्क बैंक स्थापना गर्न नेपाल सरकार र यूरोपियन युनियनसँग सहकार्य गर्न पाउँदा युनिसेफ हर्षित छ । बाल पोषण सुधार गर्न र विशेष गरी बालबालिकामा देखिएको तीव्र कुपोषणलाई सम्बोधन गर्न बहुक्षेत्रीय पोषण योजना अन्तर्गत हाम्रो संयुक्त प्रयासलाई अगाडि बढाउनको लागि ‘अमृत कोष’ – ह्युमन मिल्क बैंकको पहल महत्वपूर्ण छ,” नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विशले भन्नुभयो, “सबै आमाहरूलाई हाम्रो हृदयदेखि धन्यवाद छ, जसले स्तनपान गराउन कठिनाई भएका अरु आमाहरूका शिशुहरूलाई उदारतापूर्वक आफ्नो दूध दान गरिरहनुभएको छ – विशेष गरी समयअघि नै जन्मेका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई। यसबाट ती शिशुहरूलाई धेरै लाभ पुग्नेछ ।”

“देशभरी थप शिशु–मैत्री स्वास्थ्य सुविधा विस्तारको काममा – जसले नेपालका हरेक बालबालिकालको जीवनको सुखद शुरुवातको लागि स्तनपानको अधिकतम अवसर प्रदान, संरक्षण र प्रवर्द्धन गर्दछ – त्यसका लागि हामी नेपाल सरकार र यूरोपियन युनियनसँग निरन्तरको सामूहिक प्रयासका लागि तत्पर छौँ।”

###

फोटो र भिडियो सामग्री यता उपलब्ध छन् - https://weshare.unicef.org/Package/2AMZIF9YTXQT

मिडिया सम्पर्कहरू

अम्बर मैनाली
युरोपियन युनियन
सम्पर्क: +97714429445
इमेल: [email protected]
डा. कल्पना उपाध्याय सुबेदी
बालरोग विशेषग्य
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल
सम्पर्क: +9779841318209
इमेल: [email protected]

युनिसेफको बारेमा 


युनिसेफले विश्वकै सबैभन्दा सीमान्तकृत बालबालिकासम्म पुग्नका लागि विश्वकै चुनौतीपूर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भु–भागहरूमा हामीले हरेक मानिसका लागि समुन्नत संसार बनाउन हरेक बालबालिकाका लागि हरेक ठाउँमा काम गर्छौं । बालबालिकाका लागि युनिसेफले गर्ने कार्यका बारेमा थप जानकारीका लागि www.unicef.org मा जानुहोस् । युनिसेफ लाई Twitter, Facebook, Instagram र YouTube  मा पनि फलो गर्नुहोस् ।