पछिल्लो दशकमा बालबालिकाको आहारमा कुनै सुधार देखिएन, कोभिड १९ का कारण स्थिति 'अझ बढी  गम्भीर हुन सक्ने’ – युनिसेफ

बालबालिकाले ठोस आहार खान शुरु गर्ने दौरान, ३ मध्ये १ जनालाई मात्र राम्रो तरिकाले बढ्नका लागि पर्याप्त विविध आहार खुवाइन्छ ।

23 सेप्टेम्बर 2021
This image shows a young child being screened using a mid-upper arm circumference measuring tape
UNICEF/UN0481052/Shaon

न्यूयोर्क, २२ सेप्टेम्बर २०२१ - युनिसेफद्वारा आज जारी एक नयाँ प्रतिवेदनका अनुसार, २ वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनका लागि आवश्यक खाना वा पोषक तत्त्वहरू प्राप्त हुँदैनन्, जसका कारण उनीहरूको विकासमा अपरिवर्तनीय हानि हुन्छ ।

यस हप्ता हुन गैरहेको संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलनअघि जारी -फेड टु फेल ? बालबालिकाको प्रारम्भिक जीवनमा आहार सङ्क - ले बढ्दो गरीबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी प्रकोपहरू र कोभिड-१९ को महामारी जस्ता स्वास्थ्य आपतकालीनले सबैभन्दा साना उमेरकाहरूमा निरन्तर रहेको पोषण सङ्कटलाई पनि प्रशय दिइरहेको र पछिल्लो दस वर्षमा सुधारको सानो सङ्केत पनि नदेखिएको चेतावनी दिएको छ ।

"प्रतिवेदनको निष्कर्ष स्पष्ट छ : जब जोखिम सबैभन्दा बढी हुन्छ तब, लाखौँ बालबालिकालाई खुवाउन असमर्थ  हुन्छौँ । जीवनको पहिलो दुई वर्षमा न्यून पोषणयुक्त पदार्थ सेवन गर्नाले बालबालिकाको तीव्र गतिमा बढ्दो शरीर र मस्तिष्कमा अपरिवर्तनीय हानि पुर्‍याउँछ जसले उनीहरूको शिक्षा, रोजगारीको संभावना र भविष्यलाई प्रभावित गर्छ । बर्षौंदेखि हामीलाई यो कुरा थाहा भएता पनि, बालबालिकाको लागि सही प्रकारको पौष्टिक र सुरक्षित खाना उपलब्ध गराउने तर्फ थोरै प्रगति भएको छ । वास्तवमा, कोभिड-१९ निरन्तर भएको अवस्थामा सिर्जना भएका अवरोधहरूले स्थितिलाई झन् बढी जटिल बनाउन सक्छ ।“ युनिसेफका कार्यकारी निर्देशक हेन्रिएटा फोरले भन्नुभयो ।

९१ देशहरूको विश्लेषणपछिको प्रतिवेदनअनुसार ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिश गरिएको अनुसार दैनिक न्यूनतम खाना खुवाइन्छ । त्यसैगरी, एक तिहाई बालबालिकाले मात्र उनीहरूलाई फस्टाउन आवश्यक पर्ने न्यूनतम खाना समूहहरूको उपभोग गर्दछन् । उपलब्ध प्रवृत्ति तथ्याङ्क भएका ५० देशहरूको थप विश्लेषणले खाना खुवाउने यी गलत प्रवृत्तिहरू पछिल्लो दशकभरि नै जारी रहेको खुलासा गर्दछ । 

कोभिड-१९ ले अत्यावश्यक सेवामा बाधा पुर्‍याइरहेको र धेरै परिवारलाई गरिबीतिर धकेलिरहेको अवस्थामा, महामारीले परिवारहरूलाई उनीहरूले बालबालिकालाई कसरी खाना खुवाउँछन् भन्ने कुरामा प्रभावित गरिरहेको तथ्य प्रतिवेदनले देखाउँछ ।

इन्डोनेसिया, नेपाल, मलावी, लेसोथो र केन्याको तथ्याङ्कले आम्दानीमा पुगेको हानि र महामारीको प्रभावका कारण बालबालिकाको आहारको गुणस्तर बिग्रेको देखाउँछ। नेपालमा, युनिसेफले बालबालिकाको आहार र परिवारहरूले गुमाएको रोजगारी सहित सामाजिक-आर्थिक प्रभावहरूलाई निगरानी गर्न बालबालिका र परिवार ट्रयाकर सर्वेक्षण गर्दै आएको छ र जसले देखाएको छ कि यो महामारी भरि नै ३ मध्ये १ परिवारले दैनिक प्राप्त गर्नुपर्ने आहार प्राप्त गर्न कष्ट भोगिरहेका छन् र बालबालिकाको विविध आहार ती परिवारका लागि ठूलो चिन्ताको विषय भएको छ।

बालबालिकाले न्यून आहार र खाने अभ्यासको नराम्रो परिणाम जीवनभरि भोग्नु पर्छ । सानै उमेरमा उनीहरूको बृद्धिका लागि चाहिने तरकारी, फलफूल, अण्डा, माछा र मासुमा पाइने पोषक तत्त्वहरूको अपर्याप्त मात्राले बालबालिकालाई कमजोर मस्तिष्क विकास, कमजोर शिक्षा, प्रतिरक्षा, संक्रमण र सम्भावित मृत्युको जोखिममा पार्छ ।  

पुड्कोपन र ख्याउटेपन तथा सूक्ष्म पोषक तत्त्वहरूको कमीका साथै खानाको गलत अभ्यासको कारणले हुने अधिक तौल र मोटोपनाले गर्दा दुई वर्षभन्दा कम उमेरका बालबालिका सबै प्रकारको कुपोषणको जोखिममा पर्छन् । बालबालिकालाई उनीहरूको प्रति किलोग्राम शरीरको तौलको निम्ति जरूरी पोषक तत्त्वहरूको आवश्यकता अन्यका लागिभन्दा अधिक हुने हुनाले र उनीहरूको आमाबुबाले उनीहरूको स्वास्थ्य प्रति देखाउने व्यवहार (जस्तै रोगको रोकथाम र उपचारको कमी) का कारण यस्ता बालबालिका सबै प्रकारको कुपोषणको जोखिममा पर्छन् ।

युनिसेफको अनुमान अनुसार, विश्वव्यापी रूपमा ५ वर्षभन्दा कम उमेरका ख्याउटेपन भएका बालबालिकामध्ये आधा भन्दा बढी (लगभग २ करोड ३० लाख बालबालिका) २ वर्षभन्दा कम उमेरका छन् । त्यसैगरी, बालबालिकाको आहार उनीहरूको बढ्दो पोषणको आवश्यकताहरूसँग तालमेल राख्न असफल हुने हुनाले ६ महिनादेखि दुई वर्षको बिचमा पुड्कोपनको प्रकोप तिब्र गतिले बढ्छ ।

प्रतिवेदनका अनुसार, ६ देखि २३ महिना उमेरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने वा गरिब घरधुरीका बालबालिकाले सहरमा बसोबास गर्ने वा धनी साथीहरूको तुलनामा न्यून खाना खान्छन् । उदाहरणको लागि, २०२० मा, सहरी क्षेत्रहरूमा सिफारिश गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या खुवाइएको २३ प्रतिशत बालबालिकाको तुलनामा ग्रामीण क्षेत्रहरूमा ३९ प्रतिशतको अनुपातले उच्च थियो । दक्षिण एशियामा ४ मध्ये १ भन्दा कम (१९ प्रतिशत) बालबालिकालाई न्यूनतम विविध आहार खुवाइन्छ।

तर सही प्रतिबद्धता र लगानी गरेमा परिवर्तन सम्भव छ । बङ्गलादेश, बुर्किना फासो, कम्बोडिया, कोटे डी आइभोर, गाम्बिया, किर्गिस्तान, माल्दिभ्स, नेपाल, सिएरा लियोन र तिमोर-लेस्टे जस्ता दस देशहरूले सिफारिश गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या उपभोग गर्ने बालबालिकाको अनुपात पछिल्लो दशकमा १० प्रतिशत अङ्कले बढाएका छन् ।

सबै बालबालिकाले विविध आहारबाट लाभ उठाउन, उनीहरू बढ्न, विकास गर्न र आफ्नो पूर्ण क्षमतामा पुग्नका लागि सबै प्रकारको कुपोषणबाट उनीहरूलाई जोगाउन सबै क्षेत्रहरूमा लगानी सुनिश्चित गर्न आवश्यक छ । 

प्रत्येक बालबालिकालाई पौष्टिक, सुरक्षित र किफायती आहार प्रदान गर्न प्रतिवेदनले सरकारहरू, दाताहरू, नागरिक समाज, सङ्गठनहरू र विकास कार्यकर्ताहरूलाई हातमा हात मिलाएर खाना, स्वास्थ्य र सामाजिक सुरक्षा प्रणालीलाई परिवर्तन गर्न आह्वान गर्दछ । अगुवाइ सहितका प्रमुख कार्यहरु जस्तै :

  • उत्पादन, वितरण र खुद्रा बिक्रीलाई प्रोत्साहित गर्दै फलफूल, तरकारी, अण्डा, माछा, मासु र फोर्टिफाइड खाद्य पदार्थसहित पौष्टिक खाद्य पदार्थहरूको उपलब्धता र किफायतमा बृद्धि ।
  • बालबालिकालाई अस्वस्थ प्रशोधित र अति प्रशोधित खाद्य पदार्थ र पेय पदार्थहरूबाट बचाउनुका साथै बालबालिका र उनीहरूका परिवारहरू लक्षित हानिकारक मार्केटिङ अभ्यासहरूलाई अन्त्य गर्न राष्ट्रिय मापदण्ड र कानूनको कार्यान्वयन ।
  • सजिलो र सुसङ्गत जानकारीसहित आमाबुबा र बालबालिकासम्म पुग्न डिजिटल मिडियासहित धेरै सञ्चार च्यानलहरूको माध्यमबाट पौष्टिक र सुरक्षित खाद्य पदार्थ प्रति आकर्षणमा बृद्धि।

संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलन हुनुअघि, नेपालसहित १ ८  युनिसेफ कार्यालयहरूले वेष्टर्न सिडनी विश्वविद्यालयको युवा र क्षमतावान अनुसन्धान केन्द्रसँग मिलेर बालबालिका र युवाहरूसँग खाना, खाद्य वातावरण र खानाका अभ्यासको बारेमा गहिराइमा परामर्श गरे । यसबाहेक, एउटा यू रिपोर्ट पोलले पनि २२,००० भन्दा बढी बालबालिका र विभिन्न देशहरूमा युवाहरूबाट प्रतिक्रियाहरू जम्मा गर्‍यो  । मलाई खाना उपलब्ध गराउ: खाद्य प्रणाली परिवर्तन गर्नमा बालबालिकाको विचार  प्रतिवेदनले संसारभरिका बालबालिकाद्वारा उनीहरूको जीवनको अनुभव र खाद्य प्रणालीबारे दृष्टिकोणका साथै २१ औं शताब्दीका लागि खाद्य प्रणालीहरूमा पुनर्विचार र पुन: काम गर्नका लागि उनीहरूले परिवार, समुदाय, सङ्गठन, सरकारहरू,  युवाहरू आफैं बाट के आशा गर्दछन् भन्ने बारे आदान प्रदान गरेका आफ्ना विचारहरू र सिफारिशहरूबारे विश्लेषण समावेश गरिएको छ ।

नेपालमा बालबालिका र युवाहरूद्वारा आदान प्रदान गरिएका केही महत्त्वपूर्ण अन्तरदृष्टिहरू:

  • किशोरकिशोरीहरूको फलफूल र तरकारी जस्ता पौष्टिक र स्वस्थ खानाको छनौट मौसममा निर्भर गर्दछ । यी खानाहरू उनीहरूका लागि सधैँ सजिलै उपलब्ध र सुलभ छैनन्। यस प्रकारको पौष्टिक र स्वस्थ खानाको उपलब्धता र पहुँचको प्रमुख जोखिम यसको मूल्यसँग सम्बन्धित छ । प्रायः गरेर पौष्टिक र स्वस्थ खाना महँगा हुन्छन् ।
  • पौष्टिक र स्वस्थ खानाको खेतीमा सङ्लग्न किसानहरूलाई किसानमैत्री नीति, आपूर्ति (बीउ, मल र कीटनाशक) र सीप (उत्पादन र मार्केटिङ) आदि मामिलामा राम्रो सहयोग छैन । फलस्वरूप, ठूला र साना बजारहरूमा यी पौष्टिक र स्वस्थ खाना महँगा हुन सक्छन् ।
  • विश्वव्यापी रूपमा बढ्दो तापक्रम, संसाधनको कमी, खराब गुणस्तरको बीउ, आनुवांशिक रूपबाट परिमार्जित बीउ, जैविक रोग, जलवायु परिवर्तन र अपरिवर्तनीय प्लास्टिक सामग्रीको अत्याधिक उपयोगले अस्थिर खाद्य प्रणालीमा योगदान पुर्‍याइरहेको छ

"बालबालिका क्यालोरीको भरमा मात्र बाँच्न वा फस्टाउन सक्दैनन् । सरकारहरू, निजी क्षेत्र, नागरिक समाज, विकास र मानवीय साझेदारहरू र परिवारहरूसँग  मिलेर मात्र हामी खाद्य प्रणाली परिवर्तन गर्न सक्छौँ र प्रत्येक बालबालिकाका लागि पोषण, सुरक्षित र सस्तो आहार उपलब्ध गराउन सक्छौँ । सबै बालबालिकाका आवश्यकताहरूलाई पूरा गर्न आगामी संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलन विश्वव्यापी खाद्य प्रणालीको लागि मञ्च तयार गर्ने एउटा महत्त्वपूर्ण अवसर हो, “  फोरले थप भन्नुभयो ।

सम्पादकहरूलाई टिप्पणी 

हालको स्थिति, प्रवृत्ति र यस प्रतिवेदनमा प्रस्तुत बालबालिकाको आहारको असमानतामा मात्रात्मक तथ्याङ्क यूनिसेफको अन्तरराष्ट्रिय रूपमा तुलनात्मक र सांख्यिकीय रूपमा असल तथ्याङ्क मात्र समावेश भएको विश्वव्यापी डाटाबेसबाट लिइएको छ । युनिसेफको विश्वव्यापी डाटाबेसमा ७०७ वटा राष्ट्रिय प्रतिनिधिहरूबाट १ सय ३५ देश र क्षेत्रहरूमा गरिएको सर्वेक्षण समावेश छ जसले विश्वव्यापी रूपमा २ वर्षभन्दा कम उमेरका सबै बालबालिकाहरूको ९० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्दछ ।

 

 

 

मिडिया सम्पर्कहरू

हेलेन वाईली
युनिसेफ न्‍यु योर्क
सम्पर्क: +1 917 244 2215
इमेल: hwylie@unicef.org

युनिसेफको बारेमा

युनिसेफले विश्वकै सबैभन्दा सीमान्तकृत बालबालिकासम्म पुग्नका लागि विश्वकै चुनौतीपूर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भु–भागहरूमा हामीले हरेक मानिसका लागि समुन्नत संसार बनाउन हरेक बालबालिकाका लागि हरेक ठाउँमा काम गर्छौं ।

युनिसेफ तथा बालबालिकाका लागि यसले गर्ने कार्यका बारेमा थप जानकारीका लागि www.unicef.org मा जानुहोस् । युनिसेफलाई TwitterFacebookInstagramYouTube मा पनि फलो गर्नुहोस् ।

 

२०२१ को संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलनको बारेमा

अक्टोबर २०२० मा विश्व खाद्य दिवसको अवसरमा २०३० सम्ममा एसडीजीमा वितरणको लागि दशकको एक भागको रूपमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले २०२१ को संयुक्त राष्ट्र खाद्य  प्रणाली शिखर सम्मेलनकोघोषणा गरेका थिए। शिखर सम्मेलनको उद्देश्य भनेको खाद्य प्रणाली दृष्टिकोणको माध्यमबाटभोक, जलवायु परिवर्तन, गरिबी र असमानताको विश्वव्यापी चुनौतीहरूको लागि खाद्य प्रणालीको आपसी सम्बन्धको लाभ उठाउँदै सबै १७ वटा एसडीजीको प्रगति विवरण प्रदान गर्नु हो। २०२१ को संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलनको बारेमा थप जानकारी    https://www.un.org/food-systems-summit  मा पाउन सकिन्छ ।