स्वास्थ्य
आधारभूत मातृशिशु स्याहार र पूर्ण खोप कार्यक्रम मार्फत बाल र मातृ मृत्युदर न्युनिकरण गर्नका लागि हामी कार्यरत छौं।
- उपलब्ध:
- English
- नेपाली
चुनौती
स्वास्थ्यको क्षेत्रमा युनिसेफको वृहत विश्वव्यापी उपस्थिती हुनुको साथै राष्ट्रिय तथा सामुदायिक तहमा सरकारी र गैरसरकारी निकायहरूसँग बलियो साझेदारी छ। महिला तथा बालबालिकाको जीवन रक्षा र स्वास्थ्य सुनिश्चित गर्न आवश्यक वस्तु तथा सेवाका बारेमा हामी जानकार छौं। उच्च जोखिममा रहेका महिला तथा बालबालिकाका लागि व्यवहारिक समाधानहरू उपलब्ध गराउन हामी हरेक दिन कार्यरत छौं।
विगत दुई दशकमा नेपालले महिला तथा बालबालिकाको स्वास्थ्य सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ। सन् २०१० देखि यता एउटा पनि पोलियोको संक्रमण फेला नपरेका कारण नेपाललाई पोलियोमुक्त देश घोषणा गरिएको छ। मातृस्वास्थ्य सुधारमा देखाइएको प्रतिवद्धता र प्रगतिको आधारमा नेपालले सहश्राब्दी विकास लक्ष्य पदक प्राप्त गरेको छ। सन् १९९६ देखि २०१६ सम्ममा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर ६७ प्रतिशतले घटेसँगै उद्देश्यअनुरुप बाल मृत्युदर न्युनिकरण गर्न सफल सात देशहरू मध्ये नेपाल पनि एक बनेको छ।
तथापी, नेपालका सामु अझै कैयौं चुनौतीहरू बाँकी छन्।
- प्रत्येक १,००० जिवित शिशुको जन्म हुँदा २१ को मृत्यु हुने गरेको तथ्यांक अनुसार नेपालमा नवजात शिशु मृत्युदर (जन्म पश्चात पहिलो २८ दिनभित्र हुने मृत्यु दर) एकदमै उच्च रहेको छ। यसका अतिरिक्त पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रत्येक १,००० मा ३९ रहेको छ। (NDHS 2016)
- धनी समुहको तुलनामा गरिबीमा रहेकाहरुको नवजात शिशु मृत्युदर लगभग दोब्बर छ र कलिला आमाहरूमा यो दर उच्च छ।
समाधान
विश्वका बालबालिकाहरूको स्वास्थ्यमा सुधार ल्याउनु युनिसेफको प्रमुख उद्देश्यहरूमध्येको एक हो। स्वस्थ बालबालिका भविष्यमा स्वस्थ वयस्क बन्नेछन् जसले आफु र आफ्नो समुदायको जीवनमामात्र नभई सम्पूर्ण देशमा नै सुधार ल्याउन सक्छन्।
नेपालमा युनिसेफका स्वास्थ्य कार्यक्रमहरू युनिसेफ नेपालको विद्यमान राष्ट्रिय कार्यक्रम (२०१८-२०२२), राष्ट्रिय स्वास्थ्य नीति २०१४ र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक कार्यान्वयन योजना (२०१६-२०२१) बाट मार्गनिर्देशित रहनेछ जसको कार्यान्वयन स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका विकासका साझेदारहरू मार्फत हुँदैछ।
नयाँ संघीय संरचनामा सुत्केरी आमाहरू, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरीहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न हामीले स्थानीय तहमा योजना निर्माण, बजेट निर्माण तथा स्वास्थ्य क्षेत्रको प्रभावकारिता र खर्चको जानकारी दिने प्रणाली स्थापना गर्न सहयोग गर्नछौं। स्वास्थ्य क्षेत्रसँग सम्बन्धी अन्य चुनौतीहरूको सम्बोधन गर्नका लागि हामी निम्न लिखित गतिविधिहरू गर्नेछौ:
- नवजात शिशुहरुका लागि सघन हेरचाह ईकाईहरू (intensive care units) को स्थापना तथा आमा र शिशुहरूको लागि गुणस्तरीय स्वास्थ्यमा पहुँच बृद्धि गर्नका लागि व्यवस्थित सिफारिस प्रणालीको स्थापना।
- उच्च जोखिममा रहेका नवजात शिशुहरूमा हुनसक्ने सुस्त विकास र विकलांगता आदि समस्याहरूको पूर्व-सुचना दिने प्रणालीको सुदृढिकरण।
- आमा र नवजात शिशुलाई हानी पुर्याउने कुरितीहरूको सम्बोधन गर्न हेरचाहका सकारात्मक विधीहरूको प्रवर्धन गर्ने।
- खोपको वितरण प्रणालीलाई सुदृढिकरण गरी खोपको सेवालाई दिगो तवरमा विस्तार गर्ने।
- लैंगिक तथा किशोरावस्था प्रति संवेदनशील स्वास्थ्य सेवाको पहुँच बढाउन महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा स्वास्थ्यकर्मीहरूको क्षमता तथा सीप वृद्धि गर्ने।
- प्रत्यक्ष सम्पर्क, आमसंचार र सामाजिक सञ्जाल तथा विद्युतीय प्रविधीको प्रयोग गरी किशोरावस्थाको जनसंख्यामा स्वस्थ बानी व्यहोराको प्रवर्धन गर्ने।
- नीति निर्माण, प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनद्वारा सिर्जित स्वास्थ्य जोखिमका बारेमा चेतनाको विस्तार र सेवा वितरणको अद्यावधिक जानकारी तत्काल संप्रेशण गर्ने प्रविधीको प्रयोग गरी विपद् व्यवस्थापनको तयारीलाई सुदृढिकरण गर्ने।
- घर भित्र तथा वातावरणीय प्रदुषण घटाउन बहुक्षेत्रीय सहकार्य गरी निमोनिया हुनबाट जोगाउन नीतिको निर्माण गर्ने, तथा नवीनतम प्रणाली र उपचार विधिहरुको प्रयोग गरी निमोनियाको हेरचाह विधिलाई सुधार गर्ने।
- राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति (२०१७) को कार्यान्वयन गरी किशोरावस्थामा हुने गर्भाधान, मानसिक स्वास्थ्य आदि किशोरावस्थाका स्वास्थ्य समस्याहरूको सम्बोधन गर्ने।