बालबालिकाको शिक्षा, पोषण तथा स्वास्थ्यमा कोभिड-१९ ले अपरिवर्तनिय हानि गर्ने जोखिमका बीच सिङ्गो पुस्ता नै पछि पर्ने अवस्था आउन नदिन युनिसेफको आव्हान
अन्तर्राष्ट्रिय बाल दिवसको पुर्वसन्ध्यामा सार्वजनिक गरिएको एक विश्लेषणका अनुसार कोभिड प्रभावित प्रत्येक ९ मध्ये १ जना बालबालिका वा किशोरकिशोरी
- English
- नेपाली
न्यूयोर्क/काठमाडौं, २०७७ मङ्सिर ४ - कोभिड-१९ को महामारी दोस्रो वर्षमा प्रवेश गर्नै लाग्दा युनिसेफद्वारा प्रकाशित एक नयाँ प्रतिवेदनले बालबालिकामा पार्ने असरमा वृद्वि हुन सक्ने चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय बाल दिवसको पुर्व सन्ध्यामा युनिसेफद्वारा प्रकाशित कोभिडको कारणले सिङ्गो पुस्तामा पर्ने प्रभाव रोकथाम शीर्षकको उक्त प्रतिवेदनले महामारी लम्बिँदै जाँदा बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरको सम्बन्धमा पहिलोपटक विस्तृत रूपमा प्रकाश पारेको छ। संक्रमित बालबालिकामा देखिएका लक्षणहरू मध्यम भएता पनि संक्रमणको क्रममा वृद्वि भईरहेको र बालबालिका तथा युवाको एउटा सिङ्गो पुस्ताकै शिक्षा, पोषण तथा स्वास्थ्यमा यसले पार्ने दीर्घकालीन असरले जीवन नै परिवर्तन गरिदिन सक्छन्।
"बालबालिका कोभिड-१९ बाट विरलै संक्रमित हुन्छन् भन्ने भ्रम महामारी अवधि भरि नै व्याप्त रहेको पाइएको छ, जुन सत्य होईन" युनिसेफका कार्यकारी निर्देशक हेनेरिटा फोरले भन्नुभयो। "बालबालिका कोभिड-१९ बाट संक्रमित हुन तथा संक्रमण फैलाउन सक्छन्, र यो शुरूवाती अवस्था मात्रै हो। मुख्य सेवाहरूमा हुने अवरोध तथा बढ्दो गरिबी बालबालिकाको लागि सबै भन्दा ठुलो जोखिम हो। यो संकट जति लम्बिंदै जान्छ, यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा सु-स्वास्थ्यमा पार्ने असर गहन हुँदै जान्छ। एउटा सिङ्गो पुस्ताकै भविष्य नै जोखिममा परेको छ।"
प्रतिवेदनका अनुसार वर्गीकृत तथ्यांक उपलब्ध रहेका ८७ वटा देशहरूको गत कार्तिक १८ गतेसम्म कोभिड-१९ बाट २ करोड ५७ लाख मानिसहरू संक्रमित भएकोमा हरेक ९ मध्ये १ जना जना अर्थात् ११ प्रतिशत संक्रमित बालबालिका वा २० वर्ष मुनिका किशोरकिशोरी रहेका छन्। यो संकटले सबै भन्दा जोखिमा रहेका बालबालिकालाई कसरी प्रभावित पार्छ र प्रतिकार्यलाई कसरी निर्देशित गर्छ भन्ने सम्बन्धमा बुझ्नको लागि संक्रमण, मृत्यु तथा परीक्षण सम्बन्धी विश्वसनीय एवं वर्गीकृत तथ्यांकको आवश्यकता पर्दछ।
बालबालिकाले एक अर्कामा तथा आफु भन्दा ठुलो उमेर समुहका मानिसहरूमा भाइरसको सार्न सक्ने भएता पनि विद्यालयहरू बन्द राख्नदा हुने क्षति भन्दा आधारभूत सुरक्षाका उपायहरू अपनाएर सन्चालन गर्दा हुने फाइदा बढी हुने कुरा प्रमाणित भएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ। समुदाय स्तरको संक्रमण विद्यालयबाट प्रमुख रूपमा सर्ने होइन र बालबालिकामा भाइरस सर्ने सम्भावना विद्यालयबाट भन्दा अन्यत्रबाट बढी हुन्छ।
संवेदनशील स्वास्थ्य तथा सामाजिक सेवाहरूमा कोभिड-१९ कारण आएको अवरोधले बालबालिकाको लागि सबै भन्दा गम्भीर जोखिम सृजना गरेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ। १४० वटा देशहरूमा युनिसेफले गरेका सर्वेक्षणबाट प्राप्त तथ्यांकका मुख्य निष्कर्षहरू यस प्रकार छन् :
- तथ्यांक विश्लेषण गरिएका मध्ये एक तिहाई देशहरूमा नियमित खोप,संक्रामक बाल रोग सम्बन्धी बहिरंग सेवा, र मातृ स्वास्थ्य लगायतका सेवाहरूको पहुँचमा कम्तीमा १० प्रतिशतले गिरावट आएको पाइयो, जसको प्रमुख कारण संक्रमणको डर हो।
- १३५ वटा देशमा महिला तथा बालबालिकाको लागि प्रदान गरिने पोषण सेवाको पहुँचमा ४० प्रतिशतले गिरावट आएको छ। २०७७ को मध्य-कार्तिक सम्मको अवस्था हेर्दा विश्व भरिका २६ करोड ५० लाख बालबालिका विद्यालयमा प्रदान गरिने खाजाबाट वन्चित रहेका थिए भने आगामी दिनमा ५ वर्ष मुनिका २५ करोड बालबालिका भिटामिन ए को थप मात्राबाट प्राप्त हुने जीवन रक्षक लाभहरूबाट वन्चित हुन सक्ने जोखिममा रहेका छन्।
- ६५ वटा देशले यस वर्ष मध्य-भाद्र देखि मध्य-असोज सम्म सामाजिक कार्यकर्ताले घरदैलो गर्ने क्रममा गत वर्षको सोहि अवधिको तुलनामा कमी आएको जनाए।
उक्त प्रतिवेदनले उजागर गरेका थप चिन्ताजनक तथ्यांकहरू निम्न बमोजिम छन् :
- २०७७ कार्तिक महिना सम्मको अवस्था हेर्दा ३० वटा देशहरूमा विद्यालय बन्द रहँदा ५७ करोड २० लाख बालबालिका प्रभावित रहेका छन्, जुन संख्या विश्वभरिका शिक्षण संस्थामा भर्ना भएका विद्यार्थीहरूको ३३ प्रतिशत हो।
- स्वास्थ्य सेवाहरूमा सिर्जना हुने गम्भीर अवरोध तथा बढ्दो कुपोषणको कारणले आगामी १२ महिनामा थप २० लाख बालबालिकाको मृत्यु हुनका साथै २ लाख मृत शिशुको जन्म हुन सक्छ।
- सन् २०२० मा विशेष गरि अफ्रिकाको सहारा क्षेत्र र दक्षिण एसियामा ५ वर्ष मुनिका थप ६० देखि ७० लाख बालबालिका सुकेनास वा अल्पकालीन कुपोषणबाट प्रभावित हुनेछन्, अर्थात् प्रभावित बालबालिकाको संख्यामा १४ प्रतिशतले वृद्वि भई प्रत्येक महिना थप १०,००० बालबालिकाको मृत्यु हुनेछ।
- २०२० को मध्य सम्म आइपुग्ग्दा शिक्षा, स्वास्थ्य, आवास, पोषण, सरसफाई वा पानीको सुविधाबाट वन्चित भई बहुआयामिक गरिबीमा बाँचिरहेका बालबालिकाको संख्या विश्वव्यापी रूपमै १५ प्रतिशत अर्थात् १५ करोडले वृद्वि भएको अनुमान गरिएको छ ।
यो संकट विरुद्व कदम चाल्नको लागि युनिसेफले सरकारहरू र साझेदारहरूलाई निम्न कार्य गर्न आव्हान गर्दछ :
१. सबै बालबालिकाले पढ्न पाउने कुरा सुनिश्चित गर्ने, प्रविधिको कारण सृजना भएको विभाजनलाई हटाउने।
२. पोषण तथा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने, र प्रत्येक बालबालिकाको लागि सुलभ रूपमा खोपहरू उपलब्ध गराउने
३. बालबालिका तथा युवाहरूको मानसिक स्वास्थ्ताको लागि सहयोग गर्ने र बाल्यकालमा हुने दुर्व्यवहार, लैङ्गिक हिंसा तथा हेला/तिरस्कार अन्त्य गर्ने
४. सुरक्षित पिउने पानी, सरसफाई तथा स्वच्छतामा पहुँच बढाउने, र वातावरण विनाश र जलवायु परिवर्तनका समस्याहरूलाई सम्बोधन गर्ने
५. बाल्य अवस्थाको गरिबीलाई घटाउने र सबैको लागि सहभागितामुलक पुनरुत्थान सुनिश्चित गर्ने
६. द्वन्द, विपत तथा विस्थापन पिडित बालबालिका र उनीहरूका परिवारलाई संरक्षण र सहयोग गर्ने कार्यलाई बढावा दिने
"यस पटकको अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा हामीले सरकार, साझेदारहरू तथा निजी क्षेत्रलाई बालबालिकाको कुरा सुन्न र उनीहरूका आवश्यकतालाई प्राथमिकतामा राख्नको लागि अनुरोध गर्दैछौं," फोरले भन्नुभयो "भविष्यको बारेमा कल्पना गर्दै महामारी पछिको विश्वलाई हेर्ने क्रममा बालबालिका पहिलो प्राथमिकता हुनुपर्दछ।"
नेपालमा मङ्सिर ५ गते अन्तर्राष्ट्रिय बाल दिवस मनाउन र बालबालिका एवं युवाहरूको सु-स्वास्थ्यसँग सम्बन्धित सवालहरूको बारेमा प्रकाश पार्न युनिसेफ नेपालले अनलाईनमा बाल संसद सत्र तथा युवा र बालबालिकाका लक्ष्य/परिदृश्य एवं आवाजको अनलाइन उत्सवको आयोजना गर्नेछ। साथै, युनिसेफ नेपालले युवाहरूको माझमा सम्बन्ध/सहकार्य विकास गर्नको लागि "म छु नि" नामक मानसिक स्वास्थ्य अभियानको पनि शुभारम्भ गर्दैछ।
कोभिड-१९ महामारी र त्यसको शुरूवात लगत्तै भएको बन्दाबन्दीको समयमा बालबालिका एवं युवाहरूको मानसिक स्वास्थ्य एउटा खास चासोको विषयको रूपमा रहेको छ। मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या तथा तनाव बालबालिकाले तत्काल गर्ने अनुभवका अलावा त्यस्ता समस्याको कारण उनीहरूको वृत्ति विकासमा दीर्घकालीन असर पर्न सक्छ, साथै, अहिलेको महामारीले विश्वव्यापी रूपमै रहेको मानसिक स्वास्थ्य संकटको हद तथा संवेदनशीलता उजागर गरिदिएको छ।
नेपालमा ५ देखि १७ वर्षका बालबालिकामा देखिएका मानसिक जटिलताहरू मध्ये उत्सुकता तथा निराशा सबै भन्दा धेरै देखिएको छ: १० देखि १४ वर्षका १२ बालबालिका मध्ये १ जना र १५ देखि १७ वर्षका १० बालबालिका मध्ये १ जनामा उत्सुकताको समस्या देखिनुका साथै १० देखि १७ वर्षका बालबालिका मध्ये २ प्रतिशतमा निराशाको समस्या देखिएको छ।
प्रतिवेदन २०७७ मङ्सिर ५ गते यो पृष्ठमा सार्वजनिक गरिनेछ :: https://www.unicef.org/coronavirus/six-point-plan-protect-children
बालबालिकाले प्राप्त गर्ने सेवाहरूमा भएको अवरोध सम्बन्धमा युनिसेफले १७ अगस्ट देखि १७ सेप्टेम्बर सम्म १४८ वटा देशमा गरेको सर्वेक्षणको बारेमा हेर्न यहाँ जानुहोस् ।
२० वर्ष मुनिका बालबालिका एवं किशोरकिशोरीमा सार्स-कोभ- २ संक्रमणको अवस्था अध्ययन गर्नको लागि मेक्स प्ल्यांक इन्स्टिटयुट फर डेमोग्राफिक रिसर्च (एमपिआईडिआर)द्वारा पुन:विश्लेषण गरिएको देश गत तथ्यांक प्रयोग गरिएको थियो (https://osf.io/mpwjq/).
मिडिया सम्पर्कहरू
युनिसेफको बारेमा
युनिसेफले विश्वकै सबै भन्दा बंचितिकरणमा परेका बालबालिकासम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरूमा काम गर्दछ १९० भन्दा बढी देशहरु तथा भुभागहरूमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं । युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारीको लागि www.unicef.org मा जानुहोस्।
अन्तर्राष्ट्रिय बाल दिवसको बारेमा थप जानकारी
Twitter र Facebook मा हामीलाई पाउनुहोस् ।