दशकौँसम्म देखा पर्न सक्ने कोभिड-१९ को विनाशकारी प्रभावहरू रोक्न दक्षिण एसियाका बालबालिकामा तत्काल लगानी अत्यावश्यक छ - युनिसेफ

तत्काल गरिने कार्यले हरेक बालबालिकालाई उनीहरूले यस क्षेत्रको लागि भविष्यमा योगदान पुर्‍याउने अवसरहरू पुन: उत्पन्न गर्न सक्ने युनिसेफको भनाइ

09 डिसेम्बर 2021
This image shows a child washing her hands
UNICEF Nepal/2021/LPNgakhusi

काठमाडौँ, ९ डिसेम्बर २०२१ : दक्षिण एसियाका सरकारहरूले कोभिड-१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको कुरा युनिसेफको ७५ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक प्रतिवेदनले पुष्टि गरेको छ ।

दक्षिण एसियामा बालबालिकाका लागि अवसरहरू  पुन: उत्पन्न गर्ने नामक प्रतिवेदनले यस क्षेत्रका ६० करोड बालबालिकामध्ये सबैभन्दा सीमान्तकृत बालबालिकामा महामारीले पारेको असमान प्रभावमाथि प्रकाश पारेको छ । प्रतिवेदनले अत्यावश्यक स्वास्थ्य, खोप, पोषण, संरक्षण र शिक्षा सेवाहरूलाई प्रगतिको अवस्थामा फर्काउन नसकेमा कोभिड-१९ महामारीको विनाशकारी प्रभावहरू दशकौँसम्म रहिरहने बताएको छ । मानवीय प्रकोप र खडेरी, बाढी र वायु प्रदुषण जस्ता जलवायुसम्बन्धी जोखिमहरूले बालबालिकाको अवस्थालाई थप गहिरो प्रभाव पारेको कुरा पनि प्रतिवेदनमा उल्लेख छ ।

महामारीभन्दा अघि ठूलो युवा जनसङ्ख्याले विकासलाई थप गति दिएकोले र बालबालिकाको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरेकोले दक्षिण एसिया विश्वको सबैभन्दा द्रुत वृद्धि हुने क्षेत्रहरूमध्ये एक थियो । बितेको २५ बर्षमा बाल मृत्युदर आधाभन्दा बढी घटेको छ साथै पुड्कोपनाबाट पीडित बालबालिकाको सङ्ख्या पनि सन् २००० पछि एक तिहाइभन्दा बढीले घटेको छ । माध्यमिक विद्यालयमा भर्ना हुने बालबालिकाको सङ्ख्या क्रमशः बढ्दै गएको छ र १८ वर्ष नपुग्दै विवाह गर्ने बालिकाको सङ्ख्या घटेको छ । त्यसका साथै, ९० प्रतिशतभन्दा बढी जनताको सुरक्षित खानेपानीमा पहुँच छ ।

"हाम्रो क्षेत्रले हालैका दशकहरूमा बाल अधिकारको विकासमा हासिल गरेका उल्लेखनीय उपलब्धिहरू अहिले जोखिममा छन्," दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लारिया-एडजेईले भन्नुभयो । “यदि हामी तत्काल ठोस कदम चाल्न असफल भयौँ भने, कोभिड-१९ महामारीको सबैभन्दा नराम्रो असर आगामी दशकहरूमा महसुस हुनेछ । तर तत्काल कार्य गर्‍यौँ भने, हामीले अवसरहरूको पुन: प्राप्ति मात्र नभई दक्षिण एसियाका प्रत्येक बालबालिकाले बाँच्ने र फस्टाउने कुरा सुनिश्चित गर्न सक्नेछौँ ।”

प्रतिवेदनले आधारभूत स्वास्थ्य र खोप सेवाहरू पूर्ण रूपमा पुनर्स्थापना गर्ने र विद्यार्थीहरूलाई उनीहरूले छुट्टाएका सिकाइहरू प्राप्त गर्न मद्दत गर्ने जस्ता तत्कालका प्राथमिकताहरू पहिचान गर्दछ । प्रतिवेदनले, महामारीका कारण हामीले सिकेका पाठहरू र यो परिस्थितिले हाम्रो लागि खोलेका अवसरहरूको रूपरेखा पनि प्रदान गर्दछ । यी सिकाइहरूलाई सबै बालबालिकाको हितका लागि प्रयोग गर्न सकिन्छ ।

यी सिकाइहरूमा कोभिड-१९ सँग जुध्न विस्तार गरिएको र सुधारिएको कोल्ड चेन र अक्सिजन जस्ता पूर्वाधारहरू मार्फत सुदृढ गरिएको सार्वजनिक स्वास्थ्य प्रणालीहरू समावेश छन् । अन्य अवसरहरूमा, मानसिक स्वास्थ्यबारे बढ्दो सार्वजनिक रूपमा छलफलहरू समावेश छन् जसले थप सेवाहरूको आवश्यकतामाथि प्रकाश पार्न र माँग बढाउन मद्दत गर्दछ । साथै, यो क्षेत्रमा अवस्थित गहिरो डिजिटल दूरीको पहिचान गरेर त्यो खाडललाई पुर्ने अवसरहरूको बढ्दो मान्यतालाई बुझ्न पनि सहयोग गर्दछ ।

युनिसेफका अनुसार, बालबालिकाको प्रगतिलाई पहिलेकै स्थितिमा लैजान गरिने तत्काल लगानीसँगै, यो क्षेत्र भविष्यमा हुन सक्ने महामारीको लागि पनि तयारी अवस्थामा रहनु पर्छ।

"दक्षिण एसियाको ३० प्रतिशत जनसङ्ख्याले मात्रै पूर्ण खोप लगाएका छन् र नयाँ प्रकारका भाइरसहरू देखा परेसँगै परिवारहरू असुरक्षित छन्," जर्ज लारिया-अड्जेईले भन्नुभयो । "विश्वभरका सरकारहरूले कोभिड-१९ को खोपहरूमा निष्पक्ष र समान पहुँच सुनिश्चित गर्नुपर्दछ । जबसम्म यो महामारी सबैका लागि समाप्त हुँदैन, तब सम्म यो कसैको लागि समाप्त हुँदैन ।”

"हाम्रो भविष्य, हाम्रो अधिकार, हाम्रो आवाज" शीर्षकको युवा वक्तब्यमा बालबालिकामा महामारीको असमान प्रभाव बारे उल्लेख गरिएको थियो । उक्त वक्तब्य ८ वटा दक्षिण एसियाली देशहरूका झण्डै ५०० युवाहरूलाई समावेश गरेर सञ्चालन भएको व्यापक भर्चुअल परामर्शको परिणाम हो ।

“कोभिड-१९ को महामारीले हाम्रो अवस्थालाई झनै नराम्रो बनाएको छ । हाम्रा विद्यालयहरू प्रायः एकै पटक महिनौँसम्म बन्द भएका छन् । हामीमध्ये धेरै बालबालिका अब कहिल्यै विद्यालय नफर्कन पनि सक्छौँ," युनिसेफ, सार्क (SAARC) र वरिष्ठ सरकारी अधिकारीहरूसँग साझा गरिएको वक्तब्यमा उल्लेखित छ । "तपाईंका प्रयासहरूले हामी दक्षिण एसियाका युवाहरूको जीवन परिवर्तन गर्न सक्छ ।"  

प्रतिवेदनले बालबालिकाको प्रगतिलाई पहिलेकै अवस्थामा पुर्‍याउन र दक्षिण एसियाका प्रत्येक बालबालिकाको राम्रो भविष्य निर्माण गर्न आवश्यक पर्ने मुख्य कार्यहरूको रूपरेखा प्रस्तुत गरेको छ, तीमध्ये निम्न कुराहरू छन् :

  • बाल-संवेदनशील सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरूमा, विशेष गरी सबैभन्दा जोखिममा रहेका बालबालिका र तिनीहरूका परिवारहरूका लागि लगानी विस्तार गर्ने ।
  • सिकाइमा पुगेको हानिलाई सम्बोधन गर्दै, यो क्षेत्रमा भएको डिजिटल दूरीलाई कम गर्दै र प्रत्येक बालबालिकाको शिक्षाको गुणस्तरमा सुधार गर्दै विद्यालयहरूमा व्यक्तिगत रूपमा सिकाइलाई पुनः सुरु गर्ने ।
  • बालबालिकालाई घातक तर उपचार गर्न सकिने रोगहरूबाट जोगाउन र दक्षिण एसियाको बाल पोषण सङ्कटलाई उल्टाउन एकीकृत राष्ट्रिय स्वास्थ्य र पोषण प्रणालीलाई बलियो बनाउने ।
  • बालबालिकालाई बेवास्ता हुनुबाट र दुर्व्यवहारबाट जोगाउने र सबै बालबालिका र युवाहरूको मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने ।
  • बालबालिकाका लागि मुख्य सेवाहरूमा जलवायु अनुकूलन र लचिलोपनमा बढ्दो लगानीको माध्यमबाट बालबालिकालाई जलवायु परिवर्तनबाट जोगाउन तत्काल कार्य गर्ने ।

२०२० मा, कोभिड-१९ सँग जोडिएका अवरोधहरूले अनुमानित २२८,००० थप बाल मृत्युहरू निम्त्याएको र अघिल्लो वर्षको तुलनामा लगभग १९ लाख बढेर ५३ लाख बालबालिका महत्त्वपूर्ण खोपहरूबाट बन्चित भएको अनुमान गरिएको छ । २०२० मा थप ३८ लाख ५० हजार बालबालिका ख्याउटेपनबाट ग्रस्त भएको मानिन्छ ।

अन्य क्षेत्रको तुलनामा दक्षिण एसियाका विद्यालयहरू सबैभन्दा लामो समयसम्म बन्द रहेका थिए । इन्टरनेटमा जोडिन नसकेका र उपकरण खरिद गर्नका लागि आर्थिक समस्या भएको क्षेत्रका ४० करोडभन्दा बढी बालबालिका र उनीहरूका शिक्षकहरूलाई कक्षाकोठाको पढाई बाट, सिकाइका अवसरहरूमा चिन्ताजनक असमानताहरू निम्त्याउन सक्ने सम्भावना भएको, दूर शिक्षा प्रणालिमा परीणत गर्न बाध्य पारिएको थियो । परिणाम स्वरूप, दुर्गम क्षेत्रका गरिब बालबालिका, किशोरीहरू र अपाङ्गता भएका विद्यार्थीहरू सिकाइका अवसरहरूमा असमान रूपमा प्रभावित भएका छन् ।

"वर्तमान सङ्कटले सबै बालबालिकाका आवश्यकताहरू पूरा गर्नका लागि एउटा बलियो र अनुकूल स्वास्थ्य, शिक्षा र सुरक्षा प्रणालीहरू निर्माण गर्ने एउटा अनुपम अवसर प्रस्तुत गर्दछ," जर्ज लारिया-अड्जेईले भन्नुभयो । "युनिसेफले दक्षिण एसियाका सरकारहरू, व्यवसाय, नागरिक समाज र बालबालिकासँग नजिकबाट काम गर्ने क्रमलाई जारी राख्नेछ, साथै हरेक बालबालिकासम्म पुग्ने कुरा सुनिश्चित गर्नेछ ।"

####

मिडिया सम्पर्कहरू

एलिन लुठी
क्षेत्रीय सञ्‍चार प्रमुख
युनिसेफ दक्षिण एशिया क्षेत्रीय कार्यालय,
सम्पर्क: +977 98010 30076
इमेल: eluthi@unicef.org

युनिसेफको बारेमा

युनिसेफले विश्वकै सबैभन्दा सीमान्तकृत बालबालिकासम्म पुग्नका लागि विश्वकै चुनौतीपूर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भु–भागहरूमा हामीले हरेक मानिसका लागि समुन्नत संसार बनाउन हरेक बालबालिकाका लागि हरेक ठाउँमा काम गर्छौं ।

दक्षिण एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालय (ROSA) ले अफ्गानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका युनिसेफका राष्ट्रिय कार्यालयहरूसँग बालबालिकाको जीवन बचाउन, उनीहरूको अधिकारको रक्षा गर्न र उनीहरूको क्षमता पूरा गर्न मद्दत गर्न काम गर्दछ।

युनिसेफ तथा बालबालिकाका लागि यसले दक्षिण एसियामा गर्ने कार्यका बारेमा थप जानकारीका लागि www.unicef.org/rosa मा जानुहोस् र युनिसेफ रोसा (UNICEF ROSA) लाई TwitterFacebook मा फलो गर्नुहोस् ।

कोभिड-१९ बारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।