युनिसेफको नयाँ पैरवी प्रतिवेदन अनुसार नेपालका लाखौं बालबालिका जलवायु संकटका बढ्दो असरहरूका बीच हुर्किंदै

बालबालिकामा बढ्दो जलवायु र वातावरणीय जोखिमको सम्बोधनका लागि बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न COP31को पूर्वसन्ध्यामा युनिसेफको आह्वान

04 नोभेम्बर 2026
children on a bridge in nuwakot
UNICEF Nepal/2026/LPNgakhusi

काठमाडौं, १९ कार्त्तिक २०८३ - युनिसेफले आज सार्वजनिक गरेको नयाँ पैरवी प्रतिवेदनले नेपालका लाखौं बालबालिका बढ्दो जलवायु, वातावरणीय तथा विपद्का जोखिमबीच हुर्किरहेका र यसले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा तथा भविष्यमा गम्भीर असर गरिरहेको तर्फ सचेत गराएको छ। “Growing Up in a Climate Hotspot: The Risks Shaping the Lives and Futures of Nepal's Children” शीर्षकको उक्त नयाँ पैरवी प्रतिवेदन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन तथा तथ्याङ्कको विश्लेषणमा आधारित छ। प्रतिवेदनले जलवायु परिवर्तनले नेपालका बालबालिकाको बाल्यकाल तथा बालापन र भविष्यलाई कसरी प्रभावित गरिरहेको छ भन्ने देखाउँदै जलवायु नीति, बजेट तथा कार्यक्रमहरूमा बालबालिकालाई केन्द्रमा राखी तत्काल कदम चाल्न आग्रह गरेको छ। 

प्रतिवेदनका अनुसारः 

  • नेपालका करिब ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा छन्। वायु प्रदूषण नेपालका बालबालिकाको स्वास्थ्यका लागि सबैभन्दा व्यापक वातावरणीय जोखिममध्ये एक बनेको छ। 
  • ७३ लाख बालबालिका खडेरीको सम्मुखमा छन्, जसले खानेपानी, जीविकोपार्जन, कृषि उत्पादन र पोषणमा जोखिम सृजना गरिरहेको छ। 
  • ५७ लाख बालबालिका अत्याधिक गर्मीको सम्मुखमा छन्, जसले उनीहरूको स्वास्थ्य, सिकाइ र दैनिकी प्रभावित गरिरहेको छ। 
  • २९ लाख बालबालिका वर्षाका कारण हुने पहिरोको सम्मुखमा रहेका छन् । 
  • अनुमानित २४ लाख बालबालिका एकसाथ बिभिन्न उच्च तिब्रताका जलवायुजन्य प्रकोपको सामना गरिरहेका छन्, जसले उनीहरूको अवस्था र पुर्नस्थापना थप जटिल बनाएको छ। 

प्रतिवेदनमा जलवायु परिवर्तनले बालबालिकालाई प्रत्यक्ष जोखिममा पार्नुका साथै उनीहरूका लागि अत्यावश्यक ने आधारभूत सेवाहरूमाथि पनि दबाब बढाइरहेको कुरा उल्लेख गरेको छ। नेपालले विकासका विभिन्न क्षेत्रमा प्रगति हासिल गरेको भए पनि चुनौतीहरू अझै गम्भीर छन्। हाल पनि केवल ४७.५ प्रतिशत जनसंख्यासँग मात्र सुरक्षित खानेपानीको पहुँच छ। प्रत्येक चारमध्ये एक जना पाँच वर्षमुनिका बालबालिका पुड्कोपनको समस्याबाट प्रभावित छन् भने २२ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा बाँचिरहेका छन्। जलवायुजन्य संकटले बालश्रम, बालविवाह, रोगको प्रकोप र पठनपाठनमा अवरोधको जोखिम समेत बढाइरहेको छ। 

“जलवायु संकट क्रमशः बालअधिकार संकटका रूपमा परिणत हुँदै गएको छ,” युनिसेफ नेपालकी प्रतिनिधि श्री एलिस अकुंगाले भन्नुभयो । “जलवायु परिवर्तनको समस्या सृजनामा बालबालिकाको योगदान नगण्य भए पनि यसको सबैभन्दा गम्भीर असर उनीहरूले भोगिरहेका छन्। हरेक बाढी, खडेरी, अत्यधिक गर्मी तथा प्रदूषणका घटनाले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षामाथि प्रत्यक्ष प्रभाव पारिरहेको छ। COP31 जलवायु सम्मेलनमा सहभागी हुदैगर्दा हाम्रो सामुा जलवायु नीति, बजेट र अनुकूलनका प्रयासहरूमा बालबालिकालाई केन्द्रमा राख्ने अवसर र जिम्मेवारी दुवै  छन्।” 

प्रतिवेदनले जलवायु संकटको असर सबै बालबालिकामा समान रुपमा नभएको र गरिब परिवारका बालबालिका, बालिकाहरू, अपाङ्गता भएका बालबालिका, ऐतिहासिक रूपमा सीमान्तकृत समुदायका बालबालिका तथा दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा बस्ने बालबालिकाले तुलनात्मक रूपमा अत्यधिक  जोखिम सामना गरिरहेको जनाएको छ ।  

बालबालिका तथा युवामैत्री जलवायु कार्यमा एक महत्त्वपूर्ण कदम चाल्दै नेपाल सरकारले १२ कार्त्तिकमा सम्पन्न राष्ट्रिय जलवायु  सम्मेलनका अवसरमा “बालबालिका, युवा तथा जलवायु कार्यसम्बन्धी घोषणा–पत्र” औपचारिक रुपमा अनुमोदन गरेको छ। COP25 मा प्रारम्भ भएको उक्त घोषणा–पत्रमा हालसम्म ७८ देशहरूले समर्थन जनाइसकेका छन्। नेपालले हस्ताक्षर गरेको घोषणा–पत्र टर्किमा  आयोजना हुने COP31 का अवसरमा युनिसेफका वरिष्ठ प्रतिनिधिलाई औपचारिक रूपमा हस्तान्तरण गरिनेछ । यसले बालबालिका तथा युवालाई जलवायु कार्यको केन्द्रमा राख्ने नेपालको प्रतिबद्धता अन्तर्राष्ट्रिय स्तरमा थप प्रदर्शन गर्नेछ।  

COP31को पूर्वसन्ध्यामा युनिसेफ नेपालले बिभिन्न सरोकारवालाहरू संग निम्न बमोजिम आह्वान गरेको छः 

  • सरकारलाई, जलवायु नीति, अनुकूलन योजना, विपद् जोखिम न्यूनीकरण रणनीति र जलवायु वित्तको  ढाँचामा बालबालिकाका आवश्यकता र अधिकारलाई एकीकृत गर्न ।  
  • सरकार, विकास साझेदारहरू र जलवायु वित्त सम्बन्धी संस्थाहरूलाई बालबालिकाप्रति उत्तरदायी अनुकूलन तथा जलवायुजन्य हानी र नोक्सानी सम्बोधनका क्षेत्रमा विशेष गरी जलवायु उत्थानशील स्वास्थ्य, पोषण, शिक्षा, बाल संरक्षण र सामाजिक सुरक्षामा लगानी बढाउनुका साथै उमेर, लैंगिक अवस्था तथा अपांगतालाइ सम्बाेधन गर्ने समावेशी पहुँच सुनिश्चित गर्ने कार्यमा लगानी बढाउन । 
  • राष्ट्रिय र स्थानीय सरकारहरूलाई खण्डीकृत तथ्यांक र बाल-केन्द्रित जलवायु जोखिमका प्रमाणहरूमा अाधारित याेजना तर्जुमा गरी बालबालिका तथा सबैभन्दा जोखिममा रहेका समुदायहरूलाई प्राथमिकता दिन निजी क्षेत्रलाई जलवायु-उत्थानशील पूर्वाधार, स्वच्छ ऊर्जाका प्रबिधिहरू र बालबालिकाको कल्याणको रक्षा गर्ने नवप्रवर्तनहरूलाई प्रबर्धन  गर्न।  
  • सबै सरोकारवालाहरूलाई स्थानीय, राष्ट्रिय र विश्वव्यापी स्तरमा जलवायु निर्णय लिने प्रक्रियामा बालबालिका र युवाहरूलाई अर्थपूर्ण रूपमा समावेश गरिएको सुनिश्चित गर्न ।  

प्रतिवेदनले जलवायु कार्यमा नेतृत्व गरिरहेका बालबालिका तथा युवाको आवाज सुनिनु आवश्यक रहेकोमा पनि जोड दिएको छ। 

“जलवायु परिवर्तन बालबालिकाको भविष्यको समस्या होइन, अहिलेको वास्तविकता हो,” युनिसेफ नेपालका लागि जलवायु कार्यसम्बन्धी युवा अभियन्ता श्री जयन्ती बमले भन्नुभयो । “बाढीका कारण विद्यालय क्षति हुँदा हामीले केवल कक्षाकोठा मात्र गुमाउँदैनौं। हामीले सिकाइ, साथीभाइ, दैनिकी र सुरक्षाको भावना पनि गुमाउँछौं। युवा पुस्ता समाधानको हिस्सा बन्न चाहन्छ। त्यसका लागि जलवायु उत्थानशील विद्यालय र सेवामा लगानी, बालबालिकाको आवाजको सम्मान तथा निर्णय प्रक्रियामा हाम्रो अर्थपूर्ण सहभागिता सुनिश्चित गरी हाम्रो भविष्य सुरक्षित र उत्थानशील बनाउन हामी निर्णयकर्ताहरूलाइ आह्वान गर्दछौँ।”  

###  

सम्पादकलाई नोटः  

Growing Up in a Climate Hotspot: The Risks Shaping the Lives and Futures of Nepal's Children यी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन तथा तथ्याङ्कको विश्लेषणमा आधारित छ जस्तै Global Child Hazard Database, Nepal's Children's Climate Risk Index-Disaster Risk Model (CCRI-DRM), the Nepal Multiple Indicator Cluster Survey (NMICS) 2024-25, and UNICEF Nepal's Climate Landscape Analysis for Children (CLAC). यी विभिन्न अध्ययन तथा तथ्याङ्कहरूले नेपालका बालबालिकाले सामना गरिरहेका जलवायु जोखिम र त्यसका असरहरूको हालसम्मकै सबैभन्दा स्पष्ट र विस्तृत चित्र प्रस्तुत गर्छन्। 

प्रतिवेदन यहाँ उपलब्ध छ: https://www.unicef.org/nepal/reports/growing-climate-hotspot    

मिडिया सम्पर्कहरू

Florine Bos
Chief of Communication, Advocacy and Partnership,
UNICEF Nepal
सम्पर्क: +977 9801244524
इमेल: [email protected]

युनिसेफका बारेमा

युनिसेफले विश्वमा सबैभन्दा पछाडि परेका बालबालिकासम्म पुग्‍न विश्वका कठिन ठाउँहरूमा काम गर्दछ । विश्वका १९० देश र क्षेत्रहरूमा हामी सबैका लागि राम्रो संसार निर्माण गर्न हर स्थान र हरेक बालबालिकाका लागि काम गर्दछौँ । युनिसेफका बारेमा थप जानकारी र नेपालका बालबिलकाका लागि यसले गरेका कामहरूबारे थाह पाउन https://www.unicef.org/nepal/ मा हेर्नुहोस् ।

युनिसेफ नेपालबारे Facebook, Instagram, YouTube, X ra TikTok मा पनि हेर्न सक्‍नुहुनेछ ।