नेपालका बालबालिका तथा युवाहरूबाट दिगो भविष्यका लागि कार्यहरूको सशक्त आह्वानलाई युनिसेफको समर्थन

13 मे 2025
A group of people standing during a handover ceremony
UNICEF Nepal/2025/KThapa

काठमाडौं, ३० वैशाख २०८२ – यसै साताको अन्त्यतिर हुने अन्तर्राष्ट्रिय सगरमाथा संवादमा विश्वका नेताहरू, चिन्तकहरू तथा परिवर्तनका संवाहकहरूको स्वागतका लागि राष्ट्रले तयारी गरिरहेको समयमा नेपालका बालबालिका तथा युवाहरूले हाम्रो समयको सबैभन्दा गम्भीर चुनौती – जलवायु संकटबारे आफ्नो आवाजलाई दृढतापूर्वक अघि बढाउन सशक्त कदम उठाएका छन् । बालबालिका तथा युवा (बायु) संवादमा तयार पारिएको बालबालिका तथा युवा घोषणापत्र आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित सगरमाथा संवाद सचिवालयमा बुझाइएको छ ।         

नेपाल सरकार र संयुक्त राष्ट्रसंघ नेपालले (युनिसेफ, एफएओ र यूएनडीपी) युवा सञ्जालहरू – नेप्लिज युथ फर क्लाइमेट एक्सन, माउन्टेन युथ हब, वर्ल्ड फुड फोरम, ग्लोबल युथ बायोडाइभर्सिटी नेटवर्क र क्लिन इनर्जी नेपालसँगको सहकार्यमा बायु संवाद गत अप्रिलमा आयोजना गरेको थियो । यस कार्यक्रमले देशभरका १०० भन्दा बढि बालबालिका र युवाहरूलाई सरकार, नागरिक समाज, विकास साझेदार, निजी क्षेत्र, मिडिया तथा जलवायु विज्ञहरूसँग संवादमा जोडेको थियो र यो कार्यक्रम जलवायु परिवर्तन, हिमाल-पहाड र मानवताको भविष्यमा केन्द्रित अन्तर्राष्ट्रिय सगरमाथा संवाद अघि आयोजना गरिएको थियो ।  

बायु संवादको मुख्य उपलब्धि भनेको यसमा सहभागी बालबालिका तथा युवाहरुले तयार पारेको घोषणापत्र हो, जसमा उनीहरूले जलवायु परिवर्तनप्रति उत्थानशील नेपाल र विश्वका लागि आफ्ना मागहरू, प्रतिबद्धताहरू र प्रस्तावित कार्यहरू उल्लेख गरेका छन्। यो घोषणापत्र तत्कालीन, समावेशी तथा बालबालिका र युवा प्रतिक्रियाशील जलवायु कार्यका लागि एक सशक्त आह्वान हो। यसमा नेपाल सरकार, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायलाई बालबालिका तथा युवाहरूलाई लाभग्राहीको रुपमा मात्रै नभई जलवायुको आधीकारिक पक्षधरहरू र अधिकारधारीहरूको रूपमा लिन आग्रह गरिएको छ ।     

“जलवायु संकट एक बाल अधिकारको संकट हो - यसले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा तथा समृद्धिमा प्रतिकूल प्रभाव पारिरहेको छ र यी प्रभावलाई सम्बोधन गर्ने अर्थपूर्ण र दीगो समाधानहरू तयार र कार्यान्वयन गर्न ‘मानवताको भविष्य’ को आवाज सुन्न महत्त्वपूर्ण छ,”  युनिसेफकी नेपाल प्रतिनिधि एलिस अकुंगाले भन्नुभयो ।  

घोषणापत्रले आठवटा प्राथमिक प्रतिकार्यहरूलाई जोड दिएको छः  

● बालबालिका तथा युवाहरूमा जलवायु परिवर्तनको प्रभावका बारेमा ठोस प्रमाण जुटाउने,  

● बालबालिका तथा युवाहरूलाई समावेशिताको सानो अंश मात्रै नमानेर परिवर्तनको सक्रिय संवाहकको रूपमा लिने,  

● समावेशी क्षमता विकास तथा जलवायु शिक्षामा लगानी गर्ने,  

● निर्णय प्रक्रियामा बालबालिका तथा युवा सहभागितालाई संस्थागत गर्ने, 

● बालबालिका तथा युवाकेन्द्रित अभियानका लागि जलवायु वित्तको निष्पक्ष तथा प्रत्यक्ष पहुँचलाई सुनिश्चित गर्ने, उनीहरुको नेतृत्व तथा सहभागितालाई सहयोग गर्ने । 

● राष्ट्रिय अनुकूलन योजना (२०२१-२०५०), आगामी राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३.०) र नेपालको १६औँ आवधिक योजनामा समावेश गर्नेलगायत नेपालका प्रमुख जलवायु तथा विकास योजनाहरूमा बालबालिका तथा युवा नेतृत्वसम्बन्धी जलवायु कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने, 

● बालबालिका तथा युवा नेतृत्वका नवप्रवर्तन तथा जलवायु प्रतिकार्यको प्रवर्द्धन र विस्तार गर्ने, 

● र साथसाथै सगरमाथा संवादको केन्द्रमा बालबालिका तथा युवाहरूलाई राख्ने । 

सगरमाथा संवादमार्फत नेपालले विश्वव्यापी जलवायु कूटनीतिमा आफ्नो पहिचान बनाउँदै गरेको महत्त्वपूर्ण समयमा यस घोषणापत्रलाई प्रस्तुत गरिएको हो । बालबालिका तथा युवा घोषणापत्रले बायु संवादको आकांक्षालाई मात्रै प्रतिविम्बित गर्दैन । यसले क्षेत्रीय संवादहरू जस्तै हिमाली संवाद तथा थामे संवादलाई समेत प्रतिविम्बित गर्दछ । यसले वास्तवमा समावेशी तथा युवा प्रतिनिधि आवाजलाई सुनिश्चित गरेको छ ।  

“मानवताको साझा भविष्यमाथि विचारविमर्श गर्न विश्वभरबाट एकत्रित हुँदै गर्दा नेपालका बालबालिका तथा युवाले सबै सरोकारवालाहरू - सरकार, नागरिक समाज, संयुक्त राष्ट्रसंघीय नियोगहरू, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई उनीहरुको सन्देश सुन्न, त्यसमा सहभागी हुन र त्यसलाई कार्यान्वयन गर्नका लागि आग्रह गरिरहेका छन्,’” अकुंगाले भन्नुभयो । “युनिसेफ उनीहरू संग दृढ रूपमा उभिएको छ र साथसाथै उनीहरूको आवाजलाई अझ सशक्त बनाउँदै, न्यायपूर्ण तथा दिगो भविष्य निर्माणमा उनीहरूको नेतृत्वलाई समर्थन गर्दछ।“  

### 

सम्पादकहरूका लागि नोट: 
बालबालिका र युवाहरूको घोषणापत्रको पूर्ण पाठ यसमा उपलब्ध छ: https://www.unicef.org/nepal/media/26061/file  

मिडिया सम्पर्कहरू

फ्लोरीन बोस
प्रमुख (सञ्चार, पैरवी र साझेदारी)
युनिसेफ नेपाल
सम्पर्क: +९७७ ९८०१२४४५२४
इमेल: [email protected]
शर्मिना मानन्‍धर
सञ्‍चार विशेषज्ञ
युनिसेफ
सम्पर्क: ‌+9779801007922
इमेल: [email protected]

युनिसेफको बारेमा 

युनिसेफले आफ्नो सम्पूर्ण कार्यमा हरेक बालबालिकाको अधिकार तथा कल्याणलाई प्रवर्द्धन गर्दछ । साझेदारहरूसँगको सहकार्यमा हामी १९० राष्ट्र र भूभागमा यस प्रतिबद्धतालाई व्यावहारिक रूपान्तरणका लागि काम गर्दछौँ । यसमा सबैभन्दा जोखिममा रहेका तथा वञ्चित बालबालिकाका लागि विशेष ध्यान केन्द्रित गरिन्छ ता कि सबै ठाउँका सम्पूर्ण बालबालिकाले लाभ लिन सकून् । युनिसेफ र नेपालमा बालबालिकाका लागि यसका कार्यहरूबारे थप जानकारीका लागि, www.unicef.org/nepal मा जानुहोस् । युनिसेफ नेपाललाई ट्विटर X , फेसबुकइन्स्टाग्राम मा फलो गर्नुहोस् ।