बालबालिका र युवाहरूका आवाजलाई बुलन्द पार्दै युनिसेफको क्लाइमेट सिनेमा अभियान सम्पन्न
कृषि तथा पशुपन्छी विकास मन्त्रीज्यूद्वारा यी आवाजहरू COP30 सम्म पुर्याउने प्रतिबद्धता
- English
- नेपाली
काठमाडौँ, 24 कार्तिक 2082— बालबालिका र युवाहरूले आफ्ना अनुभव र कथाहरूमार्फत जलवायु परिवर्तनबारे आफ्ना आवाज साझा गर्न पाउने अवसर प्रदान गर्ने युनिसेफको क्लाइमेट सिनेमा अभियान जलवायु समाधानको केन्द्रमा बालबालिका हुनुपर्छ भन्ने सशक्त सन्देशका साथ सफलतापूर्वक सम्पन्न भएको छ ।
गत दुई सातामा, क्लाइमेट सिनेमा अभियान नेपालका विभिन्न भागहरू जस्तै सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, कर्णाली प्रदेशको पञ्चपुरी नगरपालिका, लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिका र मधेश प्रदेशको पर्सा गाउँपालिका हुँदै राजधानीमा समापन भएको हो।बालबालिकाको साहस, सिर्जनशीलता र नेतृत्वको प्रशंसा गर्दै यस यात्रालाई उत्सबको रुपमा मनाइएको थियो। फिल्म प्रदर्शन, अन्तरक्रियात्मक छलफल र बालबालिकाद्वारा अगुवाइ गरिएका स्थानीय जलवायु गतिविधिहरू मार्फत, यस अभियानले बाढी, सुख्खा, खडेरी र पहिरोको बीचमा हुर्किरहेका बालबालिकाका वास्तविक अनुभवहरूलाई उजागर गरेको छ । साथै उनीहरूको समुदायलाई जोगाउन र परिवर्तनका लागि प्रेरित गर्न उनीहरूको दृढ संकल्पलाई पनि प्रदर्शन गरेको छ।
“गत वर्ष अत्यधिक वर्षाका कारण आएको बाढीले गर्दा मेरो विद्यालय लगातार एक हप्ता बन्द भयो । यस्तो घटना पहिले कहिल्यै भएको थिएन,” १५ वर्षीया जयन्ती बमले भनिन्। “म राम्रो शिक्षा प्राप्त गर्न कालिकोटको मेरो गाउँ छोडेर राजधानी आएकी हुँ, तर जलवायु परिवर्तनले मेरो पढ्ने अधिकारलाई अझै असर गरिरह्यो ।”
जयन्ती, समापन कार्यक्रम आयोजना गरिएको श्री गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको इको क्लबकी अध्यक्ष हुन्, र उनले भनिन्, “हामी बालबालिका जलवायु परिवर्तन पीडित मात्र होइनौं , हामी संग विचार र समाधान पनि छन्। हामी परिवर्तनको अंशियार बन्न तयार छौं र हामी चाहन्छौं निर्णयकर्ताहरूले हाम्रो कुरा सुन्न र हाम्रो भविष्य सुरक्षित गर्न हामी सँगै मिलेर काम गरुन्। हामी बालबालिका जलवायु समाधानको केन्द्रमा हुनुपर्छ।”
कोप30 (COP30) सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने माननीय मन्त्री कृषि तथा पशुपन्छी विकास मन्त्रालय डा. मदन प्रसाद परियार समापन कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो। उहाँले जयन्ती लगायत देशभरका बालबालिका र युवाहरूको आवाज र सिफारिसहरू समेटिएको विशेष प्रतिवेदन र प्रादेशिक र राष्ट्रिय स्तरका स्थानीय युवा सम्मेलन (LCOY) नेपाल २०२५ मार्फत देशभरका ५०० भन्दा बढी बालबालिका र युवाहरूले तयार पारेका राष्ट्रिय युवा वक्तव्यहरू (National Youth Statement) पनि ग्रहण गर्नुहुंदै बालबालिका र युवा केन्द्रित जलवायु कार्य सबै क्षेत्रमा समाहित गर्ने र यी महत्वपूर्ण आवाजहरूलाई कोप30 सम्म पुर्याउने प्रतिबद्धता जनाउनु भयो । स्थानीय युवा सम्मेलन (LCOY) नेपाल हालै पावरशिफ्ट नेपाल, नेपालिज यूथ फर क्लाइमेट एक्शन (NYCA) तथा अन्य युवा–संस्थाहरूको नेतृत्वमा युनिसेफ, युएनडीपी तथा अन्य साझेदारहरूको सहकार्यमा आयोजना गरिएको थियो।
माननीय मन्त्री डा. परियारले भन्नुभयो: “नेपाल सरकार प्रत्येक क्षेत्रमा जलवायु कार्यलाई एकीकृत तथा मूलप्रबाहिकरण गर्न प्रतिबद्ध छ - शिक्षा र स्वास्थ्यदेखि लिएर पानी, सरसफाइ र सामाजिक सुरक्षा सम्म। हाम्रो राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदान (NDC 3.0) विश्वका सबैभन्दा बालमैत्री र युवा-मैत्री जलवायु योजनाहरू मध्ये एक हो। हामी यस योजनालाई हाम्रा विकास साझेदारहरू र बालबालिका तथा युवाहरूको सक्रिय सहभागितामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न दृढ छौं ।“
“तपाईं बालबालिका तथा युवा जलवायु अभियानकर्ताहरूलाई म भन्न चाहन्छु तपाईंहरू नै आजको कार्यक्रमका सच्चा नायकहरू हुनुहुन्छ। सुरक्षित, हरित र सम्भावनाले भरिपूर्ण भविष्य निर्माण गर्न नेपाल सरकार सदैब तपाईंहरूको साथमा छ,“ उहाँले थप्नुभयो ।
यसै कार्यक्रमका क्रममा, नेपालस्थित युनिसेफका प्रतिनिधि श्री एलिस अकुङ्गाले नेपालका विभिन्न प्रदेशहरूका बालबालिकाका वास्तविक कथा र सहनशीलताका कथा जस्तै बाढीले विद्यालय बन्द भएका अवस्थादेखि पहिरोपछि परिवारहरूद्वारा पुनःनिर्माण, क्लाइमेट सिनेमा अभियानले समेटेको प्रष्ट पारिन्।
“जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र होइन; यो बालअधिकार माथी संकट पनि हो। यसले बालबालिकाको बाँच्ने, बढ्ने र फस्टाउने अधिकारलाई खतरा पुर्याउँछ । उनीहरूको स्वास्थ्य, शिक्षा, कल्याण र भविष्यका अवसरहरूमा असर गर्छ,” उहाँले भन्नुभयो । “तर बालबालिका जसरी सबैभन्दा बढी प्रभावित छन्, उनीहरू भित्र परिवर्तन ल्याउने सबैभन्दा ठूलो शक्ति पनि छ।”
श्री अकुङ्गाले भन्नुभयो, “युनिसेफ जलवायु सम्बन्धी शिक्षा प्रवर्द्धन गर्न र जलवायु उत्थानशील सामाजिक सेवाहरू सुदृढ बनाउन नेपाल सरकार सँग मिलेर काम गर्न निरन्तर प्रतिबद्ध छ ताकि विद्यालय, स्वास्थ्य केन्द्र र पानी प्रणालीहरूले बढ्दो जलवायु प्रभावहरूलाई सामना गर्न सकून्।"
संघीय, प्रादेशिक र स्थानीय सरकार, विद्यालयहरू र युवा सञ्जालहरूको सहयोगमा आयोजित क्लाइमेट सिनेमा अभियानले बालबालिकाका कथा र समाधानहरूले कक्षा कोठा र समुदाय देखि कोप30 सम्मका राष्ट्रिय र विश्वव्यापी जलवायु नीतिहरूमा स्थान पाउनुपर्छ भन्ने पैरवी गरेको छ। विभिन्न प्रदेशहरूका समुदायहरूमा पुगेर, यस अभियानले बालबालिकाले सामना गरेका चुनौतीहरू र अनुकूलन तथा उत्थानशीलताका लागि उनीहरूले विकास गरेका सिर्जनशील उपायहरू पनि उजागर गरेको छ।
मिडिया सम्पर्कहरू
युनिसेफका बारेमा
युनिसेफले विश्वमा सबैभन्दा वञ्चितिमा परेका बालबालिकासम्म पुग्न विश्वका कठिन ठाउँहरूमा काम गर्दछ । विश्वका १९० देश र क्षेत्रहरूमा हामी सबैका लागि राम्रो संसार निर्माण गर्न हर स्थान र हरेक बालबालिकाका लागि काम गर्दछौँ । युनिसेफका बारेमा थप जानकारी र नेपालका बालबिलकाका लागि यसले गरेका कामहरूबारे थाह पाउन https://www.unicef.org/nepal/ मा हेर्नुहोस् ।
युनिसेफ नेपालबारे Facebook, Instagram, YouTube, X ra TikTok मा पनि हेर्न सक्नुहुनेछ ।