स्थानीय सिकाइ सामग्रीको उपयोग
स्थानीय सिकाइ खेल खेलौना र समुदाय वरिपरि पाइने वस्तुबाट समुदायका सिपालु महिला, पुरुष र बालबालिकाका आमाबुबाले बनाउने भएकाले सस्तो र सजिलै उपलब्ध हुन्छ
स्थानीय सिकाइ सामग्री भन्नाले आमाबुबा तथा परिवारका सदस्यहरूले स्थानीय रूपमा पाइने स्रोत साधनबाट बालबालिकाका लागि खेल्न तथा सिक्न तयार गरिदिएका सामग्री हुन् । यसको प्रयोग पहिलेदेखि गाउँ, समुदाय, परिवारमा आफ्ना बालबालिका हुर्काउन प्रयोग हुँदै आएका सामग्री पनि हुन सक्छन् । स्थानीय सिकाइ तथा खेल सामग्रीहरू भौगोलिक, सांस्कृतिक, जाति विशेषअनुसार फरक हुन्छ । शिशुको जन्मपछि उमेरअनुसार खेल्ने खेलौनाहरू बनाइदिएको पाउँछौ । जन्मदेखि छ महिनासम्मको शिशुहरूलाई रङ्गीचङ्गी कपडाका चरा, पुतली, फुर्काको चर्खी (घुम्ने चल्ने) बनाएर झुण्ड्याउने गरिन्छ ।
त्यसैगरी बामे सर्ने उमेरका शिशुलाई आवाज आउने, गुड्ने खेलौना बनाएको पाउँछौ । हिँड्ने बालबालिकालाई चाँप घुंँगरु लगार्ईदिने, लठ्ठीमा डब्बाको बिर्कोलाई अड्काएर गुडाउने, सानो गाडी, पुरानो कपडा मोजामा हालेर बल, बिग्रेको काम नलाग्ने भाँडाहरूको भाडाँकुटी, पुरानोे कपडाहरूको पुतली, सलहरूको डोरी, नाङ्गलोको पाङ्ग्रा बनाएर गुडाउने, स्थानीय आरु, चिलाउने, लप्सीको दाना राखेर बाजा बनाउने, बल, चक्का गुडाउने, पुतली, चित्रकथा किताब, बालगीत, कथा आदि सामग्रीहरू स्थानीय क्षेत्रमा नै बनाउन सकिन्छ । बालबालिकाको स्थूल अङ्ग सञ्चालनको लागि काठ, बाँसको प्रयोगले पिङ, चाकाचुली, झुण्डिने तन्कने गर्न मिल्ने, ससाना पुलहरू आदि पनि बनाएर सामूहिक रूपमा खेल्ने ठाउमा राख्न पनि सकिन्छ ।
स्थानीय सिकाइ खेल खेलौना र समुदाय वरिपरि पाइने वस्तुबाट समुदायका सिपालु महिला, पुरुष र बालबालिकाका आमाबुबाले बनाउने भएकाले सस्तो र सजिलै उपलब्ध हुन्छ । यस्ता स्थानीय सिकाइ सामग्रीको गुणस्तरमा ख्याल गर्ने हो भने बिक्री पनि गर्न सकिन्छ र परिवारको आयआर्जनमा पनि सहयोगी हुन सक्छ ।
स्थानीय सिकाइ सामग्रीको फाइदा
- स्थानीय साधनको सदुपयोगः स्थानीय क्षेत्रमा भएका सिप र खेर जाने वा प्रकृतिमा पाईने साधनको सदुपयोग हुन्छ ।
- स्थानीय अभिभावकहरूको आम्दानीः थोरै साधन समय तथा पैसामा गुणस्तरीय सामग्री बनाउन सकेमा स्थानीय अभिभावकहरूको आम्दानीको स्रोत अभिवृद्धि गर्न सकिन्छ ।
- न्यून मूल्यमा विकासको अवसरः स्थानीय खेल सामग्री सामान्यतया पैसा नपर्ने वा थोरै मूल्यबाट बनाइन्छ । जसले गर्दा बालबालिकाले थोरै मूूल्यमा पनि खेल सामग्रीहरू पाउन सक्छन् । बालबालिकाले खेलौना खेलेर उनीहरूको शारीरिक तन्दुरुस्ती, समस्या समाधान गर्ने, भाषा विकास, सामाजिक सिपहरू सिक्ने तथा नयाँ कुराहरू सिक्ने अवसर पाउछन् ।
- स्वस्थकर सामग्रीः बालबालिकाका लागि हानिकारक रसायन भएका सामग्रीहरू बजारमा यत्रतत्र पाइन्छ । देख्दा रङ्गीचङ्गी राम्रो भएता पनि यसमा प्रयोग हुने रसायनले बालबालिकालाई हानि गर्ने हुन सक्छ । तर स्थानीय सामग्रीहरूमा यस्तो रसायनहरू राखिएको हुँदैन । जसले गर्दा बालबालिकाले स्वस्थ सामग्री खेल्न पाउँछन् ।
- भावनात्मक सम्बन्धः अभिभावकबाट बनाइएका सामग्रीमा खेल्न पाउँदा बालबालिकासँग भावनात्मक सम्बन्ध पनि बलियो बन्छ । आफूलाई आमाबुबाले महत्त्व दिएको बुझेर संवेगात्मक सुरक्षा र आत्मविश्वास पनि बढ्छ ।
स्थानीय सिकाइ सामग्री निर्माण र व्यवस्थापनमा अपनाउनु पर्ने सतर्कता
- बालबालिकाको उमेर, क्षमता र रुचिअनुसार खेलौनाहरू बनाउनुपर्छ र गुणस्तरमा ध्यान दिनुपर्दछ ।
- स्वास्थ्यमा हानि हुने, दुर्घटना हुन सक्ने कच्चा पदार्थ प्रयोग हुनु हुँदैन । किला र काठको चोइटाजस्ता बिझाउने वा घाउचोट लाग्ने सम्भावना भएका सामग्री, हानिकारक रसायन भएका रङ तथा कच्चा पदार्थको प्रयोग गर्नुु हुँदैन ।
- खेलौनाको किनारहरू धारिला हुनु हुँदैन । बालबालिकाले निल्न तथा घाँटीमा अड्किन सक्ने ससाना गुच्चाहरू, बटन, मोतीका दानाहरू वा त्यस्तै गेडागुडी प्रयोग गरिने भएमा ननिस्कने गरी विशेष ध्यान दिनुपर्दछ ।
- बालबालिकालाई खेलौनाको प्रयोग गर्नु (खेल्नु) पहिले के कस्ता सतर्कता अपनाउनुपर्दछ भन्नुपर्दछ । जस्तैः मुखमा राख्नु हुँदैन, साथीलाई खेलौनाले हान्नु हुँदैन आदि ।
- खेलौना पुरानोे भएपछि वा बिग्रेपछि घाउ चोटपटक हुन सक्ने हुनाले आवश्यकताअनुसार मर्मत वा फाल्नुपर्छ ।
- बालबालिकाका लागि खेलौना राख्ने निश्चित ठाउँ बनाइदिनुपर्छ । जस्तै, दराज, र्याक अथवा डालो, ढक्की, कोठाको एक कुना । यसमा बालबालिकाले सजिलो र सुरक्षित रूपमा खेल्न सक्ने सामग्री राखिदिनुपर्छ । बालबालिकालाई खेलेपछि सामग्रीहरू आफ्नो ठाउँमा मिलाएर राख्न सिकाउनुपर्दछ ।
| नमुना खेलौनाको नाम | कच्चा पदार्थ | क्रियाकलाप | सिकाइ र विकासमा योगदान |
|---|---|---|---|
| नरम पुतली | कपडा (गेरु, रङ्गीन, कालो), सियो, धागो, कैंची, कपास वा फाइबर | अभिनय खेल खेलाउने | भाषा सिकाइ संवेगात्मक अभिव्यक्ति |
| हाते पुतली (पपेट) |
सियो, उनधागो, रातो, कालो टाँक | कथा भन्ने, गीत गाउने, कुराकानी गर्ने | भाषा सिकाइ संवेगात्मक अभिव्यक्ति, सञ्चारको सिप |
| रङ्गीन माला | रङ्गाएको निगालोको टुक्रा, मकैको खोयाको टुक्राहरू, सुतीको धागो | सूक्ष्म अङ्ग सञ्चालन | आँखा र हातको समन्वय गर्ने, विभिन्न ढाँचा बनाएर माला उन्न |
| नरम बल | रङ्गीन कपडा, सियो, धागो, कैंची, कपास वा फाइबर | स्थूल अङ्ग सञ्चालन | शारीरिक सन्तुलन, अनुमान लगाउने क्षमता विकास |
| चित्र कथा किताब | फोटो भएको पुरानोे पत्रिकाहरू, गम, चार्ट पेपर, कैंची, स्ट्याबलर | कथा भन्ने र सुन्ने | सुनाइ, बोलाइ, पढाइको सिप विकास, शब्द भण्डारण |
| मटेङग्रा | चिम्टाइलो वा कालोे माटो | गन्ती गर्ने, वर्गीकरण गर्ने | पूर्व गणितीय सिप विकास |
| बाँसको ढुग्रा | बाँसलाई १६ इन्च, १२ इन्च ८ इन्च, र ४ इन्चको आकारका काटेको भागमा खाक्सीले राम्ररी घोटेर छेस्काले नघोच्ने बनाउने | गन्ती गर्ने, वर्गीकरण गर्ने | बाँसको ढुग्रोलाई दुरविनको रूपमा प्रयोग अग्लो होचो, लामोछोटो छुट्याउन |
| सामग्री | सङ्कलन गर्ने तरिका | क्रियाकलाप | सिकाइ र विकासमा योगदान |
|---|---|---|---|
| पानी | सफा पानी बाटामा राखेर | बालबालिकालाई फराकिलो बाटामा पानी खेल्न दिने । खन्याउने, डुब्ने, तैरिने सामग्री दिने । | डुब्ने उत्रने, पग्लने नपग्लिने वस्तुहरू तथा अवधारकाको बुझाई, विभिन्न आकारका भाँडाहरूबाट खोज अनुसन्धान । |
| पातहरू | वरिपरिका बोटबिरुवाबाट झरेका वा पुरानो पातहरू सङ्कलन गर्ने | बालबालिकालाई नाङ्गलोमा पातहरू दिने र खेल्न सहयोग गर्ने पातमा क्रियाकलाप गराउने । |
समानता, भिन्नता, गन्ती, ढाँचाको ज्ञान, च्यात्ने गाँस्ने, उन्ने गर्दा सूक्ष्म अङ्गको विकास हुन्छ । |
| फलका दानाहरू – चिलाउने,लप्सी आदि | बोटबाट खसेका, प्रयोग भएर खेर जाने, काँडा तथा झुसहरू नभएको | बालबालिकालाई नाङ्गलोमा दानाहरू दिने र खेल्न सहयोग गर्ने |
गन्ती, रङ, आकार,स्पर्श, बुट्टा, जोड घटाउ सिक्न सहयोग हुन्छ । |
| गट्टाहरू |
गोला लाम्चा चोट नलाग्ने ढुङ्गा लप्सीको वा चिलाउनेको दाना जत्रा सङ्कलन गर्ने र साबुनपानीले सफा गर्ने | बालबालिकालाई खेल्न सहजीकरण गर्ने | गन्ती, रङ, आकार, स्पर्श, बुट्टा, जोड घटाउ सिक्न सहयोग हुन्छ । पर्खाल घर, पुल, विभिन्न निर्माणात्मक खेलबाट सिक्छन् । |
| छेस्काहरू | बाँस वा अन्य सोझो सिपकनाहरू काटेर करिब ४ इन्च लामो र करिब ५ मि.मि.को छेस्काहरू खुर्केर मिलाउने | बालबालिकालाई नाङ्गलोमा छेस्काहरू दिने र खेल्न सहयोग गर्ने |
गन्ती, रङ, आकार, स्पर्श, बुट्टा, जोड घटाउ, समूह सिक्न सहयोग हुन्छ । |
| खोया | खोयालाई एक रात पानीमा भिजाउने र भोलिपल्ट पानीबाट उतारेर दुई दुई इन्चको टुक्रा पारेर बिचको भागमा रहेको नरम पदार्थ निकालेर प्वाल बनाउने | बालबालिकालाई करिब २४ इन्च लामो धागोहरू दिने र खेल्न सहयोग गर्ने | गन्ती, रङ, आकार,स्पर्श, बुट्टा, जोड घटाउ, समूह सिक्न सहयोग हुन्छ । |