खेलको विज्ञान
खेल रमाइलो मात्र होइन – यो त तपाईँको बालबालिकाको विकासमा आधारभूत कुरा हो ।
तपाईँका बालबालिकाको मस्तिष्क अन्य कुनै समय भन्दा गर्भधारणदेखि दुई वर्षमा सबभन्दा बढी विकास हुन्छ भनेर के तपाईँलाई थाह थियो ? यो एकदमै धेरै विकास हो ! राम्रो कुरा चाहिँ के हो भने आफ्नो बालबालिकाको विकासमा तपाईँले सहयोग गर्ने सबैभन्दा उत्तम तरिकाहरूमध्ये एक चाहिँ वास्तवमा धेरै सामान्य र तपाईँहरू दुबैका लागि रमाइलो तरिका हो ।
सतहमा हेर्दा, खेल रमाइलोसँग मात्र सम्बन्धित छ भन्ने देखिन सक्छ तर शिशु वा साना बालबालिकाका लागि खेल त्यो भन्दा धेरै अर्थपूर्ण हुन्छ । यो सिकाइ र महत्वपूर्ण जीवन उपयोगी सीपहरूको विकाससँग सम्बन्धित छ – जसमा समस्या समाधानदेखि विचारको अभिव्यक्तिसम्म पर्दछन् । यसले तपाईँहरू दुई जनाबीचको आत्मिय सम्बन्धलाई मजबुत समेत बनाउँछ । वास्तवमा तपाईँ आफ्नो बालबालिकाको पहिलो शिक्षक एवम् खेल्ने साथी हुनुहुन्छ ! यी रमाइला खेल समयका अन्तरक्रियाहरूका क्रममा तपाईँले कसरी आफ्ना बालबालिकालाई बढ्न र उनीहरूको मस्तिष्क विकास गर्न सहयोग गर्न सक्नुहुन्छ भन्ने कुराका पछाडी रहेको विज्ञान पत्ता लगाउन हामीले लेगो फाउण्डेसनसँग साझेदारी गरेका छौँ ।
खेलौनाको धरहरा बनाइरहँदा उनीहरूले शारिरिक सीपहरूको अभ्यास गरिरहेका हुन्छन् ।
एकमाथी अर्को सामान खप्टँदै जाने कुराले उनीहरूलाई इन्द्रीयमा आधारित सीपको अभ्यास मार्फत चाल र स्थानबारे बुझ्नका साथै वस्तु र स्थानबीचको सम्बन्धबारेको बुझाइ विकास गर्न मदत गर्दछ । यी सीपहरू स्वस्थ र सक्रिय शरिर तयार गर्न महत्वपूर्ण छन् । उनीहरूले के निर्माण गर्दैछन्, कस्तो आवाज निकाल्दैछन् र अनुहारमा कस्तो भाव अभिव्यक्त गर्दैछन् भन्ने कुरा याद गरी आफ्नो बालबालिकाको खेलमा संलग्न हुनुहोस् । उनीहरूले बनाउने धरहराको संरचनामा टुक्राटुक्री पालैपालो थप्दै जानुहोस् । तपाईँहरूले कति अग्लो बनाउन सक्नुहुन्छ? हेर्नुहोस् है त !
तपाईँहरू एकआपसमा सामान लुकाउने र भट्टाउने खेलिरहँदा बालबालिकाले संज्ञानात्मक सीप विकास गरिरहेका हुन्छन् ।
घरेलु सामानहरू लुकाउने र भेट्ने जस्ता चुनौतीपूर्ण (तर रमाइला !) कार्य गर्नुले तपाईँका बालबालिकालाई एकाग्र हुने, समस्या समाधान गर्ने र लचक सोचको अभ्यास गर्ने कुरामा सहयोग पुर्याउँछन्। यसमा उनीहरूले जटिल कार्यहरू सम्हाल्न र बाधाहरू नाघ्ने प्रभावकारी रणनीतिहरू विकास गर्न सिकिरहेका हुन्छन् ।यदी कुनै बिन्दुमा तपाईँको बालबालिकाले दिक्क मानेको जस्तो लाग्यो भने खेलमा उपयोगी केही संकेतहरू उपलब्ध गराइदिनुहोस् तर समाधानसम्म उनीहरू आफैँलाई पुग्न दिनुहोस् ।
बेतुकका आवाज निकालिरहँदा उनीहरूले सामाजीक सीपहरू विकास गरिरहेका हुन्छन् ।
शिशुहरूले प्राकृतिक रुपमा अनेकथरी आवाज, अनुहारको भावभंगी र संकेत मार्फत अन्तरक्रियाको प्रयास गर्छन् । आफ्ना बालबालिकालाई ध्यान दिने, उनीहरूले गरिरहेको कुरालाई नाम दिने साथै आफ्नो हेराइ, बोली र चाललाई अनुकुल बनाई उनीहरूका क्रियामा प्रतिक्रिया दिने कुराले बालबालिकाको सञ्चार एवम् सामाजिक सीपहरूको विकासमा सहयोग पुर्याउने स्नायु सञ्जालको निर्माण र सबलिकरणमा मदत गर्दछ । यसप्रकारको आदनप्रदानले तपाईँ र तपाईँको बालबालिकाबीचको आत्मिय सम्बन्धलाई पनि प्रगाढ बनाउँछ ।
जब गाउँछन् र नाच्छन् उनीहरूले संवेगात्मक सीपहरूको विकास गरिरहेका हुन्छन् ।
स्व–सचेतनाको विकास गरी साथै उद्ववेगहरूलाई सम्हालेर आफ्ना भावनाहरूबारे बुझ्नु, तिनलाई व्यवस्थित गर्नु र अभिव्यक्त गर्नु तपाईँको बालबालिकाको संवेगात्मक विकास र जीवनभरको तन्दुरुस्तीका लागि महत्वपूर्ण हुन्छ । गाउने र नाच्ने काम आफुलाई अभिव्यक्त गर्ने र आफ्ना भावनाहरूलाई बाहिर निकाल्ने सर्बोत्तम तरिकाहरू मध्ये एक हो ! उनीहरूसँगै गाएर वा नाचेर यसलाई आपसको आत्मिय सम्बन्ध प्रगाढ बनाउने क्रियाकलाप बनाउनुहोस् ।
जब आफ्नो कल्पनाबाट चित्र कोर्छन् उनीहरूले सृजनात्मक सीपहरू विकास गरिरहेका हुन्छन् ।
जब तपाईँका प्यारा बालबालिका कहिँ बसेर कागजमा आफ्नै संसारको चित्र बनाइरहेका छन् भने उनीहरूले आफ्ना विचार र धारणा अभिव्यक्त गरिरहेका छन् र तिनलाई वास्तविकतामा बदल्न खोजिरहेका छन् । जब उनीहरूले चित्र बनाइसक्छन् उनीहरूले सृजना गरेको कुरा बोकेर आफ्नो छेउमा बोलाउनुहोस् र आफुले देखेका कुराहरूबारे प्रश्न गर्नुहोस् ।
यहाँ राम्रो कुरा के छ भने बालबालिकालाई खेल्न र सिक्नका लागि महँगा खेलौनाहरूको आवश्यकता पर्दैन । वास्तवमा, आफ्नो बालबालिकासँग रमाइलो र आकर्षक खेल सृजना गर्न आवश्यक पर्ने सबै चिजहरू तपाईँसँग सायद घरमै छन् होला ।
त्यसैले, अब रमाइलो गर्नुहोस् !