समयमै अपाङ्गताको पहिचान

के-कस्ता सङ्केतबाट बालबालिकाको अपाङ्गताको पहिचान गर्न सकिन्छ? अपाङ्गता भएका बालबालिकाको हौसला कसरी बढाउने ?

नेपाल सरकार, युनिसेफ नेपाल
समयमै उमेर अनुसारको विकास, सक्षमता र अपाङ्गताको पहिचान गरी उपयुक्त वातावरण र अवसर पाएमा ती बालबालिका स्वावलम्बी हुन सक्छन्
UNICEF Nepal
30 मे 2019

कुनै पनि बालबालिका एक अर्कामा भिन्न हुन्छन् । सर्वगुण सम्पन्न र सक्षम नहुन पनि सक्छन् । शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक कारणले बालबालिका पनि, आफ्नो नियमित क्रियाकलाप गर्न सक्षम नहुन सक्छन् । अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, बौद्धिक कार्यगत सीमितता वा विद्यमान अवस्थाका कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले समाज र जीवनमा सहभागी बन्न बाधा भएका व्यक्ति हुन् ।

 

अपाङ्गताको प्रकार  

१. शारीरिक अपाङ्गताः स्नायु, मांसपेशी र जोर्नीहरू र हड्डीको बनावट र सञ्चालनमा भएको समस्याका कारण शारीरिक अङ्गहरूको सञ्चालन, प्रयोग, कार्य र क्रियाकलापमा आएको समस्या र स्थितिलाई शारीरिक अपाङ्गता भनिन्छ ।
२. दृष्टिसम्बन्धी अपाङ्गताः दृष्टिसम्बन्धी समस्याका कारण शिशु बालबालिकामा कुनै पनि वस्तुको, आकार र रङको ज्ञान नहुने स्थिति दृष्टिसम्बन्धी अपाङ्गता हो ।
३. सुनाइसम्बन्धी अपाङ्गता: सुनाइका अङ्गहरूको बनावट र स्वरको पहिचान, उतारचढाव साथै स्वरको मात्रा, गुण छुट्याउने क्षमतामा हुने कमजोरीलाई सुनाइसम्बन्धी अपाङ्गता मानिएको छ । सुनाइसम्बन्धी अपाङ्गता बहिरा र सुस्तश्रवण हुन् ।
४. श्रवण दृष्टिविहीन अपाङ्गताः दृष्टि र सुनाइसम्बन्धी अपाङ्गता भएको शिशु, व्यक्ति श्रवण दृष्टिविहिन भएको अपाङ्गता मानिएको छ । 
५. स्वर र बोलाइसम्बन्धी अपाङ्गताः स्वर र बोलाइसम्बन्धी अपाङ्गताहरूमा उत्पन्न अप्ठेरोका कारण बोल्दा स्वरको उतारचढावमा कठिनाइ, अस्पष्ट बोली र अन्य बोलाइसम्बन्धी अपाङ्गता मानिएको छ ।
६. बौद्धिक अपाङ्गताः शिशु, बालबालिकाको उमेर र परिस्थितिअनुसार, मस्तिष्क र बौद्धिक अङ्गहरूमा आएको समस्या तथा सचेतना, बुझाई, सोच, तर्क, स्मरणशक्ति, भाषा, प्रारम्भिक गणना जस्ता बौद्धिक कार्य गर्न ढिलाइ हुनु वा गर्न नसक्ने स्थितिलाई  बौद्धिक अपाङ्गता मानिएको छ ।
७. बहुअपाङ्गताः एउटै शिशु, बालबालिका माथि उल्लेख भएका २ वा २ भन्दा बढी प्रकारका समस्यालाई बहुअपाङ्गता मानिएको छ ।
८. अटिजमः प्रारम्भिक अवस्थामा नै हुने स्नायु तथा व्यवहारसम्बन्धी अपाङ्गता हो । धेरैजसो अटिजम भएका बालबालिकामा भाषा सञ्चार, सामाजिक व्यवहार, असामान्य हुनुका साथै एकोहोरो क्रियाकलाप गर्दछन् ।
९. मस्तिष्क पक्षघातः गर्भावस्थामा, शिशु जन्मने क्रममा वा जन्मपश्चात् कुनै कारणले मस्तिष्कमा हुने पक्षाघातको अवस्था हो । पक्षघातले शरीर वा शरीरका अङ्गहरूको चाल र अवस्थितिमा अपूरणीय असर हुन्छ ।
१०. हेमोफिलियाः हेमोफिलिया वंशाणुगत (जिनमा) हुने विकृति हो । शरीरमा रगत जम्ने तत्त्वको अभाव भई रक्तश्राव भयो भने बन्द नहुने स्थिति हुन्छ ।


अपाङ्गता हुनाका कारणहरू  

जन्मजातः शिशुले आमाबुबाको पुस्ताबाट जन्मसँगै लिएर आएको असामान्यताहरूलाई जन्मजात असामान्यता भनिन्छ । यस अवस्थामा आमाबुबा सतर्क भएतापनि वंशाणुगतरूपमा अपाङ्गता शिशुमा सर्दछ । 
गर्भावस्थामाः गर्भावस्थामा आमाले जथाभावी औषधीहरू खानाले, वा गर्भ तुहाउने कोसिसमा जथाभावी गर्नाले, आमालाई विभिन्न सर्ने वा नसर्ने रोगहरू लाग्नाले, धेरै कडा उपचार गर्नुपरेमा, आमा कुपोषित भएमा यसको नकारात्मक प्रभाव शिशुमा परेर अपाङ्गता हुने गर्दछ । यसैगरी आमाले विषादीहरू चलाउँदा पनि शिशुलाई नकारात्मक प्रभाव परेर अपाङ्गता देखापर्छ । 
जन्मको अवस्थामाः शिशुको जन्म हुने बेलामा लामो समय व्यथा लागेर जन्मन कठिनाई भएर, जन्मको अवस्थामा दूघर्टना भएर, जर्बजस्ती प्रसूति गराउँदा शिशुमा आघात भएर पनि अपाङ्गता देखापर्छ । 
दुर्घटनाः दुर्घटना जो कोहिलाई जुनसुकै बेलामा हुन सक्छ । यसमध्ये बालबालिका सबैभन्दा धेरै दुर्घटनामा पर्दछन् किनभने बालबालिकाको विकासात्मक अवस्था अनुरुप चेतनाको विकास भइसकेको हुँदैन । त्यसैले उनीहरूलाई खतरा थाहा नहुने र उनीहरूलाई कुनै पनि कार्यको परिणाम थाहा हुँदैन । तर उनीहरू खेल्दै सिक्दै गरिरहेका हुन्छन् । यस्तो अवस्थामा अभिभावकको लापरवाहीले गर्दा बालबालिकाले जथाभावी औषधीहरू खाने, लड्ने, खस्ने, आगोले पोल्ने, करेन्ट लाग्ने, गाडीले हान्ने जस्ता दुर्घटनाहरूको कारण अपाङ्गता हुन्छ । 


अपाङ्गताको रोकथाम

▪ आमा तथा बालबालिकाले तोकिएबमोजिमका प्रतिरक्षित खोपहरू लगाउनुपर्दछ ।
▪ पौष्टिक खाना खाने र गर्भावस्थामा जथाभावी औषधीहरू खानुहुँदैन ।
▪ गर्भावस्थामा रक्सी, चुरोट, लागुपदार्थ खानु हुँदैन ।
▪ गर्भवतीले एक्सरे गराउनु हुँदैन ।
▪ सरुवा रोगबाट बच्नुपर्दछ ।
▪ बालबालिकालाई हुनसक्ने सम्भाव्य दुर्घटनाहरूबाट जोगाउनुपर्दछ ।
▪ स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा प्रसूति गराउनुपर्दछ ।

अपाङ्गताको प्रारम्भिक पहिचान 

अपाङ्गताको पहिचान जति छिटो भयो उति नै उपचार गर्न, विशेष सिप सिकाउन
सजिलो हुन्छ । त्यसैले पहिलो ३ महिना देखि १ वर्षमा यस्ता लक्षणहरूमा ध्यान दिने, पहिचान
गर्ने र शङ्का लाग्नासाथ स्वास्थ्य संस्था वा विज्ञसँग सम्पर्क गर्नुपर्दछ ।

--

शिशुले शारीरिक विकासको विकासात्मक अवस्था अनुरुपका निम्न लक्षणहरू नदेखाएको अवस्थामा अभिभावकले थप खोजी र विज्ञसंँग सम्पर्क गर्नुपर्दछ:

  • अभिभावकले तेल लगाउँदा, हातगोडा चलाउँदा दुखेको भावले रुने गरेमा 
  • हातखुट्टा फालेर वा साईकल चलाए जसरी खेल्न नसकेमा 
  • खेलौनाहरू राखेको ठाउँमा लिन नगएको अवस्थामा
  • खेल्दाखेरी हातगोडालाई सजिलै चलाउन नसकेको अवस्थामा 
  • समाउने फ्याक्ने क्रियाकलाप गर्दा विकासात्मक अवस्थाअनुसार गर्न नसकेमा 

शिशुले पहिलो ३ महिनामै हेर्न र प्रतिक्रिया दिन सक्छ । तर विकासात्मक अवस्था अनुरुपका हेरेका देखाएका वस्तुहरूलाई प्रतिक्रिया नदिनु वा लक्षणहरू नदेखाएको तथा निम्न अवस्थामा अभिभावकले थप खोजी र विज्ञसंँग सम्पर्क गर्नुपर्दछ: 

  • रङ्गीचङ्गी वस्तुहरू देखाउँदा टाउको घुमाउन नसक्नु वा अप्ठेरो गरेर जिउ फर्काउनु 
  • वरिपरिका विभिन्न वस्तुहरू नहेर्नु 
  • वस्तुहरू कति टाढा छ अन्दाज गर्न नसक्नु वा वस्तुहरू एकातिर देखाउँदा अर्कोतिर हेर्नु
  • पढ्दा धेरै टाउको निहुराएर पढ्नु 
  • अँध्यारोको प्रतिक्रिया नदिनु 
  • आँखा मिचिरहने
  • कतै हेर्दा आँखा च्यातेर हेर्ने 

शिशुले पहिलो ३ महिना भित्रै सुनेर प्रतिक्रिया दिन सक्छ । तर विकासात्मक अवस्था अनुरुप निम्नानुसारको लक्षणहरू देखिएमा तुरुन्त विज्ञकोमा सम्पर्क गनुपर्छ:

  • आवाजहरू आएको बेवास्ता गर्नु
  • बोलाउँदा प्रतिक्रिया नदिनु
  • आवाजहरू वा गीत सङ्गीत बजाउँदा झर्काे मान्ने 
  • कुराकानी गर्दा, जमघट गर्दा सँगै नबस्ने वा सहभागी नहुने 
  • सुन्नुपर्दा कानलाई तन्काएर टाउको आवाज आएतिर ढल्काउनु 
  • एक्लै बस्न रुचाउनु 

शिशुले पहिलो २ वर्षमा शब्दहरू बोल्न थाल्छ । केही महिना भित्रै सुनेर प्रतिक्रिया दिन सक्छ । तर विकासात्मक अवस्था अनुरुप निम्नानुसारको लक्षणहरू देखिएमा तुरुन्त विज्ञकोमा सम्पर्क गर्नुपर्छ:

  • आवाज आएकोतिर नहेर्ने, बोलाउँदा प्रतिक्रिया नदिने गरेमा 
  •  एउटै शब्द दोहो¥याएर बोल्ने र अर्को शब्द जोड्न कठिनाइ भएमा
  • बोल्दा टाउकोमा दबाब दिने, जोडले हल्लाउने गरेमा 
  • बोल्न खोज्दा बोल्न नसकेर रुने, रिसाउने गरेमा 
  • कुरा गर्दा, बोल्दा रोकीदैँ बोल्दै गर्ने वा अकमकाउने भएमा
  • शब्दहरू कुनमा जोड लगाउने थाह नहुने भएमा

यसप्रकारको समस्या बालबालिकाले लामो समयसम्म नकारात्मक संवेगहरू रिस, चिन्ता, डर रहिरहेमा विकासात्मक अवस्था अनुरुप व्यवहार बनाउन सक्दैनन् । जसको परिणामस्वरूप निम्नानुसारको लक्षणहरू देखिने सम्भावना हुन्छ:

  • सधैँ चिन्तित रहने
  • टाउको सिधा नगर्ने
  • निर्देशनहरू नसुन्ने 
  • चिन्ता गर्ने, डराउने
  • गल्तीलाई संम्झेर पछुतो मान्ने 
  • धेरै खाने, सुत्ने, थकित हुने, दैनिक कार्य गर्ने इच्छा नगर्ने 
  • घुर्की लाउने, धम्काउने, सानो कुरामा धेरै रिसाउने, घरमा बस्दिन भन्ने
  • आत्महत्या गर्ने धम्की दिने र कोशिस पनि गर्ने 
  • नराम्रोसँग पिट्ने, सामानहरूले हिर्काउने, हतियारहरू समेतले आक्रमण गर्ने 

बालबालिकामा २ देखि ३ वर्षसम्ममा भाषा सञ्चार, सामाजिक व्यवहार देखाउन थाल्छ । निम्नानुसारको लक्षणहरू देखिएमा तुरुन्त विज्ञकोमा सम्पर्क गर्नुहोस्:

  • आवाज आएकोतिर नहेर्ने, बोलाउँदा वास्ता नगर्ने 
  • एकोहोरो क्रियाकलाप गर्नेे 
  • आँखा नजुधाउने
  • दैनिक कार्यहरू आफैँ गर्न नसक्ने
  • नयाँ ठाउँमा रमाउन नसक्ने 
  • तातो चिसो, आवाज, स्पर्श, हेराइको असाधारण तरिकाले प्रतिक्रिया दिने 
  • अरूको रुवाइ, दुखको वा सुखको बेवास्ता गर्ने 

तलको लक्षणहरू भएमा हेमोफिलिया भएको हुन सक्छः

  • शरीरमा काला टाटाहरू देखापर्नु 
  • सानोतिनो चोटबाट पनि धेरै रगत बग्ने र रगत नरोकिने 
  • दाँत माझ्दा, फुक्लिदा पनि धेरै रगत बगेमा 

अपाङ्गता भएका बालबालिकालाई विकासको अवसर  

A child with disability at an ECD center in Kapilvastu
UNICEF Nepal/2022/RUpadhayay

अपाङ्गता भएका बालबालिकाको पनि अन्यको जस्तै भावना र आवश्यकता हुन्छ । अन्य बालबालिका भन्दा पनि यस्ता बालबालिकालाई बढी समय, मायाममता र अवसरहरू दिनुपर्छ ।

  • बालबालिकालाई आमाबुबा र परिवारले सधैँ निगरानी, हेरचाह र नजिकमा राख्नुपर्छ । 
  • उनीहरूको मुख्य क्षमता पत्ता लगार्ई सोअनुसारको अवसरहरू, हौसला र उत्प्रेरणा दिई अन्तरनिहित क्षमता विकास गर्नुपर्दछ ।
  • उनीहरूलाई स्वावलम्बी बनाउन जसरी उनीहरूलाई सजिलो हुन्छ, उसै गरेर दैनिक कार्य गर्न सहयोग गर्नुपर्दछ ।
  • अपाङ्गताको प्रकारअनुसार बालबालिकालाई सिकाउन अभिभावकले पनि तालिम लिनुपर्छ । यस्ता तालिमहरू स्थानीय तहमा निःशुल्क दिइन्छ । जस्तै, बहिरा बालबालिकासँग कुराकानी गर्न साङ्केतिक भाषा, दृष्टिविहीनसँग दैनिक कार्य गर्न सहयोग गराउने सिप सिक्नुपर्छ ।
  • अपाङ्गताको अवस्था र जटिलताअनुसार रातो (पूर्ण अशक्त अपाङ्गता), निलो (अति अशक्त अपाङ्गता), पहेँलो (मध्यम अपाङ्गता), सेतो (सामान्य अपाङ्गता) परिचय पत्रको व्यवस्था नेपाल सरकारले गरेको छ । अभिभावकले स्थानीय तहमा सम्पर्क गरी परिचय पत्र बनाउनुपर्छ । यसअनुसार विभिन्न सुविधाको व्यवस्था गरिएको छ ।
  • अपाङ्गता भएका बालबालिकालाई पनि उमेरअनुसार प्रारम्भिक बालविकास तथा शिक्षा-बालविकास केन्द्र, विद्यालय पठाउनुपर्छ । नेपाल सरकारले दिने छात्रवृत्ति, स्वास्थ्य, यातायातका सुविधाहरू लिनुपर्छ ।
  • चाडबाड, पारिवारिक भेटघाटमा समावेश गर्नुपर्छ ।