फ्रान्सले नेपाललाई ७००,००० भन्दा बढी कोभिड-१९ विरुद्धका खोपहरू कोभ्याक्स सुविधा मार्फत प्रदान गरेको छ
- उपलब्ध:
- English
- नेपाली
काठमाडौं, १२ श्रावण २०८० – फ्रान्स सरकारले कोभ्याक्स सुविधा मार्फत कोभिड-१९ विरुद्धको ७०२,७०२ मात्रा फाइजर-बायोएनटेकको बाइभ्यालेन्ट खोप नेपाललाई प्रदान गरेर देशमा जारी कोभिड-१९ विरुद्धको खोप अभियानलाई सहयोग गरेको छ। यो अनुदानलाई जुन र जुलाई महिनामा प्राप्त भएको छुट्टाछुट्टै ढुवानीमा विभाजन गरिएको थियो, जसको अन्तिम किस्ता आज काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
२०२१ को शुरुवातमा कोभिड-१९ विरुद्धको खोपको विश्वव्यापी अभियानहरू शुरु हुँदा कोभ्याक्स संयन्त्रलाई खोपहरू प्रदान गर्ने फ्रान्स पहिलो देश थियो। त्यसपछिका वर्षहरूमा, कोभ्याक्स दाता देशहरू मध्ये फ्रान्स उच्च स्थानमा रहेको छ जसले विश्वव्यापी रूपमा खोपको पहुँच, र विशेष गरी महामारीको धेरै मारमा रहेका देशहरूमा खोप पुर्याउनमा फ्रान्सेली सरकारको प्रतिबद्धताको प्रमाण दिन्छ।
यस अवसरमा, नेपालका लागि फ्रान्सेली राजदूत महामहिम श्री गिल्स बोरबाओले फ्रान्सका प्रतिबद्धताहरु मध्ये एक प्रमुख प्रतिबद्धता दोहोर्याए: विश्वव्यापी समस्याहरू जस्तै कोभिड-१९ लाई सम्बोधन गर्न बहुपक्षीय मञ्चहरूमा साझेदारहरूसँग काम गर्ने।
फ्रान्सले यसअघि सन् २०२२ मा कोभ्याक्स मार्फत नेपाललाई एस्ट्राजेनेका कोभिड-१९ खोपको ६८५,४०० मात्रा प्रदान गरेको थियो र हालसालै, अप्रिल २०२३ मा संयुक्त युरोपेली संघको एक हिस्साका रूपमा फाइजर-बायोटेकको बाइ-भ्यालेन्ट खोपको १९५,८४० मात्र प्रदान गरेको थियो।
नेपालमा हाल दैनिक नयाँ कोरोना संक्रमणको संख्या तुलनात्मक रुपमा कम भएता पनि नेपाल सरकारले अझै पनि समुदायहरूको सुरक्षाको निरन्तर आवश्यकतालाई ध्यानमा राख्दै खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यो विशेष गरी कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरू, विद्यमान स्वास्थ्य समस्याहरू र बहुरूग्णता भएका व्यक्तिहरु, वृद्धवृद्धाहरू, र गर्भवती महिलाहरू जस्ता जोखिमयुक्त जनसङ्ख्याहरूका लागि महत्त्वपूर्ण हुन्छ।
"कोभ्याक्सका साझेदारहरूको तर्फबाट युनिसेफ कोभिड-१९ विरूद्धको खोपको पछिल्लो अनुदानका लागि फ्रान्स सरकारप्रति कृतज्ञता व्यक्त गर्दछ," युनिसेफकी नेपाल प्रतिनिधि एलिस अकुंगा भन्नुभयो । "यो योगदानले कोभिड-१९ विरूद्धको लडाइँमा र सबैका लागि अझ सुरक्षित, अझ स्वस्थ भविष्य सुनश्चित गर्ने क्रममा विश्वव्यापी एकता र साझेदारीको महत्वपूर्ण भूमिका दर्शाएको छ।"
कोभ्याक्स सुविधा एसिटी-एक्सिलिरेटर को एक हिस्सा हो, र यसले विश्वव्यापी रुपमा कोभिड-१९ विरुद्धका खोपहरूको प्रभावकारी र न्यायोचित वितरण सुनिश्चित गर्नका लागि गाभि, भ्याक्सिन एलायन्स, विश्व स्वास्थ्य सङ्गठन र युनिसेफ जस्ता थुप्रै प्रमुख साझेदारहरूलाई एकसाथ ल्याउँछ।
###
मिडिया सम्पर्कहरू
युनिसेफका बारेमा
युनिसेफले विश्वमा सबैभन्दा वञ्चितिमा परेका बालबालिकाहरूसम्म पुग्न विश्वका केहि कठिन ठाउँहरूमा काम गर्दछ । विश्वका १९० देशहरू र क्षेत्रहरूमा हामी सबैका लागि राम्रो संसार निर्माण गर्न हर स्थान र हर बालबालिकाका लागि कार्य गर्दछौं ।
युनिसेफ बारेको थप जानकारी र नेपालमा यसका कामहरूबारे थाह पाउन www.unicef.org/nepal मा हेर्नुहोस् ।
युनिसेफ नेपालबारे Twitter, Facebook, Instagram र YouTube मा पनि हेर्न सक्नुहुनेछ ।