युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनद्वारा नेपाल सरकारको राष्ट्रिय मानसिक स्वास्थ्य अभियानको स्वागत

अभियानले मानसिक स्वास्थ्यबारे लालछना हटाउने, सचेतना बढाउने र बालबालिका तथा वयस्कले सहयोग कहाँ पाउने भनेर थाहा पाउन मद्दत गर्नेछ

10 डिसेम्बर 2025
group photo of government and UNICEF health chief
UNICEF Nepal/2025

काठमाडौँ, २४ मंसिर २०८२ – नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरुवात गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को लागि युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनले बधाई दिन चाहन्छन् ।

बालबालिका र युवाहरूमा मानसिक स्वास्थ्य समस्याहरूको पहिचान र उपचार सेवाहरूमा सिमित पहुँच भएको यस चुनौतीपूर्ण समयमा थालिएको यो अभियान महत्वपूर्ण छ ।

राष्ट्रिय तथ्याङ्ककअनुसार १३ देखि १९ वर्षका ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्याहरूबाट गुज्रिरहेको छन् भने १८.३ प्रतिशत बालबालिका (६–१८ वर्ष) ले भावनात्मक वा व्यवहारिक कठिनाइहरूको सामना गरिरहेका छन् । १५–२९ वर्षका युवाहरूमा आत्महत्या मृत्युको तेस्रो प्रमुख कारण बन्ने छ । यस चुनौतीबीच पनि अधिकांश बालबालिका, किशोरकिशोरी र युवाहरूलाई निकै कम वा कुनै सहयोग पाउन सकेका छैनन् ।

अभियानको शुभारम्भ लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियानको समापनसँगै आएको छ । यो अभियानको यस वर्षको नारा डिजिटल हिंसासम्बन्धी विषय जोडिएकोल पनि सान्दर्भिक छ । किशोरकिशोरीहरू बढ्दो साइबरबुलिङ र अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेका छन्, जसले उनीहरूको सुरक्षा र मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । यो अभियानले मानसिक स्वास्थ्यका विषयमा सचेतना अभिवृद्धि, रोकथामका पहललाई सुदृढीकरण र सेवाको पहुँचलाई विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ ।

बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्य प्रवर्द्धनमा दीर्घकालीन साझेदार युनिसेफ र विश्व स्वास्थ्य संगठनले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०२०–२०२५ को कार्यान्वयनमा सरकारले प्राप्त गरेको उपलब्धिको प्रसंशा गरेका छन् । दुवै संस्थाहरूले सबैका लागि मानसिक स्वास्थ्यलाई आधारभूत अधिकारको रूपमा सुनिश्चित गर्न सरकारसँग सहकार्य जारी राख्ने प्रतिबद्ध छन् । हेल्पिङ एडोलिसेन्ट्स थ्राइभ (HAT) पहलमार्फत एक लाखभन्दा बढी बालबालिकासम्म सामाजिक–भावनात्मक सिकाइ पुर्‍याउँदै–दुवै संस्थालेहरूले देशभर मानसिक स्वास्थ्य सेवा प्रवर्द्धनमा योगदान दिंदै आएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको विशेष मानसिक स्वास्थ्य पहल (Special Initiative for Mental Health) ले मानसिक स्वास्थ्यलाई सामान्य स्वास्थ्य सेवासँग एकीकृत गर्न, राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ सञ्चालनमा ल्याउन, जिल्ला अस्पताल सेवा मोडेल विकास गर्न तथा नगरपालिकामा मानसिक स्वास्थ्य टुलकिटहरूलाई सहयोग प्रदान गर्ने कार्यलाई सुदृढ बनाएको छ ।

“सेवा एकीकरणमा भएको प्रगति र यस महत्वपूर्ण अभियानको शुभारम्भमार्फत नेपाल सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएको देख्दा पाउन उत्साहजनक छ । धेरै मानिसहरूको गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा पहुँच अझै सीमित भए पनि यी कदमहरूले महत्वपूर्ण प्रगति र दृढ राष्ट्रिय प्रतिबद्धता देखाउँछन् । विश्व स्वास्थ्य सङ्गठनले विगतमा प्रमुख मानसिक स्वास्थ्य पहलहरूमा सहयोग गरेकोमा गर्व गर्छ र सबैको लागि सेवा पहुँचयोग्य बढाउने लक्ष्यका साथ मानसिक स्वास्थ्य नीतिहरू र प्रणाली सुदृढीकरणमा सरकारलाई सहयोग गर्न प्रतिबद्ध छ,” डा. राजेश पाण्डव, विश्व स्वास्थ्य सङ्गठन नेपालका कार्यवाहक प्रमुखले भन्नुभयो ।

युनिसेफले प्रारम्भिक पहिचान, रेफरल र हेरचाहका मार्गहरू सुदृढ गर्दै स्वास्थ्यकर्मीहरूलाई तालिम दिँदै; कान्ति बाल अस्पताल र प्रदेश अस्पतालहरूमा टेलिमेन्टल स्वास्थ्य सेवाहरू विस्तार गर्दै; यू–रिपोर्ट र म छु नी च्याटबोट जस्ता डिजिटल प्लेटफर्महरू सुदृढ गर्दै;  तथा राष्ट्रिय र स्थानीय तहमा नीतिगत तथा रणनीतिक विकासमा सहयोग गर्दै आएको छ ।

“युनिसेफ नेपाललाई यसको मानसिक स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गर्न पाउँदा सम्मानित महसुस गर्छ सेवाहरू विस्तार गर्ने, कार्यबल क्षमता निर्माण गर्ने, उच्च–गुणस्तरीय राष्ट्रिय तथ्याङ्क उत्पादन गर्ने लगायतका सबै माध्यमबाट नेपालले दिगो र न्यायसंगत मानसिक स्वास्थ्य प्रणालीको जग मजबुत गरिरहेको छ । यो अभियानले बालबालिका र किशोरकिशोरीहरूलाई आवश्यक हेरचाह र सम्मान पाउने दिशामा महत्वपूर्ण कदम उठाएको छ,” युनिसेफ नेपालका प्रतिनिधि श्री एलिस अकुङ्गाले भन्नुभयो ।

उपलब्धिसँग चुनौतीहरू अझै बाँकी छन् । किशोरकिशोरीहरूले हिंसा, दुर्व्यवहार, गरिबी, अभिभावकको मानसिक स्वास्थ्य समस्या र अन्य विपद्को कारण उच्च जोखिमको सामना गर्दछन् । यस अवधिमा लागूपदार्थ सेवन लगायतका अन्य जोखिमपूर्ण व्यवहार झन् गम्भीर बन्दै गर्दछ । आवश्यक सहयोग बिना युवाहरू, विशेषगरी किशोरवस्थाका अभिभावक, बालविवाहमा परेका, अनाथ तथा अल्पसंख्यक समूहका किशोरकिशोरीहरू लान्छना, बहिष्कार, शैक्षिक अवरोध र अधिकार हननको जोखिममा पर्न सक्छन् ।

युनिसेफ र विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यलाई प्रभावकारी रूपमा सम्बोधन गर्नका लागि दृढ नेतृत्व, दिगो लगानी, दक्ष जनशक्ति र भरपर्दो सूचना प्रणालीसहितको समग्र तथा बहुसङ्गीय प्रतिक्रिया आवश्यक पर्ने उल्लेख गरेका छन् । विपद् कम गर्न, पोषक हेरचाह सुदृढ गर्न, अवसरहरू विस्तार गर्न र जोखिम (जस्तै लागूपदार्थ सेवन) घटाउन क्षेत्रीय समन्वय अपरिहार्य छ । रोकथामदेखि पुनःस्थापना सम्मका प्रभावकारी मानसिक स्वास्थ्य सेवाहरूका लागि डिजिटल प्लेटफर्म, विद्यालय, स्वास्थ्य तथा सामाजिक हेरचाह प्रणाली र समुदायबीच समन्वय र सहकार्य आवश्यक छ, ताकि हरेक बालबालिका र युवाको समग्र विकास हुन सकोस् ।

युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको नेतृत्वमा सञ्चालित राष्ट्रिय मानसिक स्वास्थ्य सचेतना अभियानले रणनीतिक सञ्चार, सामुदायिक सहभागिता, प्रणाली सुदृढीकरणमार्फत सहयोग खोज्ने व्यवहारलाई सामान्य बनाउने, लान्छना घटाउने, मानसिक स्वास्थ्यमा परिवारको संलग्नता बढाउने, र बालबालिका तथा किशोरकिशोरीहरूले आवश्यक सहयोग कहाँ पाउँछन् भन्ने बारे जानकारी दिने उद्देश्य राखेको छ।

मिडिया सम्पर्कहरू

फ्लोरीन बोस
प्रमुख (सञ्चार, पैरवी र साझेदारी)
युनिसेफ नेपाल
सम्पर्क: +९७७ ९८०१२४४५२४
इमेल: [email protected]
छिरिङ् डोल्कर गुरुङ्
डब्लुएचओ नेपाल
सम्पर्क: +९७७ ९८०१०५४०४०
इमेल: [email protected]

युनिसेफका बारेमा

युनिसेफले विश्वमा सबैभन्दा वञ्चितिमा परेका बालबालिकासम्म पुग्‍न विश्वका कठिन ठाउँहरूमा काम गर्दछ । विश्वका १९० देश र क्षेत्रहरूमा हामी सबैका लागि राम्रो संसार निर्माण गर्न हर स्थान र हरेक बालबालिकाका लागि काम गर्दछौँ । युनिसेफका बारेमा थप जानकारी र नेपालका बालबिलकाका लागि यसले गरेका कामहरूबारे थाह पाउन https://www.unicef.org/nepal/ मा हेर्नुहोस् ।

युनिसेफ नेपालबारे Facebook, Instagram, YouTube, XTikTok मा पनि हेर्न सक्‍नुहुनेछ ।