व्यक्त्तिगत सरसफाइ, स्वस्थ बालबालिका

बालबालिकाको उमेर, विकासात्मक अवस्था, क्षमता अनुसार व्यक्तिगत सरसफाइ कसरी गरीदिने र गर्न सिकाउने?

नेपाल सरकार, युनिसेफ नेपाल
व्यक्तिगत सरसफाई गर्नाले बालबालिका विभिन्न रोगबाट बच्न सक्छन्
UNICEF Nepal
30 मे 2019

व्यक्तिगत सरसफाइ भन्नाले साधारणतः शरीरका विभिन्न अङ्ग र पूरा शरीरको सफाइ भन्ने बुझाउँछ, जस्तैः हातमुख धुने, दाँत माझ्ने, कपाल कोर्ने, आँखा सफा गर्ने ।

अभिभावकले आफ्नो र आफ्नो बालबालिकाको व्यक्तिगत सरसफाइ दैनिक गर्ने काम मध्येको प्रमुख काम मानिन्छ । व्यक्तिगत सरसफाइको अभावमा निद्रा र खानपिनमा अरूचि हुने मात्र नभई, उनीहरूको वृद्धि विकासमा समेत अवरोध आउँछ । सरसफाइबाट बालबालिकालाई विभिन्न रोग जस्तै, आँखा पाक्ने, दाँत किरा लाग्ने, जुम्रा चाया पर्ने, दाद, लुतो, छालाको ढुसी, किर्ना, जुका, रुघाखोकी आदिबाट बचाउन सकिन्छ । 


वातावरणीय सरसफाइः फोहोर वातावरण, धुलो माटोमा विभिन्न रोगका कीटाणुहरू हुन्छन् । झिँगा जस्ता किराहरूबाट रोगका कीटाणुहरू खानेकुरामा मिसिन्छन् र हामीलाई रोग लाग्छ । बालबालिकालाई पनि फोहोरमा खेल्न र फोहोर खेलौना, कपडा तथा अन्य वस्तु दिनुहुँदैन । उनीहरूले फोहर ठाउँमा खेल्दा फोहरका कीटाणुहरू हात तथा शरीरमा फैलिन्छन् र रोग लाग्ने हुन्छ । यसैगरी खुला ठाउँमा दिसापिसाब गर्नु रोगका कीटाणुको घर हो । त्यसैले शौचालयमा मात्र दिसापिसाब गर्ने गर्नुपर्दछ र शौचालयलाई सफा राख्नुपर्छ । घर वरिपरि फोहोर पानी जम्न दिनु हुँदैन । फोहोर पानीमा लामखुट्टे हुर्कन्छ र लामखुट्टेले पनि विभिन्न किसिमका रोगहरू सार्छ ।

खाना खानु अघि र पछि, दिसा पिसाब वा चर्पीको प्रयोग गरीसकेपछि साबुनपानीले मिचीमिची हात धोएर देखाउने र धोइदिनुपर्छ
UNICEF Nepal

सरसफाइमा अभिभावकको भूमिका   

  • दिसा धुँदा, बालबालिकाको दिसा धोइदिँदा, खेतबारीमा काम गर्दा, फोहोर मैला, धुलोमाटोमा काम गर्दा हाम्रो हातमा रोगका कीटाणु टाँसिएका हुन्छन् । त्यसैले शौचालयको प्रयोग गरिसकेपछि, बाहिर गएर आएपछि, फोहोर छोएपछि, खाना खानु वा पकाउनुअघि साबुनपानीले मिचिमिची हात धोएर देखाउने र सँगै धुनुपर्छ ।
  • घरबाहिर शौचालय जाँदा चप्पल÷जुत्ताको प्रयोग गर्न लगाउनुपर्दछ । 
  • अभिभावक र बालबालिकाले सधैँँ शौचालय प्रयोग गर्ने र खुला ठाउँमा दिसापिसाब गर्नु हुँदैन । दिसापिसाब गरेपछि हात नधुँदा खाना र पानी प्रदूषित हुन्छ । प्रदूषित खाना र पानीले विशेष गरी पाँच वर्षमुनिका बालबालिकालाई छिट्टै झाडापखाला लाग्छ ।
  • वातावरणीय सरसफाइ अभिभावक आफैँले नि गर्नुपर्दछ र बालबालिकालाई पनि सिकाउनुपर्दछ ।
  • गर्भवती महिलाले आफ्नो व्यक्तिगत सरसफाइ गर्नुपर्दछ । त्यसैगरी नवजात शिशुको समेत सरसफाइ गरिदिनुपर्दछ । हाम्रो धेरैजसो समुदायको चलनअनुसार नवजात शिशुलाई गरिने तेलमालिस व्यक्तिगत सरसफाइको राम्रो अभ्यास हो । तेलमालिस गर्नु पहिले हरेक दिन विहानको घाममा शिशुलाई मनतातो पानीमा नरम कपडा भिजाएर आँखाको चिप्रा, कान पछाडि, काखी आदिमा भएका फोहर पुछिदिनुपर्दछ । 
  • बालबालिका डेढदेखि दुई वर्षको उमेर पुगेपछि विस्तारै निश्चित ठाउँ वा शिशुमैत्री पट्टी (बाल कोपरा)मा दिसापिसाब गर्ने बानी बसाउनुपर्दछ । शिशुलाई दिसापिसाब नियन्त्रण गर्न सक्षम बनाउन यस्तो बानी सानैदेखि सिकाउनुपर्दछ । बालबालिकाको दिसापिसाब शौचालयमा विसर्जन गर्नुपर्छ ।
  • बालबालिकालाई मौसम र स्थानीय वातावरणअनुसार नियमित (हप्ताको २ पटक) मन तातो पानीले नुहाइदिने र लुगा कपडाहरू धोई फेरिदिनुपर्दछ ।
  • बालबालिकाको उमेर, विकासात्मक अवस्था, क्षमताअनुसार सरसफाइ गरिदिने र सँगसँगै गर्न सिकाउनुपर्छ । 
  • बालबालिकालाई दिनको २ पटक दाँत माझ्न सिकाउनुपर्दछ । दन्त चिकित्सक सङ्घकाअनुसार शिशुको दाँत आए देखिनै दाँत मुख सफा गरिदिनुपर्दछ । बालबालिकाले आफैँ अघि सरेर गर्न खोज्ने भएपछि नरम ब्रसले दिनहुँ दाँत माझ्न सिकाउनुपर्छ । 
  • हात गोडा आदि धुन, नुहाउन, समय समयमा नङ, कपाल काट्ने गरिदिनुपर्छ ।