बाल अधिकार भनेको के हो?

बालअधिकारसम्बन्धी महासन्धिका आधारभूत सिद्धान्तहरू

नेपाल सरकार, युनिसेफ नेपाल
Girl smiling
UNICEF Nepal
26 अगस्ट 2019

बालबालिका संसारको जुनसुकै ठाउँमा जन्मेहुर्के पनि उनीहरूको आधारभूत आवश्यकताहरू माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो ।

बाल्यावस्थाको उचित वातावरण, स्याहार सम्मान, सहभागिताले भविष्यमा सोही बालबालिका क्षमतावान मानव स्रोत बन्दछन् । मानव अधिकारको अन्तराष्ट्रिय सन्धिले बालबालिकालाई समेट्न नसक्ने र बाल्यावस्थाका आवश्यकताहरू विशेष हुने भएकाले बाल अधिकार महासन्धिको आवश्यकता महसुस भएको हो ।

तसर्थ आफ्ना भावी सन्ततिको उज्वल भविष्यको निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिऊन् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बालअधिकारसम्बन्धी महासन्धि पारित गरेको छ । यो सन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित गरिएको थियो । बालबालिकाको अधिकारका निम्ति पारित यो सन्धि राज्य राज्यहरूबिचको एक साझा कानुन हो । त्यसैले यो राज्य तथा अभिभावकले बुझ्नु महत्त्वपूर्ण हो ।

यस महासन्धिलाई नेपालले १४ सेप्टेम्बर १९९० मा निःशर्त अनुमोदन गरिसकेको छ । नेपालमा पनि यस महासन्धिलाई अनुमोदन गरेपछि बालबालिका ऐनठ २०४८ लागु गरियो भने, सो ऐनलाई संसोधन गरेर २०७५ मा बालबालिका सम्बन्धी ऐन लागु गरिएको छ । यो ऐन बाल अधिकार महासन्धिअन्तरगत रहेको छ ।
 


बालअधिकारसम्बन्धी महासन्धिका चार आधारभूत सिद्धान्तहरू छन्ः (क) भेदभाव रहित, (ख) सर्वाेत्तम हित, (ग) दीर्घजीवन र विकास, (घ) बालबालिकाका विचार र भावनाको कदर रहेका छन् ।
 

अतः बालबालिकाका निम्ति गरिने प्रत्येक कार्यहरू यी आधारभूत सिद्धान्त विपरीत हुनु हुँदैन । समाजमा भए गरेका कार्यहरू बालअधिकारको पक्षमा छन् कि छैनन् भन्ने कुरा जाँच्नका निम्ति मापदण्डका रूपमा पनि यी आधारभूत सिद्धान्तलाई लिन सकिन्छ ।

Boy looks at camera
UNICEF Nepal

भेदभावरहित  

भेदभावले बालबालिकाको आत्मसम्मान घट्छ । नकारात्मक स्वःपहिचान बन्दछ । बदलाको भावना विकसित हुन्छ । बालबालिकालाई यस्ता नकारात्मक वातावरणबाट बचावट गर्न, बालअधिकारको सिद्धान्तमध्ये “भेदभावरहित” वातावरण तयार गर्नुपर्ने वा बिना भेदभाव बालबालिकालाई सम्पूर्ण अधिकारहरू उपलब्ध गराउनुपर्दछ । विभिन्न कानुनले पनि बालबालिकाको समान अधिकारलाई संरक्षित गरेको छ । बालबालिकाको बुबाआमा, अभिभावकको जाति, रङ, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य आस्था, राष्ट्रिय, जातीय वा सामाजिक उत्पति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतको आधारमा भेदभाव नगरी समान रूपमा सम्मान गर्नुपर्दछ ।

बालबालिकाको सर्वाेत्तम हित  

बालबालिकाका निम्ति गरिने प्रत्येक कार्यहरू बालबालिकाको लागि सबैभन्दा उपयुक्त हुनुपर्छ वा सबैपक्षबाट बालबालिकालाई फाइदा वा कल्याण हुने हुनुपर्छ । सार्वजनिक तथा कल्याणकारी संस्थाहरूले कुनै पनि कार्य गर्दा बालबालिकालाई नकारात्मक प्रभाव पर्ने कुनै पनि कार्य गर्नु हुँदैन । अदालत, प्रशासनिक निकायलगायत सबैले बालबालिकासँग सम्बन्धित काम कुरा गर्दा बालबालिकाको सर्वाेत्तम हितलाई प्राथमिकता दिनुपर्दछ ।

दीर्घजीवन र विकास  

बाँच्न पाउनु बालबालिकाको पनि जन्मसिद्ध अधिकार हो । बालबालिकालाई बचाउने जिम्मेवारी सम्पूर्ण अभिभावक, समुदाय र सरकारको हो । बाल अधिकारको सिद्धान्तले बालबालिकाको दीर्घ जीवन र विकासको अधिकारलाई सुनिश्चित गर्दछ । बालबालिकाको दीर्घजीवन र विकासका निम्ति राज्यले बढीभन्दा बढी प्रयास गर्नुपर्दछ ।

बालबालिकाको विचार र भावनाको कदर  

आफ्ना इच्छा रहरको कुराको सुनुवाइ वा भावनाको कदर नहुँदा, सबैलाई नरमाइलो लाग्ने, मन दुख्ने हुन्छ । त्यस्तै बालबालिकालाई पनि आफ्नो विचारको कदर नहुँदा, रहर लागेको काम कुरा गर्न नपाउँदा मायाको अनुभूति हुँदैन । जसको फलस्वरूप बालबालिकालाई परिवार समाजबाट टाढा हुन मन लाग्ने, दिक्क लाग्ने, व्यवहारमा समस्या आउने विकृतिहरू देखापर्र्ने सम्भावना हुन्छ । यस्ता समस्याहरूबाट बचाउन सम्बन्धित विषयमा आफ्नो विचार व्यक्त गर्न पाउनुपर्छ । अभिभावकहरूद्वारा उनीहरूको विचारको कदर गरिनुपर्छ । बालबालिकाको उमेर र परिपक्वताअनुसार त्यसलाई उचित मान्यता दिई समाजको एक अभिन्न अङ्ग मानी समाज विकासका विभिन्न चरणहरूमा बालबालिकासँग सम्बन्धित विषयहरूमा उनीहरूलाई सहभागी गराइनुपर्दछ ।

Group of children
UNICEF Nepal

बालअधिकारका चार पक्ष र प्रारम्भिक बालविकास

बालअधिकार महासन्धि गर्भदेखि १८ वर्षसम्मका बालबालिकाको अधिकार हो । महासन्धिमा उल्लिखित बालअधिकार का धाराहरूलाई सरल तरिकाले बुभ्न चार समूहमा (बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार , विकासको अधिकार र सहभागिताको अधिकार , छोटोमा बा.सं.वि.स) विभाजित गरिएको छ । प्रारम्भिक उमेर (गर्भावस्था देखि ८ वर्षका आवश्यकताका आधारमा यी चार समूहलाई निम्न रूपमा बुभ्न सकिन्छः

बाँच्न पाउने अधिकार - बाँच्न पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार हो । गर्भदेखि नै बाँच्ने अधिकार सुनिश्चित गर्न, गर्भवती महिलाले विशेष स्याहारलगायत शिशुको सुरक्षित रूपमा जन्म गराउनुपर्दछ । जन्मेपछि जन्मदर्ता, स्तनपान, नियमित स्वास्थ्य परीक्षण, उमेरअनुसारको सुरक्षित पौष्टिक आहार, सुरक्षित पानी, खोप तथा प्राथमिक उपचारलगायतका दीर्घ जीवन तथा सर्वोत्तम हितको सिद्धान्तमा रहेर अभिभावकले बाँच्नको लागि आधारभूत आवश्यकताको व्यवस्था गर्नुपर्दछ ।

संरक्षणको अधिकार - प्रत्येक बालबालिकाको लागि संरक्षणको अधिकार तथा अपाङ्गता भएका र अनाथ बालबालिकाको निम्ति विशेष व्यवस्था हुनुपर्छ । यसका लागि पनि गर्भदेखि गर्भवतीलाई तनावमुक्त वातावरण, गर्भ तुहिनबाट संरक्षण तथा जन्मपश्चात् पनि बढ्दो उमेर क्रमअनुसार भेदभाव, शोषण, हिंसा, दुव्र्यवहार, अपहेलना, बालश्रम, उत्पीडन, ओेसारपसार तथा बेचबिखन, बुबाआमाबाट अलग्गिनु पर्नेलगायतका जोखिमपूर्ण स्थितिबाट सुरक्षित हुन पाउनुपर्छ । बालबालिकामा यस्ता अवस्थाहरू आईपर्न नदिन पहिले अभिभावकहरू सचेत हनुुपर्ने तथा आईपरेको खण्डमा कानुनी संरक्षण प्राप्त हुनुपर्छ । साथै बालबालिकाको उचित स्याहारका लागि परिवारमैत्री वातावरण हुनुपर्छ ।

विकासको अधिकार - प्रत्येक बालबालिकाले गर्भदेखि नै उत्प्रेरणा तथा जन्मपछि पनि उत्पे्ररणा, अन्तरक्रिया तथा सिकाइका अवसरहरू पाउनुपर्छ । बढ्दो उमेरक्रम अनुरुप शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासको अवसरहरू जस्तै खेल, अन्तरक्रिया, खोज, अनुभव, अनुसन्धान गर्न दिनु अभिभावकको जिम्मेवारी हो । उक्त वातावरणमा बालबालिकाले विकासको अवसर पाउनु अधिकार हो ।

सहभागिताको अधिकारः प्रारम्भिक बाल्यावस्थामा बाल सहभागिताको सुरुवात गर्भावस्थादेखि नै गर्भवतीलाई घरका विभिन्न विशेष सामाजिक कार्यक्रम, चाडबाड तथा जमघटमा सहभागी गराएर, कुराकानी, निर्णय लिने कार्यहरूमा सहभागी गराएर गर्न सकिन्छ । यसैगरी उमेर क्रमअनुसार आआफ्नो धर्म संस्कृति, चाडपर्व, जात्रा, प्रारम्भिक बालविकास तथा शिक्षा वा बालविकास केन्द्रका कार्यक्रमहरू, विद्यालयका कार्यक्रम तथा समुदायका विभिन्न कार्यक्रमहरूमा उनीहरूको इच्छा अनुरुप सहभागिताको अवसर दिनुपर्छ । यो अभिभावकको दायित्व हो भने सहभागी भएर रमाउन पाउनु प्रत्येक बालबालिकाको अधिकार हो । क्रिया

बालबालिकाको रुचि बेग्लाबेग्लै हुन सक्छ । उनीहरूको रुचिअनुसारको सामग्री तथा क्रियाकलापको छनोट र सहजीकरण गर्न जरुरी हुन्छ । उनीहरूको रुचिअनुसारको क्रियाकलाप गर्दा सहभागिता र सिकाइमा पनि थप सहयोग पुग्छ । आफूलाई मन पर्ने र नपर्ने कुरा बालबालिकाले व्यक्त गर्न सक्छन् । उनीहरूको सहभागिता सुनिश्चित गर्नका लागि अभिभावक तथा शिक्षकले बालबालिकालाई बोल्न र छनौटमा प्रोत्साहित गर्नुपर्दछ ।

जान्नैपर्ने तथ्यहरू

  • बालबालिका संसारको जुनसुकै ठाउँमा जन्मे हुर्के पनि उनीहरूको आधारभूत आवश्यकताहरू माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो ।
  • बालअधिकारसम्बन्धी महासन्धिका चार आधारभूत सिद्धान्तहरू (क) भेदभाव रहित,
  • (ख) सर्वाेत्तम हित, (ग) दीर्घजीवन र विकास, (घ) बालबालिकाका विचार र भावनाको कदर हुन् ।
  • महासन्धिमा उल्लिखित बालअधिकारका धाराहरूलाई सरल तरिकाले बुभ्न चार समूहमा (बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार, छोटोमा बा.सं.वि.स) बुभ्न सकिन्छ । प्रारम्भिक बाल्यावस्थामा यी अधिकार सुनिश्चित गर्न विशेष ध्यान आवश्यक छ ।