बालबालिकालाई पूरक खाना कसरी खुवाउने?
६ महिना पछि बालबालिकालाई थप खाना खुवाउँदा ध्यान दिनु पर्ने केही कुरा
बालबालिकाको उमेर बढ्दै जादाँ उनीहरूको खानाको आवश्यकता आमाको दुधले मात्र पूरा हुन सक्दैन । यसैले थप खानाको आवश्यकता हुन्छ । साथै शिशुको पाचन प्रणालीको समेत विकास भई, थप खाना पचाउन सक्ने क्षमताको विकास हुन्छ । यसैले ६ महिनादेखि पूरक खाना आवश्यक हुन्छ ।
पूरक खाना भन्नाले पहिले खाएकोमा थप गरी पूर्ण बनाउनु हो । त्यसैले ६ महिना पूरा भएका बालबालिकालाई पहिले खाइरहेकोे आमाको दुधका साथै थप खाने खानाको मात्रा बढाउँदै शिशुको आवश्यकता पूरा गर्नुपर्दछ ।
६ महिनादेखि दुई वर्षका बालबालिकाकाले भोक लागेको छ भनेर भन्न सक्तैनन् । नवजात शिशुहरूले मुख चलाएर र चार महिनापछि खानेकुरातिर हेरेर तथा समाउन खोजेर, हातले इशारा गरेर आफ्नो भोक व्यक्त गर्दछन् । यी व्यवहारहरू आमाबुबा र स्याहारकर्ताले बुझ्नुपर्दछ ।
पूरक खाना सँगसँगै गर्नुपर्ने कामहरूः
- परिवारको खाना तयार गर्दा दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने ।
- बालबालिका ६ महिनाको उमेर पुग्नासाथ र प्रत्येक ६–६ महिनामा थप अतिरिक्त भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने ।
- बालबालिकाले खाना राम्ररी खाए नखाएको वा बालबालिकाको पोषण स्थितिमा सुधार आए नआएको हेर्न उमेरअनुसार तौल र उचाइ निरन्तर बढेको÷नबढेका वृद्वि अनुगमन गर्ने ।
- पानी सधैँ सफा वा उमालेर मात्र खुवाउने गर्ने ।
- पूरक खाना खुवाउँदा हरेक पटक सकेसम्म पाँच ओटा खाद्य समूह मध्येबाट खाना खुवाउने ।
पूरक खाना खुवाउँने चलन हाम्रो समुदायमा प्राचिन कालदेखि नै चलिआएको परम्परा हो । जसअनुसार बालबालिकाको पास्नी गर्ने चलन रहेको छ । विधिवत पास्नी गरेपछि बालबालिकाले खान सक्ने नरम खानाको बानी लगाउने चलन छ । बालबालिकालाई सुरुमा दुधभन्दा अलि बाक्लो लेदो खाना बनाएर विभिन्न स्वादका खानाहरूको बानी लगाउनुपर्छ । विस्तारै थोरै खानाबाट बढाउँदै लैजानुपर्छ । शिशुको पेट सानो हुने हुनाले एकैपटकमा धेरै खान सक्दैनन् र चाँडै भोकाउँछन् । त्यसैले उनीहरूलाई पटकपटक खुवाउनुपर्दछ ।
पूरक खानाको महत्त्व
६ महिनापछि बालबालिकालाई आमाको दुधले मात्र पोषणको मात्रा अपुग हुन्छ । यसै अवस्थामा अभिभावकले आमाका दुधले अघाईरहेको छ, भन्ने ठान्नु, नवजात शिशुहरूलाई थप खाना बनाउन सिप नहुनु, जाँगर र कर नहुनु, वा परिवार नियोजनको साधन प्रयोग नगर्दा आमा फेरी गर्भवती हुने कारणहरूले गर्दा यो उमेरपछि बालबालिका कुपोषणको शिकार हुने गरेका छन् । विभिन्न अनुसन्धानले देखाएअनुसार कुपोषणको प्रमुख कारण थप खानाको कुशल व्यवस्थापन वा आवश्यकताअनुसार शिशुले खान नपाएको भन्ने रहेको छ ।
नेपालमा पनि कुपोषणको उच्च दर ६ महिना देखि २ वर्षसम्मको शिशुमा रहेको छ ।द्दठ शिशुको बौद्धिक विकास २ वर्षभित्र अत्यधिक हुने र यसै अवस्थामा शिशु कुपोषणको शिकार भएमा बौद्धिक क्षमता कम भई न्यून बुद्धि वा मन्दबुद्धि हुने हुन्छ । त्यसैले शिशुलाई थोरै तर पौष्टिक नरम खाना पटकपटक खुवाउनुपर्छ ।
पूरक खाना बनाउने तरिकाहरू
| चाहिने सामग्रीः १. गेडागुडी (भटमास): १ गिलास (राम्ररी केलाई सकेपछि) २. अन्न (मकै): १ गिलास (राम्ररी केलाई सकेपछि) ३. अन्न (गहुँ): १ गिलास (राम्ररी केलाई सकेपछि) भटमास, मकै, गहुँको सम्मिश्रण बालबालिकाको लागि निकै उपयुक्त छ, तर मकै र गहुँको ठाउँमा अन्य अन्नहरू जस्तै कोदो, जौ, चामल आदि पनि प्रयोग गर्न सकिन्छ । |
|
बनाउने तरिकाः |
| आवश्यक सामग्रीः १. पोषिलो पिठो: (२५ ग्राम अर्थात् ४ चिया चम्चा) २. पानी: आवश्यकता अनुसार / १ चिया गिलास |
| तयार गर्ने तरिकाः १. उम्लिएको पानीमा पोषिलो पिठो हालेर चलाउँदै एक मिनेट सम्म पकाउनुपर्छ । |
|
द्रष्टव्य: यसलाई अझ पोषिलो बनाउन निम्नानुसार कार्य गर्नुपर्दछ । नोटः माथि उल्लेख गरिएको खाना घरमा एउटा बालबालिकाको लागि तयार गरिएको हो । |
| चाहिने सामग्रीः १ अण्डा: १ ओटा २ चिनी: स्वादअनुसार (१ चिया चम्चा भन्दा बढी नहाल्ने, फर्सी गुलियो छ भने नहाल्दा हुन्छ ) ३ मकैको पिठो: ४ चिया चम्चा ४ नुन: थोरै एक चिम्टी ५ दुध: २ गिलास ६ घिउ : २ चिया चम्चा ७ पाकेको फर्सीको पेस्टः २ गिलास (सकेसम्म भित्र पनि गाढा सुन्तला रङको) । ८ ओखर: स्वादअनुसार |
| बनाउने तरिकाः १ एउटा कचौरामा अण्डा, चिनी, र मकैको पिठो राखेर फिट्ने, २ अर्को भाँडामा उम्लिएर सेलाएको दुध र माथिको अण्डाको घोलमा मिसाएर चलाउने अनि पकाउने । अलि बाक्लो भएपछि आगोबाट झिकेर घिउ र फर्सीको पेस्ट वा लेदो हाल्ने र राम्ररी सबै मिसिने गरि चलाउने । नुन हालेर चलाउने । ३ अब त्यसमा ओखरको पिनेर वा टुव्रmा खुवाउनको लागि तयार भयो । |
| द्रष्टव्यः अण्डा नभएमा दुध नै १ गिलास बढी प्रयोग गर्न सकिन्छ । मकैको पिठोको सट्टामा अन्य पिठो जस्तै कोदो, फापर, गहुँ आदि प्रयोग गर्न सकिन्छ । घिउको सट्टामा तेल प्रयोग गर्न सकिन्छ । ओखरको सट्टामा भटमास, फर्सीको बियाँ वा अन्य बियाँलाई भुटेर पिसेर पनि मिसाउन सकिन्छ । नाप्नको लागि एउटै गिलास प्रयोग गर्नुपर्छ । (यसमा पाटे गिलासको प्रयोग गरिएको छ) चिनी, मकैको पिठो र घिउबाट शक्ति (कार्बोहाइड्रेट) पाउने र दुध अण्डा र ओखरबाट वृद्धि विकास गर्ने खाना (प्रोटिन) पाउने अनि पाकेको फर्सीबाट शरीर सुरक्षा गर्ने तथा भिटामिन र खनिज तत्त्व पाउने (विशेषगरि भिटामिन ए) भएकाले बालबालिकालगायत अरूहरूको लागि पनि पोषिलो खाजा हुन्छ । नोटः माथि उल्लेख गरिएको मात्रामा खाना पकाउँदा ४ पाटे गिलास बराबरको खाना तयार हुन्छ । |
| चाहिने सामग्री: २ टेबल चम्चा चामल, २ चिया चम्चा हरियो वा पहेंलो मुंग, ४ चिया चम्चा बोडी वा घिउ सिमी, १ चिया चम्चा तेल वा घिउ, २ देखि ३ कप पानी वा आवश्यकताअनुसार, बेसार, जिरा र नुन स्वादअनुसार, मसिनो हुने गरी टुक्रा पारिएको हरियो सागपात (जस्तै रायो, लट्टे, सलगम, पालुङ्गो) गाजर एकदेखि दुई चिया चम्चा मसिनो टुक्रा पारिएको मासु वा कलेजोको १ देखि २ दुई चिया चम्चा (अन्न, गेडागुडी, हरियो सागपात तथा मासुसमेत राखेर पकाइएको हुँदा जाउलो अझै थप पोषिलो बन्छ ।) |
| बनाउने तरिकाः आगोमा भाँडा बसालेर, घिउ तताउने र पहिले दाल र चामल एकछिन भुटेपछि, मसिनो पारेर काटेको तरकारीहरू मिसाएर केहीबेर चलाउने । कुकरको बिर्को लगार्ई सिठी लगाउने । २ वा ३ सिठी लागेपछि जाउलो पाक्छ । यसरी बनाएको जाउलो पनि शिशुलाई ६ महिना पछि खुवाउनुपर्छ । उमेरअनुसार बाक्लोपना बढाउँदै लैजानुपर्छ । |
| सामग्री: एक कप दुध, २ टेबल चम्चा चामल, एक चम्चा कोरेसोमा कोरेको फर्सी वा गाजर, चिनी स्वादअनुसार, एक सानो चिया चम्चा पिनेको ओखर वा काजु, एक चिया चम्चा फलफूल (जस्तै केरा वा स्याउ वा नासपाती) को ससाना टुव्रmा पनि हाल्न सकिन्छ । |
| बनाउने तरिका: ठुलालाई पकाएको भात पाक्नासाथै माथिका सामग्री हालेर, दुध र थोरै घिउ हाली फेरी सानो भाँडामा पकाउने वा पहिले नै दुध र चामल हालेर प्रेसर कुकरमा सिठी लगाउने वा सानो भाँडामा पकाउनुहोस् । |
पूरक खाना खुवाउँदा ध्यान दिनुपर्ने कुरा
उ. उमेरः उमेरअनुसार खानाको मात्रा बढाउँदै लैजानुपर्छ ।
प. पटकः शिशुलाई पटकपटक खाना खुवाउनुपर्छ ।
मा. मात्राः शिशुको उमेरअनुसार खानाको आवश्यकता पनि बढ्दै जानेहुनाले मात्रा पनि बढाउँदै जानुपर्छ ।
बा. बाक्लोपना/अवस्था: सुरुका दिनमा शिशुलाई पचाउन गाहे हुने हुनाले ठीक्क बाक्लो र उमेर बढ्दै जादाँ बाक्लोपना बढाउँदै जानुपर्छ ।
प्र. प्रकार: विभिन्न खाद्य समूहका खाना खुवाउनुपर्छ ।
स. सक्रिय वा जिम्मेवार खुवाइः बालबालिकालाई खेलाउदै, कुराकानी गर्दै रमाइलो वातावरणमा सक्रिय रूपमा खुवाउनुपर्छ ।
स. सरसफाइः सरसफाइ नभएमा रोग र सङ्क्रमण हुनेहुनाले खाने भाँडा सफा गर्नुका साथै खाना खानुअगाडि शिशुको र आफ्नो हात सफासँग धुनुपर्छ ।
- करबल नगर्नेः बालबालिकालाई खुवाउन सुरु गर्दा सजिलैसँग खान नमान्नासाथै छाडिदिनुपर्छ । उनीहरूलाई तोकिएको मात्रा खुवाउनका लागि रमाइलो वातावरणमा सक्रिय रूपमा खुवाउनुपर्छ । बालबालिका आफैँ बस्ने, समात्न सक्ने भएपछि विस्तारै बालबालिका स्वयंलाई खान प्रोत्साहित गर्नुपर्दछ ।
- घिउ वा तेलः बालबालिकालाई खुवाउने खानामा घिउ वा तेलले खानालाई नरम तथा शक्तिपूर्ण बनाउँछ । शरीरलाई वातावरणसँग जोगाउने क्षमता दिन्छ । साथै चिल्लोमा घुल्ने भिटामिनहरू राम्ररी पचाउन सहयोग गर्छ ।
- स्वादः २ वर्षसम्म बालबालिकालाई नुन चिनी जस्ता स्वादको आवश्यकता पर्दैन ।द नुन चिनीमा पाइने पोषण उनीहरूले आमाको दुधबाट नै पाइरहेका हुन्छन् ।
- नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकाबाट निःशुल्क पाइने बहुसूक्ष्म पोषक तत्त्व (बाल भिटा) पनि स्वास्थ्य स्वयम्सेविकाको सल्लाहअनुसार खुवाउनुपर्छ ।
- बालबालिकाको नियमित रूपले स्वास्थ्य संस्थामा परीक्षण (जस्तैः तौल, उचाइ, पाखुरा जाँच आदि) गराउनुपर्दछ ।
- खाना पकाउन अल्छी मानेर वा अप्ठेरो परेको भन्दै तयारी खाना, चाउचाउ, बिस्कुट खुवाउनु हुँदैन । तयारी खानाको स्वादले गर्दा घरमा बनेको खाना खान मन हुँदैन । साथै तयारी खानेकुरामा पोषक तत्त्वहरूको अभाव हुन्छ । यस्ता खानेकुरामा अत्यधिक नुन, चिनी वा तेल हुन्छ, जसले खाना अमन हुने तर शरीरमा पोषक तत्त्व कम हुन्छ ।
पूरक खानाको पटक
६ देखि ९ महिनासम्मः यो उमेरका बालबालिकालाई आमाको दुधका साथै दिनमा ३ पटक पूरक वा थप खाना खुवाउनुपर्दछ । खाना सुरु गर्दा ठुलो चम्चाका २ देखि ३ चम्चाबाट सुरु गर्नु पर्छ र विस्तारै एकपटकमा १ चिया गिलास बराबरसम्म खुवाउनुर्पछ ।
९ देखि १२ महिनासम्मः यो उमेरका बालबालिकालाई आमाको दुधका साथै दिनमा ३ पटक पूरक वा थप खाना र एक पटक खाजा खुवाउनुपर्दछ । हरेकपटकमा १ चिया गिलास (१२५ मि.लि) बराबर खुवाउनुपर्छ ।
१२ देखि २४ महिनासम्मः यी बालबालिकालाई आमाको दुधका साथै दिनमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनुपर्छ । हरेक पटकमा २ चिया गिलास (२५० मि.लि) बराबर खुवाउनुपर्छ ।