अमृत समान आमाको दूध

नवजातलाई शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको दूध किन खुवाउनु पर्दछ ?

नेपाल सरकार, युनिसेफ नेपाल
नवजातलाई शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको दूध  किन खुवाउनु पर्दछ ?
UNICEF Nepal
31 मे 2019

प्रकृतिले प्राणीलाई जीवन र जीवन बचाई राख्ने प्राणवायु तथा अनेकौँ प्रकारका खाद्यपदार्थहरू पनि निःशुल्क दिएको छ । तर भर्खर जन्मेको शिशुले प्रकृतिका कुनै पनि वस्तुहरू खान र पचाउन नसक्ने अवस्थामा हुने हुनाले, प्रकृतिले खाद्यवस्तुहरूको सारतत्त्व र उपयुक्त खाद्यवस्तु आमाको स्तनबाट दिएको हुन्छ ।

आमाको दुध शिशुको विकासात्मक आवश्यकता अनुरुप हुन्छ । जति मात्रामा शिशुलाई प्रोटिन, भिटामिन, तथा खनिजकोेआवश्यकता हुन्छ, त्यत्ति नै मात्रा आमाको दुधमा रहेको हुन्छ ।

शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरू तथा गर्भको भन्दा फरक वातावरणमा समायोजन हुने शक्ति बिगौती दुधमा हुन्छ । शिशुको पेटको आकार बढेसँगै आमाको दुधको मात्रा पनि बढ्दै जान्छ । जब शिशु विस्तारै अन्य खानाहरू खान र पचाउन सक्ने अवस्थामा पुग्छ, आमाको दुध पनि घट्दै जाने हुन्छ । त्यसैले आमाको दुध शिशुको लागि प्रकृतिको उपयुक्त योजना र अमूल्य उपहार हो । आमाको दुध जस्तो खाना कुनै पनि मूल्यमा कहीँ पनि किन्न पाईदैन । आमाको दुध अमृत समान हो ।


आमाको दुधको विशेषता  

🤱आमाको दुधमा रोगहरूसँग लड्ने, इम्युनोग्लोव्युलिन (immunoglobin) जस्ता सबै पोषक तत्त्वहरू सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दुधमा पाइँदैन ।
🤱आमाको दुधमा शिशुलाई पुग्ने सम्पूर्ण पौष्टिक तत्त्वहरू तथा पानीको मात्रा समेत रहेको हुन्छ । 
🤱आमाको दुध सुरक्षित हुन्छ र यसमा रोगका कीटाणुहरूले आक्रमण गर्न पाउँदैन किनकि यो आमाको स्तनबाट सधैँ शिशुको मुखमा जान्छ । 
🤱शिशुलाई भोक लागेको आमालाई महसुस हुनासाथै आमाको दुधमा रहेको अक्सिटोसिन हर्मोन (oxytocin hormone) निस्केर आमाको दुध आफैँ बग्न थाल्छ ।
🤱स्तनपानले शिशु काखमा बस्न र रमाउन पाउने हुनाले, आमा र शिशुबिच बलियो सम्बन्ध स्थापित हुन्छ । स्तनपानले शिशुको बौद्धिक विकासमा सहयोग गर्छ ।
🤱आमाको दुध धेरै र थोरै निस्कनुमा सुत्केरी स्याहारले असर गर्छ । आमाको सकारात्मक सोच, पोषण र आरामले गर्दा दुध प्रशस्त बन्छ ।  

नवजातलाई शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको दूध  किन खुवाउनुपर्दछ?
UNICEF Nepal

स्तनपानको लागि आमाको तत्परता   

 शिशुको आवश्यकताअनुसार एक दिनमा १० देखि १२ पटक (२४ घण्टा दिन र रात) आवश्यकताअनुसार स्तनपान गराउनुपर्दछ । आमाको दुधमा सम्पूर्ण पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मिएदेखि कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनुपर्दछ । आमाको दुधमा नै शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकाले पानी पनि खुवाउनुपर्दैन । ६ महिना पूरा भएपछि बालबालिकालाई पूरक वा थप खानाको साथै कम्तीमा दुई वर्षसम्म आमाको दुध खुवाउनुपर्छ ।

सुत्केरी आमाले साविकभन्दा थप दुईपटक पोषिलो खाना खाएमा आमाको दुध निरन्तर आउने र आफू पनि स्वस्थ रहन सहयोग गर्छ । सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना (अन्न, गेडागुडी, हरिया सागपात तरकारी तथा फलफूल, पशुपन्छीजन्य खानेकुरा) खानुपर्छ । सुत्केरीले गाह्रो काम गर्ने चिन्ता लिने, धूमपान तथा मद्यपान गर्नु हुँदैन ।

स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ । स्तनपान गराउँदा शिशुले आमाको भावना बुझ्ने हुनाले, आमाले खुसी हुने, हाँस्दै रमाउदै, जिस्कदै खुवाउनुपर्छ । जसले गर्दा शिशु पनि खुसी हुने र आमाको दुध प्रशस्त आउन सजिलो हुन्छ ।


स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू:

स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनुपर्दछ । सफा र खुकुलो लुगा लगाउनुपर्दछ ।
आमाले स्तनलाई C (अङ्ग्रेजी अक्षरको सी आकार) आकारमा समात्नुपर्दछ । बुढी औँला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरू आौँला स्तनको तलपट्टि हुनुपर्छ ।
शिशुलाई काखमा राख्ने र शिशुको ढाड र टाउको अलिकति अर्को हातमाथि राखेर अलि उठाउँनुपर्छ र दुध चुसाउनुपर्दछ । 
दुध चुसाउनु पहिले शिशुलाई स्तनमा ओठले, हातले चलाउन उत्प्रेरित गर्ने जसले गर्दा दुध पग्रन्छ र शिशुले दुध चुस्न मिहेनत गर्नु पर्दैन ।
स्तनपान गराउँदा एकपटकमा एकापट्टिको दुध पूर्ण खाली हुने गरी खुवाउनुपर्छ । अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्दछ, जसले गर्दा पूर्ण स्तनपान हुन्छ । दूबैतिरको आधा आधा खुवाउदा दुधमा भएको पानीको मात्रामात्र शिशुले खाने हुनाले शिशुले आवश्यक पूर्ण पोषण पाउन सक्दैन ।
शिशुले जति दुध चुस्छ, त्यति नै बढी प्रोलाक्टिन हर्मोन निष्कासन भई दुध बन्दछ ।
दुध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठिउँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन ।
सुत्केरी आमाले ज्वानो (अजवाइन) को झोलसहित थप पोषिलो खाना खानुपर्दछ, जस्तैः दाल, गेडागुडी, दुध र अन्य तरल खानेकुरा बढी खानुपर्छ ।
सुत्केरी भएको ४२ दिनभित्र भिटामिन ए क्याप्सुल एक मात्रा खानुपर्छ । भिटामिन ए क्याप्सुल नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकाबाट निःशुल्क उपलब्ध हुन्छ ।
सुत्केरी भएको ४५ दिनसम्म नियमित रूपले आइरन फोलिक एसिड चक्की सेवन गर्ने र दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन हाली बनाइएको खाना खानुपर्दछ ।
दुध नआउने, बच्चाले दुध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्पर्क गर्नुपर्दछ ।
शिशु बिरामी छ भने पनि बारम्बार दुध खुवाउनुपर्छ । शिशुले आमाको दुध पनि खाने प्रयास नगरेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्दछ । 
स्तनपान गराउँदा आमाले शिशुतिर हेर्ने, मुस्कुराउने, बोल्ने र गीत गुनगुनाउने गर्नुपर्दछ ।
एचआइभी सङ्क्रमित आमाले स्वास्थ्यकेन्द्रमा सम्पर्क गनुपर्छ । सङ्व्रmमित आमाले पनि छ महिनासम्म आफ्नो शिशुलाई मात्र स्तनपान गराउनुपर्छ । त्यसपछि शिशुलाई आमाको दुधसँग पूरक खाना पनि दिनुपर्छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्छ । 
एचआइभी सङ्क्रमित आमाको स्तनका मुन्टा चर्किएका छन् वा रगत बगिरहेको छ भने स्तनपान गराउनु हुन्न । साथै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक उपचार र सरसल्लाह गर्नुपर्दछ ।
कोभिड–१९ भएका आमाले पनि स्तनपान गराउनुपर्छ ।
illustration of child breastfeeding

स्तनपान गराउने उपयुक्त आसन तथा सम्पर्क 

  • बालबालिकाको शरीर र मुख आमाको स्तनतिर फर्किएको हुनुपर्दछ ।
  • बालबालिका आमासँग टाँसिएको हुनुपर्दछ ।
  • आमाले बालबालिकाको सम्पूर्ण शरीरलाई थामेको हुनुपर्छ । 
  • बालबालिकाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ ।
  • स्तनको कालोभाग सबै बालबालिकाको मुखभित्र पसेको हुनुपर्छ ।
  • बालबालिकाको तल्लो ओठ बाहिर फर्केको र मुख पूरा खुलेको हुनुपर्छ ।

स्तनपानबाट शिशु र आमामा हुने फाइदाहरू   

शिशुमा हुने फाइदाहरू  आमामा हुने फाइदाहरू
  • शिशुको मृत्यु हुने जोखिम न्यून हुन्छ।
  • स्तनपान गर्न पाएका शिशुमा रोगबाट प्रतिरक्षा शक्ति उच्च हुन्छ ।     
  • बिरामी परेमा अरूलाई भन्दा छिटो निको हुन्छ ।    
  • बालबालिकामा संवेग व्यवस्थापन वा सन्तुलन गर्ने क्षमतामा उच्च हुन्छ र मानसिक समस्यामा कमी हुन्छ ।    
  • बौद्धिक परीक्षणमा उच्च क्षमता देखिएको छ ।    
  • विद्यालयको सिकाइ दर उच्च हुन्छ ।     
  • भविष्यमा मुटुरोग, मधुमेह, क्यान्सर, दमजस्ता रोगहरू कम मात्रामा हुन्छ । साथै दाँतसम्बन्धी समस्याहरू हुने सम्भावना कम हुन्छ ।

 

  • स्तनपान गराउने आमाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
  • स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ ।
  • आमालाई आराम र आनन्द महसुस हुन्छ जसले मानसिक तनाव हुँदैन ।
  • आफ्नो र शिशुको सकारात्मक सम्बन्ध भएकोमा सन्तुष्टि हुन्छ ।
a child sleeping

स्तनपानमा घरपरिवारको भूमिका

  शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु शिशुको अधिकार हो, जसलाई परिवार र राज्यले आमाले शिशुको हक सुनिश्चित गर्नुपर्दछ । राज्यले पनि आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) अनुसार आमाको दुधको विकल्पमा अन्य दुध बेचविखन गर्न नपाइने उल्लेख गरिएको छ । यस अधिकारलाई सुनिश्चित गर्न परिवारले निम्न भूमिका खेल्नुपर्छ ।

  •  बिगौती दुध शिशुको लागि खोप सरह हो । यसले शिशुलाई तातो चिसो वातावरण र रोगबाट लड्ने क्षमता बढाउँछ । त्यसैले जन्मनासाथ जतिसक्दो छिटो बिगौती दुध खुवाउनुपर्छ ।
  • सुत्केरीलाई आरामगर्ने कामको बोझ कम गर्नमा परिवारको ठुलो भूमिका हुन्छ ।
  • श्रीमान्ले विशेषतः काममा सघाउने, श्रीमतीलाई माया, विश्वास र आराम दिनुपर्छ ।
  • ६ महिनासम्म आमाको दुधमात्र खुवाउन सहयोग गर्ने र ६ महिनादेखि कम्तीमा दुई वर्षसम्म आमाको दुधसँगै पूरक खाना पनि खुवाउन सहयोग गर्नुपर्दछ ।
  • आमालाई दैनिक ५ किसिमका खानाहरू अन्य अवस्थामा भन्दा थप २ पटक खुवाउनुपर्छ ।