बालबालिकालाई कसरी चलाखीपूर्ण एवं स्वस्थ तरीकाले अनुशासनमा राख्ने?

राम्रो मानसिक तथा शारीरिक स्वास्थ्यका साथै सुखी बाल्यकालका लागि सकारात्मक अनुशासन

युनिसेफ
This image shows an illustration of a family playing together
UNICEF Nepal/2020/BTulachan
15 अप्रिल 2021

हरेक अभिभावकको सामु एउटा यस्तो समय आउँछ जुनबेला आफ्ना बालबालिकालाई कसरी उच्चतम अनुशासनमा राख्ने भन्ने विषयले पिरोल्छ। झर्को लगाउने शिशु होस् वा रिसाईरहने किशोर अवस्थाको बालबालिकाको स्याहार सुसार गर्दा, तपाईंलाई आफ्नो रिसमाथि नियन्त्रण राख्न हम्मे-हम्मे पर्छ। आफूलाई त्यस्तो परिस्थिति आओस् भन्ने चाहना कोही पनि अभिभावकको हुँदैन, र आधारभूत कुरा त के हो भने बालबालिकालाई गाली वा कुटपिट गरेर समस्याको समाधान हुँदैन।

धन्य, अन्य अझ बढी प्रभावकारी विधिहरू पनि छन्, जसमध्ये एउटा विधि सकारात्मक अनुशासन हो। हामीले अक्सफोर्ड विश्वविद्यालयमा बालबालिका सम्बन्धी विषय पढाउने प्राध्यापक, पारिवारिक सामाजिक कार्यकताको साथै दुई बालबालिकाकी आमा लुसि क्लभरसँग सकारामक अनुशासनको दृष्टिकोण अभिभावकलाई आफ्ना बालबालिकासँग सकारात्मक सम्बन्ध कायम राख्न एवं जिम्मेवारी बोध, सहयोग तथा स्व-अनुशासनका सीप सिकाउनको लागि कत्तिको सहयोगी हुन्छ भन्ने विषयमा परामर्श गरेका थियौं।

कोही पनि बालबालिका खराब हुँदैनन्, व्यवहार मात्रै खराब हुनसक्छ।  

सकारात्मक अनुशासन किन ?

प्राध्यापक क्लभर भन्नुहुन्छ - "आफ्ना बालबालिकाको अगाडि चिच्याउन वा पिट्न अभिभावकले पक्कै पनि चाहन्नन्। हामी तनावमा रहेको बेला अन्य कुनै उपाय नदेखेर उनीहरूलाई गाली गर्ने वा पिट्ने गर्छौ।"

प्रमाण प्रष्ट छ : गाली गरेर वा पिटेर समस्याको समाधान हुँदैन, बरू दीर्घकालीन रूपमा यसले फाईदा भन्दा बेफाईदा नै बढी गर्छ। बारम्बार गाली गर्ने वा पिट्ने गर्नाले बालबालिकाको जीवन नै नकारात्मक रूपमा प्रभावित हुन सक्छ। बालबालिकालाई  निरन्तर रूपमा "घातक तनाव" भएमा विद्यालय जान छोड्ने, निराशा, लागु औषधको कुलत, आत्महत्या र मुटुरोग जस्ता नकारात्मक नतिजा देखिन सक्छन्।

१. बालबालिकासँग एक्लै समय बिताउने योजना बनाउने 

बालबालिकाहरूसँग एक्लै समय बिताउनाले उनीहरूसँग राम्रो सम्बन्ध बनाउन तथा अन्य सकारात्मक कुराको लागि महत्वपूर्ण हुन्छ। "त्यस्तो समय दिनमा २० मिनेट वा भनौं ५ मिनेट मात्रै पनि हुनसक्छ जुन तपाईंले बालबालिकासंगै मिलेर भाँडा माझ्ने समयमा गीत गाउँदै वा लुगा सुकाउने समयमा कुराकानी  गर्दै बिताउन सक्नुहुन्छ।" प्राध्यापक क्लभर भन्नुहुन्छ। "तपाईंले बालबालिकामा ध्यान दिनु वास्तवमै महत्वपूर्ण हुन्छ। त्यसैले, टेलिभिजन र फोन बन्द गरेर उनीहरूकै तहमा पुग्नुहोस् र सँगै समय बिताउनुहोस्।"

यो त "यो औषधि लिनुहोस् , यसले तपाईंलाई सहयोग गर्ने वाला छैन, र यसले तपाईंलाई बिरामी बनाउने वाला छ" भन्नु जस्तै हो, प्राध्यापक क्लभर भन्नुहुन्छ। " कुनै चीजले काम गर्दैन भनेर यदि हामीलाई थाहा छ भने त्यसको सट्टामा फरक दृष्टिकोण अपनाउनु राम्रो हुन्छ।"

के गर्न नहुने वा सजाय पाउने आदि कुरा भन्दा सकारात्मक अनुशासनको अवधारणाले तपाईंका बालबालिकासँग सुमधुर सम्बन्धको विकास गर्ने तथा व्यवहारमा अपेक्षाहरू तय गर्नमा जोड दिन्छ। सबै अभिभावकको लागि एउटा सुखद खबर के छ भने यो अवधारणाले काम गर्छ र यसलाई निम्न अनुसार व्यवहारमा उतार्न सकिन्छ : 

This image shows an illustration of a mother praising her daughter
UNICEF Nepal/2020/BTulachan

२.सकारात्मक कुरालाई तारिफ गर्ने 

अभिभावकको रूपमा हामी बालबालिकाले गर्ने नकारात्मक व्यवहारमा केन्द्रित भएर उनीहरूलाई यो व्यवहार नराम्रो भयो भानिहाल्छौँ। यसलाई बालबालिकाले तपाईंको ध्यान खिच्ने माध्यमको रूपमा बुझ्दै त्यस्तो व्यवहार रोक्नुको सट्टा त्यसलाई नै निरन्तरता दिने सम्भावना रहन्छ। 

बालबालिकालाई तारिफको खाँचो हुन्छ, जसले उनीहरूलाई माया पाएको र विशेष महसुस गराउँछ। "यदि बालबालिकाले  ५ मिनेटको लागि मात्रै आफ्नो साना  दाजु/भाई वा दिदी/बहिनीसँग खेलेर समय बिताएको हो भने पनि हेर्नुहोस् र तारिफ गरिदिनुहोस्।" प्राध्यापक क्लभरको सुझाव  दिंदै थप्नुहुन्छ। "यसले राम्रो व्यवहारलाई प्रोत्साहन दिंदै अनुशासनको आवश्यकता घटाउन सक्छ।"

३. अपेक्षाहरू स्पष्ट रूपमा तय गर्ने 

"बालबालिकालाई तिमीले यो गर्नुहुँदैन भन्नुभन्दा पनि तिमीले यो गर्नु पर्छ है भनेर स्पष्ट रूपमा भन्नु एकदमै बढी प्रभावकारी हुन्छ," प्राध्यापक क्लभर भन्नुहुन्छ। "तपाईंले आफ्नो बालबालिकालाई सामानहरू यताउता छरपष्ट नपार, वा असल बन भन्नुभयो भने आफुले के गर्नुपर्ने हो भनि राम्ररी बुझ्न सक्दैनन्।"  "सबै खेलौनाहरू उठाएर बक्समा राख" जस्ता वाक्य प्रयोग गर्ने हो भने तपाईंले के खोज्नुभएको हो भनि बुझ्ने सम्भावना बढी हुन्छ।

"तर, हासिल गर्न सकिने किसिमका अपेक्षा तय गर्नु महत्वपूर्ण हुन्छ।" फोन कल आएको १० मिनेट शान्त बस्न सम्भव होला, तर बालबालिकालाई दिनभरि शान्त भएर बस भन्नु अलि व्यवहारिक नहोला" प्राध्यापक क्लभर भन्नुहुन्छ। " आफ्ना बालबालिकाको क्षमता कति छ भन्ने कुरा तपाईंलाई थाहा हुँदाहुँदै पनि असम्भव किसिमको काम लगाउनुभयो भने उनीहरू असफल हुन्छन्।"

४. रचनात्मक तरीकाले ध्यान मोडिदिनुहोस् 

तपाईंको बालबालिकाले अप्ठ्यारो व्यवहार देखाएको समयमा अन्य कुनै सकारात्मक क्रियाकलाप मार्फत उसको ध्यान मोड्नु एउटा उपयोगी रणनीति हुनसक्छ भन्दै प्राध्यापक क्लभर थप्नुहुन्छ - कुराकानीको विषय परिवर्तन गरेर, कुनै गेम खेल्न शुरू गरेर , वा अर्को कोठामा लगेर वा बाहिर कतै हिंडन लाग्ने आदि उपायद्वारा तपाईंले उनीहरूको ध्यान सकारात्मक व्यवहार तर्फ केन्द्रित गराईदिन सक्नुहुन्छ।

कुनै पनि क्रियाकलाप  समय मिलाएर गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। कुनै चीज गलत हुन लागेको छ भन्ने बुझेर केहि गर्नु पनि ध्यान मोडिदिनु हो। आफ्ना बालबालिका अधैर्य हुन लागेको, झर्किन वा रिसाउन लागेको वा एउटै खेलौना दुई जना बालबालिकाले एकै समयमा खेल्न चाहेको कुरा केहि क्षण अघि बुझ्न सकियो भने कुनै अप्रिय क्षण आउन नपाउँदै रोकथाम गर्न सकिन्छ।

This image shows an illustration of a father and daughter gardening
UNICEF Nepal/2020/BTulachan

५. शान्त परिणामको प्रयोग गर्नुहोस् 

केहि गरेमा त्यसको नतिजा निस्किन्छ भन्ने कुरा बालबालिकाले बढ्ने क्रममा सिक्नु पर्दछ। यो कुरा बालबालिकालाई राम्ररी बुझाउन सकियो भने यो साधारण प्रक्रिया मार्फत उनीहरूले राम्रो व्यवहार सिक्नुका साथै जिम्मेवारी बोध पनि गर्दछन्। 

नराम्रो व्यवहारको परिणाम पनि नराम्रो हुने कुरा बताउँदै बालबालिकालाई राम्रो कुरा गर्न प्रेरित गर्न सकिन्छ। जस्तै, यदि तपाईंको बालबालिकाले भित्तामा केरमेट गरे भने त्यसो नगर्न अन्त्यथा उनीहरूको खेल्ने समय सकिने कुरा भन्न सक्नुहुन्छ।यसबाट उनीहरूले चेतावनीका साथै आफ्नो व्यवहारमा परिवर्तन गर्ने मौका पनि पाउँछन्। 

“यदि उनीहरूले नराम्रो व्यवहार गर्न नछाडेमा, भन्न सजिलो त छैन, तर  त्यसको परिमाण मैले गर्दा भएको हो भनेर नरिसाईकन भन्नुहोस्” ,  प्राध्यापक क्लभर थप्नुहुन्छ।

यदि उनीहरू अझै पनि रोकिएनन् भने उनीहरूको निकै तारिफ गर्नुहोस् भन्ने सुझाव दिंदै प्राध्यापक क्लभर भन्नुहुन्छ - "तपाईंले आफ्नो बालबालिकाको लागि रचनात्मक प्रतिक्रिया सृजना गर्दै हुनुहुन्छ।  नराम्रो व्यवहार गरेमा के हुन्छ भन्ने कुरा थाहा पाउनको लागि शान्त परिणामहरूको विधि प्रभावकारी देखिएको छ।"

सकारात्मक अभिभावकत्वका लागि सधै उस्तै किसिमको व्यवहार गर्नु महत्वपूर्ण हुन्छ र त्यसै कारणले बालबालिकाले देखाउने परिणामसम्मै हेर्नु महत्वपूर्ण हुन्छ र उनीहरूलाई यथार्थपरक बनाईरहेको हुन्छ। " तपाईंले किशोर उमेरको बालबालिकाको फोन एक घण्टाको लागि लिन सक्नुहुन्छ तर पुरै एक हप्ताको लागि लिनुभयो भने उनीहरूको व्यवहार हेर्न वा बुझ्न पनि असहज हुन सक्छ।

This image shows an illustration of a father and son interacting
UNICEF Nepal/2020/BTulachan
This image shows a mother and daughter interacting
UNICEF Nepal/2020/BTulachan

साना बालबालिकासँग समय बिताउने 

बालबालिकासँग एक्लै समय बिताउनु रमाईलो हुनसक्छ - र  यसको लागि कुनै खर्च पनि लाग्दैन ! " तपाईंले उनीहरूको शैलीको नक्कल गर्न वा भाँडाकुटी खेल्न वा सँगै गीत गाउन सक्नुहुन्छ, " प्राध्यापक क्लभरको भनाई रहेको छ। " एउटा गजबको अनुसन्धानले के भन्छ भने तपाईं बालबालिकासँग खेल्नुभयो भने उनीहरूको मस्तिष्कको विकास थप राम्रो हुन्छ।"

ठुला बालबालिकासँग समय बिताउने 

साना बालबालिकाले जस्तै किशोर उमेरका बालबालिकाले पनि आफ्नो तारिफ सुन्ने र आफुलाई अरूले राम्रो मानिदिउन् भन्ने चाहना राख्छन्। "उनीहरूको नजिक रहेर नाचिदिनुभयो वा उनीहरूका प्रिय गायकको बारेमा कुरा गरिदिनुभयो भने एकदमै मन पराउँछन्। " प्राध्यापक क्लभर भन्नुहुन्छ। "उनीहरूले यो कुरा सधैं नदेखाउन सक्छन्, तर खुसी हुन्छन्। र, उनीहरूकै शैलीमा सम्बन्ध बनाउनको लागि यो एउटा प्रभावकारी तरीका हो। 

अपेक्षाहरू तय गर्ने क्रममा "केहि नियम बनाउनको लागि उनीहरूको सहयोग माग्नुहोस्" भन्दै प्राध्यापक क्लभर भन्नुहुन्छ - " उनीहरूसँग बसेर छलफल गरि घरमा के काम गर्न हुने र के गर्न नहुने भन्ने बारेमा नियम बनाउनुहोस्। अस्वीकार्य व्यवहारको परिणाम के हुन्छ भन्ने बारेमा निर्णय गर्न समेत उनीहरूले सहयोग गर्न सक्छन्। यो प्रक्रियामा सहभागी भएपछि उनीहरूले आफु अब स्वतन्त्र र परिपक्व हुँदै गएको कुरा बुझ्छन्। 

कोभिड-१९ महामारीको समयमा अभिभावकको लागि सुझावहरू

महामारीको कारणले परिवारहरूमा तीव्र एवं ठुला परिवर्तनहरू आएका छन् जसको केन्द्रबिन्दुमा अभिभावक नै छन्। यी जटिल दिनहरूको साथै अन्य तनावपूर्ण समयको व्यवस्थापनका लागि अभिभावकका लागि केहि सुझावहरू यसप्रकार छन्:

This image shows a man breathing in and out
UNICEF Nepal/2020/BTulachan

१. रोकिनुहोस 

बालबालिकाले अप्ठ्यारो व्यवहार देखाएको बेला हामीलाई कति तनाव हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ। यस्तो समयमा वर्तमानमा रहनु वा एक कदम पछाडि फर्किनु एउटा साधारण तर उपयोगी जुक्ति हो। प्राध्यापक क्लभरले यसलाई "रोकिने बटन थिच्ने" भन्नुहुन्छ। "पाँच पटक गहिरो श्वास लिनुभयो भने अब आफु शान्त र सजग भएको महसुस गर्नुहुन्छ। संसारभरिकै अभिभावकहरूले रोकिने विधि अत्यन्तै सहयोगी सिद्व भएको बताएका छन्।" 

२. एक कदम पछि चाल्नुहोस् 

धेरै जसो अवस्थामा अभिभावकले आफ्नो ख्याल राख्न बिर्सिन्छन् भन्दै प्राध्यापक क्लभर भन्नुहुन्छ- "आफ्नो लागि पनि केहि समय लिनुहोस्, जस्तै बालबालिका सुतेको समयमा तपाईंलाई खुसी र शान्त राख्ने केहि क्रियाकलाप गर्नुहोस्।  कुनै पनि विश्राम नलिइकन बालबालिकाको लागि काम गरिरहँदा सबै काम उत्कृष्ट रूपमा सम्पन्न गर्नु एकदमै चुनौतीपूर्ण हुन्छ। 

३. आफ्नो तारिफ गर्नुहोस् 

अभिभावकको रुपमा तपाईंले हरेक दिन गर्ने आश्चर्यजनक क्रियाकलापहरू भुल्न सजिलो छ र त्यसको श्रेय तपाईंले आफैलाई दिनुपर्छ भन्दै प्राध्यापक क्लभर थप बताउनुहुन्छ - हरेक दिन बेलुकी आफैले आफैलाई सोध्नुहोस् : 'मेरा बालबालिकासँग आज गरेको सबैभन्दा राम्रो काम के गरें ?' र आफुले निकै राम्रो काम गरें भन्ने कुरा थाहा पाउनुहोस्। 

"तपाईं एक्लो पक्कै पनि हुनुहुन्न," उहाँ भन्नुहुन्छ। " संसार भरिका करोडौं मानिसहरूले कोशिष गरिरहेका छन् र कहिलेकाहिं असफल पनि भईन्छ र त्यसपछि फेरि पनि कोशिष गरिन्छ। हामी सबै मिलेर यो महामारीको सामना गर्नेछौं।"

This image shows an illustration of a mother and father relaxing
UNICEF Nepal/2020/BTulachan
This image shows an illustration of a father and daughter embracing

सकारात्मक अभिभावकत्वतर्फ

अभिभावक र बालबालिकाबीचको सम्बन्ध कसरी सुमधुर बनाउने?