कोभिड-१९ को खोप र कोभ्याक्स

कोभिड-१९ को खोप कसरी विकास भइरहेको छ?

UNICEF
This image shows a batch of vaccines ready to be transported
UNICEF/UN0402667/Reddy

कोभिड-१९ को महामारीलाई नियन्त्रण गर्नका लागि प्रभावकारी परीक्षण र अन्य रोकथामका उपायहरूसँगै यसविरूद्धको खोप पनि एक प्रमुख उपाय हो ।

संसारभर नै विभिन्न खोप कम्पनीहरूले खोप उत्पादनका लागि काम गरिरहेका छन् र ती खोपहरू क्लिनिकल ट्रायलको विभिन्न चरणमा पुगेका छन् । फाइजर/बायोएनटेक, मोडर्ना र अक्सफोर्ड-अस्ट्राजेनेका खोपहरूलाई विभिन्न देशका नियमन निकायहरूले प्रयोगका लागि अनुमति दिइसकेका छन् ।

कोभिड-१९ खोपका बारेमा भएका केही साझा प्रश्नहरूको जवाफ तल दिइएको छ ।

🔵 कोभिड-१९ को खोप कहिलेसम्म तयार हुन्छ?

सुरक्षित र प्रभावकारी खोपको विकासका लागि समय लाग्छ । तर अनुसन्धान र विकाससँगै विश्वव्यापी सहायतामा अतुलनीय लगानीका कारण, वैज्ञानिकहरूले कोभिड-१९ विरूद्धको खोप विकासमा छलाङ मारेका छन् ।

३१ डिसेम्बर २०२० मा विश्व स्वास्थ्य संगठनले फाइडर/बायोएनटेक कोभिड-१९ एमआरएनए भ्याक्सिन (BNT162b2) लाई आपतकालीन प्रयोगका लागि सूचीकृत गरेको थियो । यो एक वर्षअघि शुरू भएको कोभिड-१९ महामारीका विरूद्ध विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि सूचीकृत गरेको पहिलो खोप बन्यो ।

यसका अतिरिक्त अहिले २०० भन्दा धेरै खोपहरू विकासका क्रममा छन् र तीमध्ये धेरैको क्लिनिकल ट्रायल भइरहेको छ । यीमध्ये केही खोपहरू फेज ३ को क्लिनिकल ट्रायलमा छन् जुन खोप स्विकृत हुनुभन्दा अगाडि गरिने अन्तिम चरण हो । 

खोप विकास गर्नु, इजाजत वा अनुमति प्राप्त गर्नु, ठूलो मात्रामा खोपको उत्पादन गर्नु र त्यसको व्यापक प्रयोग हुनु, यो सबै धेरै समय लाग्ने प्रक्रिया हो । जब खोपले आवश्यक स्विकृति प्राप्त गर्छ, यो समतामूलक रूपमा समयमै मानिसहरूको पहुँचमा पुग्नु अत्यावश्यक हुन्छ । यसलाई सुनिश्चित गर्नका लागि युनिसेफ र यसका साझेदारहरूले काम गर्दछन् । 

युनिसेफले संसारको सबैभन्दा ठूलो खोपको खरीदकर्ताको रूपमा यसको अद्वितीय अनुभवलाई पाहो रिभल्भिङ फन्ड र कोभिड-१९ भ्याक्सिन ग्लोबल एक्सेस फसिलिटी (कोभ्याक्स फसिलिटीसँग सहकार्य गरी खोपको विषयमा संसारको सबैभन्दा ठूलो र चाँडो खरीद र आपुर्तिलाई  विस्तार गर्नेछ । 

🔵 कोभिड-१९ को खोप कसरी विकास भइरहेको छ?

खोपहरूले रोग लगाउन सक्ने भाइरस, ब्याक्टेरिया वा अन्य माइक्रोअर्गनिज्मजस्ता संक्रामक एजेन्टको नक्कल गरी प्रतिरक्षाको काम गर्दछन् । यिनीहरूले हाम्रो प्रतिरक्षा प्रणालीलाई द्रुत तथा प्रभावकारी रूपमा यी एजेन्टहरूको विरूद्धमा लड्नका लागि सिकाउँछन् । 

परम्परागत रूपमा, खोपहरू शरीरको प्रतिरक्षा प्रणालीलाई सम्झाउन सक्ने गरी कुनै संक्रामक एजेन्टको कमजोर रूपलाई प्रयोग गरेर बनाइन्थ्यो । यसरी, हाम्रो प्रतिरक्षा प्रणालीले हामीलाई विरामी बनाउनुअघि नै त्यो एजेन्टलाई तत्काल चिनेर त्यसका विरूद्ध लड्न सक्छ । कोभिड-१९ को खोप विकास गरिरहेका कतिपय उत्पादकहरूले अहिले यसरी नै खोप बनाइरहेका छन् ।

अन्य सम्भावित खोपहरूले नयाँ पद्धतिको प्रयोग गरेका छन् जसलाई आरएनए र डीएनए खोप भनिन्छ । कोभिड-१९ खोपको विकासका बारेमा थप जानकारीका लागि, कृपया विश्व स्वास्थ्य संगठन र सेपीको वेवसाइटमा जानुहोस् ।

 

 

This image shows an illustration of a syringe

🔵 के कोरोनाभाइरसविरूद्धको खोप सुरक्षित हुनेछ?

खोपको व्यापक प्रयोग गर्नुअघि हरेक देशको नियमन निकायले यसको सुरक्षा र प्रभावकारिताको जाँच गर्दछन् । विश्वव्यापी रूपमा, विश्व स्वास्थ्य संगठनले खोपहरू प्रयोग गर्नुअघि वा गरिसकेपछि पनि तिनीहरूको सुरक्षाको बारेमा समीक्षा गर्नका लागि विभिन्न स्वतन्त्र निकायहरूसँग संयोजन गर्दछ । विश्व स्वास्थ्य संगठनले प्रयोगका लागि स्विकृति दिएका खोपहरूले सुरक्षित भएको र रोगको नियन्त्रणमा प्रभावकारी भएको प्रमाणित गर्नका लागि विभिन्न परीक्षण र क्लिनिकल ट्रायलहरू पुरा गर्दछन् । कोभिड-१९ खोपहरू चाँडोभन्दा चाँडो विकास भइरहेको भएपनि उनीहरूले कडा सुरक्षा र प्रभावकारिताको मापदण्ड पुरा गरेपछि मात्र आवश्यक स्विकृति प्राप्त गर्न सक्छन् ।

युनिसेफले बालबालिका र उनीहरूको परिवारलाई सुरक्षालाई उच्च प्राथमिकतामा राख्दछ र यसमा सुरक्षित खोप मात्र प्रदान गर्ने विषय पनि समावेश हुन्छ ।

🔵 कोभ्याक्स के हो?

एक्सेस टु कोभिड-१९ टुल्स (एक्ट) एक्सेलेरेटर कोभिड-१९ को परीक्षण, उपचार र खोपको विकास, उत्पादन र समतामूलक पहुँचलाई गति दिने विश्वव्यापी सहकार्य हो । कोभ्यास, एक्ट एक्सेलेरेटरको खोपसम्वन्धी खम्बाले कोभिड-१९ खोपहरूको विकास र निर्माणलाई गति दिने र विश्वका सबै देशहरूमा स्वच्छ र समतामूलक पहुँच सुनिश्चित गर्ने लक्ष्य राख्दछ ।

कोभ्याक्स फसिलिटीको भूमिका सबैभन्दा उपयुक्त खोप उत्पादनको पहिचान गर्नका लागि निरन्तर कोभिड-१९ खोपको विकासलाई नियाल्नु हो । यो फसिलिटीले उत्पादकहरूसँग उनीहरूको खोपले नियमन निकायको स्विकृति पाउनुअघि उत्पादन विस्तार गर्नका लागि प्रोत्साहन दिनका लागि काम गर्दछ । 

खोप निर्माताहरूले खोप स्विकृति प्राप्त नगर्दासम्म हुने ठूलो लगानीको जोखिन लिन नचाहने भएकाले यस्तो गरिएको हो । तर अहिलेको महामारीमा, खोपहरूले अनुमति प्राप्त गरेपछि ढिलाई र खोपको अभाव हुन सक्ने भएकाले पनि यसो गरिएको हो । 

कोभ्याक्स को बारेमा थप जानकारीका लागि यहाँ जानुहोस् ।

 

🔵 मैले र मेरो परिवारले कोभिड-१९ को खोप प्राप्त नगर्दासम्म यसबाट कसरी जोगिन सकिन्छ?

कोभिड-१९ को संक्रमणबाट जोगिन तपाईं र तपाईंको परिवारले यी उपायहरूको पालना गर्नुपर्दछः

  • साबुनपानीको प्रयोग गरी बारम्बार हात धुनुहोस् वा अल्कोहलमा आधारित स्यानिटाइजरको प्रयोग गर्नुहोस्
  • अरू व्यक्तिबाट कम्तीमा १ मिटरको दूरी राख्नुहोस्
  • यदि तपाईं वा तपाईंको बालबालिकालाई ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने वा कोभिड-१९ को अरू कुनै लक्षण देखिएमा तत्काल उपचार गराउनुहोस्
  • भीडभाड, साँघुरो वा हावाको आवतजावत नहुने स्थानहरूबाट टाढै रहनुहोस् र सार्वजनिक स्थानमा मानिसहरूबाट कम्तीमा १ मिटरको दूरी कायम गर्नुहोस्
  • सार्वजनिक स्थानमा रहँदा मास्क लगाउनुहोस् कपडाको मास्कलाई नियमित रूपमा साबुनपानीले धुनुहोस्
  • भित्रका सबै स्थानहरूमा हावा आवतजावत भएको सुनिश्चित गर्नुहोस्

 

यी सामग्रीहरू २० जनवरी २०२१ (७ माघ २०७७) मा अद्यावधिक गरिएको हो ।