कोभिड-१९ को प्रकोप बढ्दै गइरहेको अवस्थामा कामकाजी परिवारलाई थप सहयोगको खाँचो – युनिसेफ, अंतरराष्ट्रीय श्रम संगठन तथा युएन वुमन

व्यवसायीहरूलाई लक्षित गर्दै हालै जारी गरिएको सुझावले अहिलेको प्रकोपको अवस्थामा कामकाजी परिवारहरूलाई उपयुक्त सहयोग पुर्‍याउन रोजगारदाताहरूलाई सघाउने उद्देश्य राखेको छ

01 अप्रिल 2020
This image shows a family - a father, mother and three children in front o their home
UNICEF Nepal

कोभिड-१९को सन्दर्भमा युनिसेफ, अंतरराष्ट्रीय श्रम संगठन तथा युएन वुमन द्वारा विकसित परिवारमैत्री नीति तथा असल कार्यकक्षका अभ्यासहरू सम्बन्धी प्राविधिक नोट यहाँ प्राप्त गर्नुहोस्।

न्युयोर्क / काठमाडौं, १ अप्रिल २०२० - हालै युनिसेफ, अंतरराष्ट्रीय श्रम संगठन तथा युएन वुमनद्वारा जारी सुझाव-पत्रमा कोभिड-१९ को तीव्र गतिमा विस्तार भइरहँदा बालबालिकामा पर्न सक्ने नकारात्मक असर न्युनीकरण गर्नका लागि कामकाजी परिवारहरूलाई सघाउनुपर्ने आवश्यकता औंल्याइएको छ। रोजगार गुम्नु, विद्यालय बन्द हुनु तथा बालबालिकाको हेरचाह गर्ने सुविधा उपलब्ध नहुनुका कारण विशेषगरी न्युन-आय भएका परिवारलाई सहयोगको खाँचो रहेको छ।

“गुमेको रोजगार, लम्बिएको तनाव तथा खस्कँदो मानसिक स्वास्थ्य जस्ता यस महामारीको प्रभाव आगामी धेरै वर्षहरूसम्म अनुभव गरिनेछ,” युनिसेफका प्रारम्भिक बालविकास बिभागका प्रमुख डा पिया रेबेलो ब्रिटोले बताउनुभयो। “अत्यन्तै जोखिममा रहेका बालबालिकालाई पर्याप्त सामाजिक सुरक्षा प्रणालीको अभावका कारण यस्ता महामारीबाट जोखिम झनै बढ्ने गर्दछ।“

नेपालको बहुआयामिक गरिबी सुचकांक २०१८ का अनुसार दस वर्ष मुनिका बालबालिका अति विपन्न उमेर समुहमा पर्छन् ।

“नेपालको सन्दर्भमा, विभिन्न सेवाहरूमा पहुँचका साथै हिंसा तथा शोषणको जोखिम जस्ता विविध सामाजिक तथा आर्थिक वञ्चितिकरणसँग बाल संरक्षण र विकासको सम्बन्ध रहेको छ। अति विपन्न तथा सीमान्तिकृत समुदायलाई कोभिड-१९ ले झनै जोखिम बढाउने आशंका गरिएको छ,” युनिसेफ नेपालकी प्रमुख एल्के विसले भन्नुभयो। “निजी तथा सरकारी क्षेत्रमा परिवार तथा बाल मैत्री रोजगारका अभ्यासहरूका साथै बदलिँदो हालको परिस्थितिसँग अनुकुलन गर्न सक्षम सामाजिक संरक्षण कार्यक्रमहरूले बालबालिका तथा तिनका परिवारलाई प्रकोप तथा महामारीका नकारात्मक असरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछन्”, उहाँले थप्नुभयो।

रोजगार तथा आय सुरक्षा, परिवारका सदस्यको हेरचाहका लागि तलबी विदा, काम गर्ने लचिलो समय तालिका तथा गुणस्तरीय बाल हेरचाह जस्ता परिवारमैत्री नीति तथा अभ्यासहरूले ठूलो भिन्नता पार्दछ। यस्ता प्रावधानहरूले श्रमिक/कर्मचारीलाई आफु र आफ्ना बालबालिकाको हेरचाह गर्न समय दिनुका साथै कार्यदक्षतामा बृद्धि गर्ने र सुरक्षाको प्रत्याभुति समेत दिने गर्दछन्।

“अधिकांश महिलाहरू न्युन आय भएका, असुरक्षित तथा अनौपचारिक रोजगारमा संलग्न हुने गरेका कारण कोभिड-१९को नकारात्मक आर्थिक असरले महिलालाई धेरै प्रभावित पार्ने तथ्य उजागर भइरहेको छ,” युएन वुमनकी नेपाल प्रमुख वेन्नी कुसुमाले बताउनुभयो। “संसारका धेरै भागमा विद्यमान घरपरिवार भित्रको लैंगिक भुमिकालाई पुन-परिभाषित गर्ने तथा परिवारका सबै सदस्य बीच हेरचाह तथा घरायसी कामको समान बितरण गर्ने चलन शुरु गर्न यो उत्तम अवसर पनि हो”, कुसुमाले थप्नुभयो।

राष्ट्रिय श्रम शक्ति सर्वेक्षण २०१७-१८ का अनुसार नेपालमा ९०.५ प्रतिशत महिला अनौपचारिक क्षेत्रमा कार्यरत छन्। स्वरोजगार, घरायसी कामदार, महिलाको नेतृत्व भएका घर परिवार तथा अस्थायी प्रकृतिका रोजगारमा संलग्न महिलाहरू विशेष जोखिमा रहन्छन्। बालबालिकाको हेरचाह गर्ने, परिवारका ज्येष्ठ सदस्य तथा बिरामीको हेरचाह गर्ने आदि जस्ता घर परिवार भित्रै पनि आय आर्जन नहुने हेरचाह तथा घरायसी कामको असन्तुलित भार महिलामाथि पर्ने गरेको छ।

सरकार तथा व्यवसायहरूले आय सुरक्षाका प्रावधानहरू अपनाउँदा विद्यमान दुविधाहरू सुल्झाउन सजिलो बनाउनुका साथै आय सुनिश्चित गर्ने र प्रभावित घरपरिवारलाई गरिबीतर्फ धकेलिनबाट जोगाउन सम्भव हुनेछ। यस प्रकारका सुविधा र प्रावधानहरू अनौपचारिक क्षेत्रमा समेत विस्तार गरिनुपर्दछ र साथसाथै महिलामाथिको असमान कार्यभारलाई समेत ध्यान दिईनुपर्दछ।

जोखिममा रहेका परिवारलाई विशेष ध्यान दिई सामाजिक सुरक्षाका कार्यक्रमहरुको सुदृढिकरण गर्न तथा आफ्ना कर्मचारीको आय तथा रोजगारीको निरन्तरता दिनुका साथै रोजगार गुमेकालाई वित्तिय सहयोग गर्नका लागि रोजगारदाताहरूलाई सघाउन पनि संयुक्त राष्ट्र संघीय निकायहरूले सरकारलाई आव्हान गरेका छन्।

“संकटका असरका वावजुद व्यवसायको निरन्तरता दिन र श्रमिक/कर्मचारी तथा तिनका परिवारलाई संकटका असरबाट जोगाउने उपायहरू निकाल्न सरकार, श्रमिक तथा रोजगारदाताहरू बीच तत्कालै छलफल र सम्झौता हुन जरूरी छ। लघु उद्यमहरू तथा विशेषगरी महिला उद्यमीहरूलाई तत्काल तथा दीर्घकालीन सहायताको आवश्यकता रहन्छ,” अंतरराष्ट्रीय श्रम संगठनको नेपाल स्थित कार्यालयका निर्देशक रिचर्ड हावर्डले भन्नुभयो। “कोभिड-१९ द्वारा सिर्जित हालको अवस्थाले यो र यो जस्तै भविष्यमा आइपर्ने अन्य संकटबाट श्रमिकहरूलाई जोगाउन विद्यमान सामाजिक संरक्षण प्रणालीलाई अनौपचारिक क्षेत्रलाई समेत समावेश गर्ने गरि विस्तार गर्न सक्षम सरकारी नीति तथा कार्यक्रमहरूको आवश्यकता रहेको स्पष्ट पारेको छ,” उहाँले थप्नुभयो।

“सरकार, श्रमिक तथा रोजगारदाताहरू तथा तिनका प्रतिनिधिहरूबीच संवाद र सहकार्य सम्मिलित सामाजिक छलफल हुनु जरुरी छ। आपसी विश्वास र विविध अनुभवहरूको आधारमा नै लागु गरिएका/गरिने कार्यक्रमहरूलाई प्रभावकारी तथा दिगो बनाउन सकिन्छ,” अंतरराष्ट्रीय श्रम संगठन अन्तर्गत रोजगारको वातावरण तथा समानता बिभागकी निर्देशक मेनुएला तोमेले बताउनुभयो।

कोभिड-१९ द्वारा सिर्जित नकारात्मक असरहरूको न्युनिकरण गर्न रोजगारदाता लक्षित प्रारम्भिक सुझावहरूमा निम्न सम्मिलित छन्:

  • व्यवसायको उत्थानशीलतामा सघाउने तथा कामदार र तिनका परिवारको अवस्था सुधार्नका लागि नीति निर्माणलाई गति दिन सरकारलाई प्रभाव पार्न सक्ने रोजगारदाता तथा व्यवसायी संघ संस्थाहरूबाट सल्लाह लिनुहोस्।
     
  • स्थानीय तथा राष्ट्रिय अधिकारीहरूद्वारा जारी गरिएका सुझाव तथा संचार सामाग्रीहरू संचार माध्यमबाट प्राप्त गर्नुहोस् र आफ्ना कर्मचारी/कार्यबलसम्म संप्रेषण गर्नुहोस्।
     
  • जस्तोसुकै प्रकारको रोजगार सम्झौता भएको भएतापनि विद्यमान नीतिहरूले आफ्ना कर्मचारीहरू तथा तिनका परिवारलाई पर्याप्त आड दिन सक्ने वा नसक्ने जाँच गर्नुहोस्।
     
  • लैंगिक प्रावधान तथा सीमान्तिकृत वा जोखिममा रहेका समुहहरूमा विशेष ध्यान दिनुहोस्। अनौपचारिक, अस्थायी, युवा तथा वृद्ध, प्रवासी, गर्भवती तथा स्तनपान गराईरहेका आमाहरू, एकल अभिभावक, स्वास्थ्य तथा हेरचाह कर्मीहरू र सेवा-सुविधा प्राप्त नगर्ने कर्मचारीहरूलगायत अन्य यसअन्तर्गत पर्दछन्।
     
  • सामाजिक संवाद, राष्ट्रिय श्रम ऐन तथा अन्तराष्ट्रिय श्रम सम्बन्धी मान्यताहरूका आधारमा नयाँ तथा विद्यमान नीतिहरू कार्यान्वयन गर्दा असल अभ्यासलाई अवलम्बन गर्नुहोस्। बिना भेदभाव सम्पूर्ण कर्मचारीहरूलाई समान रूपले सहायता/राहत कार्यक्रम लागु गर्नुहोस् र यी कार्यक्रमहरूको बारेमा सबैले जानकारी पाएको, राम्ररी बुझेको तथा सहज महशुस गरेको सुनिश्चित गर्नुहोस्।
     
  • उपयुक्त तालिमहरु दिनुका साथै सुचना संकलन र रिपोर्ट गर्ने विधिको सुरक्षा र गोपनीयता सुनिश्चित गर्दै कार्य क्षेत्रमा भेदभाव तथा सामाजिक उपेक्षाबाट कर्मचारीलाई सुरक्षित राख्नुहोस्।
     
  • आफ्ना जिम्मेवारीहरूलाई कहाँ र कसरी पुरा गर्ने बारे स्वतन्त्रता दिई कार्यालयमा परिवार मैत्री वातावरण सिर्जना गर्नुहोस्। कामको समयतालिका लचिलो बनाउन सम्भव नभएमा बालबालिकाको हेरचाहको सुविधा जस्ता अतिरिक्त सुविधाको सम्भावना विचार गर्नुहोस्। परिवारमैत्री वातावरण भएमा र सामाजिक सुरक्षा सुनिश्चित गरिएमा कर्मचारीहरू झनै उत्पादनशील र कार्यकुशल हुने गर्दछन्।
     
  • कोभिड-१९को परिवेशमा कामकाजी अभिभावकहरूलाई बालबालिका हेरचाहको लागि सुरक्षित तथा उपयुक्त सुविधा दिनुहोस्।
  • सबै भन्दा जोखिममा रहेका घरपरिवार बारे सुचना अध्यावधिक राख्नुहोस र सामाजिक सुरक्षा कार्यक्रममा उनीहरू सम्मिलित भएको सुनिश्चित गर्नुहोस्।
     
  • रोजगार सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रावधानहरूको सुदृढिकरण गरी रोजगारमा हुने जोखिमको रोकथाम र सम्बोधन गर्नुहोस्। रोजगार सुरक्षा तथा स्वास्थ्य र सरसफाई सम्बन्धी प्रावधानहरूका बारेमा मार्गनिर्देशन तथा आवश्यक तालीम दिनुहोस्।
     
  • कोभिड-१९ तथा सामान्य परिस्थितीमा समेत रोजगारमा हुने  भेदभाव, हिंसा तथा दुर्व्यवहार/उत्पीडनको रोकथाम गर्न आवश्यक प्रावधानहरू अवलम्बन गर्नुहोस्। सिमित परिधिमा रहनुपरेको र आवतजावतमा निषेध गरिएको कारण घरेलु हिंसाबा वृद्धि हुने सम्भावना देखिएको छ। मनोसामाजिक परामर्शको आवश्यकतापनि देखिएको छ।
     
  • ज्वरो, खोकि तथा सास फेर्न कठिनाई भएमा स्वास्थ्य सेवाको खोजि गर्न कर्मचारीलाई प्रोत्साहन दिनुहोस्।
     
  • कोभिड-१९को प्रकोपद्वारा सिर्जित तनाव व्यवस्थापन गर्न आफ्ना कर्मचारीलाई सहयोग गर्नुहोस्।
     
  • अंतरराष्ट्रीय श्रम संगठनको सामाजिक सुरक्षा सम्बन्धी न्युनतम मानकको सम्मेलन नम्बर १०२ (ILO Social Security (Minimum Standards) Convention No. 102) तथा सामाजिक संरक्षण सुझाव नम्बर २०२ (ILO Social Protection Floors Recommendation No. 202) सँग सम्बन्धित सरकारी प्रावधानहरू अवलम्बन गर्नुहोस्। व्यवसाय तथा संस्थाले कर्मचारीको स्वास्थ्य सेवामा सहुलियत, बेरोजगारी तथा असक्षमता सम्बन्धी बीमा आदिमा सुविधा दिनुका साथै यी सुविधाहरू अनौपचारीक क्षेत्रमा समेत विस्तार गर्न सकिनेछ।
  • सरकारले लागु गरेका सामाजिक संरक्षण कार्यक्रमहरूमा सहभागी हुन कर्मचारीहरूलाई प्रोत्साहन गर्नुहोस् र आवश्यक सहयोग गर्नुहोस्।
     
  • संक्रमणको फैलिंदो दर, आर्थिक असर, हेरचाहको भार, तथा लैंगिक हिंसा र दुर्व्यवहार सम्बन्धी लैंगिक दृष्टिकोणबाट सुचना संकलन र संप्रेषण गर्नुहोस्।
     
  • व्यापार व्यवसायका लागि भविष्यमा सक्षम जनशक्तिको उत्पादन हुने भएकोले परिवार मैत्री नीतिमा  लगानी गर्नु भविष्यको लागि लगानी हो।

मिडिया सम्पर्कहरू

जर्जिना थम्पसन

युनिसेफ मुख्यालय

सम्पर्क: +१ ९१७ २६५ ४५२४

तानिया धाख्वा

प्रमुख, सञ्चार शाखा

युनिसेफ नेपाल

सम्पर्क: 977-9801244524

युनिसेफको बारेमा

अत्यन्त संवेदनशील र वहिष्कृत बालबालिकासम्म पुग्नकालागि युनिसेफले संसारकै अत्यन्तै कठिन क्षेत्रहरूमा काम गर्दछ। हरेक स्थानमा, हरेक बालबालिकाको हक हित र सबैको लागि सुन्दर भविष्य निर्माण गर्न संसारका १९० देश र भूभागहरूमा हामी कार्यरत छौं।  युनिसेफ र बालबालिकाका लागि युनिसेफले गरेका कामहरुको बारेमा थप जानकारीका लागि हाम्रो वेबसाईट www.unicef.org मा जानुहोस।

युनिसेफको ट्विटर तथा फेसबुकमा पनि सम्पर्कमा रहनुहोस।