खानेपानी तथा सरसफाइ
सफा खानेपानीको सुविधा सुनिश्चित गर्न तथा खुला दिसाको उन्मुलन गर्न हामी कार्यरत छौं।
- English
- नेपाली
चुनौती
बालबालिकाको जीवनरक्षा र विकासका लागि सफा खानेपानी, आधारभूत शौचालय तथा उपयुक्त सरसफाइका बानीहरूअत्यन्तै महत्वपूर्ण छन्। यी आधारभूत सेवाविना लाखौं बालबालिकाको जीवन जोखिममा रहेको हुन्छ। खानेपानी तथा सरसफाइजन्य रोगहरू पाँच वर्ष मुनिका बालबालिकाहरूको मृत्युको मुख्य कारणहरू मध्येको एक हो।
“नेपालको १ करोड ८ लाख जनसंख्यासँग उपयुक्त सरसफाइको सुविधा उपलब्ध छैन, र ३५ लाखसँग आधारभूत खानेपानीको सुविधा उपलब्ध छैन।”
गरिबी, कठिन भुबनोट र द्वन्द्वजस्ता चुनौतीहरू हुँदाहुँदै पनि खानेपानी तथा सरसफाइको सुविधा विस्तारमा नेपालले विगतका केहि दशकहरुमा उल्लेखनीय प्रगति हासिल गरेको छ। सन् १९९० मा ४६ प्रतिशत घरधुरीसँग खानेपानीको सुविधा रहेकोमा हाल ९५ प्रतिशतसम्म खानेपानीको पहुँच छ। त्यसैगरी सन् १९९० मा ६ प्रतिशतबाट वृद्धि भई हाल ६२ प्रतिशतसँग सरसफाइको सुविधा उपलब्ध छ। तथापी निम्न चुनौतीहरू अझै बाँकी नै छन्:
खानेपानीको गुणस्तर र वितरण प्रणाली भने कमजोर रहेको छ। उपलब्ध तथ्यांकअनुसार, सबै खानेपानीका श्रोतहरू मध्ये सम्पूर्ण जनसंख्याले प्रयोग गर्ने मध्ये ७१% र विपन्न समुदायले प्रयोग गर्ने मध्ये ९१% खानेपानीमा इकोली ब्याक्टेरिया पाईएको छ।
खानेपानी वितरण लाइनहरू मध्ये २५% मात्र पूर्ण रुपमा काम गर्ने अवस्थामा रहेको र ४०% लाई ठुलो मर्मतको आवश्यकता रहेको छ।
नेपाल जनसांख्यिकी तथा स्वास्थ्य सर्वेक्षणका अनुसार, १६% जनसंख्याले अझै खुला रुपमा दिसा गर्ने गरेको पाईन्छ।
२०% सरकारी विद्यालयहरूमा सुधारिएको खानेपानी तथा सरसफाइको सुविधा उपलब्ध छैन, साथै थप १९% मा पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालय तथा महिनावारी सम्बन्धी सरसफाइको सुविधा नरहेको तथ्यांक छ।
समाधान
युनिसेफको सरसफाइ सम्बन्धी कार्यक्रम खानेपानी मन्त्रालयद्वारा लागु गरिने सरसफाइ क्षेत्र विकास योजना (सन् २०१६-२०३०) बाट मार्ग निर्देशित छ। युनिसेफको खानेपानी तथा सरसफाइ विभाग नेपालको खानेपानी तथा सरसफाइका सेवाहरूका साथै आधारभूत सरसफाइका अभ्यासहरू सुधार्न कार्यरत छ। हामी निम्नलिखित क्षेत्रमा कार्य गर्दछौं:
- अन्तरक्षेत्रीय सहकार्य मार्फत विद्यालय र स्वास्थ्य संस्थाहरुमा सुरक्षित खानेपानीको सुविधामा सुधार ल्याउने।
- सरसफाइको सामाजिक अभियान तथा पूर्ण सरसफाइको अभियानलाई बृहत बनाउने।
- सरसफाइको सुधारिएको अभ्यासलाई प्रवर्धन गर्न तथा सरसफाइको बजार निर्माण निजी क्षेत्रलाई सम्मिलित गर्ने।
- स्वास्थ्य संस्था, प्रारम्भिक बाल विकास केन्द्र तथा विद्यालयहरूमा लैंगिक तथा अपांगमैत्री सरसफाइका सुविधाहरुका लागि पैरवी गर्ने।
- आमसंचार तथा सामाजिक सञ्जालको प्रयोग गरी महिनावारी सहित समग्र सरसफाइको अभ्यासका उत्तम तरिकाहरू बारे चेतना फैलाउने।
- खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्ने।
- खानेपानीको सुविधाबाट बञ्चित जनसंख्यासम्म खानेपानी पुगेको सुनिश्चित गर्ने रणनीतिको विकास गर्ने, तथा खानेपानी वितरण प्रणालीको उपयोगिता, वितरण क्षेत्र, दिगोपन र विश्वसनीयतालाई सुदृढिकरण गर्ने।
- खानेपानी तथा सरसफाइ सम्बन्धी नयाँ कानून निर्माण गर्न र सरसफाइका सुविधाको पहुँचमा लैंगिक समानता र सामाजिक समावेशिता प्रवर्धन गर्ने नीतिमा परिमार्जन गर्न नेपाल सरकारलाई सहयोग गर्ने।
- खानेपानी तथा सरसफाइ सम्बन्धी विद्यमान नीतिहरुमा विपद् जोखिम न्युनिकरण र जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम समावेश गर्ने र आवश्यक तयारी गर्नका लागि सहयोग गर्ने।