प्याड म्यान
महिनावारी स्वाथ्य सम्बन्धी एक अभियान्ताको कथा
- English
- नेपाली
अछामका विवेक तिमिल्सीना महिनावारी स्वाथ्य सम्बन्धी अभियान्ता बनेका छन् ।
अछाममा युनिसेफको सहयोगमा सञ्चालित रुपान्तरण कार्यक्रम अन्तर्गत सम-शिक्षक (peer educator) विवेक तिमिल्सिना (दायाँ) ले कमलबजारमा केहि सम्भावित सम-शिक्षकहरुलाई भेला पारेका छन् र उनीहरुलाई स्थानीय सामाग्रीहरुबाट पुन प्रयोग गर्न मिल्ने स्यानीटरी प्याड कसरी बनाउन सकिन्छ भनेर देखाउंदै छन्। एक पुरुष भएर प्रजनन स्वास्थ्यको बारेमा महिलासंग छलफल गर्दा कस्तो महशुस गर्नुहुन्छ? भनेर सोध्दा विवेक भन्छन्: “यो अलिक संवेदनशील विषय हो भन्ने मलाई थाहा छ तर जीवनमा एक न एक दिन हामीले यसबारे कुरा गर्नैपर्ने हुन्छ नि, हैन र?”
स्यानीटरी प्याड बनाउन के के चाहिन्छ: आधा मिटर कपडा, कैंची, टाँक, कलम, सियो-धागो, र दुई प्रति कागजको निर्देशिका। यसलाई घरमै बनाउनुको कारण बजारमा पाईने यी सामाग्रीहरु निकै महंगा छन् र तिनलाई पुन प्रयोग गर्न सकिदैन, जबकि यी घरेलु प्याडहरुलाई पुन प्रयोग गर्न सकिन्छ।
“शुरुमा निर्देशिकामा भएअनुसार काट्नुपर्ने ठाउंमा चिन्ह लगाउनुपर्छ”, विवेक बताउंछन्। “त्यसपछि त्यस चिन्ह भन्दा आधा सेन्टिमिटरको दुरीमा कपडालाई काट्ने”। त्यसरी अतिरिक्त ठाउँ छोड्नाले पछि चिन्ह लगाएको घेरामै सिलाउन सकिन्छ।
१७ वर्षीय सम-शिक्षक मनिषा जैसीले प्याडको माथिल्लो भागलाई आकार दिनको लागि चिन्ह लगाएको घेरामा ध्यानपूर्वक कैंचीले काट्छिन्। “विवेकले जस्तै सबै पुरुषहरुले प्याड बनाउन सिकेको भए र आफ्नो परिवारमा महिलाहरुसंग स्वास्थ्य समस्याहरुको बारेमा कुरा गर्ने गरेको भए महिनावारी यति जटिल समस्या बन्ने थिएन”, मनिषा भन्छिन्।
किशोरीहरु मात्रै हैन, केटाहरुपनि यो सब सिक्न उत्सुक छन्। १५ वर्षीय पदम रावत (दायाँ) कमलबजार क्षेत्रमा रुपान्तरण कार्यक्रमका सहभागी हुन्। “मेरो गाउँका महिलाहरुलाई सिकाउनमा म कत्तिको सफल हुनेछु थाहा छैन तर म कोशिस गर्न चाहन्छु”, पदम भन्छन्।
प्याडका दुई भागहरुलाई एक अर्कामा जोडेर सिलाएपछि स्टिलका दुईवटा टाँकहरुलाई सिलाईन्छ। “त्यसपछि हामी यसभित्र कपडाका साना टुक्राहरु हाल्छौ ताकि यसले रगत सोस्न सकोस”, मनिषा भन्छिन्।
यि दुई वटा प्रयोग गर्न तयार स्यानीटरी प्याडहरु हुन्। एउटा बनाउनका लागि ३० मिनेट समय लाग्छ र यसलाई ४ पटक सम्म पुन प्रयोग गर्न सकिन्छ। अब यसलाई प्रयोग गर्न हुदैन भनेर कसरी थाहा पाउने? भनि मनिषालाई सोध्दा उनी भन्छिन: “जब यसको कपडा मक्किएको जस्तो देखिन्छ र छालामा बिझाउन थाल्छ, त्यसपछि यसको प्रयोग बन्द गर्नुपर्दछ।”
बनाई सकेर तयार भएका प्याड सहित फोटो खिचाउंदै विवेक, शारदाई जैसी, बिमला अधिकारी, बिमला रावत, मनिषा, र पदम।
आफ्नो स्यानिटरी प्याडलाई घरमा सुकाउँदै मनिषा। पहिले उनी घरमा भेटिएको जुनसुकै पुरानो कपडा प्रयोग गर्थिन् तर अहिले उनी यो प्याड प्रयोग गर्ने कसम खान्छिन्। “किशोरीहरुका लागि यो निकै उपयोगी छ”, उनी भन्छिन्, “अहिले हामी विद्यालयमा ढुक्क भएर बस्न सक्छौं”।
मनिषाकी काकी २९ वर्षीय पबित्रा जैसी र अन्य महिला मनिषाले बनाउन सिकाएको स्यानीटरी प्याडका साथ फोटो खिचाउदै। यो प्याडले सबै रगत सोस्ने र लगाएका कपडामा दाग नलाग्ने भनेर जानेपछि पवित्रा भन्छिन, “अब देखि म लज्जित हुनुपर्ने छैन”।
नजिकैको सामुदायिक धाराबाट पानी भरेर घर तर्फ लाग्दै मनिषा। प्रचलित सामाजिक रीतिका कारण महिनावारी भएको बेला उनलाई यसरी धाराहरुको नजिक जान दिईदैन। “देख्नु भयो? यो व्यक्तिगत हैन समग्र समाजको समस्या हो”, उनी भन्छिन्।
आफ्नो घर अगाडी फोटो खिचाउंदै मनिषा जहाँ उनी आफ्नी काकी (दायाँ), हजुरआमा (बीच) र अन्य भाईबहिनीहरुसंग बस्छिन्। भविष्यमा नर्स बन्ने उद्देश्य राखेकी मनिषा विगत साढे दुई वर्षदेखि शुरुमा विद्यार्थी र अहिले सम-सिक्षकको रुपमा रुपान्तरण कार्यक्रमको हिस्सा हुन्। “सघाउनका लागि कोहि नभएका बिरामीहरुलाई देख्दा मलाई अत्यन्तै दुख लाग्छ”, उनी भन्छिन, “म नर्स बनेर गरीबहरु मध्येपनि सबैभन्दा गरीबहरुलाई सहयोग गर्न चाहन्छु”।