सुरक्षित पानीको महत्त्व

बालबालिकालाई सुरक्षित पिउन दिऔँ

नेपाल सरकार, युनिसेफ नेपाल
31 मे 2023

पानी बिनाको जीवन सम्भव हुँदैन । पानीले जीवनको रक्षा पनि गर्दछ । जन्मपछि ६ महिनासम्म शिशुलाई पानीको आपूर्ति आमाको दुधबाट नै हुन्छ । किनभने, आमाको दुधमा पौष्टिक तत्त्वबाहेक ८० प्रतिशत भन्दा बढी पानीको मात्रा हुन्छ ।

बालबालिकालाई ६ महिना पुगेपछि पूरक खाना र पानीको आवश्यकता हुन्छ । ६ महिनापछि पानीको आपूर्ति आमाको दुध, गाई–भैँसीको दुध, दाल आदिबाट हुने गर्दछ । यसको साथै उनीहरूको शरीरलाई आवश्यक पानी पनि पिउन दिनुपर्दछ ।

a mother helps a child drink water

सामान्यतः बालबालिकाको शरीरमा ६ महिनादेखि १ वर्षसम्म ७४ प्रतिशत, १ देखि १२ वर्षसम्म ६० प्रतिशत पानीको मात्रा हुन्छ । त्यसैले यसको सन्तुलन गर्न पनि पानी आवश्यक छ ।

पानीले शरीरको तापक्रमलाई सन्तुलन राख्न र शरीरको विभिन्न अङ्गहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ । शरीरका संवेदनशील अङ्गहरू, जस्तै मस्तिष्क, मुटु, फोक्सो, किड्नी, आँखाको सञ्चालनका लागि पनि पानीे आवश्यक हुन्छ ।

बालस्वास्थ्य विज्ञहरूकाअनुसार मौसमअनुसार एकदेखि पाँच वर्षका बालबालिकाले दिनमा ५ देखि ७ गिलास (एकदेखि साढे एक लिटर) पानी पिउनुपर्नेे हुन्छ । बिरामी र झाडापखाला लागेमा बढी झोल पदार्थ र पानी पिउन दिनुपर्दछ ।

बालबालिकालाई सुरक्षित पिउने पानी दिनुपर्छ । पानी नाङ्गो आँखाले हेर्दा सफा भएपनि दूषित हुन सक्छ । यसमा आँखाले नदेखिने हानिकारक जीवाणुहरू हुन सक्छन् । यी जीवाणुले शिशु, बालबालिकालाई छिट्टै र बढी असर गर्दछ । त्यसैले दूषित पानी पिउनु हुँदैन । विशेषगरी धमिलो, गन्ध आउने, रङ भएको पानी बढी दूषित हुन सक्छन् । दूषित पानीमा विषाणु, कीटाणु र परजीवीहरू, रसायन, मलमूत्र आदि मिसिएको हुन्छ । पानी पिउदाँ गर्दा यस्ता जीव र वस्तुहरूसमेत खाइन्छ । यसको असर आन्द्रा, रगत र अन्य अङ्गहरूमा पर्दछ ।

खानेपानीमा शरीरलाई हानि गर्ने विषाणु, कीटाणु र परजीवीहरू भए, पानीबाट सर्ने रोगहरू झाडापखाला, जुका, आउँ, टाइफाइड, जन्डिस, आदि हुन्छ भने, हानिकारक रसायन भए दीर्घकालमा छाला, फोक्सो तथा मुत्रासयको क्यान्सर समेत हुन सक्छ । 

अभिभावकले आफ्ना बालबालिकालाई धारा, कुवा, खोलाजस्तो पानीको स्रोतमा फोहोर फाल्न, दिसापिसाब गर्न नहुने कुरा सिकाउनुपर्दछ ।

पानी शुद्ध हुनु जति आवश्यक छ, यसको प्रयोग पनि सही तरिकाले पनि गर्नुपर्दछ । शिशु र बालबालिकालाई पानी खुवाउँदा, प्रयोग गर्नु अघि मिचिमिची साबुनपानीले हात धुने र खाने पिउने भाँडाकुँडा (कप, गिलास, चम्चा आदि) सफा गर्नुपर्दछ । बालबालिकालाई बालस्याहार केन्द्र, प्रारम्भिक बालविकास तथा शिक्षा वा बालविकास केन्द्र तथा विद्यालय पठाउँदा पनि सुरक्षित पानीको व्यवस्था भएको सुनिश्चित गर्नुपर्दछ ।


पानी शुद्धीकरण गर्ने उपाय  

हामीले पिउने पानीलाई विभिन्न तरिका अपनाएर शुद्ध गर्न सकिन्छ । केही तरिकाहरू निम्नानुसार छन् :
(क)    उमाल्ने: कम्तीमा तीन मिनेटसम्म पानी उमालेर सफा भाँडामा छोपेर राख्नुपर्दछ । पानी उमाल्दाखेरी जीवाणुहरू नष्ट हुन्छन् र पिउन योग्य हुन्छ ।
(ख)    फिल्टर: पानीलाई फिल्टर गर्न मिल्ने भाँडामा राखेर शुद्ध गरेर पिउन सकिन्छ ।
(ग)    क्लोरिन औषधी हालेर: बजारमा पाइने विभिन्न क्लोरिन औषधी  (जस्तै: पियूष, पियूर आदि) निर्देशनअनुसार प्रयोग गरेर शुद्ध गर्न सकिन्छ ।
(घ)    सोडिस: पानीलाई सफा पारदर्शी प्लाष्टिकको बोतलमा हाली चहकिलो घाममा राखी सौर्य उर्जा (बैजनीकिरण)द्वारा पानी शुद्धीकरण गर्ने विधिलाई सोडिस (Solar Disinfection: SODIS) विधि भनिन्छ । सोडिसका लागि निम्न विधि अपनाउनुपर्दछ:

  • केही सफा प्लाष्टिक बोतलहरूमा तीन चौथाइ पानी भर्ने र पानीमा प्रशस्त हावा (अक्सिजन) प्रवेश गराउन बोतलहरू हल्लाउनुपर्छ । यसले शुद्धीकरण प्रक्रियालाई सहयोग गर्छ । त्यसपछि बोतलहरूमा बाँकी पानी भर्ने र बिर्को लगाउनुपर्दछ ।
  • पानी धेरै धमिलो (बाक्लो) छ भने कफी फिल्टर वा सुती कपडालार्ई चारपटक दोबारेर पानी छान्नुपर्छ । सोडिस विधिले ज्यादै धमिलो (बाक्लो) पानीको उपचार राम्ररी नहुन सक्छ र बैजनीकिरणले यस्ता पानीमा हुने परजीवी तथा विषाणु नष्ट नहुन सक्छन् । 
  • यसपछि भरिएका बोतललाई कम्तीमा ६ घण्टासम्म सूर्यको प्रत्यक्ष प्रकाशमा राख्नुपर्छ । बोतललाई घामतिर ढल्काएर राख्नाले (घरको छतमा) वा घाममा राख्दा पानीको तापमान बढाउन मद्दत गर्ने हुनाले यो प्रक्रिया प्रभावकारी हुन्छ ।
  • चर्को घाम नलाग्ने वा बादल लागेको ठाउँमा पानीलाई शुद्ध पार्न दुई दिन लाग्न सक्छ ।
मौसमी अवस्था    न्यूनतम उपचार अवधि
घाम लागेको (५० प्रतिशतभन्दा कम बादलले ढाकेको)    ६ घण्टा
बादलले ढाकेको (५०–१०० प्रतिशत बादलले ढाकेको, वर्षा थोरै भएको र हुँदै नभएको)  २ दिन
निरन्तर वर्षा  पानी शुद्धीकरण नहुने हुँदा अर्कै तरिका प्रयोग गर्ने