साना बालबालिकाको गुणस्तरीय सिकाइका लागि आवश्यक भौतिक वातावरण

हाम्रा साना बालबालिकाको गुणस्तरीय सिकाइका लागि विद्यालयहरूमा कस्तो प्रकारको भौतिक वातावरण आवश्यक छ?

एली-नुरा हाइनो, शिक्षा अधिकृत र डा. दिपु शाक्य, शिक्षा विशेषज्ञ (प्रारम्भिक बालविकास), युनिसेफ
22 मार्च 2023

युनिसेफ नेपालले देशभरिका बालबालिकाको गुणस्तरीय सिकाइ अवसर सुनिश्चित गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । विशेषगरि सीमान्तकृत वर्गका बालबालिकाको गुणस्तरीय सिकाइ अवसर सुनिश्चित गर्न मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका स्थानीय सरकारसँग सहकार्य गरी विभिन्न सिकाइ परियोजनाहरू लागु गरिरहेको छ । यसै क्रममा विभिन्न प्रदेशका विद्यालयका पूर्व प्राथमिक कक्षा तथा प्रारम्भिक कक्षा (१-३) भ्रमणमा जाँदा, कुनैमा भौतिक पुर्वाधार नै नभएकोदेखि लिएर सामग्रीले भरिभराउ कक्षाकोठासम्म पनि हामीले देख्यौं ।

के यी भौतिक वातावरण हाम्रा साना बालबालिकाको गुणस्तरीय सिकाइका लागि उपयुक्त छन् त? अनुसन्धानहरूले के सुझाउँदो रहेछ हेरौं ।

बालबालिकाले खेल, क्रियाकलाप र सामाजिक अन्तरक्रियाबाट सिक्छन् । सिक्नको लागि बालबालिका उत्प्रेरित, संलग्न र सक्रिय हुनुपर्छ । कक्षाकोठाको वातावरणले पनि यी कुराहरूलाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ । खेल नै सिकाइको माध्यम भएको हुनाले विभिन्न प्रकारका खेल खेल्न सकिने सिकाइ वातावरण तयार गर्नुपर्ने हुन्छ । अनुसन्धानहरूको अनुसार सिकाइका लागि निम्न प्रकारको भौतिक वातावरण आवश्यक छः

This image shows an ECD classroom with teachers and students

(क) सफा र सुरक्षित वातावरण

बालबालिकाले सिक्नको लागि उनीहरूको आवश्यकता पुरा भएको हुनुपर्छ । सम्भव भएसम्म सिकाइ वातावरण सफा, सुरक्षित र आरामदायी हुनुपर्छ । बालबालिकालाई दैनिक क्रियाकलापहरू गर्नको लागि उचित ठाँउको व्यवस्था भएको हुनुपर्छ । सिक्नको लागि बालबालिकाले ध्यान केन्द्रित गर्न सक्नुपर्छ । हामीले सुरक्षित, तनावमुक्त र उत्सुकता जाग्ने वातावरणमा सिक्छौं । कक्षाकोठाको सजावट पनि यसै हिसाबले हुनुपर्छ ।

children and teachers cleaning up a classroom

सामान्यतः साना बालबालिकाको कक्षाकोठालाई रङ्गीन र छापामय बनाउनुपर्छ भन्ने धारणा रहेको हामीले पायौं । तर, विभिन्न अनुसन्धान अनुसार यस्ता दृश्यात्मक उत्प्रेरणाले भरिपूर्ण कक्षाकोठाले बालबालिकालाई ध्यानकेन्द्रिकरण गर्न गाह्रो बनाउने, कक्षाकोठामा भइरहेको क्रियाकलाप भन्दा फरक कुरामा उत्प्रेरित गर्ने र सिकाइ उपलब्धिमा ह्रास ल्याउने देखाएको छ । त्यसैले कक्षाकोठा सजाउँदा यी कुरालाई ध्यानमा राख्दै सिकाइमैत्री वातावरण बनाउनु पर्छ ।

बालबालिकालाई कक्षाकोठाको अपनत्व लिन लगाउनका लागि कक्षाकोठाका सम्बन्धित जिम्मेवारी लिन लगाउनु पर्छ । बालबालिकालाई पनि वयस्कलाई सहयोग गर्न र वास्तविक जीवन सम्बन्धित कार्यहरू गर्न मन पर्छ । त्यसैले दैनिक सरसफाइ कार्यक्रम जस्ता क्रियाकलापले बालबालिकालाई सक्रिय बनाउँछ ।

आफ्नो तथा कक्षाकोठाका सामग्रीको सामानको ख्याल राख्ने तथा सरसफाइ क्रियाकलापले बालबालिकालाई आधारभूत जीवनोपयोगी सिप पनि सिकाउँछ ।

(ख) भाषिक विकासको प्रवर्द्धन गर्ने वातावरण

प्रारम्भिक बालविकास उमेर (०-८ वर्षसम्म) भाषिक विकास उच्चतम हुने समय हो । यस अवधिको सिकाइ वातावरण यो कुरालाई ध्यानमा राखेर तयार गर्नुपर्ने हुन्छ । सर्वप्रथम, सिकाइ वातावरणमा सकेसम्म धेरै कोलाहल नभएको हुनु पर्छ । ठूला कक्षाकोठाहरूमा भएका फर्निचर तथा स्थानीय सामग्रीहरूको प्रयोग गरेर साना खण्डहरू पनि बनाउन सकिन्छ । ठूला कक्षाकोठामा आवाज थर्किने हुँदा भुँईमा कार्पेट बिछ्याएर यस्ता समस्या कम गर्न सकिन्छ ।

कक्षाकोठामा हुने क्रियाकलाप अनुसार सम्बन्धित चित्रहरू प्रयोग गरेर कक्षाकोठा भित्रको अन्तरक्रियालाई प्रवर्द्धन गर्न सकिन्छ । दैनिक जीवनमा प्रयोग हुने चित्र तथा संकेतहरू पत्रपत्रिकाबाट पनि लिन सकिएला । यी सबै चित्रहरू बालबालिकाको आँखाको तहमा रहेको सुनिश्चित गर्नुपर्ने हुन्छ ।

सञ्चार र भाषिक विकासका लागि महत्त्वपूर्ण कुरा भनेको प्रष्ट तथा बहुविधि जस्तै, बोलीचालीको भाषा, चित्र, आधारभूत संकेत, हाउभाउ, अभिनय वा नक्कलको प्रयोग पनि हो ।

children learning in class

(ग) मस्तिष्कलाई शान्त राख्न सहयोग गर्ने प्राकृतिक तत्त्व

children planting on a farm
SRanjit

साना बालबालिका विभिन्न किसिमको तनाव व्यवस्थापन गर्दै सिकिरहेका हुन्छन् । कुनै तनावले सिकाइमा सकारात्मक प्रभाव पारेको हुन्चन् भने कुनैले नकारात्मक । सिकाइ वातावरणमा रहेको प्राकृतिक तत्त्वले तनाव न्यूनीकरणमा सहयोग पुर्याउँछ । यसको लागि बाहिरी (प्राकृतिक) वातावरणमा रहने समय बढाउनुका साथै, कक्षाकोठामा प्राकृतिक कुराहरू सिकाइ सामग्रीमा प्रयोग गर्ने, सजाउनेदेखि लिएर हरियो र नीलो रङ्गको प्रयोग गर्नु पर्छ । सिकाइ वातावरणलाई उत्प्रेणात्मक बनाउनका लागि धेरै चहकिलो रङ्गहरूको प्रयोग गर्न नहुने कुरा अनुसन्धानले पनि पुष्टि गरेको छ । प्राकृतिक प्रकाशले बालबालिकालाई उत्प्रेरित र सकारात्मक बनाउँछ ।

प्रकृतिमा समय विताउँदा बालबालिकाको शारीरिक क्रियाकलाप बढ्छ ।

प्राकृतिक तत्त्व बालबालिकाका लागि खुला किसिमका खेलौना हुन्, जसले बालबालिकाको कल्पनाशक्तिको विकास गराउँछ । परम्परागत रुपमा कक्षाकोठा भित्र गरिने क्रियाकलापहरू बाहिरी क्रियाकलापको रुपमा पनि गर्न सकिन्छ । सकेसम्म सिकाइ सामग्रीहरू प्राकृतिक हुनु पर्छ ।

(घ) सक्रिय सहभागिता प्रवर्द्धन गर्ने वातावरण

बालबालिकाले विभिन्न क्रियाकलापहरु गरेर वा शारीरिक सक्रियता मार्फत सिक्छन् । त्यसैले सिकाइ वातावरण सक्रिय सहभागिता सुनिश्चित गर्ने हुनुपर्छ । बालबालिकालाई बाहिरी तथा खुला ठाँउमा पहुँच हुनुपर्छ । सिकाइ वातावरणमा ईन्द्रिय अङ्ग सञ्चालन विकास गर्नका लागि धेरै र  विभिन्न किसिमका सामग्री उपलब्ध हुनुपर्छ ।

children playing in the outdoors

बालबालिका उनीहरू रहेको वातावरणमा परिचित हुनुपर्छ र स्वतन्त्र रुपमा संलग्न वा सञ्चालित हुनुपर्छ । खेल तथा सिकाइ सामग्री सफा, सुरक्षित र बालबालिकाको पहुँचमा हुनुपर्छ । यसो गर्दा उनीहरू स्वतन्त्र रुपमा सिकाइमा स्वस्फूर्त संलग्न हुन सक्छन् र सिकाइ वातावरण प्रति उनीहरूको अपनत्व पनि जाग्छ ।     

गुणस्तरीय सिकाइ वातावरणको विशेषतामा लचकता र परिमार्जनशीलता पनि हो । यो भनेको बालबालिकाको सिकाइ आवश्यकता अनुसार शिक्षकले भएका ठाँउ, फर्निचर तथा सामग्रीहरूको प्रयोगमा लचकता ल्याउने क्षमता पनि भर पर्छ । साथै दिनभरी गरिने विभिन्न क्रियाकलापमा उपलब्ध ठाँउ तथा सामग्रीको उचित र परिमार्जनशील प्रयोग पनि आवश्यक हुन्छ । यसले बालबालिकालाई दैनिक रुपमा उत्साहित पनि बनाउँछ ।

उदाहरणका लागि केही देशहरुमा भएका फर्निचरलाई नै सुरक्षित रुपमा खेल्ने सामग्रीको रुपमा परिणत गरेको पाईन्छ । जस्तै, टेबललाई पर्दाको प्रयोग गरी पपेट प्रदर्शनी मन्चका रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो लचकता र परिमार्जनशीलताले बालबालिकामा सिर्जनशिलता र अभिव्यक्ति सिपको विकास हुन्छ । 

अन्तमा, नेपाल सरकारबाट पूर्व प्राथमिक कक्षाको हकमा राष्ट्रिय न्युनतम मापदण्ड (२०७५) र बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप (२०६७)का आधारमा प्राथमिकीकरण गरिएको न्युनतम मापदण्डका पक्षहरूमा लगानी गर्दै आएको छ । आउँदा दिनहरूमा यी मापदण्डहरूको कार्यान्वयन सँगसँगै सम्बन्धित सरोकारवालाहरु (अभिभावक, शिक्षक, प्रधानाध्यपक, व्यवस्थापन समिति, गैरसरकारी संस्था, तीनै तहका सरकार)ले बालबालिकाको सिकाइ सुनिश्चितताका लागि यी अनुसन्धानमा आधारित भौतिक वातावरण सम्बन्धी सचेतीकरण र व्यवस्थापन गर्नु आवश्यक छ ।