हिंसा र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा
प्रारम्भिक बाल्यावस्थामा भोगेका हिंसा र दुर्व्यवहारको असर जीवनभर रहिरहन्छ र बालबालिकाको सर्वाङ्गीण विकासमा हानि गर्छ
बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, भाषिक विकासमा गम्भीर नकारात्मक असर पर्ने खालका काम, व्यवहार, भाषाको प्रयोग गर्नुलाई हिंसा र दुर्व्यवहार मानिन्छ । यसबाट उनीहरूको जीवन, स्वास्थ्य, विकास तथा स्वाभिमानमा नकारात्मक असर पर्छ ।
प्रारम्भिक बाल्यावस्थामा भोगेका हिंसा र दुर्व्यवहारको असर जीवनभर रहिरहन्छ र बालबालिकाको सर्वाङ्गीण विकासमा हानि गर्छ ।
बालबालिकालाई हुन सक्ने हिंसा र दुर्व्यवहार
बालबालिका प्रति हुन सक्ने हिंसा र दुर्व्यवहारहरूलाई यसको प्रकृतिका आधारमा छुट्याएर हेर्न सकिन्छ । तर यी एक आपसमा सम्बन्धित हुन्छन् र एउटै घटनाबाट बालबालिका माथि विभिन्न प्रकारका दुर्व्यवहारभइरहेको हुनसक्दछ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:
शारीरिक दुर्व्यवहार: बालबालिका माथि कुनै पनि बहानामा कुनै पनि ढङ्गले शारीरिक क्षति पुग्ने
जस्तै: कुटपिट गर्ने, चिमोट्ने, कपाल तान्ने, एक खुट्टामा उभिन लगाउने, बाँध्ने, भित्तामा ठोक्काउने, घचेट्ने, पानी खन्याउने, पोलिदिने, तातोपानी खन्याउने, थुनेर राख्ने, घर निकाला गरिदिने, उमेर अमिल्दो कार्य गर्न लगाउने, खसाल्ने धम्की दिने, झट्कार्ने, हल्लाउने खालका दुर्व्यवहारलाई शारीरिक दुर्व्यवहारभनिन्छ ।
बेवास्ता र उपेक्षा: बालबालिकाको आधारभूत आवश्यकताबाट वञ्चित गराउने जस्तैः उमेरअनुसार, खाना नदिने, मौसमअनुसार वा सफा लुगा लाउन नदिने, बिरामी अवस्थामा उपचार नगर्ने आदि बालबालिकालाई बेवास्ता र उपेक्षा गर्ने क्रियाकलाप पनि हिंसा र दुर्व्यवहारमा पर्छ ।
शाब्दिक (मौखिक) दुर्व्यवहार: बालबालिकालाई सराप्नु, अपशब्द बोल्नु, नराम्रो नाम काढेर बोलाउनु, हीनताबोध गराउने, गाली, बेइज्जती गर्ने, जिस्काउनु जस्ता कुराहरू मौखिक दुर्व्यवहारभित्र पर्दछन् । जानेर नजानेर मौखिक दुर्व्यवहार भइरहेको हुन सक्दछ । कतिपय अवस्थामा यस्ता कुराहरूलाई हामीले सामान्य रूपमा लिइरहेका हुन्छौँ वा खासै वास्ता गरिएको हुँदैन । तर मौखिक रूपमा गरिएका दुर्व्यवहारले बालबालिकालाई मनोवैज्ञानिक असर परिरहेको हुन्छ ।
भावनात्मक तथा मानसिक दुर्व्यवहार: बालबालिकाको भावनामा चोट पुग्ने गरी अर्थात् बोलीचालीको भाषामा उसको मन दुख्ने गरी गरिने कुनै पनि क्रियाकलाप वा व्यवहारलाई भावनात्मक दुर्व्यवहार भन्न सकिन्छ । भावनात्मक दुर्व्यवहारले बालबालिकाको मानसिक स्वास्थ्य र सामाजिक विकासमा असर गर्दछ । जस्तैः बालबालिकालाई माया नदेखाउने, नबोल्ने, भावनामा चोट पुर्याउने, छोरा र छोरीको बिच भेदभाव गर्ने, सिकाइमा सहयोग नगर्ने, उत्प्रेरणा नगर्ने बालबालिकालाई विद्यालयमा भर्ना नगर्ने, खेल खेल्न नदिने, उपयुक्त खेल सामग्रीहरू नदिने आदि भावनात्मक तथा मानसिक दुर्व्यवहार हो ।
सजाय: बालबालिकालाई अनुशासनका नाममा घर वा विद्यालयमा माथिका क्रियाकलाप गर्नु सजाय हो ।
यौन हिंसा वा दुर्व्यवहार: कुनै वयस्क, पाको मानिस वा ठुलो बालबालिकाले अथवा आफू भन्दा केही शक्तिशाली व्यक्तिले बालबालिकामाथि यौन आशय झल्कने गरी गर्ने कुनै पनि कार्य तथा यौन आनन्दको निम्ति गरिएका छुवाइहरू वा सम्बन्धहरूलाई बाल यौन दुर्व्यवहार भनिन्छ । बालबालिकाको गोप्य अङ्गमा छुने वा वयस्कको गोप्य अङ्गमा छुन लगाउने तथा बालबालिकालाई बलात्कार गर्ने जस्ता क्रियाकलापलाई यौन हिंसा वा दुर्व्यवहार भनिन्छ ।
बालश्रम: बालबालिकालाई मानसिक, शारीरिक, सामाजिक तथा नैतिक रूपमा हानि पु¥याउने तथा शिक्षामा बाधा पुर्याउने जोखिमपूर्ण काम नै बालश्रम हो । जसले प्रचलित कानुनमा तोकिएको उमेरभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउने कार्यलाई जनाउँछ ।
बेचविखन तथा ओसारपसारः बालबालिकाको बेचविखन, अङ्ग तस्करी, श्रम शोषण तथा यौन क्रियाकलाप गराउने, आर्थिक फाइदाको प्रयोजनले धर्म सन्तान लिने र दिने, फिरौतीका लागि अपहरण गर्ने वा बन्धक बनाउने उद्देश्यले एकठाउँबाट अर्को ठाउँमा लैजाने कार्यहरू यस अन्तर्गत पर्दछन् ।
हिंसा र दुर्व्यवहारको असर
- गर्भवती अवस्थामा आमा प्रति गरिएको दुर्व्यवहारले शिशुको शारीरिक तथा मानसिक विकासमा प्रभाव पर्दछ ।
- बालबालिका त्रसित हुने, ओछ्यानमा पिसाब गर्ने, रिसाउने, जिद्दी गर्ने, हिंसात्मक रूपमा प्रस्तुत हुने, डाह गर्ने जस्ता नकारात्मक व्यवहार देखाउँछन् ।
- प्रारम्भिक बाल्यावस्थाका भोगाइहरू जीवनभरि मस्तिष्कमा रहिरहन्छ । यसले मस्तिष्ककोे न्युरोनहरूलाई क्षति गरी बालबालिकाको बौद्धिक सिपहरू कमजोर बनाउँछ र सिक्ने तथा सोच्ने क्षमतामा नकारात्मक असर गर्छ ।
- हिंसा, दुर्व्यवहारमा हुर्किएका बालबालिकाको व्यवहार माया, सद्भाव र हौसला पाएका बालबालिकाको व्यवहारभन्दा फरक हुन्छ । यस्ता बालबालिकामा हीनता भाव, बदलाको भाव, दुखीपन, डरत्रास, अन्तरमुखी, कम आत्मविश्वास र कमजोर मनोबल हुन्छ ।
- शारीरिक दुर्व्यवहारले बालबालिकाको शरीरका अङ्गहरू भाँच्चिने, आँखा फुट्ने, कान नसुन्ने जस्ता शारीरिक अपाङ्गता तथा मृत्युसमेत हुन सक्छ ।
- बालबालिका तथा अभिभावकको सम्बन्ध कमजोर हुने, बालबालिकाले विद्यालय छाड्ने, मानसिक समस्या समेत हुने संंभावना हुन्छ ।
अभिभावकको भूमिका
प्रारम्भिक बाल्यावस्थाका बालबालिकालाई जोखिम हुने हिंसा र दुर्व्यवहारलाई सामाजिक र कानुनी रूपमा सुरक्षा दिने जिम्मेवारी संरक्षक, बुबाआमा र अभिभावकको हो । कुनै पनि अभिभावक, शिक्षक, वयस्कले बालबालिकालाई उमेर, जात, भाषा, लिङ्ग, गरीबी, अपाङ्गता वा अरू कुनै पनि आधारमा हिंसा, दुर्व्यवहार, भेदभाव, बेवास्ता, अपमान गर्न र मानसिक तथा शारीरिक सजाय दिनु अपराध हो । यसका लागि कानुनतः सजायको पनि व्यवस्था छ ।
विभिन्न अध्ययनअनुसार बालबालिकालाई हिंसा र दुर्व्यवहार गर्ने व्यक्तिहरूमा धेरैजसो आफ्नै बुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा परिवारका अन्य सदस्यहरू वा विद्यालयका शिक्षक पर्दछन् । अनुशासनको नाममा बालबालिकाप्रति हिंसा र दुर्व्यवहार हुने गरेको छ । त्यसैले सर्वप्रथम अभिभावकले हिंसा र दुर्व्यवहारबाट हुने असर र सकारात्मक अनुशासनका तौरतरिका सिक्न जरुरी छ । यौन हिंसा तथादुर्व्यवहार पनि चिनजानकै व्यक्तिबाट धेरै हुने पाइएको छ । अभिभावकले बालबालिकाको संरक्षणको लागि बालबालिकालाई सधैँ आफ्नो निगरानीमा राख्नुपर्छ र बालबालिकालाई यौन हिंसा र दुर्व्यवहारबारे सिकाउनुपर्छ । बालबालिकाले आफ्नो समस्या बताउन सक्ने सम्बन्ध बनाउनुपर्छ ।
यसबाहेक बालबालिकाप्रतिको हिंसा र दुर्व्यवहार न्यूनीकरणका लागि निम्न कुरामा ख्याल गर्नुपर्दछ:
- आफ्नो रिस बालबालिकामा नपोख्ने, आफ्नो मानसिक स्वास्थ्य वा व्यवहारको पुनरावलोकन तथा नियन्त्रण गर्नुपर्छ ।
- आफूलाई रिस उठेमा नबोल्ने वा लामोलामो स्वास फेर्ने, १० सम्म गन्ती गर्ने, ध्यान गर्ने, बालबालिकाको विकासात्मक चरण नै यस्तै हो भन्ने बुझेर आफूलाई नियन्त्रण गर्नुपर्दछ ।
- बालबालिकालाई उमेरअनुसार आफू सुरक्षित हुने तरिकाहरू बताउने, कथाको माध्यमबाट बच्ने तरिकाहरू बुझ्ने उमेर देखि नै भन्ने गर्नुपर्दछ ।
- विद्यालयमा आफ्ना बालबालिका सुरक्षित छन् छैनन् निरीक्षण गर्ने र हिंसा दुर्व्यवहार भएको थाहा भएमा पैसा नलाग्ने १०९८ मा फोन गरेर उजुरी दिनुपर्छ ।
- बालबालिकालाई हिंसा र दुर्व्यवहार गर्दा सबैलाई कानुनी सजाय हुन्छ भन्ने बुझ्नुपर्छ ।
- विद्यालयमा भएको बालक्लवहरूलाई सक्रिय गर्ने वा बाल संरक्षणको बारेमा सचेतना जगाउन सहकार्य गर्ने गर्नुपर्दछ ।
- स्थानीय क्षेत्रमा बालअधिकार समितिहरू बनेको हुन्छ । आवश्यक रूपमा यस समितिसँग सहकार्य वा सम्पर्कमा रहने गर्नुपर्दछ ।
कानुनी आधार
- संयुक्त राष्ट्रसङ्घीय बालअधिकारको महासन्धि (सन् १९८९) धारा १९, ३४ र ३६ मा हिंसा तथा दुर्व्यवहारबाट संरक्षण सम्बन्धी उल्लेख छ । जसअनुसार राज्यले बालबालिकालाई यौन दुर्व्यवहारवा शोषणलगायत शारीरिक तथा मानसिक यातना र हेलाबाट जोगाउने प्रतिबद्धता जाहेर भएकाले कसैले यस्तो काम गरेमा अपराध हुन्छ ।
- नेपालको संविधान, २०७२ भाग १ को धारा ३९ मा बालबालिकाको हक उल्लेख भएअनुसार कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइदैन ।
- “बालबालिकासम्बन्धी ऐन, २०७५” अनुसार देहायबमोजिमको कार्य गरेमा बालबालिका विरुद्ध हिंसा मानिन्छ र सो कार्य गर्ने गराउने व्यक्ति वा संस्था सजायका भागिदार हुने छन्