स्वतन्त्र खेल भनेको के हो र किन घरमा यसलाई प्रोत्साहन गर्नुपर्छ ?

स्वतन्त्र रूपमा खेलेर कसरी बालबालिकाको विकासमा सघाउ पुग्छ?

युनिसेफ नेपाल
illustration of a girl child playing different games and having fun
UNICEF Nepal/2024/PShrestha
05 जुन 2024

खेल भनेको केवल मनोरञ्जन लिनुसँग सम्बन्धित छैन, यो सिकाइसँग समेत सम्बन्धित छ । तपाईंका बालबालिकाले बालगीत गाइरहँदा उनीहरूले भाषिक सिप विकासमा समेत काम गरिरहेका हुन्छन् । के तपाईँका बालबालिका बललाई हावामा माथि फाल्ने र तल आउँदै गर्दा समाउने गर्न मन पराउँछन् ? यसो गरेर उनीहरूले आफ्ना स्थुल अङ्गको विकासका साथै हात र आँखाको समन्वय गर्ने सिप विकास गरिरहेका हुन्छन् ।

कोभिड-१९ बाट सिर्जित बन्दाबन्दीको समयमा धेरै बालबालिका आफ्ना साथी र सहपाठीहरूसँग खेल्न असमर्थ रहे । जुन कुरा उनीहरूको विकासका लागि निकै महत्त्वपूर्ण छ । जसरी बालबालिकाले आफ्ना दौँतरीहरूसँग खेल्नु वा अन्तर्क्रिया गर्नु महत्त्वपूर्ण छ, त्यसरी नै उनीहरूले स्वतन्त्रतापूर्वक खेल्नुका पनि फाइदाहरू छन् । हामीले बंगलादेशको ब्राक विश्वविद्यालयको शैक्षिक विकास संस्थानका शिक्षा एवम् बालविकास विज्ञहरू शैयदा साजिया जमान र फेर्दोसी खानोमसँग आमाबुबाले आफ्ना बालबालिकालाई कसरी स्वतन्त्र खेलका लागि प्रोत्साहित गर्न सक्छन् र यसो गर्न किन आवश्यक छ भनेर कुराकानी गर्‍यौँ।

“खेल बालविकासको केन्द्रमा रहेको हुन्छ,” जमानले व्याख्या गर्नुभयो, “बालबालिकाले खेलका माध्यमबाट आफ्नो संसारबारे अनुभव गर्दछन् र सिक्दछन् । उनीहरूले आफ्नो वरिपरिको भौतिक वातावरणको अन्वेषण गर्दछन् । आफ्ना संवेग/भावनाहरू व्यक्त गर्दछन् अनि रमाइला क्षणहरूसँगै आफ्नो शब्द भण्डार निर्माण गर्दछन् ।”

“खेल विश्वभरिका बालबालिकाका लागि अति नै प्राकृतिक कुरा हो,” खानोमले थप्नुभयो, “यो बालबालिकाको संज्ञानात्मक, शारीरिक, सामाजिक र संवेगात्मक विकास साथै उनीहरूको कल्पनाशीलता र सिर्जनात्मकताका लागि वास्तवमै महत्त्वपूर्ण औजार हो ।”

स्वतन्त्र खेल भनेको बालबालिकाले आफुले चाहेअनुसार जुनसुकै तरिकाले खेल्न पूर्ण स्वतन्त्रता पाउनु हो । “यसमा उनीहरूले जे पनि छान्न सक्छन् । उनीहरूलाई आफ्ना खेल सामग्रीहरू छान्न, रुचीका विषय तय गर्न र आफ्नो तरिका निर्धारण गर्न पूर्ण स्वतन्त्रता हुन्छ,” जमानले प्रष्ट पार्नुभयो । स्वतन्त्र खेल समयमा बालबालिकाले आफु रहेको अवस्था, दिन र समयमा आधारित भएर आफुलाई सोही तरिकाले अभिव्यक्त गर्छन् ।“यस्ता अवसरहरू बालबालिकाका लागि धेरै महत्त्वपूर्ण हुन्छन्,” खानोमले भन्नुभयो । प्रत्येक बालबालिका आफैँमा अद्वितीय हुन्छन् र उनीहरूसँग आफूलाई अभिव्यक्त गर्ने फरक फरक तरिकाहरू हुन्छन् । 

“कुनै बालबालिका चित्र बनाउन चाहन्छन् भने कुनै एक्लै बसेर पजल खेल्न मन पराउन सक्छन् । प्रत्येक बालबालिकासँग आफ्नो सृजनशीलता अभिव्यक्त गर्ने फरक तरिका हुन्छ,” खानोमले प्रष्ट पार्नुभयो ।

स्वतन्त्र खेल बालबालिकाका लागि कसरी फाइदाजनक छ ?

खानोम भन्नुहुन्छ, “कहिलेकाहीँ बालबालिकाले एक्लै वा स्वतन्त्र रूपमा खेल्नु उनीहरूका लागि राम्रो कुरा हुन्छ किनकी उनीहरू आफैँसँग मात्र खेलिरहँदा बढी रचनात्मक वा सृजनशील हुन सक्दछन् ।” आफ्नो कल्पना शक्तिको प्रयोग गरी बालबालिकाले एक्लै खेलिरहँदा उनीहरू आफैसँग व्यस्त भइरहेका हुन्छन् । 

त्यसैले, जमान भन्नुहुन्छ, “यसरी उनीहरू आफ्नो प्रारम्भिक बालापनको समयदेखि नै आत्मनिर्भर भइरहेका हुन्छन् ।” 

बालापनमा नै स्वतन्त्रता वा आत्मनिर्भरता विकास गर्नु उनीहरूको आगामी जीवनमा फाइदाजनक हुन्छ । समस्या समाधानको सिप विकास गर्न पनि स्वतन्त्र खेलको समय महत्त्वपूर्ण हुन्छ । “खेलिरहँदा उनीहरूले समस्या समाधानको प्रयास गर्न सक्छन् वा आफैँले त्यसको समाधान पत्ता लगाउन सक्छन् । उनीहरूले आफ्नो सोच्ने तरिका अभिव्यक्त गर्न पाउँछन् । यी सिप बालबालिका स्वतन्त्र रूपमा खेलिरहँदा विकास भइरहेको हुन्छ ।” खानोमले प्रष्ट पार्नुभयो ।

आमाबुबाले आफ्ना बालबालिकालाई कुन उमेरदेखि स्वतन्त्र खेलको समय दिन थाल्नु पर्दछ ?

स्वतन्त्र खेल समयले बालबालिकाका लागि आफ्नो संसारलाई आफ्नै तरिकाबाट अन्वेषण गर्ने, रचनात्मकताको विकास गर्ने र आफ्नो कल्पनाशीलताको प्रयोग गर्ने अवसर दिन्छ । त्यसैले खानोम र जमानले यसलाई प्रारम्भिक उमेरबाटै सुरु गर्न सुझाउनुभयो । आमाबुबाले शिशुहरू र विद्यालय जाने उमेरपूर्वका बालबालिकालाई नियमित रूपमा स्वतन्त्र खेल समयमा संलग्न हुन प्रोत्साहित गर्नु पर्दछ । 

यसलाई ६ महिनाका शिशुहरूबाट नै सुरुवात गर्न सकिन्छ तर अभिभावकको निरन्तर रेखदेखमा गर्नुपर्ने हुन्छ ।

आमाबुबाले स्वतन्त्र खेललाई घरमा कसरी प्रोत्साहित गर्न सक्नुहुन्छ ?

An illustration of a small boy child playing at home with different toys

UNICEF Nepal/2024/PShrestha

स्वतन्त्र खेल भनेको पूर्ण स्वतन्त्र भए पनि आमाबुबाले आफ्ना बालबालिकालाई रमाइलो र रोचक सिकाइ अनुभवका लागि सहयोग र प्रोत्साहन गर्नु हो।

  • बालबालिकालाई खेल्नका लागि सुरक्षित स्थान रहेको सुनिश्चित गर्नुहोस् । आत्मविश्वास र स्वतन्त्रता विकास गर्न स्वतन्त्र रूपमा खेलिरहँदा बालबालिकासँग आफ्नै हिसाबमा अन्वेषण गर्ने र अधिकांश कार्य आफैँ गर्ने मौका हुनुपर्छ । यद्यपि यसका लागि तपाईँको बालबालिका सुरक्षित वातावरणमा छन् भन्ने सुनिश्चित गर्नु महत्त्वपूर्ण हुन्छ । खेल्ने क्षेत्रबाट सम्भावित खतराहरूलाई हटाउनुहोस् र तपाईँका बालबालिका सुरक्षित रूपमा खेलिरहेको सुनिश्चित गर्न खेल अवधिभरि जाँच गरिरहनुहोस् ।

     

  • आफ्ना बालबालिकालाई सुन्नुहोस् । “तिमी आज के गर्न चाहन्छौ ?” उनीहरूलाई सोध्नुहोस् । उनीहरूको प्रतिक्रियाका आधारमा यस्तो वातावरण बनाउन मद्दत गर्नुहोस्, जहाँ उनीहरूले आफ्नो रुचीको अन्वेषण गर्न सकून् । उदाहरणका लागि, यदि बालबालिकाले घर बनाउन चाहन्छन् भने तपाईँले आवश्यक सामग्रीहरू र सुरक्षित काम गर्ने स्थान उपलब्ध गराएर सहयोग गर्न सक्नुहुन्छ । तपाईँका बालबालिकालाई आवश्यक पर्ने सामग्रीहरूबारे सोच्नुहोस् र के उपलब्ध छ भनेर घर वरिपरि हेर्नुहोस् । रचनात्मक हुन नडराउनुहोस् ! उदाहरणका लागि, यदि तपाईँका बालबालिकाले पजल मिलाउने चाहना गरे तर घरमा तपाईँसँग पजल छैन भने कुनै तस्बिर वा क्यालेन्डरको पानालाई बालबालिकाले मिलाउन सक्ने गरी टुक्रा पारिदिनुहोस् ।

     

  • उनीहरूले खेलिरहँदा केही सङ्केत वा सुक्ष्म सूत्रहरू दिनुहोस् । बालबालिका समस्यामा अड्कँदा “तिमी के गर्न चाहन्छौ ? यो समस्या हामी कसरी समाधान गर्न सक्छौँ होला ?” जस्ता प्रश्न सोधी तपाईँले समाधानतर्फ अघि बढ्न मद्दत गर्न सक्नुहुन्छ । जमानका अनुसार “बालबालिकाका लागि वयस्कले सबैथोक गरिदिनु हुँदैन । जहाँ बालबालिकाले आफैँ सोच्न र केही गर्न सक्छन्, त्यहाँ हामीले केवल केही सङ्केत वा मद्दत मात्र गर्नु पर्दछ ।”

     

  • यसलाई आपसी सम्बन्ध र आत्मीयता गाढा बनाउने व्रिmयाकलाप बनाउनुहोस् । तपाईँका बालबालिका आफैँमा मात्र खेलिरहेका छन् भन्नुको मतलब तपाईँ संलग्न हुन सक्नुहुन्न भन्ने होइन ! तपाईँ काममा व्यस्त हुँदा तपाईँका बालबालिका तपाईँसँग खेल्न चाहन्छन् भने उनीहरूसँग आफुले गर्न सक्ने कुराहरूबारे छलफल गर्ने प्रयास गर्नुहोस् र उनीहरूले काम गरिसकेपछि त्यस कामलाई उनीहरूसँगै बसेर हेरिदिनुहोस् । खानोमले प्रायः आफ्नो ६ वर्षकी छोरीसँग यो तरिका अपनाउनुहुन्छ – “म उनलाई सोध्छु ‘के तिमी कथा लेख्न सक्छौ ?’ मलाई थाहा छ कि उनले अझै राम्रोसँग लेख्न थालेकी छैनन् तर उनले जेसुकै लेखे पनि ठिक छ त । त्यसपछि उनले मलाई पढेर सुनाउँछिन् ।” यो तरिका अपनाएर तपाईँले आफ्ना बालबालिकालाई स्वतन्त्र रूपमा गर्न सक्ने विभिन्न गतिविधिहरूमा संलग्न गराउन मद्दत गर्न सक्नुहुन्छ ।