सुनौला १००० दिन!

जन्मेको दुई वर्षसम्ममा शिशुको मस्तिष्क विकास ८० प्रतिशत भइसक्छ

नेपाल सरकार, युनिसेफ नेपाल
a mother carrying her child outdoors
UNICEF Nepal
30 मे 2023

गर्भवती भएदेखि उनको बच्चाको दोस्रो जन्मदिनसम्मको १००० दिनको अवधि (९ महिना + २४ महिना वा २७० दिन + ७३० दिन १००० दिन) नै सुनौला १००० दिन हो ।

जन्मेको दुई वर्षसम्ममा शिशुको मस्तिष्क विकास ८० प्रतिशत भइसक्ने विभिन्न अनुसन्धानहरूले देखाएको छ । यो उमेरमा विभिन्न सिप र क्षमताहरू, व्यवहारको ढाँचा, संवेग नियन्त्रण तथा प्रस्फुटनका साथै वस्तुहरू अवलोकन गर्ने, पहिचान गर्ने, तर्क गर्ने, सोच्ने, आफ्नो विचार व्यक्त गर्ने आदि विकासात्मक गुणहरू देखा पर्छन् । यो उमेरमा उनीहरू परनिर्भर अवस्थाबाट आत्मनिर्भर हुने प्रयत्न गर्दछन् । यो उमेरमा पाएको अवसरले शिशुको भावी जीवनको लागि महत्त्वपूर्ण भूमिका खेल्दछ । त्यसैले यो उमेरलाई सुनौलो भनिएको हो । 

यस अवस्थामा सिकाइका ढोकाहरू अर्थात् पाँँच इन्द्रियहरू (आँखा, कान, नाक, जिब्रो र छालाको) माध्यमबाट उत्प्रेरणा पाएपछि बाल मस्तिष्क सिक्नको लागि सक्रिय हुन्छ । इन्द्रियहरूले पाएका अनुभवहरू मांसपेशीहरूको समन्वयबाट मस्तिष्कमा पुग्छ र मस्तिष्कले सम्बन्धित स्थानमा सुरक्षित रहन्छ । गर्भदेखि नै शिशुको संज्ञानात्मक विकास सुरु हुन्छ । जसअनुसार स्पर्श जन्मनासाथ, सुनाइ गर्भभित्र ५ महिनादेखि, दृिष्ट जन्मदेखि नै सुरु हुन्छ । यसैगरी शिशुलाई बोलाउँदा वा जिस्क्याउदा मस्तिष्कले उत्प्रेरणा पाई शिशुको स्मरणशक्तिको विकास हुन्छ । संवेगहरूको नियन्त्रण हुन्छ ।

यस्ता विभिन्न अनुभवबाट उत्प्रेरित स्नायुहरूमात्र शिशुको क्षमतामा परिणत भई जीवनभरि जीवित हुन्छन् । अवसर नपाउँदा सो स्नायुहरू संरक्षित हुन नसकी वयस्कमा आफैँ मेटिएर वा हराएर जान्छन् ।


त्यसैले यो अवधिमा बालबालिकाले पाएका अवसरले जीवनको आधार तयार गर्छ र बाँकी सिकाइ यसैमाथि थपिएर रहन्छ । विश्वका विभिन्न अध्ययनहरूकाअनुसार कुपोषण, बालरोगको सङ्क्रमण हुनबाट बचाउने, उपयुक्त समय गर्भावस्थादेखि पहिलो दुई वर्ष नै भएको तथ्य पुष्टि भएको पाइन्छ ।


सुनौला १००० दिनमा अभिभावकको भूमिका 

असल क्षमतावान मानवीय स्रोत निर्माण गर्न सुनौला १००० दिनमा शिशु गर्भमा आएदेखिको अवस्था मात्र नभर्ई शिशु जन्माउने बुबाआमाको स्वास्थ्य, पोषण, बच्चा जन्माउने उमेर तथा अन्य तयारीको अवस्थालाई समेत समेटेको हुन्छ । यस सम्बन्धित सुनौला १००० दिन अभियानले निम्न प्रमुख सन्देशहरू समेटेका छन् :

१.    किशोरी र अभिभावकहरूका प्रमुख विषयहरू

क. किशोरीहरूले पोषिलो खाना खाने गर्नुपर्दछ ।
ख.    कम्तीमा माध्यामिक तहसम्म सबै किशोरीहरूले शिक्षा पूरा गर्नुपर्दछ ।
ग.    महिनावारी र सरसफाइमा ध्यान दिने गर्नुपर्दछ ।
घ.    बिस वर्षपछि मात्र विवाह गर्नुपर्दछ ।
ङ.    परिवार नियोजनको उचित साधन र तिनको प्रयोगबारे जानकारी प्राप्त गर्नुपर्दछ ।
च.    सुरक्षित र स्वस्थ्य बच्चा जन्माउने विषयहरूमा विशेष ध्यान दिनुपर्छ ।

 

२. गर्भवती महिला र आमाहरूका लागि प्रमुख विषयहरू 
illustration of a man and woman

🤰 पहिलो चरण (गर्भावस्था)

गर्भ रहेदेखि ९ महिनासम्मका अवस्थामा सुनौला १००० दिनका आमाहरूले बालबालिकाको सर्वाङ्गीण विकासको लागि निम्नानुसार सचेत रहनुपर्छ:

  • बच्चा गर्भमा रहेदेखि बाल उत्प्रेरणासम्बन्धी ज्ञानलाई प्रयोगमा ल्याउनुपर्छ ।
  • मातृ स्वास्थ्यका लागि सिफारिस गरिएका पोषिला खानाहरू खानुपर्छ, ।
  • सुरक्षित मातृत्वका लागि तोकिएअनुसारको आठपटक गर्भवती जाँच स्वास्थ्य संस्थामा गई पूरा गर्नुपर्छ ।
  • गर्भवती भएको तेस्रो महिना पूरा भएपछि आइरन चक्की खान सुरु गरी बच्चा जन्मेको ४५ दिनसम्म आइरन चक्की खाई कोर्स पूरा गर्नुपर्छ ।
  • खाना पकाउन तयार गर्नुअघि, खानु वा खुवाउनु अघि र दिसा गरेपछि खेतबारीमा कामगरेपछि मिचिमिची साबुनपानीले हात धुने गर्नुपर्छ ।
  • आफ्नो तथा गर्भमा रहेको शिशुको सुरक्षामा विशेष ध्यान दिनुपर्छ । 
  • कीटनाशक, विषालु औषधीहरू र खतरापूर्ण वस्तुहरूसँग टाढा बस्नुपर्छ।
  • धूमपान तथा मदिरा सेवन गर्नुहुँदैन ।
  • दक्ष प्रसूतिकर्मीबाट प्रसूति केन्द्र वा अस्पताल वा स्वास्थ्य संस्थामा नै प्रसूति गराउने योजना गर्नुपर्दछ ।
  • सुत्केरीपछि स्याहारको योजना घरपरिवारले गर्नुपर्दछ ।
  • बच्चा जन्मेपछि अपनाउनुपर्ने परिवार नियोजनको उचित साधन र तिनको प्रयोगबारे जानकारी प्राप्त गर्नुपर्छ ।
  • शिशु जन्मेदेखि बाल स्वास्थ्य कार्डको प्रयोग गर्नुपर्छ । यो कार्ड शिशुको लागि महत्त्वपूर्ण रेकर्ड हो । जसमा जन्मदेखिको तौल, खोप, स्वास्थ्य परीक्षणको रेकर्ड रहन्छ ।

 

illustration of a mother breastfeeding

🤱दोस्रो चरण (बच्चा जन्मेदेखि ६ महिनासम्मको अवधि)

  • शिशु जन्मिएको १ घण्टा भित्र नै जति सक्दो चाँडो स्तनपान गराउने र बिगौती दुध पटकपटक खुवाउनुुपर्छ । बिगौती दुधमा शिशुको लागि प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता बढाउने महत्त्वपूर्ण तत्व हुन्छ ।
  • शिशु जन्मिएको २४ घण्टापछि मात्र नुहाइदिनुपर्छ ।
  • जन्मनासाथै दिने खोपहरू तथा स्वास्थ्य केन्द्रको सुझाव अनुरुप खोपहरू लगाउनुपर्छ र बाल स्वास्थ्य कार्डमा रेकर्ड राख्नुपर्छ ।
  • ६ महिनासम्म शिशुलाई पूर्ण स्तनपान मात्र गराउने गर्नुपर्छ । प्रत्येक महिना तौल लिएर बाल स्वास्थ्य कार्डमा भरेर राख्नुपर्छ ।
  • सङ्क्रमण रोकथाम गर्न शिशुको नाइटो सफा राख्ने र महिला स्वास्थ्य स्वयम् सेविकाबाट उपलब्ध हुने क्लोरहेक्साडिन मल्हम नाइटोमा लगाईदिनुपर्दछ ।
  • शिशुका जन्मदर्ता सम्बन्धित निकायमा गराउनुपर्छ । जन्म दर्ता गराउनु शिशुको अधिकारको संरक्षण हो ।
  • शिशुको आँखामा आँखा जुधाउने, कुराकानी गर्ने, शिशुको आवश्यकतालाई बुझेर सोअनुसार सहयोग गर्ने जस्ता अभ्यासलाई निरन्तरता दिनुपर्छ । 
  • यो अवस्थामा शिशुको ज्ञानेन्द्रिय सक्रिय हुन्छ । उनीहरूलाई विभिन्न कुरा हेर्ने, छुने, सुन्ने, सुघ्ने उपयुक्त अवसर दिएर उत्पे्ररणा गर्नुपर्दछ ।
  • उनीहरूले निकालेको आवाजको उत्तर दिने, मधुर सङ्गीत बजाउने, सुमसुमाउने र विभिन्न आवाज सुनाउने तथा शिशुले देख्ने गरी रङ्गीन खेलौनाहरू झुण्ड्याउनुपर्दछ ।
  • सुत्केरी महिलाहरूले निरन्तर रूपमा पोषिलो खाना खाने तथा प्रसूति पश्चात्को स्वास्थ्य सेवा नियमित रूपमा लिने गर्नुपर्छ ।

 

illustration of a man and women playing with their child

👨‍👩‍👧‍👦तेस्रो चरण (शिशु ६ देखि १२ महिनासम्मको अवधि)

  • ६ महिना पूरा भएपछि पनि निरन्तर स्तनपान गराई राख्नु पर्दछ । 
  • स्तनपानका साथै विविध पोषिला खानाको प्रयोग गरी पूरक खाना खुवाउन सुरू गर्नुपर्छ । 
  • शिशुलाई हरेक पटक खुवाउनुअघि साबुनपानीले मिचीमिची हात धुनु पर्दछ ।
  • बालबालिकालाई खाना खुवाउँदा मोबाइलको प्रयोग गर्नु हुदैन । अनुसन्धानअनुसार यसले बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पर्छ । मोबाइलको साटो बालबालिकासँग कुरा गर्दै, खेलाउँदै, रमाइलो वातावरणमा खानाको स्वाद लिन सिकाउदैँ खुवाउनुपर्छ ।
  • अन्य बेलामा पनि यस उमेरका बालबालिकालाई विभिन्न उत्प्रेरणात्मक व्रिmयाकलाप गराउनु पर्छ । 
  •  शिशुकोे वृद्धि अनुगमन निरन्तर गर्नुपर्छ र यस चरणमा दिनु पर्ने खोपहरू दिनुपर्छ ।
  • परिवार नियोजनको उचित साधनबारे जानकारी प्राप्त गर्ने र तिनको प्रयोग निरन्तर गर्नुपर्छ ।

 

illustration of a woman playing with a child

👶चौथो चरण (शिशु १२ देखि २४ महिनासम्को अवधि):

  • शिशु १२ महिना भएपछि विभिन्न उत्प्रेरणा गरी बौद्धिक र भावनात्मक विकासमा सहयोग गनुपर्र्छ ।
  • २ वर्षको उमेरसम्म शिशुलाई स्तनपान गराउने र स्तनपान सँंगै नरम विभिन्न स्वादका पूरक खाना खुवाउनुपर्छ । शिशुको वृद्धि अनुगमन निरन्तर गर्ने र बाल स्वास्थ्य कार्डमा प्रत्येक महिना मापन गरेको रेकर्ड राख्नपर्छ ।
  •  यस चरणमा दिनुपर्ने सबै खोपहरू स्वास्थ्य केन्द्रले तोकेको समयमा दिई बाल स्वास्थ्य कार्डमा रेकर्ड राख्नुपर्छ ।
  • बालबालिकासँग कुराकानी, अन्तरव्रिmया गर्ने, चोटपटक नलाग्ने नरम खेलौनाहरू खेल्नदिने र आफूपनि सँगै खेल्ने गर्नुपर्दछ ।
  • शिशुहरू यो अवस्थामा सँगै काम गर्न सिक्न आउने हुनाले, यसको अवसर दिइ सहयोग र उत्प्रेरणा दिनुपर्छ ।
  • चर्पीको नियमित प्रयोग, बालबालिकाको दिसापिसाब धोएपछि, खाना खानु र खाईसकेपछि साबुनपानीले मिचिमिची हात धुने र बच्चाको दिसापिसाब चर्पीमा विसर्जन गर्ने गर्नुपर्दछ ।
  • परिवार नियोजनको उचित साधनबारे जानकारी प्राप्त गर्ने र तिनको प्रयोग निरन्तर गर्नुपर्दछ ।

सुनौला १००० दिनहरूमा मानव मस्तिष्कलाई नकारात्मक प्रभाव पार्ने कुराहरूः

 

  1. कुपोषण, भिटामिन ए र आइरन चक्की जस्ता अत्यावश्यक चिजको कमी
  2. आमा र शिशुलाई सूक्ष्मपोषण जस्तै भिटामिन ए र आइरन तथा फोलिक एसिड भएका खाना एवम् आयोडिनयुक्त नुनको अभाव
  3. ड्डसरसफाइमा बेवास्ता
  4. झाडापखाला निरन्तर लाग्नु
  5. जुका र अन्य जीवाणुको सङ्क्रमण
  6. श्वासप्रश्वासमा सङ्व्रmमण
  7. मनोसामाजिक सुरक्षा र हेरचाहको कमी
  8. हिंसा, दुर्व्यवहार, डर र त्रास