सबै बालबालिकाको समावेशी सहभागिता
सबै बालबालिकाको बहुआयामिक प्रतिभाको विकास गरौँ
बालबालिका प्रकृतिका अमूल्य उपहार हुन् । बालबालिका नै भोलिको देशका कर्णधार हुन् । बालबालिकाले परिवार, जाति, धर्म छानेर जन्मेका हुँदैनन् ।
प्रकृतिले योग्य हुने क्षमता दिएतापनि मानिसको व्यवहार हेलचेक्र्याइँको कारणले बालबालिकामा अपाङ्गता हुन्छ । कतिपय अपाङ्गता मानवको पुस्तामा सर्दै जान्छ । यो प्रक्रियामा बालबालिकाको कुनै दोष नभएतापनि जन्मपछि उनीहरूलाई गरिने व्यवहार दोषपूर्ण हुन्छ । अपाङ्गता भएका बालबालिकाको एउटा पक्ष कमजोर भएतापनि अर्को पक्ष झन सक्रिय हुन सक्छ । जस्तैः आँखा देख्न नसक्ने बालबालिकाको सुनाइ क्षमता तथा स्पर्शबाट थाहा पाउने क्षमता उच्च हुन्छ । तर यी बालबालिकाले विभिन्न क्रियाकलापमा सहभागी हुन पाएको अवस्थामा मात्र यी क्षमता विकास हुन्छ ।
यसैगरी सबै किसिमका बालबालिकाको बहुआयामिक प्रतिभा हुने गर्दछ । सहभागिताले यी क्षमता विकसित हुन्छ । यसैगरी मानवले नै बनाएका र समाजमा स्थापित जातजातिका चालचलन, भौगोलिक परिस्थितिको कारणले देखिने फरकपनालाई आधार मानेर गरेका भेदभावपूर्ण नियमहरूले बालबालिकालाई मानसिक चोट पुर्याउँछ । भेदभावपूर्ण वातावरणमा हुर्केका बालबालिकाले पछि गएर शङ्का, बदला, इर्ष्यालु सोच र व्यवहार देखाउँछन् । बालबालिकालाई साथीभाइमा समान व्यवहार अनुभव गर्ने अवसरबाट वञ्चित गरिएमा उनीहरूले आत्मविश्वास गुमाउन सक्छन्, सिकाइप्रति वितृष्णा पैदा हुन सक्छ र निरुत्साहित पनि हुन सक्छन् ।
वास्तवमा समाजमा रहेका विभिन्न रङ, भाषा, वेशभूषा आदि देश र समाजका सम्पत्ति हुन् । यिनीहरूको जगेर्ना गर्नाले समाज सम्वृद्ध तथा समावेशी परम्पराले बालबालिकाको अन्तरनिहित क्षमता उजागर भई परिवार तथा देश सम्वृद्ध हुन्छ । बालबालिका एकले अर्कालाई सहयोग गर्ने बानी हुन्छ र समाजबाट कुरीतिहरू हटेर जान्छ । त्यसैले सबै बालबालिकालाई समान व्यवहार र समावेशी वातावरण तयार गर्न राज्य, समाज तथा अभिभावकले पहल गर्नुपर्दछ ।
समावेशी सहभागिता सम्बन्धी कानुनी आधार
बालअधिकारको सिद्धान्त नै बालबालिकालाई बिना भेदभाव हुर्कन पाउनुपर्ने रहेको छ । जसअनुसार कुनै पनि बालबालिकालाई निजको बुबाआमा, अभिभावकको जाति, रङ, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य आस्था, राष्ट्रिय, जातीय वा सामाजिक उत्पत्ति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतको आधारमा भेदभाव नगरी समान रूपमा सम्मान गर्नुपर्दछ ।घठ उक्त सिद्धान्त बालअधिकारको सन्धिमा हस्ताक्षर गर्ने सबै राष्ट्रले मान्नुपर्ने हुन्छ । नेपालले पनि यस सन्धिमा हस्ताक्षर गरेको छ ।
नेपालको संविधान (२०७२) मा बालबालिकाको हकमा उल्लेख भए अनुरुपः
- प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तिगत विकासको हक हुनेछ ।
- प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।
- यसैगरी बालबालिका सम्बन्धी ऐन २०७५ले पनि बालबालिकाको समावेशी सहभागिताको पक्षमा निम्न कुरा उल्लेख छ ।
अभिभावकको भूमिका
समावेशी सहभागिताको प्रवर्धनका लागि अभिभावकको भूमिका ठुलो हुन्छ । समानता, माया,
सद्भाव, सम्मान र अपनत्व पाउने वातावरण घरबाट नै सुरु गर्नु आवश्यक छ । अभिभावक बालबालिकाका लागि नमुना हुन् । अभिभावकको भेदभावपूर्ण व्यवहारलाई बालबालिकाले पनि आफ्नो व्यवहारमा उतार्छन् । अर्को कुरा बालबालिकालाई विभिन्न कुरामा सहभागी गराएर आत्मविश्वासिलो तथा नेतृत्वदायी बनाउनका लागि प्रारम्भिक बाल्यावस्थादेखि नै बालबालिकालाई विभिन्न कुरामा संलग्न गराउने तथा निर्णय लिन दिने गर्नुपर्दछ । बालबालिकामा समावेशी सहभागिता प्रवर्धनका लागि मुख्य रूपमा निम्न कुराहरू गर्न सक्छन् ।
- साना साना निर्णयहरू, जस्तै लगाउने लुगा, कस्तो कथा सुन्ने, खेल्ने खेलौना आदिसम्बन्धी केही हदसम्म बालबालिका आफैँलाई निर्णय लिन दिनुपर्छ ।
- परिवारका हरेक निर्णय प्रक्रिया र क्रियाकलापमा उनीहरूको विचार, रुचिको स्थान हुनुपर्दछ । छोरा र छोरी दुवैको भावना, विचार र आवश्यकतालाई समान रूपमा ध्यानपूर्वक सुन्नुपर्दछ ।
- बालबालिकामा हुन सक्ने शारीरिक तथा मानसिक समस्याको पहिचान गरेर आवश्यक प्रोत्साहन, माया र सद्भाव, उचित हेरचाह र सिकाइका लागि हौसला दिने गर्नुपर्दछ ।
- यदि आफ्ना छोराछोरी शारीरिक वा मानसिक रूपमा फरक क्षमता छन् भने उनीहरूको निम्ति विशेष ध्यान पुर्याउनुपर्दछ ।
- सामूहिक क्रियाकलाप, खेलकुद, मनोरञ्जन, घुमफिर गराउने र खेल खेलाउनुपर्दछ ।
- पारिवारिक जमघट, चाडपर्वका अवसरहरूमा सबै बालबालिकालाई समान रूपमा संलग्न गराउनुपर्दछ ।
- बालबालिकालाई उनीहरूको बहुआयामिक प्रतिभा विकास गर्न विभिन्न अवसर प्रदान गर्नुपर्दछ ।
- सबै बालबालिकालाई पूर्व प्राथमिक कक्षा वा प्रारम्भिक बालविकास केन्द्र र विद्यालय पठाउनुपर्दछ ।