विपद्को बेला बालसुरक्षा र सिकाइ
बालबालिकालाई विपद्को सामना गर्न तयार पार्न र विपद्को बेला उनीहरूको विशेष स्याहार-संरक्षण गर्न केहि तरीका
कुनै पनि कारणले विपद् उत्पन्न गर्न सक्ने वा विपद् हुन सक्ने सम्भावना भएको अवस्थालाई प्रकोप (hazard) भनिन्छ । जस्तै, एउटा भिरालो डाँडोको टुप्पामा एउटा ठुलो चट्टान छ । त्यो जुनसुकै बेलामा खस्न सक्छ । यदि त्यो चट्टान खसिहाल्यो भने त्यसको बाटोमा पर्ने सबै कुराहरू तहसनहस हुन्छ । यस्तो अवस्थालाई नै प्रकोप भनिन्छ ।
प्रकोपको घटनाबाट हानिनोक्सानी वा क्षति हुन सक्ने अवस्थालाई जोखिम भनिन्छ । प्रकोप र जोखिमको सम्मिश्रणका कारण अपर्झट आइपर्ने प्रतिकूल असर वा क्षति भएको घटना विपद् (disaster) हो । समाज वा समुदायले आफ्नै बलबुता र स्रोतसाधनको प्रयोग गरी सामना गर्न नसक्ने गम्भीर प्रकृतिका प्रकोपजन्य घटना र त्यो घटनाका कारणबाट सामान्य सामाजिक प्रक्रिया अवरुद्ध भई पुग्न जाने मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति नै विपद् हो । यस्तो घटनाको प्रतिकूल प्रभावबाट पार पाउन समुदायको आन्तरिक क्षमताले धान्न नसक्ने अवस्थालाई मात्र विपद् भनिन्छ । अर्को शब्दमा अचानक कुनै अप्रत्यासित घटनाबाट धेरै जनधनको क्षति भएर सामाजिक जनजीवन अस्तव्यस्त हुने र प्रभावित समुदाय आफ्नै स्रोतसाधनबाट पार पाउन नसक्ने स्थितिलाई विपद् भनिन्छ ।
विभिन्न प्रकारका प्राकृतिक विपद् कहिले आउँछन् भन्ने कुरा कसैलाई पनि थाहा हुन्न । प्राकृतिक विपद् जस्तैः बाढी, पहिरो, हुरीबतास, भुइँचालो, भोकमरी, महामारी आदि हुन् । यस्तोे स्थितिमा बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । त्यसैले विपद्को अवस्थामा गर्भवती महिला, बालबालिकाको विशेष स्याहार संरक्षण गर्नुपर्दछ ।
बाढी पहिरो आएका बेला बगाउने, डुब्ने, मर्ने, आगलागीमा जल विनियोजन र हृदयघात हुने, भुइँचालोमा, दौडादौडमा थिचिएर, च्यापिएर ज्यान जाने भएकाले सतर्क भई बचाउ हुने उपाय अपनाउनुपर्दछ ।
मानवसिर्जित विपद् जस्तैः आगलागी, लडाइँ÷युद्ध, हडताल, नाकाबन्दी आदि हुन् । त्यसैगरी मानव सिर्जित र प्राकृतिकसहितको अवस्था पनि हुन सक्छ । आपत्काल अचानक र मन्द खालको हुन्छ । अचानक हुने आपत्काल बाढी, पहिरो, भूकम्प आदि हुन् । मन्द खालको विपद् महामारी, भोकमरी, जलवायु प्रदूषण आदि हुन् ।
यस्तो स्थितिमा अपराधीहरूले झुटो आशा, लालच देखाइ प्रलोभनमा पारी आमा, बालबालिकालाई दुर्व्यवहार, शोषण, ओसारपसार गर्न सक्छन् । तसर्थ यस्ता खतराबारे सजग हुनुपर्दछ ।
विपद् पूर्वतयारी
विपद्जन्य जोखिम घटाएर जनधनको क्षति कम हुने व्यवस्था मिलाउँदै सुरक्षित रहन र तत्कालीन उद्धार र राहतका लागि आवश्यक कार्य गर्न विपद्का घटना हुनु पहिले गरिने सम्पूर्ण तयारीलाई विपद् पूर्वतयारी भनिन्छ । विपद् पूर्वतयारी गर्दा निम्नानुसार कार्यहरू गर्नुपर्दछः
क) जनचेतना अभिवृद्धि तथा तालिमः विपद् पूर्वतयारी कार्य सुरु गर्नुपहिले समुदायका सदस्यहरूलाई विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञान दिन आवश्यक हुन्छ । विगतका अनुभवका आधारमा प्रकोपको सम्भावना, स्थानीय ज्ञान, सिप र स्रोतको उपयोगमा समुदायको सहभागितामा छलफल गरी पूर्वतयारीको आधार बनाउनुपर्छ । पूर्वतयारी कार्यको सूची बनाएर संलग्न हुनेहरूको काम र समयको बाँडफाँड गर्नुपर्दछ ।
ख) प्रकोप, जोखिम, सङ्कटाभिमुखता विश्लेषणः मानवीय बसोवासको वस्तुस्थिति, भौगोलिक अवस्था र सम्भावित विपद्को जोखिम विश्लेषण विपद्पहिले गर्नुपर्ने काम हुन् । जोखिम विश्लेषण गर्दा प्रकोप र सङ्कटाभिमुख अवस्थाको पहिचान गर्नुपर्दछ । प्रकोपले सङ्कटाभिमुख अवस्था बढाउने हुँदा यी दुई तत्त्वको मिश्रणबाट विपद्को जोखिम बढ्दछ ।
ग) न्यूनीकरण तथा अल्पीकरणः जोखिम विश्लेषण गरिसकेपछि जोखिमको कारण, स्तर वा अवस्था र त्यसबाट हुन सक्ने क्षतिको अनुमान लगाउन र जोखिम घटाउन गर्नुपर्ने कार्यको पहिचान गर्न सकिन्छ । प्रकोपलाई टार्न सकिएमा सङ्कटाभिमुखताको अन्त्य भएर वा सङ्कटाभिमुख अवस्थामा रहेको पक्षलाई हटाउँदा प्रकोप टरेर जोखिम कम हुन्छ ।
घ) प्रदूषण नियन्त्रण, सरसफाइ र सुरक्षित आवासः शौचालय, पशुशाला, घरआँगन र गाउँ घर सफा राखेर महामारीजन्य विपद् नियन्त्रण गर्न सकिन्छ । घरायसी फोहोर, ढल, धाराको पानी आदि सुरक्षित तरिकाले खाल्डोमा हाल्ने वा फैलन नदिने प्रबन्ध गर्नुपर्दछ ।
ङ) खाद्यान्न तथा औषधीको सञ्चयः विपद् आकस्मिक घटनाहरूबाट हुने भएकाले त्यस्तो समयका लागि पारिवारिक तथा सामुदायिक रूपमा खाद्यान्न तथा औषधीको सञ्चय गर्नुपर्दछ ।
च) उद्धार तथा राहत सामग्रीको व्यवस्थापनः विपद्को समयमा परिवार र समुदायका सदस्यको उद्धार गर्न चाहिने सामग्रीको व्यवस्था गरी सुरक्षित र सजिलै भेटिने ठाउँमा राख्नुपर्दछ । भौगालिक क्षेत्र र सम्भावित विपद् अवस्थानुसार उपयोग हुने टर्चलाइट, लाइफ ज्याकेट, सियो, धागो, कुटो–कोदालो, बेल्चा, खुकुरी, डुङ्गा, ट्युब, टायर, डोरी र अन्य आवश्यक सामग्रीहरू झटपट झोलामा हालेर सजिलै भेट्ने ठाउँमा राख्नुपर्दछ ।
छ) उद्धार तथा राहतका लागि अभ्यासः विपद्को समयमा पीडितको उद्धार गर्न समुदायका सदस्यले सामूहिक अभ्यास गर्नसके क्षमता अभिवृद्धि हुन्छ । यस्तो अभ्यासमा सबै बालबालिका, महिला, जेष्ठ नागरिकलाई सहभागी गराउनुपर्छ । अभ्यासका क्रियाकलापहरू मनोञ्जनात्मक र सहभागितामूलक हुनुपर्छ ।
ज) आश्रयस्थलको व्यवस्थाः विपद्को समयमा आपत्कालीन आवासको व्यवस्था गर्न समुदायकै पहलमा सुरक्षित स्थानको पहिचान गरी आपत्कालीन आवास घर बनाउनुपर्दछ ।
झ) आपत्कालीन योजनाः विपद्का समयमा समुदायका कुन सदस्यले कुन कार्य गर्ने भन्ने छलफल गरी कामको विभाजन गर्नुपर्दछ ।
ञ) पूर्वसूचना तथा सुरक्षित स्थानान्तरणः विपद् हुने सम्भावना बढेपछि पूर्वसूचना आदानप्रदान गरी तत्कालै सुरक्षित स्थानमा सर्ने कार्य गर्नुपर्दछ । यस्तो अवस्थामा अशक्त, केटाकेटी, जेष्ठ नागरिक, बिरामी र महिलालाई प्राथमिकता दिएर सुरक्षित स्थानमा पुर्याउने कार्य गर्नुपर्दछ ।
केही विपद्को स्थिति र त्यसको सामना गर्ने उपाय
| विपद् | विपद्अघिको तयारी | विपद्का बेला वा विपद्पछि |
|---|---|---|
| बाढी | बालबालिकालाई पौडी खेल्न सिकाउने । प्रशस्त खानेपानीको व्यवस्था गर्ने । बगिरहेको पानी धमिलो छ कि भनेर हेर्ने । |
अग्लो ठाउँ वा माथिल्लो तलामा जाने ।बाढी आएको नदी नतर्ने। |
| चट्याङ, र विजुली चम्काइ |
यस्तो समयमा घरबाहिर नखेलाउने । बत्ती निभाउने र विद्युतीय उपकरणहरू बन्द गर्ने । |
झ्याल, ढोका, अग्ला रुख, पहाडका चुचुरा, खुला स्थान, खम्बाहरू नजिक नबस्ने, करेन्ट लाग्ने धातुहरूलाई नछुने । बलियो घरमा बस्ने । |
| आँधीबेरी, हुरीबतास | बदलिँदो मौसमप्रति सजग रहने । आफ्नो घरमा र छिमेकमा सुरक्षित कोठा वा ठाउँ तोक्ने । मौसमसम्बन्धी जानकारी लिने । सुरक्षा बक्सा (सेफ्टी किट)को व्यवस्था गरेर राख्ने । |
तुरुन्तै आश्रय खोज्ने, रुख, विजुलीको पोल छेउमा नबस्ने । घरभित्रै बस्ने । सबै झ्याल तथा ढोकाहरू बन्द गर्ने । सबै विद्युतीय उपकरणहरू बन्द गर्ने । आगो निभाउने । आगोको झिल्काहरू छन् भने धुलोे माटाले निभाउने । |
| भुइँचालो | कहाँ र कसरी भवनबाट निक्लिने भन्ने बारे बालबालिकालाई सिकाउने । घुँडा टेकी गुडुल्की बस्ने, टाउको छोपी खुम्चेर बस्ने भनिने अभ्यास सिकाउने र गर्ने । आफूलाई सधैँँ आवश्यक सामग्री तथा आपत्कालीन स्थितिमा काम लाग्ने सामान राखेको झटपट झोला तयारी अवस्थामा राख्ने । |
बलियो टेबुलमुनि घुँडा टेकी गुडल्की बस्ने, टाउको छोपी खुम्चेर बस्ने अभ्यास गर्ने । रुख, भवनजस्ता कुराबाट टाढा रहने । कम्पन नरोकिउन्जेल सुरक्षित ठाउँमा रहने । झ्यालहरूबाट टाढा रहने । घरबाहिर हुनुहुन्छ भने घरभित्र नपस्ने । सलाई, ग्याँस वा बत्तीका स्विच प्रयोग नगर्ने । |
| आगलागी | घरबाट कसरी निस्किने भन्नेबारे दुईओटा उपाय बालबालिकालाई बताउने । घरबाट निस्किने तरिका अपनाउन बालबालिकासँग अभ्यास गर्ने । |
भुइँमा घोप्टो परी घस्रिँदै निक्लिने । धुवाँ आएको कोठाको ढोका कहिल्यै नखोल्ने । कपडामा आगो लागेमा आगो ननिभुन्जेल गुडुल्की मार्ने । मद्दतका लागि गुहार माग्ने । |
| अत्यधिक चिसो (शीतलहर) | बलबालिकाका लागि न्यानो लुगा, कपडा तथा कम्बलहरू तयार राख्ने । घरमा पर्याप्त दाउरा जम्मा गरेर राख्ने । मौसमसम्बन्धी सुसूचित हुने । |
बालबालिकालाई घरभित्रै राख्ने । बालबालिकालाई चिसोमा र पानीसँग खेल्न नदिने । बालबालिकालाई न्यानो कपडा लगाइदिने । बालबालिकाको शरीरमा अल्प ताप (हाइपोथर्मिया) हुनबाट बचाउन आफ्नो छातीमा टाँसेर राख्ने । बालबालिकालाई सन्तुलित तथा नियमित खानासहित तातो सुप र दालको रस खान दिने । |
| अत्यधिक गर्मी तातोहावा (लु) |
मौसमसम्बन्धी सुसूचित हुने । हावाको प्रवाह हुने गरी घरका झ्यालहरू खुला राख्ने । बालबालिकालाई हलुको लुगाको व्यवस्था गर्ने । पर्याप्त मात्रामा सुरक्षित खाने पानीको व्यवस्था गर्ने । तापसँग सम्बन्धित रोगहरूको उपचारबारे जानकारी राख्ने । |
घामबाट जोगिन बालबालिका घरभित्र खेल्न र अन्य क्रियाकलाप गराउने । बालबालिकालाई सन्तुलित तथा नियमित खाना खुवाउने । बालबालिकालाई प्रशस्त सफा पानी खुवाउने । तातो घामबाट बचाउन टोपी लगाउन दिएर, टाउको र अनुहारको रक्षा गर्ने । बालबालिकालाई हल्का रङका खुकुला कपडा लगाईदिने । |
| महामारी | के कस्तो महामारी हो, भरपर्दो सरकारी वा गैरसरकारी स्वास्थ्यसम्बन्धी स्रोतबाट सूचना सङ्कलन गर्ने । घरमै बस्नुपर्ने अवस्थाको लागि तयारी गर्ने । अनावश्यक रूपमा खाद्यान्न तथा औषधी नथुपार्ने । नेपाल सरकारले तोकेका नियमको पालना गर्ने । | बहिर नजाने, जानै परेमा मास्क लगाउने, फर्केपछि लुगा फेर्ने, साबुनपानीले हात धुने । रोग लागेको अवस्थामा स्वास्थ्य मन्त्रालयको नियम पालन गर्ने । |
अभिभावकको दायित्व
- विपद् अगाडिदेखि नै अभिभावकले आफू र परिवारलाई सुरक्षित राख्न विपद्को पूर्वतयारी गर्नुपर्दछ । व्यक्तिगत रूपमा कोसिस गर्नुका साथै स्थानीय तह तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट हुने विभिन्न क्षमता अभिवृद्धि तालिमबारे सचेत हुनुपर्छ ।
- विपद्को बेला गर्भवती महिला र प्रारम्भिक उमेरका बालबालिकालाई कहिले पनि एक्लै छाड्नु हुँदैन । उनीहरूलाई भरपर्दो वयस्क स्याहारकर्ता, बालस्याहार वा बालविकास केन्द्र, विद्यालयमा छाड्नुपर्दछ । छाड्नुभन्दा अगाडि शिशुलाई आफ्नो र शिशुको नाम, ठेगाना र फोन नम्बर लेखिएको परिचय कार्ड बालबालिकाका नाडी वा गोलीगाँठामा बाँधी दिनुपर्दछ ।
- बालबालिका कुरा गर्न थालेपछि आमाबुबाको र आफ्नो नाम, घरको ठेगाना र फोन नम्बर भन्ने र भन्न लगार्ई याद गर्न लगाउनुपर्दछ । भुइँचालो, बाढी पहिरो, युद्धको अवस्थामा आमाबुबाबाट बालबालिका छुट्टिन सक्ने सम्भावना भएको हुँदा घरभित्र र बाहिर सम्भाव्य सुरक्षित ठाउँ पहिलेदेखि नै पहिचान गर्ने र बालबालिकालाई जानकारी गराउनुपर्दछ ।
- विपद्को बेलामा अपराधीहरूले झुटो आशा, लोभलालच देखाई प्रलोभनमा पारी आमा, बालबालिकालाई दुर्व्यवहार, शोषण, ओसारपसार गर्न सक्छन् । तसर्थ यस्ता खतराबारे सजग हुनुपर्दछ ।
- बालबालिका छिट्टै डराउने, अत्तिने हुनाले उनीहरूलाई अङ्कमाल गर्ने, सान्त्वना दिने, माया देखाउने शान्त भएपछि र स्नेहपूर्वक यी स्थितिबारे बताउनुपर्दछ । साथै सँगै राख्ने, कुराकानी गर्ने र कथा भन्ने सुन्ने गर्नुपर्दछ । यसो गर्दा उनीहरूको डर कम हुन्छ ।
- बालबालिकालाई कथा, गीतमार्फत निडर भई परिस्थिति सामना गर्न हौसला दिनुपर्दछ । बढी माया, सुरक्षा, साथदिने गर्नुपर्दछ र खानपिन, स्याहारको विशेष ध्यान दिनुपर्छ ।
- विपद्को समयमा पनि केही हदसम्म दैनिकी निरन्तर भएको सुनिश्चित गर्नुपर्दछ, जस्तै, निश्चित उठ्ने समय, खेल्ने समय, सुत्ने समय । यसले बालबालिका (तथा वयस्कको पनि) मनोसामाजिक समस्या आउन दिदैन ।
- विशेषगरि कोभिड–१९ जस्तो लामो विपद्मा बालबालिकाको दैनिकी तथा सिकाइ निरन्तरता गर्नु अति आवश्यक छ । यसको लागि विद्यालय तथा स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरी वैकल्पिक तरिकाले सिकाइ निरन्तरता गरिनुपर्छ । आपत्कालीन अवस्थामा पनि शिक्षालाई निरन्तरता दिन पाउनु बालबालिकाको अधिकार हो ।
- विपद्को अवस्थामा बालबालिकाले असामान्य व्यवहार देखाउन सक्छन् (जस्तैः वान्ता गर्ने, पेट दुख्ने, झाडापखाला लाग्ने, खान रुचि नहुने, डराउने, बोल्न छाड्ने) । यस्तो अवस्थामा धैर्य गरेर उनीहरूलाई साथ दिनुपर्दछ । यस्ता समस्या क्रमशः कम हुन्छ तर उनीहरूको उमेर अवस्था व्यक्तित्वअनुसार समय लाग्छ ।
- यस्तो स्थिति सुधार नभएमा मनोभावनात्मक चोट परेको हुन सक्ने भएकाले बालबालिकालाई मनोविमर्शको व्यवस्था गर्नुपर्दछ ।
- विपद्पछि सकेसम्म चाँडो बालबालिकाको नियमित दैनिक क्रियाकलापमा फर्किन अभिभावक, समुदाय तथा विद्यालय एकजुट भएर लाग्नुपर्दछ ।