बाल व्यवहार र सकारात्मक अनुशासन
बालबालिकाको बानी व्यवहारहरूको सिर्जना गर्न गराउन प्रमुख पाँच आवश्यकता पूरा हुनुपर्दछ: जिउन, रमाउन, स्वतन्त्रता, स्नेहमयी सम्बन्ध र शक्तिसहितको अस्तित्व
बाल व्यवहार भन्नाले बालबालिकाले उमेर, अवस्था र परिवेशअनुसार शारीरिक हाउभाउ तथा भावनाहरू अभिव्यक्त गर्नु हो । अर्काे शब्दमा भन्नुपर्दा बालबालिकाको व्यवहार स्थानीय तथा राष्ट्रिय स्तरको मापदण्डमा उल्लिखित अवलोकन गर्न सकिने शारीरिक र संवेगात्मक सक्षमता, सिप, क्रिया प्रतिक्रिया सही समयमा सही ढङ्गले प्रर्दशन गर्न सक्नु हो । बालव्यवहार प्रर्दशन गर्नुको मुख्यतः दुई कारण हुन्छ:
१) केही पाउन
२) मतलब नगर्न (वास्ता नगर्न)
बालबालिकामा विश्वास, अस्तित्त्ब, पहिचान, शान्तिको भावना र आत्मनियन्त्रण गर्ने सिप उनीहरूको जन्मदेखि पाँच वर्षको अवस्थासम्ममा विकास भइसक्छ । बालबालिकाको बानी व्यवहारहरूको सिर्जना गर्न गराउन प्रमुख पाँच आवश्यकता पूरा हुनुपर्दछ । ती आवश्यकताहरू जिउन, रमाउन, स्वतन्त्रता, स्नेहमयी सम्बन्ध र शक्तिसहितको अस्तित्व हुन् । ती आवश्यकताहरू उनीहरूले पाउने वातावरणबाट नै हो ।
बाल व्यवहार र वातावरण
बालबालिकाको वातावरण भन्नाले ठाउँ (घर, छरछिमेक, पूर्व प्राथमिक कक्षा वा बालविकास केन्द्र, विद्यालय),वस्तु (खेलौना, दैनिक जीवनका सामग्री), व्यक्ति (आमाबुबा, अन्य अभिभावक, साथी), समय तथा कार्यक्रमहरूलाई बुझाउँछ । उनीहरूको बानी, व्यवहार घरपरिवारको संस्कृति, भाषा र वातावरणअनुसार विकास हुन्छ ।
अनुसन्धानअनुसार, गर्भावस्थाको शिशुले आमाबुबा, परिवार र वरिपरिको वातावरणमा भएको ध्वनि (सानो ठुलोआवाज, बाजाको सङ्गीत, जीवजन्तु, चराचुरुङ्गीको आवाज) सुन्ने गर्दछन् । जन्मपछि बोलीचाली, व्यवहार, रीति सस्ंकार हेरेर सुनेर, आफैँँ गरेर सिक्ने हुनाले आमाबुबाले सही भाषा र कर्म गर्नुपर्दछ । साना साना बालबालिकाले सुन्दैनन्, बुझ्दैनन्, केही प्रतिक्रिया जनाउँदैनन् भन्ने भ्रम आजैबाट छोड्नुपर्छ । त्यसैले कुनै पनि नकारात्मक कुरा र व्यवहार गर्भावस्थादेखि नै गर्नु हुँदैन ।
प्रत्येक शिशु/बालबालिकाको वृद्धि विकासमा वातावरणको महत्त्वपूर्ण भूमिका हुन्छ । बालबालिकाले पाउने वातावरणमा यदि अभिभावकले कुनै किसिमको (लिङ्ग, क्षमता आदि) भेदभावपूर्ण व्यवहार गरेमा, जस्तै फरक फरक भाषा, बोली बोलेमा, बालबालिकाको शारीरिक, बौद्धिक, भावनात्मक र सामाजिक विकासमा समेत नकरात्मक असरपर्दछ ।
बाल व्यवहारमा अभिभावकको भूमिका
- बालबालिकाको लागि आदर्श वा प्रेरणामूर्ति उनीहरूका आमबुबा र शिक्षकहरू हुन् । बालबालिकाको विकासात्मक मनोविज्ञान/व्यवहार र भावना बुझेर उनीहरूको भावना, रुचि, आवश्यकताहरूको सही तरिकाले व्यवस्थापन गर्न अभिभावकले सहयोग गर्नुपर्दछ । यसबाट उनीहरूलाई मनोसामाजिक सन्तुलन गर्न मद्दत पुग्दछ ।
- आफ्नो बानी, व्यवहार र बोलीमा एकरूपता गर्नुपर्दछ । कहिले यस्तो कहिले त्यस्तो गर्नु हुँदैन ।
- अभिभावकको काम, गुण र व्यवहारमा समान रूपको (१) स्नेह/माया (२) सहमति/प्रशंसा (३) सहानुभूति (४) धैर्य (सन्तुलन) (५) स्वःअनुशासन (६) सकारात्मकता (७) उत्प्रेरणा आदि समेटिनुपर्दछ ।
- बालबालिकासँग उनीहरूको क्षमताअनुसारको अपेक्षा राख्नुपर्दछ । अरूसँग तुलना, प्रतिस्पर्धा र पक्षपात कदापि गर्नुहँुदैन । बालबालिकाले ४ बर्षको उमेरसम्ममा आफ्नो संवेगहरू अभिव्यक्त गर्न सक्दछन् तर स्वनियन्त्रण गर्न वर्षौ समय लाग्छ । साँचो बोल्ने, मायालु स्वर, नामले बोलाउने, आदर शिष्ट भाषाले कुराकानी गर्नुपर्दछ । भावना व्यक्त गर्न अवसर दिनुपर्दछ ।
- केही क्रियाकलाप र व्यवहारहरू बालबालिकाको विकासक्रमअनुसारको लक्षणहरू हुन्छन् तर आमाबुबाले यसलाई समस्याको रूपमा चिन्ता गर्नुहुँदैन । जस्तै— खेल सामान बिगारेर खोतल्नु, कापी किताब च्यात्नु, अग्लो ठाउँबाट उप्रनु, नयाँ अनुहारसँग डराउनु, रुनु आदि ।
सकारात्मक अनुशासन
बालबालिकाले विभिन्न क्रियाकलाप गर्दा नोक्सान वा हानि हुन सक्ने सम्भावना हुन्छ । यी नोक्सानीलाई भूलस्वरूप दण्ड सजाय, गाली, अवहेलना (ignore) को अनुभव गर्नुपरेमा बालबालिकाको व्यक्तित्व विकास र सिकाइमा नकारात्मक असर पर्दछ ।
सजायले तत्काल (एकछिन) लाई समस्या समाधान भएकोजस्तो देखिएतापनि यसको दीर्घकालीन परिणाम राम्रो हुँदैन । तसर्थ अनुशासन कायम गराउन डर र दबाब होइन, समझदारी र सहभागितालाई प्राथमिकता दिनुपर्दछ । सही अनुशासनले बालबालिकालाई सिकाउँछ तर सजायले बालबालिकालाई पीडा दिन्छ । तसर्थ सिकाउने नाममा बालबालिकालाई दिइएको पीडाले सकारात्मक परिवर्तन ल्याउन अझ कठिन बनाउन सक्छ ।
बालबालिकालाई स्वनियन्त्रित बनाउन र उनीहरूको आत्मविश्वास बढाउन सकारात्मक ढङ्गमा सिकाइने कुरा नै अनुशासन हो । सकारात्मक अनुशासनको मूल कुरा भनेको प्रोत्साहित गर्नु हो, कुन व्यवहार किन राम्रो वा नराम्रो हो भन्ने बारेमा स्पष्ट पार्नु हो । अनुशासन र आत्मविश्वास वा आत्मसम्मानको एकआपसमा अत्यन्त मह¬वपूर्ण सम्बन्ध हुन्छ । अनुशासनविहीन बालबालिका, आत्मसम्मान वा आत्मविश्वासका साथ हुर्कन सक्दैनन् । त्यसैगरी आत्मसम्मान विनाको अनुशासन कोरा बन्धन हुन पुग्दछ र यसले पनि बालबालिकाको स्वभाविक विकासलाई बाधा पुर्याउँछ ।
असामान्य व्यवहारमा प्रतिक्रिया र सहयोग
बालबालिकाले गल्ती गरेर नै सिक्छन्, गल्ती गरेमा उनीहरूकै अनुभवबाट सुधार गर्ने अवसर दिनुपर्दछ । धैर्यताका साथ बालबालिकाले किन गल्ती गरे पत्ता लगाउनुपर्छ । यसो गर्नाले बालबालिकाले भविष्यमा आफ्ना गल्तीबाट पाठ सिकेर व्यवहार परिवर्तन गर्ने अवसर पाउँछन् ।
आफ्नो व्यवहार सधैँं एकनासको, समान र निष्पक्ष हुनुपर्छ । बालबालिकाले गरेको व्यवहारप्रति आफ्नो असहमति जनाउन उनीहरूसँग आँखा जुधाएर हेरिरहनुपर्दछ । बालबालिकासँग कुरा गर्दा, नाम लिंदा सामान्य स्वरले लिनुपर्छ । बालबालिकाले गरेको अनुचित कार्यप्रति उनीहरूको ध्यानाकर्षण गर्नुपर्दछ । सकारात्मक व्यवहार आफैँले गरेर देखाउनुपर्दछ ।
बालबालिकाले जे नगरुन् भन्ने लाग्दछ त्यो काम, व्यवहार र बोलीवचन तपाईले पनि गर्नुहुँदैन । बालबालिकालाई उनीहरूका साथीहरूसँग तुलना गर्नु हुँदैन । बालबालिकाले अपेक्षा गरेको कुरा के हो र किन भनी सरल भाषामा व्याख्या गर्नुपर्दछ ।
असल व्यवहारको लागि प्रोत्साहन र समर्थन
- बालबालिकालाई उनीहरूले राम्रो व्यवहार गर्दा प्रशंसा गर्नुपर्दछ, जस्तै “आज तिमीले आफ्नो खानेकुरा साथीभाइसँग बाँडेर खाएको देखेर म असाध्यै खुशी भएँ ।”
- बालबालिकालाई आफ्नो जिज्ञासा, अनुभूति व्यक्त गर्न सधैँं प्रेरित गर्नुपर्दछ ।
- प्रशंसा, हौसला गरी पुरस्कृत गर्नुपर्दछ ।
- समूहमा रहेको बेला अन्य बालबालिकाको ध्यान आकर्षित गर्ने गरी राम्रो कामको प्रशंसा गर्नुहोस्, जस्तै “सबैले हेर त, सुनिलले नपोखी खाजा खाइरहेको छ ।”
अभिभावकको मुख्य दायित्व
बालबालिकाको असल बानी व्यवहार विकासको लागि अभिभावकले निम्नानुसारको सकारात्मक र रचनात्मक सहयोग पुर्याउनुपर्दछ:
क) आदर्श व्यवहार: बालबालिकालाई आफूले असल व्यवहार गर्नेे र आफ्नो प्रेरणादायी अनुभव सुनाउनुहोस् ।
ख) अनुभूति आदानप्रदान: बालबालिकालाई आफ्नो माया, स्नेह व्यक्त गर्नुहोस् र अनुभूति गर्न समय दिनुहोस् ।
ग) सराहनाः छोरीछोराले गरेको असल व्यवहारको सराहना गर्नुहोस् । उनीहरूको असल बानी व्यवहारको प्रशंसा गर्नुपर्दछ ।
घ) राम्रा र नराम्रा काम: के कस्ता काम, ठाउँ र व्यवहार बालबालिकाका लागि जोखिमपूर्ण छन्, केकस्ता काम गर्दा बालबालिकाले सम्हाल्न नसक्ने समस्या आउन सक्छन् र के के काम र व्यवहार गर्न सकिन्छ भन्ने बारेमा कथाको माध्यमबाट जानकारी दिन सकिन्छ तर यसरी जानकारी गराउँदा लिङ्ग र अपाङ्गताको आधारमा भेदभाव हुने, अपमान महसुस गर्ने कथा र सूचना दिनु हुँदैन ।
ङ) हौसला र पुनर्बल: उनीहरूले गर्न सकेका खेल, र कामका लागि स्याबासी दिने, सहयोग गर्ने र प्रयासको प्रशंसा गर्ने र भावनाको मौखिक तथा हाउभाउबाट कदर गर्नुपर्दछ ।
च) सहकार्य र जिम्मेवारी: बालबालिकालाई उमेर र अवस्था सुहाउँदो जिम्मेवारी दिनुपर्दछ र समस्या, चुनौती सामना गर्न हौसला दिनुपर्दछ ।
| उचित अवसर, अभिभावकको प्रोत्साहन र समर्थनको अभावमा बालबालिकाको बानी, व्यवहारमा विचलन आउन सक्छ । यसका केही लक्षणहरू निम्न छन् । यीे अवस्थामा मनोपरामर्शविद्सँग सल्लाह लिनुपर्दछः |
|---|
|