नेपालमा बाढी र पहिरो प्रभावित बालबालिका र समुदायको आवश्यकता पूर्तिमा  युनिसेफ र दक्षिण कोरियाको सहयोग

30 नोभेम्बर 2024
Korean Ambassador and UNICEF Rep handing over a newborn kit to a young mother
UNICEF Nepal/2024/LPNgakhusi The Ambassador of the Republic of Korea to Nepal, HE Park Tae-young (right), and UNICEF Representative to Nepal, Ms. Alice Akunga (left) with young mother Roshani Shrestha in Panauti Municipality, Kavrepalanchowk District.

१५ मंसिर २०८१: नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ-योङ तथा नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले हिजो काभ्रेपलाञ्चोक जिल्लाको बाढी तथा पहिरो प्रभावित समुदायको भ्रमण गर्नुभएको छ ।  सो क्रममा राजदूत तथा युनिसेफ नेपाल प्रतिनिधिले संयुक्त रूपमा बालमैत्री स्थलको उद्घाटन र स्वास्थ्य तथा स्वच्छता सामग्रीहरू हस्तान्तरण गर्नुभयो ।   

गत सेप्टेम्बरमा भीषण वर्षातसँगै नेपालमा आएको बाढी र पहिरोले दसौं हजार घर, हजारौंको संख्यामा खानेपानी र सरसफाइ सुविधा केन्द्रहरू तथा सयौं विद्यालय र स्वास्थ्य केन्द्रहरू क्षतिग्रस्त भएका थिए । युनिसेफ उक्त बाढी प्रभावित बालबालिका र उनीहरूको परिवारसम्म सामाजिक तथा सुरक्षा सेवाहरूका साथसाथै जीवनरक्षाका अत्यावश्यक सामग्रीहरू पुर्‍याउन नेपाल सरकार तथा अन्य मानवीय साझेदारहरूसँग निकट भएर काम गरिरहेको छ ।  

‘हालैको बाढीले विशेषगरी महिला, बालबालिका, किशोरकिशोरी तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षालाई अझै जोखिममा पारेको छ,’ नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले भन्नुभयो, ‘दक्षिण कोरिया सरकारको सहयोगसँगै अन्य साझेदारसँग मिलेर युनिसेफले आठवटा बालमैत्री स्थल निर्माण गरिरहेको छ, जहाँ खेल्दै, सिक्दै गर्दा बालबालिका विपद्को त्रासबाट बाहिर आउन सक्छन् । ’

बाढी र पहिरोले धेरै स्वास्थ्य केन्द्रमा क्षति पुगेकोले स्वास्थ्य सेवाको पहुँच पनि ठूलो चिन्ताको विषय बन्न पुगेको छ । नेपाल सरकारको अनुरोधमा युनिसेफले पनौती नगरपालिकामा एउटा स्वास्थ्य सुविधायुक्त टेन्ट यसअघि नै लगाइसकेको थियो । यहीबीच, दक्षिण कोरियाली सरकारको सहयोगमा युनिसेफले स्वास्थ्य उपकरण तथा सामग्रीहरूसहित थप १० वटा मेडिकल टेन्टहरू निर्माण गरिरहेको छ ।

‘समयमै पनौती नगरपालिकामा बाढी तथा पहिरोको प्रतिकार्य हुँदा यस समुदायका सदस्यहरूले स्वास्थ्य सेवासहित जीवन सुरक्षा गर्ने सामाजिक तथा सुरक्षा सेवाहरू प्राप्त गरेका छन् ’ पनौती नगरपालिका नगर प्रमुख रामशरण भण्डारीले भने, ‘हाम्रो नगरपालिका महिला तथा बालबालिकालाई सुविधा प्रदान गर्ने स्वास्थ्य सेवा टेन्ट, स्वास्थ्य र स्वच्छता सामग्री उपलब्ध गराएकोमा हामी दक्षिण कोरिया सरकार तथा युनिसेफप्रति कृतज्ञ छौँ ।’

यसको अतिरिक्त, कोरिया सरकारको सहयोगमा युनिसेफले नेपाल सरकार तथा अन्य मानवीय साझेदारसँगको सहकार्यमा ३,००० परिवारलाई स्वच्छ पानी तथा सरसफाइ सामग्री प्रदान गरिरहेको छ । सँगसँगै, बाढी तथा पहिरोको अवधिमा क्षतिग्रस्त र नष्ट भएका पानीको महत्त्वपूर्ण केन्द्रहरूको पुनर्निर्माण गर्ने काम समेत भइरहेको छ। यसले समुदायलाई अत्तावश्यक पानी तथा स्वच्छता सेवाहरूको पहुँचमा सहयोग गर्नुको साथै सम्भावित पानीजन्य रोगको महामारीबाट सुरक्षित रहन समेत टेवा पुग्नेछ ।

‘हामीलाई युनिसेफसँगको साझेदारीमा विपद् प्रभावित क्षेत्रमा सबैभन्दा जोखिममा रहेका मानिस तथा उनीहरूको समुदायले समयमै महत्त्वपूर्ण सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्नसकेकोमा गर्व छ,' नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ-योङ्गले भन्नुभयो, ‘आज, हामीले जीवनरक्षाका लागि आवश्यक सामग्रीहरू वितरण गर्‍यौं । यसमा आमा र उनीहरूका शिशुका लागि सरसफाइको  सामग्री र नवजात शिशु किटहरू समावेश छन् । हिँउद सुरु भएसँगै तापक्रम घट्दै जाँदा उनीहरूलाई न्यानो रहन कपडा र कम्बलहरू पनि यी किटहरूमा समावेश छन्।’

दक्षिण कोरियाली सरकारले सयममै उपलब्ध गराएको ५००,००० अमेरिकी डलरको सहयोगसँगै युनिसेफ नेपाल सबैभन्दा प्रभावित बालबालिका तथा उनीहरूको परिवारलाई हिउँद सुरु हुनुअघि नै अत्यावश्यक सामग्री प्रभावकारी रूपमा उपलब्ध गराउन सफल भएको छ।

मिडिया सम्पर्कहरू

Florine Bos
Chief, Communications, Advocacy and Partnerships
UNICEF Nepal
इमेल: [email protected]

युनिसेफका बारेमा

युनिसेफले विश्वमा सबैभन्दा वञ्चितिमा परेका बालबालिकासम्म पुग्‍न विश्वका कठिन ठाउँहरूमा काम गर्दछ । विश्वका १९० देश र क्षेत्रहरूमा हामी सबैका लागि राम्रो संसार निर्माण गर्न हर स्थान र हरेक बालबालिकाका लागि काम गर्दछौँ । युनिसेफका बारेमा थप जानकारी र नेपालका बालबिलकाका लागि यसले गरेका कामहरूबारे थाह पाउन https://www.unicef.org/nepal/ मा हेर्नुहोस् । युनिसेफ नेपालबारे Twitter र Facebook मा पनि हेर्न सक्‍नुहुनेछ ।