नेपाल सरकार र विकास साझेदारहरूको विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि सहकार्य

17 अगस्ट 2023
Group of people standing
UNICEF Nepal/2023/MMalla

काठमाडौँ, ३२ श्रावण २०८० – नेपाल सरकार र आठ विकास साझेदारहरूले विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि संयुक्त वित्तीय सम्झौतालाई औपचारिक स्वरुप दिएका छन् । यस सम्झौताले संयुक्त रूपमा ७८ करोड अमेरिकी डलर सम्मिलित बजेट सहयोग विकास सहायता समावेश गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा तयार गरिएको विद्यालय शिक्षा क्षेत्र योजनाले नेपालका सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समावेशी पहुँच सुनिश्चित गर्ने देशको दीर्घकालीन लक्ष्यलाई सहयोग गर्ने उद्देश्य लिएको छ । सरकारले बृहत् शिक्षा क्षेत्रको विश्लेषण र कार्यान्वयनकर्ता, सरोकारवाला र लाभग्राहीहरूसँगको व्यापक परामर्शको आधारमा विद्यालय शिक्षा क्षेत्र योजना तयार गरेको हो ।

विद्यालय शिक्षा क्षेत्र योजनाले पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म नेपालको सम्पूर्ण विद्यालय शिक्षा क्षेत्रलाई समेट्छ, जसमा बालबालिका र युवाहरूका लागि अनौपचारिक शिक्षा तथा वैकल्पिक मार्गहरू समावेश छन् । यसमा शिक्षा क्षेत्रलाई दिगो विकास लक्ष्य २०३० को समय रेखाभन्दा अझ पर सन् २०३२ मा पुरा गर्ने लक्ष्य राखिएको छ ।

यो १० वर्षीय रणनीतिक योजना हो जसको पहिलो पाँच वर्षका लागि अनुमानित लागत करिब रु. ९ खर्ब ५५ अर्ब (७.२ अर्ब अमेरिकी डलर) रहेको छ । सरकारले रु. ८ खर्ब ३३ अर्ब (६.३ अर्ब अमेरिकी डलर) वित्तपोषण गर्ने प्रक्षेपण गरिएको छ, जसमा करिब ९० करोड अमेरिकी डलरको कोष अन्तर छ ।

आठ संयुक्त वित्तीय साझेदारहरू अर्थात् एसियाली विकास बैङ्क, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, शिक्षाका लागि वैश्विक साझेदारी, नर्वे सरकार, युनिसेफ, यूएसएआइडी र विश्व बैङ्कले आगामी पाँच वर्षमा संयुक्त रूपले ७८ करोड अमेरिकी डलर बजेट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालका बालबालिका र युवाहरूको शिक्षालाई अभिवृद्धि गर्नका लागि निरन्तर सहयोग र सहकार्य गरेकोमा संयुक्त वित्तीय साझेदारहरूलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा संयुक्त वित्तीय साझेदारहरूले विद्यालय शिक्षा क्षेत्र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउनुका साथै बालबालिकाको सिकाइमा कोभिड–१९ महामारीले पारेको तात्कालिक र दीर्घकालीन प्रभावलाई पनि सम्बोधन गरे । यसका साथै, संयुक्त वित्तीय साझेदारहरूले योजनालाई सान्दर्भिक बनाउन तथा कार्यान्वयन गर्न सातवटै प्रदेश र ७५३ स्थानीय सरकारमा संस्थागत क्षमता अभिवृद्धि गर्नका लागि सहयोग गर्न पनि प्रतिबद्धता जनाए ।

विगत दशकहरूमा विद्यालय शिक्षामा पहुँच र सहभागिताको हिसाबले उल्लेखनीय प्रगति भए तापनि बास्तविक सिकाइ उपलब्धी भने सुस्त रहेको छ, जसको अर्थ बालबालिका विद्यालय गइरहेका छन् तर पर्याप्त मात्रामा सिकिरहेका छैनन् भन्ने हो । कोभिड–१९ महामारीले सङ्कटासन्न समूह तथा क्षेत्रका बालबालिकाले असमान रूपले अति कम सिक्ने गरी सिकाइ सङ्कटलाई झनै बढाएको छ ।

युनिसेफ र फिनल्यान्ड दूतावासले विगत दुई वर्षदेखि शिक्षा विकास साझेदार समूहको सम्पर्क केन्द्रबिन्दु तथा सहसम्पर्क केन्द्र बिन्दुका रूपमा काम गर्दै आएका छन् र उनीहरुले आसन्न सम्पर्क तथा सहसम्पर्क केन्द्र बिन्दु क्रमशः विश्व बैङ्क र यूएसएआइडीलाई आफ्ना जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

###

थप जानकारीका लागि कृपया सम्पर्क गर्नुहोस्:
शर्मिना मानन्धर, युनिसेफ, smanandhar@unicef.org, ९८०१००७९२२

मिडिया सम्पर्कहरू

शर्मिना मानन्‍धर
सञ्‍चार विशेषज्ञ
युनिसेफ
सम्पर्क: ‌+9779801007922
इमेल: smanandhar@unicef.org

युनिसेफका बारेमा

युनिसेफले विश्वमा सबैभन्दा वञ्चितिमा परेका बालबालिकाहरूसम्म पुग्न विश्वका केहि कठिन ठाउँहरूमा काम गर्दछ । विश्वका १९० देशहरू र क्षेत्रहरूमा हामी सबैका लागि राम्रो संसार निर्माण गर्न हर स्थान र हर बालबालिकाका लागि कार्य गर्दछौं ।

युनिसेफ बारेको थप जानकारी र नेपालमा यसका कामहरूबारे थाह पाउन www.unicef.org/nepal मा हेर्नुहोस् ।

युनिसेफ नेपालबारे TwitterFacebookInstagram र YouTube मा पनि हेर्न सक्नुहुनेछ ।