कोभिड -१९ महामारीले नेपालमा बालबालिकाको विकास र सिकाइमा रहेको असमानतालाई झन् जटिल बनाएको छ

प्रत्येक पाँच जना बालबालिकामा एक जना विकासको लयभन्दा बाहिर छन् ।

19 डिसेम्बर 2021
This image shows two children at school
UNICEF Nepal/2019/LPNgakhusi

काठमाण्डौं, २० डिसेम्बर २०२१ - कोभिड-१९ महामारीको बिच, नेपालका २ देखि ४ वर्ष उमेर समुहका प्रत्येक पाँच जना बालबालिका मध्ये एक विकासको लयभन्दा बाहिर रहेको युनिसेफको नयाँ तथ्याङ्कले जनाएको छ महामारीले विशेष गरी बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई असर पारेको छ।

अगस्ट महिनामा गरिएको प्रारम्भिक बाल विकास सूचकांक (ECDI ) सर्वेक्षणले देखाएअनुसार, ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षा स्तर भएका हेरचाहकर्ताहरूको देखभालमा रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षा कार्यक्रमहरूमा सहभागी नभएका बालबालिका विकासको लय भन्दा टाढिने उच्च जोखिममा रहेका छन्। प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिका माझ पनि, निजी कार्यक्रमहरूमा भाग लिनेको तुलनामा सरकारी प्रारम्भिक बाल शिक्षामा भाग लिनेहरु विकासको लयभन्दा बाहिर हुने अधिक जोखिममा थिए । ECDI सर्वेक्षण फोनमा आधारित सर्वेक्षण हो । २ देखि ४ वर्ष उमेर समूहका बालबालिकाको विकास आवश्यकता र स्थिति बुझ्नको लागि राष्ट्रव्यापी रूपमा यो सर्वेक्षण बालबालिका भएका २८५३ घरधुरीहरूमा गरिएको थियो ।

हेरचाहकर्ताहरूसँग किताबहरू पढ्ने, कथाहरू सुनाउने, गीत गाउने, घुम्न जाने, वस्तुहरूको नाम भन्ने, गन्ने, वा चित्र कोर्ने जस्ता बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलापहरू उनीहरूको विकास र सिकाइको लागि महत्त्वपूर्ण भएको पाइयो । यद्यपि, तथ्याङ्कले पूर्व-महामारी अवस्थाको तुलनामा अभिभावकको संलग्नतामा कमी आएको खुलासा गरेको छ । गतिशील अवस्था अन्तर्गत र विशेष गरी अगस्ट २०२१ मा निषेधाज्ञाहरू खुकुलो पार्दा मानिसहरूको जीवन प्रभावित भएको समयमा, २०१९ मा  ७३ प्रतिशतको तुलनामा २०२१ मा ३१ प्रतिशत बालबालिकाले मात्रै घरमा यस्ता प्रारम्भिक क्रियाकलापमा सङ्लग्न भएका थिए । अक्टोबर महिनामा गरिएको थप सर्वेक्षण अनुसार कडा निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्केसँगै आमाहरूको संलग्नतामा सुधार भएको देखियो । यद्यपि, सामाजिक मानक कायम राख्दै, बुबाहरूको अभिभावकत्वको संलग्नता भने न्यून (६ प्रतिशत) कायम रह्यो।  

सर्वेक्षण गरिएकामध्ये आधा जति बालबालिका पूर्व प्राथमिक तहमा भर्ना भएको पाइएको छ । यद्यपि, विद्यालय बन्द हुँदा ३४ प्रतिशत बालबालिका वैकल्पिक विधिबाट सिकाइमा संलग्न भएका थिएनन् । धेरै जसो बालबालिकाको घरमै ट्यूशनमा पहुँच थियो, जबकि अनलाइन कक्षा, मोबाइल फोनबाट हुने शिक्षण, रेडियो, टिभी, दूर शिक्षण जस्ता सरकारको आपतकालीन कार्ययोजनाद्वारा निर्दिष्ट वैकल्पिक सिकाइ माध्यमहरू कम प्रयोग भएका थिए । रेडियो, टिभी र टेलिफोनमा आधारित शिक्षण सिकाई जस्ता न्यून-प्रविधि सहितका समाधानहरू पनि कम मात्रै प्रयोग भए । अनलाइन कक्षा जस्ता उच्च-प्रविधि सहितका समाधानहरू निजी प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिका बिच मात्र प्रयोगमा आयो । कम-प्रविधि सहितका समाधानहरू र उच्च-प्रविधि सहितका समाधानहरूमा असमान पहुँचले गर्दा निजी प्रारम्भिक बाल शिक्षामा र अन्य बालबालिका बिचको विकासात्मक अन्तर देखिएको हुन सक्छ । अध्ययनको विवरण यहाँ पाउन सकिन्छ

सबै बालबालिकाले आफ्नो विकासका सम्भावनाहरू महसुस गर्न र थप सिक्नको लागि तयार हुने कुरा सुनिश्चित गर्न, सर्वेक्षणको नतिजाको आधारमा, युनिसेफले सरकार, विकास साझेदारहरू, शिक्षकहरू, अभिभावकहरू र अन्य सरोकारवालाहरूलाई निम्न कुराहरू गर्न आह्वान गर्दछ :

  • उपचारात्मक सिकाइको लागि प्रभावकारी हस्तक्षेपहरू मार्फत विकासको लयभन्दा बाहिर हुने उच्च जोखिममा रहेका बालबालिकालाई लक्षित गर्ने। ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षा स्तर भएका हेरचाहकर्ताहरूको देखभालमा रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षा कार्यक्रमहरूमा सहभागी नभएका बालबालिका वा सरकारी सहयोगमा चलेका प्रारम्भिक बाल शिक्षा कार्यक्रममा भाग लिने बालबालिकालाई विशेष ध्यान दिनु आवश्यक छ ।
  • घर र विद्यालयमा सिकाइलाई सक्षम बनाउन प्रयोगकर्तामैत्री मुल्याङ्कन तथा पढाइ सिकाइ निर्देशिका मार्फत प्रत्येक बालबालिकाको व्यक्तिगत विकास र सिकाइ स्तर बुझ्न शिक्षक र अभिभावकहरूलाई सहयोग पुग्ने प्रणालीहरूको विकास गर्ने। 
  • विद्यालय बन्द हुने समयमा राष्ट्रिय आपतकालीन कार्ययोजनामा ​​तोकिएका वैकल्पिक सिकाइ माध्यमहरू प्रयोग गर्ने । तथ्याङ्कले यी सिकाइ माध्यमहरूको प्रभावकारिता देखाएतापनि,  परिवारद्वारा यी माध्यमहरू कम प्रयोग भएको कुरा पनि देखाउँछ ।
  • आमाबाबु र हेरचाहकर्ताहरूले घरमा बालबालिकाको सिकाइलाई सहयोग गर्न चाहिने निरन्तर प्रोत्साहन र मार्गदर्शन पाउने गरि, बुवाको संलग्नतामा ध्यान केन्द्रित गर्दै, गर्भधारणको अवस्थाबाट नै सुरु हुने गरी बहु-क्षेत्रीय सहकार्य मार्फत अभिभावक शिक्षालाई सुदृढ बनाउने ।
  • अभिभावकहरूले बालमैत्री पुस्तकहरू पढ्ने, कथाहरू सुनाउने, गीत गाउने, बालबालिकालाई घुमाउन लैजाने, उनीहरूसँग खेल्ने, वस्तुहरूको नामकरण गर्ने, चिजहरू गन्ने वा सँगै चित्र कोर्ने जस्ता गतिविधिहरू गरेर बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलापहरूमा वृद्धि गर्ने ।

मिडिया सम्पर्कहरू

तानिया धाख्वा
प्रमुख, सञ्चार शाखा
युनिसेफ नेपाल
सम्पर्क: 977-9801244524
इमेल: tdhakhwa@unicef.org

युनिसेफको बारेमा

युनिसेफले विश्वकै सबैभन्दा सीमान्तकृत बालबालिकासम्म पुग्नका लागि विश्वकै चुनौतीपूर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भु–भागहरूमा हामीले हरेक मानिसका लागि समुन्नत संसार बनाउन हरेक बालबालिकाका लागि हरेक ठाउँमा काम गर्छौं । बालबालिकाका लागि युनिसेफले गर्ने कार्यका बारेमा थप जानकारीका लागि www.unicef.org मा जानुहोस् । युनिसेफ लाई TwitterFacebookInstagramYouTube  मा पनि फलो गर्नुहोस् ।