घरमै प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित कसरी गर्ने?

साना बालबालिकालाई कसरी घरमै राखी उनीहरूसँग राम्रो सम्बन्ध तथा सम्झना बनाउने?

डा. दिपु शाक्य, प्रारम्भिक बालविकास विशेषज्ञ, युनिसेफ नेपाल
This image shows an illustration of a family sitting together with a book
2020/BTulachan

विश्वभर फैलिएको कोरोना भाइरसको (कोभिड –१९) संक्रमणका कारण बालबालिका अहिले घरमै बस्न बाध्य छन् ।  विगतका यी समयमा बालबालिका शैक्षिक सत्रको अन्तिम परीक्षा सकाएर लामो विदामा हुन्थे । घर बाहिर गएर खेल्न, घुम्न र सिक्न पाउँथे । तर, त्यो अवस्था अहिले छैन । साना बालबालिका, विशेष गरी ८ वर्षमुनिका बालबालिकालाई कसरी घरमै राखी उनीहरुको प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित गर्ने होला त?

 

किन ८ वर्ष मुनिका बालबालिकालाई विशेष ध्यान चाहिन्छ ?

गर्भावस्थादेखि ८ वर्षसम्मको उमेर बालबालिकाको शारिरीक, सामाजिक, संबेगात्मक तथा बौद्धिक बिकासको आधारशिला हो । यो अवधिलाई प्रारम्भिक बाल्यावस्था भनिन्छ । गर्भावस्थादेखि ५ वर्षको अवधिमा मस्तिष्कको ९० प्रतिशत विकास भइसक्छ । ८ वर्षसम्ममा बालबालिकाको सिकाइ क्षमता विकास भइसकेको हुन्छ । विभिन्न अनुसन्धानका अनुसार ८ वर्षसम्ममा सामान्य लेखपढ तथा गणितीय सीप हासिल गर्न नसकेका बालबालिकालाई त्यो पछिका वर्षमा यी सीप हासिल गर्न तथा अन्य सिकाइमा समेत अप्ठ्यारो हुन्छ । ८ वर्ष सम्मको पोषणको अवस्था तथा विकासात्मक अवस्थाले जिन्दगीभरको स्वास्थ्य तथा विकासमा असर पार्दछ ।

कसरी घरमै प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित गर्ने?

कोभिड-१९ ले गर्दा वयस्क तथा बालबालिकाको दैनिकीमा परिवर्तन आएको छ । सबभन्दा पहिले त घरमै दिनभर बालबालिकाले के गर्ने भन्ने दैनिकी बनाउने कुराबाट शुरु गर्नुहोस् । दैनिकी लचिलो तर निरन्तर पुरा गर्ने किसिमले बालबालिका आफैलाई बनाउन लगाउनुहोस् । दैनिकी बनाउँदा निम्न चार विकासात्मक पक्ष समेटेर बनाउन लगाउनुहोस् । स्वतन्त्र समय पनि राख्न लगाउनुहोस् ।

This image shows an illustration of a group of children playing ball and washing hands

शारीरिक विकास

  • सदाझै पोषिलो खाना खाने,
  • समयमै सुत्ने र समयमै उठ्ने,
  • व्यायाम, नाँच तथा योग जस्ता क्रियाकलापहरु गर्ने,
  • औंला प्रयोग हुने सिर्जनात्मक क्रियाकलापहरु जस्तैः चित्र बनाउने, रङ भर्ने, आदि गर्ने,
  • व्यक्तिगत सरसफाइ गर्ने, विशेषगरि साबुन पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने ।
This image shows children with their grandmother listening to stories and playing with stones

सामाजिक विकास

  • घरमा रहेका परिवारसँग विभिन्न विषयमा कुराकानी गर्ने,
  • ठूलाबडाबाट कथा तथा पहिलेका घटनाहरु सुन्ने,
  • घरमै खेलिने खेलहरु (चेस, लुडो, बाघचाल आदि) खेल्ने, 
  • साथीहरुसँग सञ्चार माध्यम (टेलिफोन तथा इन्टरनेट भएमा) प्रयोग गरेर कुराकानी गर्ने ।
This image shows children with their mother, playing with toys

संवेगात्मक विकास

  • पपेट अथवा पुतलीसँग खेल्दै आफूले खुसी, दुख, रिस कस्तो महसूस गर्दैछ बताउने,
  • अभिभावकले पनि विभिन्न कुरामा आफूले महशुस गरिरहेको कुरा बताउने,
  • घरका कामकाजमा बालबालिकालाई सघाउने, कसरी गर्ने सिक्ने,
  • सुत्ने बेलामा कथा सुन्ने वा चित्र कथा हेर्ने ।
This image shows an illustration of two children playing telephone using string and paper

बौद्धिक विकास

  • आवाज निकालेर कथाहरू पढ्ने,
  • उनीहरू आफैं पढ्न सक्दैनन् भने अभिभावकले पढेर सुनाउने,
  • गीत गाउने,
  • घरमा भएका सामग्रीसँग खेल्ने,
  • विभिन्न ध्वनि तथा वस्तुहरु चिन्ने,
  • विभिन्न विषयमा प्रश्नोत्तर गर्ने, विभिन्न आकार (गोलो, चारकुने, त्रिकोण) तथा रङहरु भएका घरभित्रका सामानहरुको सुची बताउने वा सकेमा लेख्ने,
  • खोजमूलक क्रियाकलाप गर्ने,
  • पजलहरु बनाउने ।

यसका साथसाथै टिभी हेर्ने वा मोबाइलमा खेल्ने वा सुन्ने समय सकभर कम राखौं । दैनिकी पुरा गरेपछि स्याबास भन्नुहोस् वा प्रोत्साहन दिनुहोस् । मुख्य कुरा, अभिभावकले आफ्नो समय बालबालिकालाई दिनुहोस् । उनीहरुको प्रश्नहरुको जवाफ दिनुहोस् । सँगै खेल्नुहोस् । रमाउनुहोस् ।

सकारात्मक रुपमा लिने हो भने यो समय बालबालिकासँग राम्रो सम्बन्ध तथा सम्झना बनाउने उत्तम अवसर पनि हो । यसको सकभर सदुपयोग गरौं ।

 

चित्रः बन्दना तुलाचन

This image shows a mother holding her child

कोरोना भाइरस : अभिभावकका लागि श्रोत‍-सामग्री

अभिभावक भएर कोभिड-१९ बारेमा जान्नु पर्ने कुरा