युनिसेफको अनौपचारिक शिक्षा कार्यक्रमले बालिकाहरुलाई पुन: विद्यालय जान सहयोग गरेको छ।
बालिकाहरुलाई पुन विद्यालय जाने वातावरण बनाउनुका साथै गेट कार्यक्रमले सोचमा परिवर्तन ल्याउनपनि सघाएको छ।
- English
- नेपाली
सप्तरी, नेपाल - आफु ठुलो भएपछि सुरजी मण्डल शिक्षक बन्न चाहन्छिन्।
दक्षिण तराई स्थित सप्तरीको श्री महावीर उच्च माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्ने उनले आफुलाई मनपर्ने विषयहरु नेपाली र सामाजिक सिक्षा हो भनेर भन्छिन्।
केहि वर्ष अघि सम्म शिक्षक बन्ने उनको सपना लगभग असम्भव नै थियो। घरको कमजोर आर्थिक अवस्थाका कारण उनी दुई कक्षामा पढ्दा-पढ्दै विद्यालय छोड्न बाध्य भईन्। युनिसेफको सहयोगमा सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रमका कारण उनी अहिले आफ्नो लक्ष पुरा गर्ने बाटोमा छिन्।
सुरजीले दुई वर्ष अघि “शिक्षामा बालिकाको पहुँच” नामक ९ महिने कार्यक्रम पुरा गरिन्। उक्त कार्यक्रमले उनलाई विद्यालय छोडेपछि छुटेको आफ्नो पढाई पुरा गर्न सहयोग गर्यो।
“म पढाईलाई निरन्तरता दिन चाहन्थेँ तर त्यति लामो समयसम्म स्कुल छुटेपछि फेरी स्कुल फर्किन मलाई आँट नै आएन”, उनले भनिन्। “गेट” कार्यक्रमले मलाई यस स्कुलको वास्तविक गेटबाट भित्र छिर्न आत्मविश्वास दिलायो।
हालैको समयमा सुरजीको विद्यालयमा विशेष गरी १० देखि १५ वर्षका बालिकाहरुको भर्ना दरमा तीव्र वृद्धि भएको छ। यसै वर्ष मात्रै लगभग २० जना “गेट” कार्यक्रमका सहभागीहरु कक्षा दुई देखि आठमा भर्ना भएका छन्।
आश्मा खातुन ती मध्ये एक हुन्।
सरकारले कक्षा आठ सम्म निशुल्क र अनिवार्य शिक्षाको कार्यक्रम ल्याएको भएतापनि आश्माले विद्यालय छोड्नुपरेको थियो। “मेरा बाबु-आमाले मेरा लागि शिक्षा सामाग्रीहरु (कापी-कलम आदि) किन्न सक्नुभएन”, कक्षा ६ मा पढ्ने उनले भनिन्। “घरमा सघाउनका लागि मैले स्कुल छोड्नुपर्यो”
घरमा अझैपनि सघाउनुपर्ने भएतापनि फेरी विद्यालय आउन पाएकोमा उनी खुसि छिन्।
“मलाई स्कुल आउन एकदम रमाईलो लाग्छ र लेख्न अनि पढ्न मलाई एकदम मनपर्छ”, उनले भनिन्।
बालिकाहरुलाई पुन विद्यालय जाने वातावरण बनाउनुका साथै गेट कार्यक्रमले सोचमा परिवर्तन ल्याउनपनि सघाएको छ। आश्माका बुवा आमाले शिक्षाको महत्व बुझे र अहिले उनीलाई माध्यमिक शिक्षा पुरा गर्न प्रोत्साहित गर्छन्
त्यसैगरी सुरजीका आमा बाबुले आफ्ना दुबै छोरीहरुलाई नियमित विद्यालय पठाउँछन्।
‘गेट’ कार्यक्रमले विद्यालय छोड्नुपरेका किशोरीहरुलाई प्रारम्भिक गणित तथा साक्षरताका साथै जीवनोपयोगी सीपहरु सिकाउने उद्देश्य राखेको छ। यस कार्यक्रममा सम्मिलित धेरै जसो बालिकाहरु परिवारको गरिबी वा चेतनाको कमिका कारण या विद्यालयमा भर्ना नै भएका थिएनन् या केहि वर्ष पछि विद्यालय छोड्नु पर्ने अवस्थामा पुगेका थिए। धेरैजसो परिवारलाई सघाउन विशेषगरी अन्न भित्र्याउने समयमा खेतबारीमा बालश्रमिकको रुपमा काम गर्न बाध्य थिए,
९ महिने यस कार्यक्रमबाट उत्तीर्ण भएपछि बालिकाहरु विद्यालय फर्किन तयार हुन्छन्। सप्तरीमा मात्र करिब ८० गेट केन्द्रहरु सञ्चालित छन् जसबाट लगभग १८०० बालिकाहरु लाभान्वित भएका छन्।
यस्तै एक केन्द्र छिन्नमस्ता गाउँपालिकामा छ जहाँ मुस्लिम समुदायका २५ बालिकाहरु हरेक बिहान ८ देखि १० बजे सम्म दुई घण्टे कक्षामा सहभागी हुन्छन्। डडिया यादव एक अत्यन्तै उत्साही सहजकर्ता हुन् जसले विगत ३ वर्ष देखि यि कक्षाहरु सञ्चालन गरिगहेकी छिन्। उनले संगीत, खेलकुद तथा नाटकहरु जस्ता रमाईला गतिविधीहरु प्रयोग गरी प्रारम्भिक पढाई, लेखाई, गणित र जीवनोपयोगी सीपहरु सिकाउंछिन्। यसका अतिरिक्त उनीहरुले प्रजनन स्वास्थ्य, खानेपानी तथा सरसफाई, घरेलु हिंसा, बालबिवाह लगायत अन्य धेरै विषयहरुमा शिक्षा पाउंछन्।
यस कार्यक्रमले बालिकाहरुलाई साक्षर बनाउने मात्र नभई बालबिवाह, महिला विरुद्धको हिंसा, लिंग तथा जातिका आधारमा हुने भेदभाव जस्ता सामाजिक कुरीतिहरुको सामना गर्न पनि सिकाउंछ
समुदायका सदस्यहरु शुरुमा आफ्ना छोरीहरुलाई गेट कार्यक्रममा पठाउन हिच्किचाउँछन्, उनले भनिन्। शिक्षाको महत्व बुझाउनका लागि घर-दैलो कार्यक्रमको आवश्यकता पर्दछ। आफ्ना बालिकाहरुमा आएको परिवर्तन देखेर भने उनीहरु यस कार्यक्रम प्रति कृतज्ञ हुन थालेका छन्। बालिकाहरुको प्रगतिबारे छलफल गर्न उनीहरुका अभिभावकसंग मासिक भेटघाट गर्ने गरिएको छ।
“शुरुवाती दिनहरुमा बालिकाहरु प्राय लजालु र हतास हुन्छन्, र उनीहरुको आत्मविश्वास एकदमै कम हुन्छ”, उनले भनिन्। “तर समय वितेसंगै उनीहरुमा सम्पूर्ण परिवर्तन आएको तपाईं देख्न सक्नुहुन्छ। उनीहरु आत्मविश्वासी र दृढ-निश्चयी हुन्छन्।
सुरजी र आश्माका लागि भने फेरी विद्यालय जान पाउनु नै आफैमा ठुलो उपलब्धी हो। दुई वर्ष अगाडी उनीहरु विद्यालय वाहिर थिए तर अहिले उनीहरु माध्यमिक शिक्षा सकेर थप उच्च शिक्षा हासिल गर्न दृढ छन्।