बालकेन्द्रित सिकाईका लागि वातावरण कसरी सुनिश्चित गर्ने ?
बालबालिकाको रुचि र आवश्यकता अनुसार आफ्नो क्षमता चिन्न र निरन्तर विकास गर्ने वातावरण कसरी सुनिश्चित गर्ने ?
बालकेन्द्रित सिकाइ भन्नाले बालबालिकाले आफ्नो क्षमता, उमेर, अवस्था, रुचि र इच्छाअनुसार सिक्ने सिकाउने क्रियाकलाप हो । बालकेन्द्रित सिकाइको लागि बालबालिकाको रुचि र आवश्यकताअनुसार स्वतन्त्र रूपमा आफ्नो क्षमता चिन्न र निरन्तर विकास गर्ने वातावरण हुनुपर्दछ । बालबालिकाले आफ्नो क्षमता, उमेरअनुसार सिक्नु उनीहरूको आवश्यकता हो ।
उनीहरूले स्वःस्फूर्त रूपमा खुशी भई सिक्नाले दिगो सिकाइ हुन्छ । बालबालिकाले बढी से बढी क्रियाकलाप गरेर सिक्छन् । बालकेन्द्रित सिकाइ क्रियाकलापले जीवन उपयोगी दैनिक सिप विकास गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्छ । बालबालिकाको विकासशील क्षमता, परिपक्वता र आवश्यकताहरूमा केन्द्रित हुने गरी तयार गरिएको बालकेन्द्रित क्रियाकलापहरूमा बाल सहभागिता, सुरक्षा, गोपनीयता, मर्यादा तथा सम्मानको समेत कदर हुनुपर्छ ।
बालकेन्द्रित वातावरण
बालबालिकाको उमेर र सिक्ने रहर अनुरुप घर भित्र र बाहिरको वातावरण पनि बालकेन्द्रित हुनुपर्छ । बालबालिका आमाका गर्भमा भएदेखि आठ वर्षको उमेरसम्म उनीहरूको उमेर र आवश्यकता अनुरुप बालकेन्द्रित वातावरण तयार गर्दै लैजानुपर्छ । यसलाई निम्नानुसार बुझ्न सकिन्छः
१.सुरक्षितः घरको भित्र तथा बाहिरको वातावरण बालबालिकाको उमेरअनुसार चोटपटक नलाग्ने, दुर्घटना नहुने किसिमको खतरामुक्त र भयमुक्त हुनुपर्दछ । जस्तैः घरमा विषादीहरूको गन्ध नभएको, अगेना वा आगोका स्रोतहरू बालबालिकाको पहँच भन्दा बाहिर, विद्युतीय प्लगहरू बालबालिकाले नभेट्ने ठाउँमा भएको, घरबाहिर पनि खाल्डाखुल्डी नभएको, काँडा सिस्नो नभएको, विषादी, धारिलो औजार नभएको हुनुपर्छ । बालबालिकाले प्रयोग गर्ने सामग्रीहरू पनि शारीरिक तथा मानसिक विकासमा प्रतिकूल असर नपर्ने हुनुपर्छ ।
२. स्वस्थः सफा वातावरण बालबालिकाका लागि स्वस्थ वातावरण हो । बालबालिका बस्ने र खेल्ने ठाउँ सफा, हावाको ओहोरदोहोर गर्ने, आवाजहरू तथा हल्लाखल्ला नहुने, बालबालिकाको दैनिक लगाउने प्रयोग गर्ने सामानहरू पनि सफा हुनुपर्दछ ।
३. सहज पहुँचः बालबालिकाका सामग्री उनीहरूले सजिलै पुग्न सक्ने, आफैँ झिक्न र राख्न सक्ने हुनुपर्छ । जस्तै, बालबालिकाको शौचालय, उनीहरूले सजिलै प्रयोग गर्न सक्ने, प्रयोग गरेपछि सजिलै हात धुन सक्ने धाराको व्यवस्था, शौचालयमा चुकुल आफैँ खोल्न सक्ने किसिमकोे हुनुपर्छ ।
४. उत्प्रेरणात्मकः बालबालिकालाई उत्प्रेरणात्मक वातावरण हुनुपर्छ । जसअनुसार विभिन्न इन्द्रियहरूमार्फत बालबालिकालाई विभिन्न अवसर दिनुपर्छ । (विस्तृतमा शीर्षक ८ मा हेर्न सक्नुहुन्छ ।)
५. समावेशीः कुनै पनि भेदभाव नभएको, सबैलाई सहभागी हुन सजिलो किसिमको वातावरण हुनुपर्छ । (विस्तृतमा शीर्षक २५ मा हेर्न सक्नुहुन्छ)
बालकेन्द्रित सिकाइ क्रियाकलाप
बालकेन्द्रित सिकाइ क्रियाकलापलाई मुख्यतः निम्नानुसार बुझ्न सकिन्छः
खेलः खेल बालबालिकाले जन्मसँगै लिएर आउने गुण हो । बालबालिकाको उमेर बढ्दैजाँदा खेलको तरिका, खेलौना र सिकाइ पनि वृहत् हुँदैजान्छ । त्यसैले बालबालिकालाई उमेर सुहाउँदा खेल, खेलौना, साथी तथा अभिभावकहरूले पनि सहभागी भएर खेलाउनुपर्छ । (विस्तृतमा शीर्षक २७ मा हेर्न सक्नुहुन्छ )
कथाः बालकथाले बालबालिकाको सर्वाङ्गीण विकास विशेषतः बौद्धिक क्षमताहरू परिकल्पना, समस्या समाधानको सिप तथा संवेगहरूको प्रष्फुटन, नियन्त्रण र सन्तुलन गर्दछ । त्यसैले बालबालिकालाई उमेरअनुसार कथा भन्ने गर्नुपर्दछ । कथा भन्दा हाउभाउसहित स्वरलाई उतारचढाव गरेर रमाइलो र रोचक तरिकाले भन्नुपर्छ ।
गीत सङ्गीतः गीत सङ्गीत बालबालिकाको अर्को मह¬वपूर्ण क्रियाकलाप हो, गर्भदेखि नै बालबालिकालाई गीत सुनाउनुपर्छ । गीत पनि बालबालिकाको उमेरअनुसार वृहत् बनाउँदै लैजान सकिन्छ । जस्तैः विषयवस्तुअनुसारको गीत, सामाजिक नियम तथा जन्म मृत्युको गीत, विभिन्न भाषाको गीत आदि ।
अभिनयः बालबालिकाले नक्कल गरेर सिक्ने, अभिनय गर्न मन पराउने भएकाले अभिनयको विशेष स्थान रहेको छ, बालबालिकाले आफूले भोगेका अनुभवहरू अभिनयद्वारा प्रस्तुत गर्छन् ।
सिर्जनात्मक कलाः कला सिर्जना पनि बालबालिकाले अति नै मनपराउने क्रियाकलाप हो । रङहरूसँगको खेल, कागज च्यात्ने, जोड्ने, बनाउने, बिगार्ने आदि कागजका विभिन्न वस्तुहरू तयार गर्ने, क्रेयनबाट रङ लगाउने, माटोको प्रयोगबाट विभिन्न वस्तुहरू सिर्जना गर्ने गर्दा बालबालिकाले कल्पना गरेका कुराहरू सिर्जना गरेर देखाउँछन्
प्रकृति अवलोकनः बालबालिकालाई घुम्न जान, वरिपरिको वातावरण, चरा, जनावर, बोटबिरुवा अवलोकन गर्न धेरै मनपर्छ । आठ नौ महिनादेखि नै उनीहरू बाहिरी वातावरणमा जान बल गर्ने, इशारा गरेर शरीरले धकेलेर घुम्न जाने इच्छा गर्दछन् । यो क्रम पनि उमेरअनुसार वृहत् हँुदै जान्छ ।
अन्तरक्रियायाः बालबालिकाले कुरा गर्न खोज्दा अभिभावक वा स्याहारकर्ताले आँखा जुधाएर, टाउको हल्लाएर, मुस्कुराएर, कुराकानीमा सकारात्मक उत्प्रेरणा दिनुपर्छ । बालबालिकाको बुझाई के रहेछ भनेर अभिभावकले पनि प्रश्न गर्ने, उनीहरूले बताएको कुरा ध्यानदिएर सुन्ने र बोल्नलाई उत्पे्ररित गर्नुपर्छ ।
बालकेन्द्रित सिकाइ क्रियाकलापका फाइदा
- सक्रियता र स्वःप्रोत्साहन मिल्दछ ।
- कल्पना र सोचाइ सिप विकास हुन्छ ।
- अन्तरक्रिया र सञ्चार सिप विकास हुन्छ ।
- सिकाइ अनुभव र आत्मविश्वास बढ्छ ।
- विषयवस्तुप्रतिको सकारात्मक धारणा विकास हुन्छ ।
- सकारात्मक सम्बन्धको विकास हुन्छ ।
- समस्या समाधान र उत्तरदायित्वको सिप विकास हुन्छ् ।
- सिकाइका जिम्मेबार बन्न प्रोत्साहन गर्छ ।
- स्वःव्यवस्थापनको सिप विकास गराउँछ ।
- समस्या समाधानका तरिका सिकाइ हुन्छ ।
- नेतृत्व क्षमताको विकास हुन्छ ।
बालकेन्द्रित सिकाइ क्रियाकलापमा अभिभावकको मुख्य दायित्व
बालबालिकाको क्षमता, उमेर, अवस्था, रुचि र इच्छाअनुसार सिक्ने सिकाउने क्रियाकलाप गराउनुपर्छ र सोही अनुरुपको वातावरण दिनुपर्छ । अभिभावकले बालविकास केन्द्र तथा विद्यालयमा पनि बालकेन्द्रित सिकाइ भइरहेको सुनिश्चित गर्नुपर्छ ।
बालबालिकाका लागि आफ्नो निश्चित ठाउँ बनाइदिनुपर्छ । जस्तै, दराज, र्याक अथवा डालो, ढक्की, कोठाको एक कुना । यसमा बालबालिकाले सजिलो र सुरक्षित रूपमा खेल्न सक्ने सामग्री राखिदिनुपर्छ । बालबालिकालाई खेलेपछि आफ्नो ठाउँमा मिलाएर राख्न सिकाउनुपर्दछ ।