प्रारम्भिक बाल्यावस्थामा उत्प्रेरणा
शिशुको उत्प्रेरणाको लागि केही क्रियाकलापका उदाहरणहरू
बालबालिकाको सर्वाङ्गीण (शारीरिक, बौद्धिक, सामाजिक तथा संवेगात्मक) विकासको आधार गर्भावस्थादेखि नै भएको हुन्छ । यसैगरी गर्भदेखि नै बालबालिकाको मस्तिष्कको जटिल प्रणालीको पनि स्थापना भइसकेको हुन्छ । उक्त जटिल प्रणालीको क्षमता विकास शिशुले पाएको पोषण, उसले पाउने स्याहार तथा वातावरण र उत्प्रेरणामा निर्भर गर्दछ ।
प्रारम्भिक बाल्यावस्थामा जति विभिन्न अनुभव गरियो, उति नै धेरै मस्तिष्कको संरचना तथा क्षमताको अभिवृद्धि हुन्छ । साथै सिकाइ प्रक्रिया सहज हुन्छ । बालबालिकालाई उपलब्ध गराइने अनुभवहरू नै उनीहरूलाई दिइने उत्प्रेरणा (stimulation) हुन् । बालबालिकालाई उपलब्ध गराइने अनुभवहरू वा उत्प्रेरणाकोे तरङ्गहरूको माध्यमबाट मस्तिष्कले सूचनाहरू सङ्कलन गरी, अवधारणा बनाउने, पहिचान गर्ने, भण्डार गर्ने, सञ्चार गर्ने जस्ता बौद्धिक प्रक्रिया याहरू गर्दछ ।
उत्प्रेरणाको मात्रा, प्रकार तथा निरन्तरताले मस्तिष्कको सञ्जालको निर्माणमा सघाउँछ । बालबालिकाले पाउने उत्प्रेरणालाई दुई प्रकारमा विभाजन गर्न सकिन्छः
| १) संवेदी उत्प्रेरणा | बालबालिकाको पाँचओटा इन्द्रियहरूको सक्रियताको कारण मस्तिष्कले पाउने उत्प्रेरणा संवेदी उत्प्रेरणा हो । बालबालिकाको ज्ञानेन्द्रियहरू जति धेरै प्रयोग हुन्छ, उत्ति नै मस्तिष्कको विकास र सिकाइ सबल हुन्छ । संवेदी उत्प्रेरणालाई पाँच ज्ञानेन्द्रियहरूअनुसार पाँच भागमा विभाजन गरीएको छः क) दृष्य उत्प्रेरणा, ख) श्रव्य उत्प्रेरणा, ग) स्पर्शसम्बन्धी उत्प्रेरणा, घ) स्वादसम्बन्धी उत्प्रेरणा, र ङ) बास्नासम्बन्धी उत्प्रेरणा । |
| २) गत्यात्मक उत्प्रेरणा | गत्यात्मक उत्प्रेरणा भन्नाले शारीरिक चाल तथा गतिद्वारा मस्तिष्कले पाउने उत्प्रेरणा भन्ने बुझिन्छ । बालबालिकाले सुरुमा हात खुट्टा चलाउँदै विस्तारै शरीरका अन्य भागहरू कौशलतापूर्वक चलाउन सिक्दछन् । शरीरलाई सन्तुलन गर्न, सिपमूलक कौशलता प्रदर्शन गर्न सामानहरू उचित ढङ्गले प्रयोग गर्न सिक्दछन् । यस्ता सिपमूलक क्रियाकलाप जन्मदेखि निरन्तर विकसित हुँदै जान्छन् । |
उत्प्रेरणाको महत्त्व
प्रारम्भिक बाल्यावस्थामा जति धेरै अनुभव गर्ने मौका दिइयो, उति नै धेरै मस्तिष्कको संरचना तथा क्षमताको अभिवृद्धि हुन्छ । उत्प्रेरणाले बालबालिकाको ज्ञानेन्द्रियहरूको माध्यमले मस्तिष्कमा तरङ्ग उत्पन्न हुन्छ र सो तरङ्गले लाखौँ मस्तिष्कका न्युरोनहरूसँग समन्वय गराउँछ ।
गर्भावस्थाको अन्तिम २ देखि साढे २ महिना र जन्मेको पहिलो २४ महिनामा मस्तिष्कले अत्यधिक उत्प्रेरणा लिन्छ वा मस्तिष्कको स्नायुहरू एकैठाउँमा नजिकिन्छन् । यसरी उत्प्रेरित स्नायुहरूमात्र शिशुको क्षमतामा परिणत भई जीवनभरि जीवित हुन्छन् ।
अवसर नपाउदा सो स्नायुहरू संरक्षित हुन नसकी वयस्कमा आफैँ मेटिएर हराएर जान्छन् । उत्प्रेरणाको तरङ्गले एकपटकमा करिब ५००० देखि एक लाखसम्म स्नायुलाई उत्प्रेरित गर्छ । त्यसैले शिशुले जस्तो खालको उत्प्रेरणा पायो उस्तै क्षमता विकास हुन्छ ।
उत्प्रेरणामा प्रभाव पार्ने तत्त्वहरू
बालबालिकाको उत्साह, जाँगर सिर्जना गराउने महत्त्वपूर्ण तत्त्व उनीहरूका आधारभूत आवश्यकता हुन् । बालबालिकाको आधारभूत आवश्यकताहरू स्तनपान, पोषिलो खाना, मौसमअनुसार लुगा, स्याहार, सुरक्षा, माया, खेल मनोरञ्जन, विभेदरहित अवसर आदि हुन् तर यी आधारभूत आवश्यकताको अभावमा बालबालिका निरुत्साहित हुन्छन् ।
बालबालिकामा विद्यमान जैविक उर्जाहरू समय, परिस्थिति, वातावरण जस्ता बाहिरी तत्त्वबाट प्रभावित हुन्छ । यसबाट उनीहरूको उत्साहमा सकारात्मक र नकारात्मक असरपर्दछ । उत्प्रेरणा र मनोसामाजिक स्याहार पाएमा शिशुको मस्तिष्क विकास अधिकतम हुन्छ तर हिंसा, दुुर्व्यवहार, सजायले मस्तिष्क विकास अधूरो हुने र गहिरो आघात समेत हुन्छ ।
उत्प्रेरणाका फाइदा
- शिशुले खाएकोे खानाबाट पौष्टिक तत्त्वको सोस्ने परिमाण बढाउँछ ।
- शिश-बालबालिकाको उमेरअनुसार अधिकतम वृद्धि विकास गराउँछ ।
- स्वस्फूर्त रूपमा आन्तरिक उत्प्रेरणा हुने क्षमता विकासमा टेवा पुर्याउँछ ।
- सिकाइमा रुचि बढाउँछ ।
- नयाँ अनुभव र समस्या समाधान गर्ने सिप विकास गर्छ ।
- सकारात्मक, मायालु र सुरक्षित वातावरणको अनुभवमा हुर्कने अवसर दिन्छ ।
- उमेर र अवस्थाअनुरुप आवश्यक सिपको समन्वयात्मक र समष्टिगत विकास गराउँछ।
उत्प्रेरणा नपाएमा बालबालिकामा पर्ने असर
- बालबालिकाको व्यक्तित्व विकासमा नकारात्मक असर पर्दछ ।
- सही समयमा संवेगहरू अभिव्यक्त गर्न असमर्थ हुन्छ ।
- सिकाइ क्षमतामा ह्रास आउँछ ।
- बालबालिकाको मनोसामाजिक विकासमा असर पर्छ, जस्तै दुखी, निराश, रुने, डराउने हुन्छन् ।
- सर्वाङ्गीण वृद्धि र विकासमा अवरोध आउँछ ।
- आत्मविश्वासमा कमी, नेतृत्व क्षमतामा कमजोरी आउँछ ।
बालबालिकालाई उत्प्रेरणात्मक वातावरणमा अभिभावकको भूमिका
बालबालिकालाई उनीहरूको उमेर र क्षमताअनुसार खेल अन्तरक्रियाहरूबाट निम्नानुसार उत्प्रेरणात्मक क्रियाकलापहरू गराउनुपर्दछः
१. संवेदी उत्प्रेरणाका केही क्रियाकलापहरू
क) दृष्य उत्प्रेरणाका क्रियाकलापहरू
- बालबालिकाको उमेरअनुसार विभिन्न क्रियाकलापहरू गर्ने जस्तै, कोक्रामा रङ्गीचङ्गी चित्रहरू झुण्डाउने, हावाले हल्लाउने, घुम्ने खेलौना, बज्ने वस्तुहरू झुण्डाउनुहोस् ।
- उज्यालो कोठाको व्यवस्थापन गर्ने, वरपरी पोस्टर टाँसेर यसका चित्रहरू देखाउनुहोस् ।
- नरम पुस्तक, रङ्गीचङ्गी तथा सुरक्षित खेलौना, फ्ल्यास कार्ड दिने, चित्र चिन्ने खेल खेलाउनुहोस् ।
- प्रकाश परावर्तन हुने खेलौनाहरू जस्तैः ऐना देखाएर खेलाउनुहोस् ।
- माउ हाउ वा कु.. कु.. हा.. खेल वा, खेलौना लुकाइ खेल खेलाउनुहोस् ।
- भ्रमण, घुमफिर गर्ने, बाटो पत्ता लगाउने, खेल लुकामारी खेलाउनुहोस् ।
- आकार छुट्याउने खेल, लुकेको चित्र पत्ता लगाउने जोडा मिलाउने खेल चित्र संयोजन चित्र पुस्तक, पढ्ने, डोमिनो, हराएको अंश पत्ता लगाउने चित्र र शब्द ब्लक खेल पजल (थोरै टुक्राको) मिलाउने फरक छुट्याउने खेल विभिन्न आकार साइज र ब्लक खेलाउने आदि खेलाउनुहोस् ।
ख) श्रव्य उत्प्रेरणा
- शिशुको अनुहारमा हेरेर कुराकानी गर्ने, विविध प्रकारका ध्वनि र आवाज सुनाउने, हावाले बज्ने घण्टी, आवाज आउने खेलौना बज्ने खेलौना बज्ने तथा घुम्ने खेलौना आदि झुण्ड्याउनुहोस् ।
- धुन तथा सङ्गीत बजाउने बालगीत, रेडियो आदि सुनाउने, कविता सुनाउने, कथा सुनाउने÷भन्ने कार्यमा सहभागी गराउनुहोस् ।
- शब्द खेल, अन्ताक्षरी शब्द खेल-गीत, कानेखुशी खेल, नक्कल गर्ने खेल, आवाज चिन्ने, आँखा छोपी साथीको आवाज चिन्नेखेल खेलाउनुहोस् ।
- प्रश्न उत्तर खेल, आवाज निकालेर पढ्ने सुनेको कुरा दोहोर्याउने, फोनवार्ता गराउने, जोक्स सुनाउने-भन्न लगाउने, निर्देशनात्मक खेल, शब्द संयोजन खेल आदि खेलाउनुहोस् ।
- दोस्रो वा वैदेशिक भाषा कहिलेकाँही सुनाउनुहोस् ।
ग) स्पर्शसम्बन्धी उत्प्रेरणा
- विभिन्न छोएर अनुभव गर्न सकिने तर हानिकारक रङ प्रयोग नभएका खेलौना दिने
- (जस्तैः पुतली, नरम खेलौना), बालुवा, माटो र पानीमा खेल्न दिनुहोस् ।
- खन्याएर खेल्ने, छामेर वस्तु चिन्ने, तेल मालिस गर्ने, लोसन लगाउने, तातो र चिसो
- छुट्याउने खेल खेलाउनुहोस् ।
- माटो मुछी खेल्ने, हातखुट्टाको छाप लगाउने, औंलाले चित्र बनाउने, बाँध्ने र कस्ने खेलौना, माला उन्ने, साबुनको फिँज तथा फोका आदि खेल्नदिनुहोस् ।
- विभिन्न वस्तुलाई छोएर खेल्ने (जस्तै बोर्ड खेल, आकार बोर्ड) दिने, आकार छुट्याउने बाकस दिने माटो, बालुवा, पिठोमा औँलाले कोर्ने खेल, औँलाले शरीरमा कोर्ने र पत्ता लगाउने खेल, आँखामा पट्टी बाँधी छामेर साथी चिन्ने, लेस लगाउने खेल, सिलाइ र बुनाइ जस्ता खेलहरू खेल्ने अवसर दिनुहोस् ।
घ) स्वाद बास्नासम्बन्धी उत्प्रेरणा
- विभिन्न स्वाद तथा बास्ना भएका खानेकुरा खान चाख्न दिने, बेग्ला बेग्लै स्वाद भएका खानेकुरा केही समयको अन्तरालमा खान दिई कस्तो लाग्यो भन्न लगाउनुुहोस् ।
- स्वाद सम्बन्धी खेल, जस्तै चाखेर नुन र चिनी छुट्याउने, आँखामा पट्टी बाँधी खानेकुराको बास्ना र स्वाद चिन्ने खेल खेलाउनुहोस् ।
- विभिन्न बास्ना भएका साबुन, स्याम्पु तथा मञ्जनको प्रयोग गर्ने, घरमा भएका लसुन अदूवा, विभिन्न मरमसालाको बास्नासँग छुट्याउन लगाउने, बास्नायुक्त र स्वादसँग परिचित गराउने उस्तैै स्वाद र बास्ना आउने वस्तुहरूको जोडा मिलाउने खेल खेलाउनुहोस् ।
🚸बालबालिकाका सुरक्षामा पनि ध्यान दिऔं 🚸
बालबालिकालाई कुनै पनि खालका केमिकलहरू तथा कडा बास्ना आउने फुल तथा अन्य वस्तुहरू सुघाउनु हुँदैन । यसैगरी स्वाद लिने वस्तुहरू पनि खान मिल्ने वस्तुहरू मात्र हुनुपर्छ ।
शिशुलाई खेलौना झुण्ड्याउँदा गह्रौँ हुनुहुँदैन । बाहिरी खेलहरू खेलाउँदा (टायरमा छिर्ने, झुण्डिने, नाघ्ने उफ्रिने आदि) गर्दा चोटपटक नहुने तथा खतरनाक किरा र सर्प नलागेको कुरा सुनिश्चित गर्नुपर्दछ ।
भित्री खेलका सामग्रीहरू सफा, चोटपटक वा दुर्घटना नहुने किसिमका (धारिलो किनार नभएको, धेरै कडा नभएको, चर्को आवाज नआउने, बालबालिकाले निल्न वा अड्काउन सक्ने साना वस्तु नभएको) हुनुपर्छ ।
२. गत्यात्मक उत्प्रेरणाका केही क्रियाकलापहरू
- तेल मालिस गर्ने, हातगोडालाई दायाँबाँया गरेर सञ्चालन गराउने, शिशुले सुतेर खुट्टाको चाल गर्दा गर्न दिने, हातहरू जिउ चलाएर
- सङ्गीतको तालमा चाल गर्ने आदि गराउनुहोस् ।
- शारीरिक व्यायाम, साङगीतिक खेल नाच, योगा, ब्रेन जीम, प्राकृतिक वातावरणमा भ्रमण लैजाने खेलकुद मार्शल आर्टस उफ्रने, दौडने खेलहरू खेलाउनुहोस् ।
- माला उन्ने, पन्ना पल्टाउने, चित्र कोर्ने, समात्ने, फ्याँक्ने खेल, बल फ्याँकेर निर्देशित अङ्गले छुने औँलाको प्रयोग हुने क्रियाकलापहरू हान्ने, उठाउने खेल जस्तै छोडाउने केलाउने बाँध्ने र कस्ने खेलौनाहरू दिई खेलाउनुहोस् ।
- हाँस्ने हँसाउने, हल्का काउकाउ, काउकुटी लगाएर खेल्ने, घस्रने, पौड्ने लडिबुडी गरेर, गुल्टुङ्गबाजी खेलाउनुहोस् ।
- माटो मुछी खेल्ने, बेल्ने, पजल, जिग्स पजल मिलाउने, ससाना चिम्टाले वा लुगा कागज च्याप्ने, पट्याउने, च्यात्ने खेल भुईँमा खसेको चिजबिज, गेडागुडी, बटन, दाना टिप्ने, फुक्ने, सिटी बजाउने खेलहरू खेलाउनुहोस् ।
- पिङ, चाकाचुली, जङ्गल जिम, चिप्लेटी टनेल, टायरमा हिँड्ने, बाहिरी खेल भाँडाकुटी, गुडिया खेल्ने भित्री खेल बाँयाले दाँया, दाँयाले बाँया तानेर, धकेलेर खेल्ने निर्माण गर्ने खेलौना घरायसी काम, जस्तै सरसफाइ, धुलाईमा सहभागी गर्ने चाङ लाएर खेल्ने खेलौना आलि सूक्ष्म तथा स्थूल अङ्ग सञ्चालनका क्रियाकलापहरू गराउनुहोस् ।