प्रारम्भिक बालविकास: मानव विकासको जग

जीवनको प्रारम्भिक उमेरमा पाएका अवसरहरूको परिणाम जीवनभर रहन्छ 

युनिसेफ नेपाल
बालविकासका सबै पक्षहरू एक अर्कामा अन्तरसम्बन्धित हुन्छ
UNICEF Nepal
29 मे 2019

बालविकास भन्नाले बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक तथा सामाजिक विकास भन्ने बुझिन्छ । विकास उमेरअनुसार  क्रमिक रूपमा हुने परिवर्तनको एक प्रक्रिया हो । मानव जीवनको सुरुवाती अवस्था प्रारम्भिक बाल्यावस्था भनिएको हो । राष्ट्रिय योजना आयोगबाट तयार गरिएको ‘प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति (२०७७–२०८८)' ले प्रारम्भिक बाल्यावस्थालाई गर्भावस्थादेखि आठ वर्षसम्मको उमेर भनी परिभाषित गरेको छ ।

यस चरणमा हुने बालबालिकाको सर्वाङ्गीण विकास (शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक तथा सामाजिक विकास) नै प्रारम्भिक बालविकास हो । प्रारम्भिक बालविकास बहुउद्देश्यीय, बहुपक्षीय अवसर र प्रक्रियाको परिणाम हो । अर्थात् बालबालिकाको हुर्काइमा पोषण, स्वास्थ्य, सरसफाइ, मायाममता, सिकाइ र संरक्षणले एकीकृत रूपमा असर गरेको हुन्छ । जीवनको प्रारम्भिक उमेरमा पाएका यी अवसरहरूको परिणाम जीवनभर रहन्छ । प्रारम्भिक बालविकासका पक्षहरू निम्न हुन् :

 

क. शारीरिक विकास

 शरीरमा देखापर्ने सकारात्मक परिवर्तनहरू, तौल तथा उचाइसँगै आन्तरिक अङ्गहरूको आकारहरू बढ्नुलाई शारीरिक वृद्धि भनिन्छ । वृद्धिअनुसारको शारीरिक सञ्चालन तथा कार्य दक्षतालाई शारीरक विकास भनिन्छ । प्रारम्भिक बाल्यावस्थामा शारीरिक वृद्धि तथा विकास तीव्र गतिमा हुन्छ । शरीरिक वृद्धि सजिलै मापन गर्न सकिन्छ । जस्तै तौल, उचाइ मापन गर्ने, पाखुरा, टाउकोको घेरा मापन गरी कुन उमेरमा कति हुनुपर्ने हो, सोअनुसार पत्ता लगाउन सकिन्छ । तर मापनअनुसारका कार्यक्षमता बालबालिकाको उमेरअनुसार फरक फरक हुन्छ ।

शारीरिक विकासलाई निम्नानुसार बुझ्न सकिन्छ :

स्थूल अङ्गहरूको विकास – ठुला मांसपेशी, हात, गोडा तथा पाखुराको सञ्चालन, समन्वय र सन्तुलन गर्ने (जस्तै, वस्तु एवम् खेलौना समात्ने र फाल्ने) क्षमताको विकासलाई स्थूल अङ्गको विकास भनिन्छ ।

सूक्ष्म अङ्गहरूको विकास – आँखा, कान, नाक, मुख, छाला जस्ता चेतना शक्ति तथा इन्द्रियहरूको क्षमता र औँला समन्वय गरी सञ्चालन गर्ने क्षमताको विकासलाई सूक्ष्म अङ्गको विकास भनिन्छ ।

भर्खर जन्मिएको बालकले रुन र दुध चुस्न मात्र जानेको हुन्छ भने दिन बित्दै जाँदा विस्तारै हात गोडा चलाउने, बामे सर्ने, बस्ने, उठ्ने, दगुर्ने, खेल्ने सिपहरू विकास हुँदै जान्छ । उमेरअनुसार सूक्ष्म अङ्ग, स्थूल अङ्ग र मांसपेशीहरूको बिच समन्वय गरी शरीर सञ्चालन नियन्त्रण गर्ने क्षमताको विकासलाई शारीरिक विकास भनिन्छ ।

प्रारम्भिक बाल्यावस्थामा शारीरिक वृद्धि तथा मस्तिष्क विकास तेज गतिमा हुन्छ
UNICEF Nepal

ख) बौद्धिक विकासः

मस्तिष्क वृद्धि र चेतनाको विकास बौद्धिक विकास भित्र पर्छ । बालबालिकाको मस्तिष्कको वृद्धि यो उमेरमा अत्यन्त छिटो हुन्छ । मस्तिष्कका कोषिकाहरूको वृद्धिले बौद्धिक क्षमता अभिवृद्धि हुन्छ । अनुसन्धानअनुसार ६ वर्षसम्ममा बालबालिकाको मस्तिष्कको तौल वयस्क भन्दा ९५ प्रतिशतले वृद्धि भएको हुन्छ । चेतनाको विकास, विवेक विकास, स्मरण शक्तिको विकास, तर्क गर्ने, समस्या सुल्झाउने, विश्लेषण गर्ने, आदि बौद्धिक विकासका सूचकहरू हुन् । उदाहरणको लागि आवाज सुन्ने, बुझ्ने, चिन्न खोज्ने, समस्या समाधान गर्ने, फरक छुट्याउन सक्ने, गन्ती गर्ने, रङ, आकार प्रकारबारे थाहा पाउने, सोचेर बोल्ने, तर्क गर्ने आदि बौद्धिक सिपको विकास प्रारम्भिक अवस्थामा हुन्छ ।

ग) भाषा विकास:

भाषिक विकास भन्नाले सुन्ने, बोल्ने, कुराकानी र सञ्चार गर्ने सिप र सक्षमता हो । भाषाले बुझ्ने, तर्क गर्ने, निर्णय गर्ने क्षमताको विकास गर्छ । बालबालिकाले सबैभन्दा पहिले आफ्नै मातृभाषामा सिक्छन् । शिशुले आफ्ना आमाबुबा र अरूले बोलेको सुनेर ध्वनि, शब्द र यसका अर्थ बुझ्न थाल्छन् । सानैदेखि सुन्ने अवसरले भाषा र सञ्चार सिपको विकास हुन्छ ।

भाषा विकासका आधारहरू सुनाइ, बोलाइ, पढाइ र लेखाइ हुन् । उमेरअनुसारका भाषा विकासको अवसरले बालबालिकाले पढाइ लेखाइ सजिलै गर्न सक्छन् । यसैगरी बाल्यावस्थामा गर्भदेखि सुनेका भाषा प्यारो र यसबाट चाँडै सिक्न सक्छन् । यो उमेरमा अन्य भाषाहरू पनि सजिलै सिक्न त सक्छन्, तर एउटा भाषामा पोख्त भने बनाउनुपर्छ ।

मस्तिष्क वृद्धि र चेतनाको विकास बौद्धिक विकास भित्र पर्छ
UNICEF Nepal

घ) संवेगात्मक विकास:

बालबालिकाको आन्तरिक अनुभूति वा संवेगको विकास नै संवेगात्मक विकास हो । संवेग सकारात्मक र नकारात्मक हुन्छ । सकारात्मक संवेग खुसी, रमाइलो, आनन्द, सन्तुष्टि, विश्वास आदि हुन् भने, नकारात्मक संवेग रिस, ईष्र्या, शङ्का, डर आदि हुन् । सकारात्मक संवेग र नकारात्मक संवेगको नियन्त्रण, सही ठाउँमा प्रकट गर्ने सिप विकास प्रारम्भिक बाल्यावस्थामा नै हुन्छ । संवेगको प्रष्फुटन नभएको खण्डमा बालबालिकामा विभिन्न समस्याहरू देखापर्छ । नकारात्मक संवेगहरू डर, चिन्ता, शङ्का, दुःख, शोकको प्रभाव लामो समयसम्म रहेमा यसले बालबालिकामा व्यवहारिक, मानसिक तथा शारीरिक समस्याहरू हुन सक्छ । 

 

ङ) सामाजिक विकास:

बालबालिकाले समाजमा मिलेर बस्ने, व्यक्तिहरू चिन्ने, सामाजिक नियमहरू बुझ्ने, साथी बनाउने, सहयोग गर्ने, खेल्ने, तथा घुलमिल गर्ने, पालो पर्खने, नियम सिक्ने, पालन गर्ने आदि सिपहरू सामाजिक विकासका सूचक हुन् । जन्मेदेखि नै बालबालिकाको सामाजिकीकरण प्रक्रिया सुरु हुन्छ । अभिभावकको व्यवहार तथा पारिवारिक वातावरणबाट नै उनीहरूले सामाजिकीकरणका आधारभूत सिपहरू सिक्दछन् । बालबालिकाले समाजबाट पाएका सहयोग, प्रशंसाले स्वःअवधारणा तयार गरी सो अनुरुप व्यक्तित्व विकास गर्न तत्पर हुन्छन् । 

जन्मेदेखि नै बालबालिकाको सामाजिकीकरण प्रक्रिया शुरु हुन्छ
UNICEF Nepal

प्रारम्भिक बालविकासको महत्त्व

 मानव जीवन सफल हुनका लागि निरोगी, तन्दुरुस्त, असल, विवेकशील, शिक्षित, सहयोगी, सदाचारी, सद्गुणी, मिहिनेती, भावनात्मक सन्तुलन हुनु आवश्यक हुन्छ । यी गुण, सिपहरूको आधार वंशाणुगत तथा बालबालिका हुर्कने वातावरणले प्रदान गर्दछ । वंशाणुगत गुणलाई वातावरणले गतिशील बनाउँछ । पोषिलो खाना र उचित स्याहारले बालबालिकाको वृद्धि विकास हुन्छ । स्याहारको अभावमा, रोग, कुपोषण र दुव्र्यवहारले बालबालिकाको वृद्धि र विकासमा प्रत्यक्ष रूपमा दीर्घकालीन असर पार्दछ । विभिन्न अनुसन्धानले प्रारम्भिक बालविकासको धेरै मह¬व छ भन्ने कुरा प्रमाणित गरिसकेका छन्, सारांशमा केही मुख्य बुँदाहरू निम्नानुसार छन्ः


मस्तिष्कको उच्चतम विकास हुने अवस्था  
गर्भावस्थादेखि नै मस्तिकका स्नायुहरूको विकास सुरु हुन्छ । जन्मेको समयमा शिशुको मस्तिष्कको तौल वयस्कको मस्तिष्कको ३३ प्रतिशत हुन्छ भने ९० दिन पछि ५५ प्रतिशतमा वृद्धि हुन्छ ।द्ध मस्तिष्कका स्नायुहरूको विकास ८० प्रतिशत पहिलो दुई वर्षमा हुन्छ भने, ५ वर्षमा ९० प्रतिशत विकास हुन्छ । पोषणले मस्तिष्कको स्नायुहरूको वृद्धि गर्न सहयोग गर्छ । इन्द्रियहरूको माध्यमबाट पाइएका विभिन्न अनुभव र अवसरहरूले स्नायुहरूलाई उत्प्रेरित गरी मस्तिष्कमा सञ्जालहरू तयार गर्छन् । यो क्रम उमेरअनुसार बढ्दै जान्छ । यसरी संञ्जाल बनेका कोषहरूमात्र जीवनभर काम गर्छन् । करिब २० देखि ८० प्रतिशत कोषहरू उत्प्रेरणा नपाएर मर्दै जान्छ ।छ यसैले सानो उमेरमा अनुभव नगरेका वा अवसर नपाएका तथा कम अनुभव गरेका कुरामा ठुलो हुँदा पनि कमजोर हुने सम्भावना बढी हुन्छ । 


सिकाइ क्षमता बढी हुने अवस्था  
प्रारम्भिक बाल्यावस्थामा आँखा, कान, नाक, छाला र जिब्रोको क्षमता अत्यन्त तीक्ष्ण हुन्छ । सिकाइको “सही जग बसाल्ने” अवधि प्रारम्भिक बाल्यावस्था हो । यस उमेरमा प्राप्त गरेको ज्ञान, सिप र अनुभवले विद्यालय तथा भावी सिकाइमा सहयोग पुर्‍याउँछ । प्रारम्भिक बालविकासको अवसर पाएका बालबालिका चलाख, नेतृत्व गर्ने र सिकाइ उपलब्धि अरूको भन्दा बढी भएको पाइएको छ ।


भाषा तथा सञ्चार सिपको विकास  
यस उमेरमा भाषिक क्षमताको विकास तीव्र हुन्छ । धेरै सुन्न खोज्ने, बोल्ने, प्रश्न गर्ने जस्ता सिपले उनीहरूको सोच्ने, तर्क गर्ने, समस्या समाधानको योजना गर्ने, अर्थपूर्ण शब्द सङ्ग्रह गर्ने, बोल्नको लागि शब्द चयन गर्ने, शब्दको अर्थ पहिल्याउने जस्ता बौद्धिक क्षमताहरू अभिवृद्धि हुन्छ । यस उमेरका बालबालिकाले बोल्ने, सुन्ने र विभिन्न चित्र तथा सङ्केत हेर्ने अवसर पाए भने २ देखि ६ वर्षको उमेर सम्ममा २००० देखि १०,००० शब्दभण्डार बनाउन सक्छन् । सक्रिय बालबालिकाले हप्तामा १० देखि २० ओटा नयाँ शब्दहरू सिक्ने गर्छन् । त्यसैले अभिभावकले बालबालिकासँग मातृभाषामा कुराकानी गर्ने, तर्क गर्र्ने गर्नुपर्छ । यससँगै उनीहरूले सँगसँगै स्थानीय र अन्य भाषा बुझ्न र बोल्न पनि सक्षम हुन्छ ।


बानी व्यवहार र सामाजिक विकास हुने अवधि  
यस उमेरमा सिकेका बानी व्यवहार, जस्तै एकाग्र हुने, हार नमान्ने, मेहनत गर्ने, समस्या समाधान आदि जीवनभर रहन्छन् । यसै उमेरमा उसको सामाजीकरण सिपको पनि विकास हुन्छ । प्रारम्भिक बाल्यावस्थामा बालबालिकाले मुख्यतः अभिभावकको व्यवहार अवलोकन गरेर, नक्कल गरेर सिक्छन् । अभिभावक नै उनीहरूको नमुना व्यक्तित्व हो । आमाबुबा अनुशासित, मिलनसार, बराबर काम बाँडेर गर्ने, महिलाले गर्ने काम र पुरुषले गर्ने भनेर नछुट्याउने भएमा उनीहरूले पनि सिकेर परिवार तथा समाजमा राम्रो सम्बन्ध स्थापना गर्न सक्षम र साथी तथा दौँतरीसँग पनि सजिलै घुलमिल हुन, सहयोगी तथा आत्मनिर्भर हुन सिक्छन् । 


आर्थिक लाभ 
अभिभावकहरूले आफ्ना बालबालिकाको स्वास्थ्य, पोषण, सुरक्षा, सिकाइ, लालन पालनको लागि लगानी गर्दछन् । प्रारम्भिक बाल्यावस्थामा लगानी गर्नाले धेरै प्रतिफल पाइन्छ । अमेरिका तथा जमैकामा गरिएका अनुसन्धानहरूअनुसार साना बालबालिकामा गरिएको लगानी बापत १७ गुणा सम्म लाभ हुन्छ । जस्तोः समयमै खोप लाउने र स्वास्थ्य स्याहार, तथा उत्प्रेरणाले आदिले पछि हुने रोगको उपचार खर्च जोगिन्छ र उच्च बौद्धिक क्षमताले पढाइमा सफल हुने, ठुलो भएर राम्रो आम्दानी गरी परिवारको मात्रै नभर्ई समुदाय तथा देशको समेत आर्थिक विकास हुन्छ ।