प्रारम्भिक बालविकास: मानव विकासको जग

बालविकासका विभिन्न अन्तरसम्बन्धित पक्षको विकासात्मक दक्षताहरू बारे जानकारी

युनिसेफ नेपाल
UNICEF Nepal

29 मे 2019

मानव जीवन सफल हुनका लागि निरोगी, तन्दुरुस्त, असल, विवेकशिल, शिक्षित, सहयोगी, सदाचारी, सदगुणी, मिहेनती र भावनात्मक सन्तुलन भएको व्यक्तित्व हुनु आवश्यक हुन्छ । यी गुण, सीपहरूको आधार वंशाणुगत तथा बालबालिका हुर्कने वातावरणले प्रदान गर्दछ । वंशाणुगत गुणलाई वातावरणले गतिशिल बनाउँछ ।

यस अवस्थामा उनीहरूले पाउने पोषण, उत्प्रेरणा, स्वास्थ सेवा, संरक्षण, स्याहार, तथा सिकाइ अवसरले सर्वाङ्गीन विकास हुन्छ । बालविकासका सबै पक्षहरू एक अर्कामा अन्तरसम्बन्धित हुन्छ । एक पक्षमा नकारात्मक असर परेको स्थितिमा अरु पक्षमा पनि असर पर्दछ । यस अर्थमा विभिन्न पक्षको विकासात्मक दक्षताहरू बारे जानकारी लिनु आवश्यक हुन्छ ।

क.     शारीरिक विकास

शरीरको तौल तथा उचाइ बढ्नुलाई शारीरिक वृद्धि भनिन्छ । यसको साथै शरीरको अङ्गले गर्नुपर्ने क्रियाकलाप कार्य दक्षतालाई शारीरक विकास भनिन्छ । प्रारम्भिक बाल्यावस्थामा शारीरिक वृद्धि तथा मस्तिष्क विकास तेज गतिमा हुन्छ । सामान्यतः शारीरिक विकासलाई दुई भागमा बाँडिन्छ:

  • स्थुल अङ्गहरूको विकास – ठूला मांशपेशी, हात, गोडा तथा पाखुराको समन्वय र सन्तुलन गर्ने (जस्तै, वस्तु एवम् खेलौना समात्ने र फाल्ने) क्षमताको विकास भनिन्छ ।
  • सूक्ष्म अङ्गहरूको विकास – आँखा, कान, नाक, मुख, छाला जस्ता चेतना शक्ति तथा इन्द्रियहरूको क्षमता, हत्केला, औँला समन्वय गरी सञ्चालन गर्ने क्षमताको विकासलाई सूक्ष्म अङ्गको विकास भनिन्छ ।
UNICEF Nepal

ख)    बौद्धिक विकासः

मस्तिष्क वृद्धि र चेतनाको विकास बौद्धिक विकास भित्र पर्छ । बौद्धिक विकास भनेको विवेकको विकास, स्मरण शक्तिको विकास, तर्क गर्ने, समस्या सुल्झाउने, विश्लेषण गर्ने चेतनाको विकास आदि हुन् । जस्तै, आवाज सुन्ने, बुझ्ने, चिन्ने, खोज्ने, समस्या समाधान गर्ने, फरक तथा सानो ठूलो छुट्याउन सक्ने, गन्ती गर्ने, रङ्ग,  आकार प्रकारबारे थाहा पाउने, सोचेर बोल्ने, तर्क गर्ने आदि वौद्धिक विकासका उदाहरण हुन् ।

बौद्धिक विकासका निम्ति सरसफाइ, पोसिलो खाना, खेल, खेलौनाको आवश्यकता पर्नुका साथै बालबालिकालाई रोगबाट पनि बचाउनुपर्छ । विरामी भइरहेमा बालाबालिकाको बौद्धिक विकासमा असर पर्छ ।

बौद्धिक विकास राम्रो भएका बालबालिका निम्न कार्य गर्न सक्षम हुन्छन्:

  • दुई वस्तुबीचमा फरक छुट्याउन
  • एकै किसिमको र फरक किसिमको वस्तु छुट्याउन,
  • लामो छोटो छुट्याउन र गन्ती गर्न, साधारण चित्र हेरेर सार्न, रङ्ग चिन्न, आकार छुट्याउन आवाज चिन्न, व्यक्तिको अनुहार चिन्न, वस्तुको खोजी गर्न, समस्या समाधान गर्न, तर्क दिन, सोचेर काम गर्न ।

ग)     भाषा विकास:

भाषा विकास भन्नाले सुन्न, बोल्न, कुराकानी र सञ्चार गर्ने सीप र सक्षमता हो । शिशु/बालबालिकाले सबैभन्दा पहिले आफ्नै मातृभाषामा सिक्छन् । शिशुले आफ्ना आमाबाबु र अरुले बोलेको सुनेर ध्वनि, शब्द र यसका अर्थ बुझ्न थाल्छन् । सानैदेखि सुन्ने अवसरले भाषा र सञ्चार सीपको विकास हुन्छ ।

भाषा विकासका आधारहरू सुनाइ, बोलाइ, पढाइ र लेखाइ हुन् । अभिभावकले बालबालिकासँग कुराकानी गर्ने, कथा सुनाउने, गीत गाउने, वस्तुको नाम बताउने, चित्र देखाएर बयान गर्ने गर्नु पर्दछ । बालबालिकाले सुन्ने, बोल्ने, हेर्ने/पढ्ने र केरकार गर्ने अवसरले उनीहरूमा भाषा विकासको आधार बन्दछ । “किताब हेर्न” र यसबारेमा बताउनाले शिशु अवस्थादेखि नैं किताब पढ्न रुचि बढ्छ ।

UNICEF Nepal

घ)     संवेगात्मक विकास:

बालबालिकाको आन्तरिक अनुभूतिको विकास नै संवेगात्मक वा भावनात्मक विकास हो । संवेगात्मक विकास भनेको माया, विश्वास, उत्सुकता, रिस, डर, इच्छा, प्रेम, घृणा, सुरक्षा, प्रशंसा आदि हुन् । बालबालिकाले सुनेर, देखेर, हेरेर, गरेर, भित्र मनबाट निस्कने आफ्नो भावना र अरुप्रति देखाउने नै संवेगात्मक व्यवहार हो ।

बालबालिका धेरै संवेदनशील हुन्छन् । उनीहरूले आफ्नो भावनालाई रोएर, हाँसेर, चिच्याएर, कराएर, रिस देखाएर आफ्नो मनमा भएको संवेग व्यक्त गर्छन् । उनीहरूले सधैँ आफूलाई माया गरीरहोस् भन्ने चाहन्छन् । माया, ममता, स्नेह, स्यावासी, प्रोत्साहन बालबालिकाको संवेगात्मक विकासका आवश्यक तत्त्वहरू हुन् । बालबालिका आमाबाबु, परिवार र छरछिमेकीबाट सधैँ माया, स्नेह पाउने आशा गरी रहन्छन् । यदि उनीहरूले आशा गरेजस्तो माया स्नेह पाएनन् भने उनीहरूको संवेगात्मक सन्तुलन हुँदैन । संवेगात्मक सन्तुलन नभएमा पछिसम्म डराउने, आत्मविश्वास कम हुने, आत्मनिर्भर नहुने हुन्छ ।

संवेगात्मक असन्तुलनले गर्दा बालबालिका रिसाउने, झगडालु हुने, झिजो मान्ने, जे काम गर्न पनि नचाहने, एक्लै त्यसै बसिरहने, टोलाएर बस्ने, डराउने आदि हुन्छन् । संवेगात्मक असन्तुलन भएका बालबालिकाले ओछ्यानमा पिसाब गर्ने, नङ, औँला चुसिरहने गर्छन् । पोषिलो खाना खान पाएका, माया, हौसला, प्रेरणा पाएका बालबालिका आत्मनिर्भर हुन्छन् । आफ्नो काम आफैँ गर्छन् ।

त्यसैले बालबालिकाको कुरा सुनिदिने, सोधेको जवाफ दिने, वातावरणमा घुलमिल गराउने, कथा सुनाउने, आफू पनि उनीहारू जस्तै नक्कल गरि खेल्ने र खेलाउने गर्नुपर्दछ ।

ङ) सामाजिक विकास:

जन्मेदेखि नै बालबालिकाको सामाजिकीकरण प्रक्रिया शुरु हुन्छ । अभिभावकको व्यवहार तथा पारिवारिक वातावरणबाट नै उनीहरूले सामाजिकीकरणका आधारभूत सीप सिक्दछन् । भविष्यमा मानिस समाजमा मिल्न प्रारम्भिक बाल्यावस्थामा सामाजिक विकासको निकै नै महत्त्वपूर्ण छ । सामाजिक विकासका निम्ति खेल, साथी, मनोरञ्जन, नातागोता चिन्ने जस्ता अवसरले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । बालबालिकाले जे देख्छन् त्यही सिक्छन् । परिवारको मूल्यमान्यता र आमाबाबुले गर्ने व्यवहारले उनीहरूको सामाजिक विकासमा प्रभाव पार्दछ । प्रारम्भिक बाल्यावस्थामा बालबालिकाले बानी, व्यवहार, स्वास्थ्य तथा सरसफाइ र नैतिक मूल्य सिक्छन् । यी बानी तथा व्यवहारले उनीहरूको जीवनका आगामी चरणमा दह्रो प्रभाव पार्छन् ।

UNICEF Nepal