प्रारम्भिक बालविकासको अवसरमा अभिभावकको भूमिका
बालबालिकाका विभिन्न विकासात्मक पक्षको उचित विकासका लागि बालबालिकालाई विभिन्न अवसरहरू दिनुपर्छ
शारीरिक विकासको अवसर
गर्भदेखि नै आमाको व्यवहार र सकारात्मक बानीले, शिशुले पनि शारीरिक विकासको अवसर पाउँछ । जन्मपछि पनि अभिभावकले खोप, पोषण, सुरक्षा, खेल, व्यक्तिगत सरसफाइ गर्न दिनुपर्छ । दुर्घटनाहरू तथा हिंसा र दुव्र्यवहारबाट बचाउनुपर्छ । शारीरिक सञ्चालन, समन्वय र सन्तुलनका अवसरबाट शारीरिक विकास हुन्छ । विशेष गरी उमेरअनुसार सूक्ष्म र स्थूल अङ्ग विकासका लागि यी अङ्ग सञ्चालन र नियन्त्रण गर्ने प्रशस्त अवसर दिनुपर्छ ।
स्थूल अङ्गहरूको विकासका लागि ठुला मांशपेशी, हात, गोडा तथा पाखुराको सञ्चालन, समन्वय र सन्तुलन गर्ने क्रियाकलापहरू, जस्तै बल पास गर्ने, समात्ने र फाल्ने, दौडिने, उफ्रिने, घुम्ने, झुण्डिने पिङ खेल्ने, चिप्लिने आदि क्रियाकलापहरू गराउनुपर्छ ।
सूक्ष्म अङ्गहरूको विकासका लागि हातका औँलाहरू सञ्चालन, समन्वय र सन्तुलन गर्ने क्रियाकलापहरू, जस्तै खन्याउने, टिप्ने, गाँस्ने, च्यात्ने, उन्ने बुन्ने, छाम्ने आदि क्रियाकलापहरू गराउनुपर्छ ।
बौद्धिक विकासको अवसर
बौद्धिक विकासका निम्ति सरसफाइ, पोषिलो खाना, खेल, खेलौनाको आवश्यकता पर्नुका साथै रोगबाट पनि बचाउनुपर्छ । बिरामी भइरहेमा बालबालिकाको बौद्धिक विकासमा असर पर्छ । उमेरअनुसार उचित विकास नभएमा भविष्यमा आइपर्ने समस्यासँग जुध्न, सिर्जनशील र क्रियाशील हुन सकिँदैन । बौद्धिक विकास गराउन अभिभावकहरूले एकै किसिमको र फरक किसिमको वस्तु छुट्याउन, लामो छोटो छुट्याउन र गन्ती गर्न, साधारण चित्र हेरेर भन्न लगाउने, आवाज चिन्न लगाउने, व्यक्तिको अनुहार चिन्न, वस्तुको खोजी गर्न लगाउने, समस्या समाधान गर्ने खेलहरू खेल्न दिने, तर्क दिन लगाउने, समस्या समाधान गर्ने पजल जोडा जस्ता खेलहरू खेलाउने, प्रकृति तथा विभिन्न वस्तुको अवलोकन गराउनुपर्छ ।
भाषिक विकासको अवसर
अभिभावकले बालबालिकासँग कुराकानी गर्ने, कथा-कविता सुनाउने, गीत गाउने, वस्तुको नाम बताउने, चित्र देखाएर बयान गर्ने गर्नुपर्दछ । प्रारम्भिक उमेरका बालबालिकालाई ध्यान दिएर सुन्न र बोल्न हौसला दिनुर्पछ । बालबालिकाले सुन्न, बोल्न, हेर्न-पढ्न र केरकार गर्ने अवसरले उनीहरूमा भाषिक विकासको आधार बन्दछ । “किताब हेर्ने” र यस बारेमा बताउनाले शिशु अवस्थादेखि नै किताब पढ्न रुचि राख्छन् । विभिन्न अनुसन्धानअनुसार सानैदेखि “सुत्ने बेलाको कथावाचन” (bed-time stories) भाषिक विकासको लागि महत्त्वपूर्ण छ ।
संवेगात्मक विकासको अवसर
शिशु गर्भभित्र रहँदादेखि नै आमाले सकारात्मक संवेगको विकास गर्ने वातावरण मिलाउनुपर्छ । जन्मनासाथ बालबालिकाले रोएर, हाँसेर, चिच्याएर, कराएर, रिस देखाएर आफ्नो मनमा भएको संवेग व्यक्त गर्छन् । बालबालिका आमाबुबा, परिवार र छरछिमेकीबाट सधैँँ माया, स्नेह पाउने आशा गरी रहन्छन् । माया, ममता, स्नेह, स्यावासी, प्रोत्साहन बालबालिकाको संवेगात्मक विकासका आवश्यक त¬वहरू हुन् । यदि बच्चाले आशा गरेजस्तो माया स्नेह पाएनन् भने उनीहरूको संवेगात्मक सन्तुलन हुँदैन । उनीहरूमा संवेगात्मक सन्तुलन नभएमा पछिसम्म काँतर हुने, आत्मविश्वास कम हुने, आत्मनिर्भर नहुने हुन्छ । जन्मने र हुर्कने क्रममा सकारात्मक र नकारात्मक संवेगको प्रकट गर्न रमाउने, हाँस्ने, स्वतन्त्र रूपमा कराउन, चिच्याउन दिने, दौडने, उफ्रने, कथा सुन्ने, विभिन्न संवेगको अभिनय गर्ने, मनका कुराहरू भन्ने सुन्ने कुराकानीको समय बनाउने र सो समयमा सबैले आआफ्ना अनुभव सुनाउने सुन्ने गर्नुपर्छ ।
सामाजिक विकासको अवसर
सामाजिक सहभागिताबाट बालबालिकाको व्यक्तित्व विकासको आधार तयार हुन्छ । अभिभावकले आफू नमुना बनेर सबैलाई आदर सत्कार गर्ने, धर्म संस्कृतिहरूमा रमाउने, सामाजिक नियम, नेतृत्व लिने र दिने, नक्कल गर्ने, समूहमा बस्ने, कुराकानी गर्ने, सहयोग लिने र दिने आदि गर्ने गर्नुपर्दछ । खेल, साथी, मनोरञ्जन, नातागोता चिन्ने जस्ता अवसरले दिनुपर्छ । बालबालिकाले जे देख्छन् त्यही सिक्छन् । त्यसैले परिवारको मूल्यमान्यता र आमाबुबाले गर्ने व्यवहारले नमुना गर्नुपर्दछ । परिवारमा सिकेका सामाजिक सिपहरूले विद्यालय वा बालविकास केन्द्र तथा समाजमा पनि सजिलेै घुलमिल हुन सक्छन् ।